कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

डेंगी संक्रमितको संख्या २२ हजार नाघ्यो, २९ को मृत्यु

विज्ञ भन्छन्–‘नियन्त्रणमा ढिलाइ भइसक्यो’
बुनु थारु

काठमाडौँ — डेंगी नियन्त्रणमा ढिलाइ भइसकेका कारण संक्रमित र मृत्युको संख्या अझै बढ्नसक्ने भन्दै स्वास्थ्य विज्ञहरूले चेतावनी दिएका छन् । विज्ञहरूका अनुसार समयमै लामुखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने काम अगाडि नबढाउँदा यस्तो अवस्था सिर्जना भएको हो ।

डेंगी संक्रमितको संख्या २२ हजार नाघ्यो, २९ को मृत्यु

नेपालमा २-३ वर्षको अन्तरालमा डेंगीले प्रकोपको रुप लिने गरेको छ । सन् २०१९ मा १७ हजार ९ सय ९२ जना संक्रमित भएका थिए भने ६८ जिल्लामा फैलिएको डेंगीबाट ६ जनाको मृत्यु भएको थियो जसले महामारीको रुप लिएको थियो । यस वर्ष डेंगी संक्रिमतको केसले ३ वर्षअघिको रेकर्ड तोडिसकेको छ । हालसम्म संक्रमितको संख्या २२ हजार नाघिसकेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्यांक अनुसार साउनयता २२ हजार ९८८ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । केही दिनसम्म सबैभन्दा बढी केस ललितपुरमा देखिएको थियो तर त्यो स्थान काठमाडौँले लिइसकेको छ । डेंगीको उच्च जोखिममा रहेका १० जिल्लामध्ये ५ जिल्लामा डेंगीका हजारभन्दा बढी केसहरू पुष्टि भइसकेका छन् ।राजधानी काठमाडौंमा ७ हजार ३८०, ललितपुरमा ५ हजार ५८५, मकवानपुरमा २ हजार १३५, दाङमा २ हजार २७८ र भक्तपुरमा १ हजार ५० केसहरू पुष्टि भएका हुन् ।तथ्यांकअनुसार १० जिल्लामा मात्र १९ हजार ७ सय २७ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश १ मा ५ सय ९१, मधेसमा ३ सय २३, वाग्मतीमा १७ हजार ७ सय ३१, गण्डकीमा ५ सय १५, लुम्बिनीमा २ हजार ८ सय २१, कर्णालीमा ३ सय ३० र सुदूरपश्चिममा ७ सय ७७ वटा केस देखिएका छन्। त्यसैगरी मृत्युको संख्या पनि बढ्दै गएको देखिन्छ।हालसम्म यसबाट २९जनाको मृत्यु भइसकेको छ ।

ईडीसीडीले काठमाडौं उपत्यकालगायत देशभर डेंगी संक्रमण अत्यधिक विस्तार भएको निष्कर्ष निकाल्दै राष्ट्रव्यापी प्रकोप घोषणा गर्न स्वास्थ्य मन्त्रालयसँग पत्राचार गरिसकेको छ ।मन्त्रालयका एक अधिकारीले घोषणाका बारेमा अझै यकिन भइनसकेको बताए । ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले विज्ञहरूसँग सल्लाह सुझाव लिँदा प्रकोप घोषणाको कुरा उठेको भन्दै सबै सरोकारवालाहरू मिलेर गए डेंगी नियन्त्रणमा आउन सक्ने बताए । उनले भने–‘ सबै सरोकारवाला मिलेर काम गर्नुपर्ने हो । पालिकाले मुख्य भूमिका खेल्न सक्छन् ।यो नसिद्धिएसम्म निरन्तर लागिरहन जरुरी छ। यसको नियन्त्रण भनेको लामुख्टेटे नियन्त्रण नै त हो । तर पानी परिरहेको छ । मौसमले पनि चुनौती दिएको छ ।’

