११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

मधुमेहबाट जोगिन स्वस्थ जीवनशैली 

मधुमेह समयमा नियन्त्रण गरिएन भने यसले विभिन्न अंगमा क्षति पुर्‍याउन सक्छ। मुटुरोग, मिर्गौला काम नगर्ने अवस्था, अन्धोपन, पक्षघात, खुट्टा काट्नुपर्ने अवस्था र मृत्युको जोखिम पनि बढाउन सक्छ ।
बुनु थारु

काठमाडौँ — नसर्ने रोगको प्रमुख कारणमध्ये मधुमेह एक हो । अन्तर्राष्ट्रिय मधुमेह संघका अनुसार संसारभर ५३ करोड ७० लाख मानिस मधुमेहबाट ग्रसित छन् र यो संख्या २०३० सम्म ६४ करोड ३ लाखसम्म बढ्ने आकलन गरिएको छ । प्रत्येक १० जनामध्ये १ जनामा मधुुमेह देखिएको छ ।

मधुमेहबाट जोगिन स्वस्थ जीवनशैली 

अस्पतालहरुले मधुमेहसम्बन्धी केही अध्ययन गरे पनि राष्ट्रिय स्तरमा अहिलेसम्म मधुमेहका कति बिरामी छन् भनेर यकिन तथ्यांक छैन ।नेपाल मधुमेह संघले गरेको एक अध्ययनअनुसार २० वर्षमाथि उमेर समूहका सहरी क्षेत्रमा १४.६ प्रतिशत र ग्रामीण भेगमा २.५ प्रतिशतलाई मधुमेह हुन सक्ने जनाएको छ ।

मधुमेह समयमा नियन्त्रण गरिएन भने यसले विभिन्न अंगमा क्षति पुर्‍याउन सक्छ। मुटुरोग, मिर्गौला काम नगर्ने अवस्था, अन्धोपन, पक्षघात, खुट्टा काट्नुपर्ने अवस्था र मृत्युको जोखिम पनि बढाउन सक्छ ।

वीर अस्पतालका मधुमेह रोग विशेषज्ञ डा. दीपक मल्लका अनुसार स्वस्थ्य जीवनशैली नपनाउँदा मधुमेह रोगीहरुको संख्या बढ्दै छ । डा. मल्ल भन्छन्, ‘परिवारको कुनै सदस्यमा मधुमेह भएको, गर्भावस्थमा मधुमेह देखिएको, आवश्यकभन्दा बढी तौल भएको, रगतमा बोसोको मात्र बढी भएको, उच्च रक्तचाप भएको, धेरै शारीरिक परिश्रम गर्नु नपर्ने जीवनशैली भएको व्यक्तिहरुलाई मधुमेहको बढी जोखिम हुने हुन्छ ।’

बढी प्यास लाग्नु, पिसाब बढी हुन थाल्नु, दुब्लाउनु, कमजोरी हुनु, बढी भोक लाग्ने र खाने हुनु, शरीर चिलाउने, छालामा घाउ, खटिरा आउनु, यौनक्रम घट्नु, आँखा कमजोर हुनु, धमिलो देखिने, थाक्नु आदि मधुमेहका प्रमुख लक्षण हुन् । मधुमेह विशेषगरी ‘टाइप वान डायबेटिज’, ‘टाइप टु डायबेटिज’, गर्भावस्थाको मधुमेह(गेस्टेस्नल डायबेटिज मेलिटस) गरी ३ प्रकारका छन् ।

मधुमेह रोग विशेषज्ञ डा. ज्योति भट्टराई ३० कटेका हरेक व्यक्तिले अनिवार्य रूपमा वर्षको एक पटक मधुमेहको परीक्षण गर्नुपर्ने बताउँछिन् ।मदिरा कम सेवन गर्ने, चिसो पेयपदार्थहरू नखाने, आफ्नो वजनप्रति सजग रहने, व्यायाम गर्ने, तनाव कम गर्ने, रेसायुक्त तथा प्राकृतिक खानेकुरा खाने, सकेसम्म प्रशोधित खानेकुराहरु नखाने गरियो भने मधुमेहबाट धेरै हदसम्म जोगिन सक्ने डा. ज्योतिको भनाइ छ । उनी भन्छिन्–‘मधुमेह भनेको रगतमा चिनी बढ्ने रोग हो । धेरै गुलियो पदार्थ खाएर त्यसलाई उर्जाको रुपमा प्रयोग गरिएन भने त्यो फ्याट बन्छ अनि लिभरमा गएर बस्छ ।त्यसपछि विभिन्न अंगमा असर गर्दै जान्छ । गुलिया तथा प्रशोधित खाना खाएर वजन बढाउनु त्यति बुद्धिमानी होइन ।’

शारीरिक क्रियाकलापले रगतमा सुगर नियन्त्रणमा ल्याउन धेरै मद्धत गर्ने वीर अस्पतालको डा. मल्लको भनाइ छ । भन्छन्–‘हिँड्न सकिन्छ । घरभित्र पनि सजिलो खालका व्यायाम गर्न सकिन्छ ।बारी बगैंचामा पनि काम गर्न सकिन्छ। साइकल चलाउने, विभिन्न खेल खेल्ने, पौडी खेल्न पनि सकिन्छ ।’

