१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७
डा. अनुपको तिहार अनुभव

‘बाल्यकालमा खेलेको देउसीभैलो निकै सम्झिन्छु’

बुनु थारु

काठमाडौँ — दसैं सकिएपछि झिलिमिलीको चाड तिहार कहिले आउला र साथीभाइसँग देउसीभैलोमा रमाउँला भनेर व्यग्र प्रतिक्षामा हुन्थे डा. अनुप बास्तोला । पोखरा लेखनाथका उनलाई तिहार भन्नेबित्तिकै बाल्यकालको देउसीभैलोको यादले निकै सताउँछ ।

‘बाल्यकालमा खेलेको देउसीभैलो निकै सम्झिन्छु’

तिहारको लक्ष्मीपूजापछि डा. अनुप साथीहरूसँग मिलेर देउसीभैलोको टिममा को–को हुने भनेर छलफल गर्थे ।टिममा घरवरपरकै करिब ५ जनाको समूह बन्थ्यो ।घरघरमा पाक्ने सेलरोटीको बास्ना र ढकमक्क फुलेको सयपत्री र मखमलीले तिहारको आगमन महसुस हुन्थ्यो।

‘अहिले जस्तो घरलाई झिलिमिली बत्तीले सजाइँदैनथ्यो । अलि हुनेखानेको घरमा मात्र देखिन्थ्यो त्यस्तो बत्ती । प्राय:को घरमा सानो क्यान्डिल तथा दियो बालिन्थ्यो,’ उनले ती दिन सम्झिँदै भने, ‘अहिलेको जस्तो ठाउँठाउँमा बत्ती नभएपछि बाटोहरू अँध्यारो हुन्थ्यो । घरहरू टाढा हुन्थे । हामी टर्च लाइट बोकेर भैली खेल्न जान्थ्यौं ।’

डा. अनुप बाटोमा आफूहरूजस्तै अरु टोलीको पनि भेट हुने र कुनै ठूलो उमेरका टोलीले साना उमेरका टोलीहरूसँग पैसा मागेर सताएको उनी सम्झिन्छन् । ‘हामी एकदम टाढा त जान सक्दैनथ्यौं । टेप रेकर्डरहरू र क्यासेटको जमाना थियो त्यतिबेला । कुनै टोलीले गीत गाएर नाचेको छ भने हामी पनि बसेर हेर्न थाल्थ्यौं,’ उनले हाँस्दै सुनाए ।

३–४ दिनसम्म देउसीभैलो खेल्ने क्रम चल्थ्यो । जुन घरले अलि धेरै पैसा दिन्थ्यो त्यतै जान्थ्यो उनको टोली । लाहुरेहरूको घरमा देउसी खेल्न जाँदा अलि बढी पैसा राखिदिन्थे भने दानदक्षिणामा सबैभन्दा ठूलो नोट २० रुपैयाँ हुन्थ्यो । चिनजानको घरमा पनि अरु घरभन्दा बढी पैसा र खानेकुरा पाइने सम्झन्छन् उनी ।

दान दक्षिणामा हुन्थ्यो सिक्का पैसा, रोटी र चामल । देउसीभैलो खेलिसकेर साथीभाइहरू जम्मा भइ पैसा बाँड्थे । प्रत्येकको भागमा बढीमा १० रुपैयाँ त कहिलेकाहीँ ७ रुपैयाँसम्म पर्थ्यो । त्यसपछि भैलोमा उठेको चामल पनि भागवण्डा गरिन्थ्यो ।कहिलेकाहीँ त एक–दुईवटा नोट झुक्किएर आएको पनि सम्झिन्छन् उनी ।

डा. अनुप भन्छन्–‘त्यो पैसा सायद केही दिदीलाई राख्न दिन्थेँ अनि कहिलेकाहीँ चकलेट किनिन्थ्यो । गाउँमा त्यति धेरै पसल पनि हुँदैनथे ।त्यसैले पनि यो नै किन्ने भनेर त्यस्तो योजना हुँदैनथ्यो।’ उनी उठेको पैसा र चामलले पिकनिक नगए पनि घरमाथिको खेततिर गएर साथीहरूसँग मिलेर भात पकाएर खाएको भने बिर्सिँदैनन् ।

५ कक्षासम्म देउसीभैलो खेलेको सम्झिने उनी त्यसपछि भने ती दिनहरू पातलिँदै गएको सुनाउँछन् । उहिले र अहिलेको चाडपर्वमा धेरै फरक आएको भन्दै गाउँघरमा तिहारको आगमनले छाएको रौनक, उमंग र त्यो मिठास अहिलेकोमा कतै नभेटिने उनको अनुभव छ ।

भन्छन्–‘बाल्यकालमा त केहीको पनि प्रेसर नहुने । मात्र आनन्दमय र रमाइलो क्षण। पत्येक घरको मान्छेले चिन्थे। माया गरेर बोलाइबोलाइ सेलरोटी खान दिन्थे । अहिले त्यस्तो छैन।’

कोभिड महामारीको बेला शुक्रराज ट्रोपिकल तथा सरुवारोग अस्पतालमा कार्यरत रहँदा चिकित्सक र नर्सहरूले एक आपसमा परिवारसरह टीका लगाएर भाइटीका मनाएको उनको सबैभन्दा विशेष र यादगार तिहारमा पर्छ । उनले यो तिहारमा पनि झिलिमिली बत्तीले घर सजाइसकेका छन् । उनले हालसम्म प्रायः भाइटीका छुटाएका भने छैनन् । दुई जना दिदीलाई भाइटीकामा दिनको लागि कोसेली पनि जोहो गरिसकेको बताउँछन् अनुप ।

प्रकाशित : कार्तिक ६, २०७९ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?