दोस्रो अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन सुरु 

कान्तिपुर संवाददाता

काठमाडौँ — 'विकासोन्मुख मुलुकहरुका लागि मृत्युपर्यन्त अंगदान र प्रत्यारोपण' को नारासहित काठमाडौंमा शनिबारदेखि दुई दिने अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन सुरु भएको छ । 

दोस्रो अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन सुरु 

स्वास्थ्य मन्त्रालय, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र अंग प्रत्यारोण समाज नेपालको संयुक्त अयोजनामा सुरु भएको सम्मेलनमा अमेरिका, जापान, भारत, बंगलादेश, हल्याण्ड, बेल्जियम, स्लोभानिया तथा नेपालका प्रत्यारोपण विज्ञलगायतको सहभागिता छ ।

विकासोन्मुख मुलुकहरुका लागि मृत्युपर्यन्त अंगदान र प्रत्यारोपण सहजरूपमा हुन थाल्दा अंगदानसम्बन्धी समस्या समाधान हुने सम्मेलनमा विज्ञहरुले औंल्याए । नेपाल जस्तो मुलुकहरूमा मस्तिष्क मृत्युपछि अंगदानको प्रावधान व्यापक प्रयोग हुन थाल्दा विदेशमा जस्तै मस्तिष्क मृत्युपछि हुने अंगदान र प्रत्यारोपण कार्य पुन: सञ्चालन हुने विश्वास गरिएको छ ।

सम्मेलनमा अंगदान, प्रत्यारोपणलगायत विषयमा नेपाली विज्ञले १६ वटा कार्यपत्र र विदेशी विज्ञहरुले १२ वटा कार्यपत्र प्रस्तुत गर्नेछन् । सम्मेलनबाट मुलुकको नीति निर्माण र कार्यान्वयन तहमा कार्यरतहरुलाई नीति नियम तर्जुमा गर्न मार्गदर्शन हुनुका साथै उपचारमा नयाँ प्रविधि र विज्ञताको प्रयोगले सर्वसाधारण प्रत्यक्षरुपमा लाभान्वित हुने आयोजक समितिका अध्यक्ष एवं धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए ।

विश्व स्वास्थ्य संगठनको सन् २००८ को अध्ययन प्रतिवेदनमा ९० प्रतिशतभन्दा बढी मिर्गौला फेल भएका व्यक्तिहरुको केही महिनामा मृत्यु हुने उल्लेख छ । नेपाल सरकारले मिर्गौला रोगीका लागि प्रत्यारोपण तथा डाइलासिस नि:शुल्कसँगै गरेको तथा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र स्थापना गरेकोले एक दशकको अन्तरालमा केन्द्रमा उपचार गराउनेहरुमध्ये प्रत्यारोपण गर्नेहरु ९८ प्रतिशत र डाइलासिस गर्नेहरु ९६ प्रतिशत बाँच्न सफल भएकासमेत सम्मेलनमा जानकारी दिइयो ।

प्रकाशित : कार्तिक २६, २०७९ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?