उनले मधुमेह लागिसकेका व्यक्तिले खुट्टाको विशेष हेरचाह पुर्‍याउनुपर्ने बताए । उनका अनुसार दिनहुँ खुट्टाहरूमा फोका छ कि छैन भनेर हेर्ने, खुट्टालाई घाउ, चोटबाट बचाउन चप्पल, जुत्ता नलगाएर खाली खुट्टा हिँड्नुहुन्न ।त्यसैगरी मधुमेहमा खुट्टामा जुत्ताले औँलाहरू धेरै कस्सिने, घाउ गर्ने किसिमले लगाउनु नलगाउने, जुत्ता लगाउनुभन्दा पहिले जुत्ताभित्र ढुंगा, किल्ला,किरा छ कि छैन भनेर हेरेर मात्र लगाउनुपर्छ ।

‘नङहरु सिधा काट्नुपर्छ । हिटरको धेरै नजिक बस्नु, धेरै तातो पानीले खुट्टा धुनु र साथै तातो पानीको ब्यागको प्रयोग गर्नुहुँदैन, कुनै पनि घाउ सफा भएमा पानीले राम्ररी धुनुपर्छ र स्वासथ्यकर्मीलाई देखाउनुपर्छ। खुट्टाको पुरानो घाउ पनि पूरा ठीक नहुन्जेलसम्म पूरा ध्यान दिनुपर्छ । मधुेमह भएका व्यक्तिको घाउ निको हुन समय लाग्ने र यसले विभिन्न संक्रमण गरेर जोखिम निम्त्याउन सक्छ,’उनले भने । मधुमेह लागेका व्यक्तिले रगतको सुगरको नियमित जाँच, तौलको नियमित जाँच,रक्तचापको नियमित जाँच, वर्षको एकपल्ट आखाको नानी फुलाएर आँखाको जाँच, खुट्टाको नियमित जाँच गर्न डा मल्लको सुझाव छ ।

तिलगंगाकी रेटिना रोग विशेषज्ञ डा. रबा थापाका अनुसार नेपालमा मधुमेह भएका करिब एक चौथाइलाई ‘डायबेटिक रेटिनोपेथी’ को समस्या छ । डायबेटिक रेटिनोपेथी मधुमेहको जटिलता मध्य एक प्रमुख अवस्था हो । मधुमेहका व्यक्तिहरुमा अन्य व्यक्तिको तुलनामा २ गुणा बढी हुन्छ भने अन्धोपनको समस्या २५ गुणा बढी हुने गर्दछ ।मधुमेहले आँखाको पर्दाको रक्तकोशिकाहरुमा असर गरि पर्दाको रक्तसञ्चारमा प्रभाव पार्दछ जसले गर्दा पर्दाको दृष्टि केन्द्रमा सुजन तथा रक्तश्राव हुन गई दृष्टि कमजोर हुँदै जाने डा. थापाको भनाइ छ ।

डा. थापा भन्छिन्–‘धेरैजना ढिलो अस्पताल आइपुग्छन् । मधुमेह भएको २० वर्षमा पहिलो प्रकारको करिब सबै र दोश्रो प्रकारको मधुमेहमा करिव २ तिहाई विरामीको आँखाको पर्दा अर्थात रेटिनामा पर्छ ।’ उनले मधुमेहले आँखामा धेरै क्षति पुर्‍याउन नदिन समय–समयमा आँखा जाँच गर्नुपर्ने सुझाउँछिन् ।

‘मधुमेह पत्ता लाग्यो भने एकपटक आँखा देखाउने त्यसपछि आँखामा समस्या नआए पनि वार्षिक एक पटक आँखा देखाउनुपर्छ ।आँखामा समस्या देखिए गम्भीरताअनुसार चिकित्कसकले भनेअनुरुप उपचार गराउनुपर्छ। जति सानो उमेरमा मधुमेहको समस्या भयो त्यति नै यसको जोखिम बढ्दै जाने हुन्छ,’ डा. थापा भन्छिन् ।

उनका अनुसार समस्या सुरुवाती चरणमा छ भने मधुमेह नियन्त्रण राखे पुग्छ । आँखामा क्षति हुन थालेपछि लेजर पद्धतिले उपचार गर्नुपर्छ । साथै आँखामा विशेष खालको सुई लगाएर पनि उपचार हुन्छ त्यसैगरी एकदमै क्षति पुगेको र आँखाको पर्दा अलिक धेरै खुम्चिएको छ भने शल्यक्रिया गर्नुपर्छ । धेरै नै क्षति भइसकेको छ भने व्यक्ति अन्धो हुन सक्ने भएकाले समय–समयमा परीक्षण आवश्यक रहेको उनी बताउँछिन् ।

प्रकाशित : कार्तिक २८, २०७९ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारलाई थाहै नदिई एनसेल बिक्री हुनुलाई के भन्नुहुन्छ ?