भैरहवामा शल्यचिकित्सकको तेह्रौं राष्ट्रिय सम्मेलन सुरु
भैरहवा — शल्यचिकित्सालाई अझ सरल र प्रभावकारी बनाउन बिहीबारदेखि भैरहवामा ‘सोसाइटी अफ सर्जन नेपाल’ को १३ औं राष्ट्रिय सम्मेलन सुरु भएको छ । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज र साइन्टिफिक कमिटीको आयोजनामा सुरु भएको उक्त सम्मेलनमा शल्यचिकित्सा विज्ञानमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा आएका नवीनतम उपचार प्रविधि तथा अनुभवलाई आपसमा आदानप्रदान गरी थप अनुसन्धानका लागि उत्प्रेरित गर्न आलेख तयार पारिने छ ।
आयोजक साइन्टिफिक कमिटीका अध्यक्ष डा. राजेश पौडेलले सम्मेलनमा नेपाल, भारत, बंगलादेशका विशेषज्ञ चिकित्सकहरूसहित करिब ३ सय जना चिकित्सकको सहभागिता रहने र १ सय ५२ वटा कार्यपत्र प्रस्तुत गरिने बताए । उनका अनुसार सम्मेलनको पहिलो दिनको क्रार्यक्रम युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा आयोजना गरिएको छ ।
पहिलो दिन, सिनियर शल्यचिकित्सकद्वारा जुनियर सल्य चिकित्सक एवं त्यस क्षेत्रमा अध्ययनरत चिकित्सकलाई रक्त धमनी शल्यक्रियाका विषयका सीपहरू अवगत गराइने छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शल्यचिकित्सकबाट भैरहेको शल्यक्रियाको प्रत्यक्ष भिडियो प्रस्तुतिसमेत गरिने छ ।
सम्मेलनको दोस्रो दिन कार्यपत्र प्रस्तुतिसहितको मुख्य गतिविधि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरूबाट गरिने छ‚ जसमा मूत्रनली, मिर्गौला, पिशाबथैली, बाल सल्यचिकित्सा, मुटु, फोक्सो नसासम्बन्धी र जनरल तथा गेस्ट्रोलगायत विषयलाई समावेश गरिएको छ ।
प्रकाशित : कार्तिक २४, २०७९ १३:४९