जनस्वास्थ्य विज्ञ डा विन्ज्वला श्रेष्ठ सरकार डेंगी नियन्त्रणमा चुकेको बताउँछिन् । उनले सरकारले डेंगीका केसहरूको तथ्यांक गनेर बस्ने तर नियन्त्रणमा भने खासै ध्यान दिन नसकेको गुनासो व्यक्त गरिन् ।भन्छिन्–‘ हजारौँ मान्छे संक्रमित भइसके। अझै परीक्षण नगराएर घरमै आराम गरेर बसेका कति होलान्। कति सिकिस्त छन् ।मृत्युको संख्या बढ्दैछ । सरकारले यसमा ध्यान दिन सकेको छैन । सरकार भनेको स्वास्थ्य मन्त्रालय मात्र होइन । सबै निकायको उत्तिकै समान भूमिका रहन्छ तर ध्यान दिइएको छैन ।’ उनी प्रश्न गर्छिन्–‘सरकारले मृत्यु दरलाई मात्र हेरेर बसिराखेको छ । मान्छे मरे भने मात्र कुद्ने? लामखुट्टेको वासस्थान खोजी खोजी नष्ट गर्ने अभियान निरन्तर हुनै पऱ्यो । कोही बिरामी भएपछि औषधि कसरी गर्ने भनेर मात्र भन्दै हिँड्ने त कोही भाषण मात्र गर्ने तर काममा भने ध्यान नदिने भइरहेको छ ।’

उनका अनुसार केस फाट्टफुट्ट देख्नेबित्तिकै अभियान निरन्तर भएको भए यति धेरै मानिस प्रभावित हुँदैनथे। ‘महामारी घोषणा गरिने भन्ने सुनिएको छ तर घोषणा गर्ने तर नियन्त्रणका लागि केही गरिएन भने केही काम छैन । पानी जमेको ठाउँलाई खोजी खोजी हटाउनुपऱ्यो ।सार्वजनिक स्थलमा केही गरिएको देखिएको छैन। हामी आफ्नै बानी व्यवहारले पनि डेंगीको शिकार भएका छौं। हामी आफैं पनि सजग हुन जरुरी छ,’ उनले भनिन्।

डेंगी संक्रमितको संख्या बढेसँगै अस्पतालमा बिरामीको संख्या पनि अधिक नै छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुन ‘मास’ मा नै डेंगी फैलिसकेको बताउँछन् । उनले भने–‘पहिले परिवारका सदस्यहरूलाई देखिँदै आएकोमा अहिले सबैतिर फैलिसकेको छ। यो निराशाजनक हो । कोभिड नियन्त्रणमा सरकार जागरुक देखिएको थियो त्यसरी नै डेंगीमा पनि हुन जरुरुी छ । सुरुवाती चरणमै नियन्त्रणका उपाय सिकाउन जरुरी थियो । नियन्त्रणमा ढिलै भए पनि सार्वजनिक स्थल जहाँ धेरै मानिसको सहभागिता रहन्छ जस्तै विद्यालय, कार्यालय, कारखानालगायत ठाउँमा लामखुट्टेको वासस्थान खोजेर नष्ट गरिनुपर्छ नभए अझै हजारौँ संक्रमित हुनेछन्।’

मन्त्रालयका प्रवक्ता डा सञ्जय ठाकुरले डेंगी नियन्त्रणकालागि सबै निकायहरूको पहल र सहभागिता जरुरी रहेको बताए ।‘ महामारी घोषणाका बारेमा समीक्षा होला त्यसको बारेमा त्यति जानकारी आइसकेको छैन । डेंगी नियन्त्रणका लागि ठूलो स्रोत साधन आवश्यक छैन । आफ्नै घरमा जम्मा भएको पानी सरसफाइ गरिराख्ने गर्नुपर्छ । साथै सम्बन्धित निकायले चिन्ता मात्र व्यक्त गरेर हुँदैन एक्सनमा पनि आउनुपऱ्यो । सहरीकरण, मौसम परिवर्तनले डेंगी बढ्दै गएको देखिन्छ,’ उनले भने ।

प्रकाशित : आश्विन ८, २०७९ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?