लामखुट्टे : रोगका वाहक- स्वास्थ्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लामखुट्टे : रोगका वाहक

हाल लामखुट्टेले नेपालमा आधा दर्जनभन्दा बढी रोग फैलाइरहेका छन्
कान्तिपुर संवाददाता

काठमाडौँ — लामखुट्टेकाे टाेकाइबाट सर्ने राेग डेंगुले प्रकाेपकाे रुप लिएकाे छ । डेंगुबाहेक लामखुट्टेले अरु थुप्रै राेगहरु पनि सार्न सक्छ । लामुखुट्टेबाट सर्ने रोगबाट बच्नकालागि लामखुट्टेकाे बासस्थान नै नष्ट गर्नुपर्ने हुन्छ । संक्रामक राेग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार सबैभन्दा पहिले त लामखुट्टेको विस्तारलाई रोक्न आफू बस्ने ठाउँ वरिपरी पानी जम्न दिन हुँदैन । पानीमा नै लामखुट्टेकाे वृद्धि विकास हुन्छ ।

'लामखुट्टेले निम्त्याउने धेरै राेगहरु छन् जसकाे राेकथाम एउटै हाे-लामखुट्टेकाे लार्भा नष्ट गर्नु,' उनले भने । डा. पुनका अनुसार नेपालमा हालसम्म जिका बाहेक लामखुट्टेको टोकाइबाट सर्ने प्राय सबै रोगहरु देखिने गरेका छन् । 'अहिले डेंगुसँगै अरु रोग पनि फैलिएको हुनसक्छ । डेंगु जस्तै लक्षण देखिएका धेरैको रिपोर्ट निगेटिभ पनि आएको छ । अरु रोगको पनि परीक्षण गर्नु जरुरी छ,' उनले भने ।

लामुखुट्टेको टोकाइबाट बच्नकालागि झुल टाँगेर सुत्ने, घरमा जालीढोका लगाउने, पूरा बाहुला लुगा लगाउने, पानी जम्न नदिने, जमेको ठाउँमा लामखु्टेको लार्भा नष्ट गर्ने, लामखुट्टे भगाउने क्रिम लगाउन सकिन्छ ।

लामखुट्टेले मानिसको रगत चुस्छन् जसले छाला चिलाउने तथा डाबर आउन सक्छ तर लामखुट्टे धेरै रोगहरूका वाहक पनि हुन् । लामखुट्टेले कुनै पनि जीवबाट रगत चुस्दा त्यस जीवमा हुने ब्याक्टेरिया, परजीवी वा भाइरसहरू पनि निल्छ। जुन एउटा जीवबाट अर्को जीवमा फैलिँदै जान्छ ।

लामखुट्टेले रोग फैलाउने परजीवी, ब्याक्टेरिया र भाइरस फैलाउँछ—जसलाई हामी लामखुट्टेबाट सर्ने रोग भन्छौँ । रोग निम्त्याउने सूक्ष्मजीवहरूको वाहक भए पनि लामखुट्टेलाई भने केही प्रभाव पार्दैन । तर तिनीहरूले फैलाउने रोगको आधारमा मानिसहरूलाई हल्कादेखि गम्भीर लक्षणहरू निम्त्याउँछन्।

डेंगु

अहिले मुलुकमा डेंगुको प्रकोप फैलिएको छ । डेंगु संक्रमण किटजन्य रोगअन्तर्गत पर्दछ । एडिस जातको लामखुट्टेमार्फत डेंगु भाइरस फैलने गर्दछ । एडिस लामखुट्टे विशेषत: बिहान र बेलुकी सूर्यास्त हुनुभन्दा अगाडि बढी सक्रिय हुने र त्यसैबेला संक्रमण बढी सार्छ । उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ अत्यधिक दुख्ने डेंगुका प्रमुख लक्षण हुन् ।गम्भीर प्रकृतिको डेंगु संक्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रक्तश्राव हुने, पेट असाध्यै दुख्ने, तारन्तर बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट खुट्टा सुनिनेजस्ता लक्षण देखा पर्छन् । यस्ता लक्षण देखिएका बिरामीलाई भने तत्काल अस्पताल भर्ना गनुुपर्छ ।

मलेरिया/औलो

औलो पनि लामखुट्टेको टोकाइबाट हुने रोग हो । औलो सार्ने लामखुट्टेले साँझ र राती बढी टोक्ने गर्दछ। संक्रमित एनोफिलिज जातको पोथी लामखुट्टेले स्वस्थ्य मान्छेलाई टोक्दा औलो रोग लाग्दछ ।यसका लक्षणहरु भनेको कामज्वरो आउनु हो । ज्वरो आउँदा प्राय: जाडो हुने, काँप छुट्ने र पसिना आउने हुन्छ । ज्वरो दिन बिराइ वा नियमित आउँछ । टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने साथै फियो बढ्ने हुने सक्छ । त्यसैगरी रक्तअल्पता हुने र मान्छे बेहोस पनि हुन सक्छ। बिरामीले समयमा उपचार नपाए मृत्यु पनि हुन सक्छ ।

चिकनगुनिया

अर्को रोग हो चिकनगुनिया। यसका केही अधिकांश लक्षणहरु डेंगुसँग मिल्दाजुल्दा छन् । यसमा अत्यधिक मांसपेशी दुखाइ र ज्वरो हुन्छ । यो जटिल त हुँदैन तर यसले गर्ने दुखाइ भने अधिक हुन्छ । यसका लक्षण भनेको उच्च ज्वरो, मांशपेशी तथा जोर्नी दुख्नु, वाकवाकी लाग्नु, बिमिरा देखिने, आँखा रातो हुनु वा सुन्निनु आदि हुन्।

जापनिज इन्सेफ्लाइटिस

यो पनि विशेषगरी एसियामा देखिएको लामखुट्टेको टोकायबाट देखिने भाइरल संक्रमण हो । यो ‘फ्लाभाइरस’ ले निम्तिने गर्छ जुन डेंगुमा पनि हुन्छ । यो ‘क्युलेस’ लामखुट्टेबाट सर्ने गर्दछ । इन्सेफ्लाइटिसले मष्तिष्क सुन्निने, सिजरसहितको कडा ज्वरो, टाउको दुख्ने, भ्रमजस्तो अनुभव हुने र मृत्यु पनि गराउन सक्छ । यसका लक्षणहरु ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, कम्पन महसुस हुने, बच्चाहरुमा छारेरोग जस्तो देखिनु हुन् । यसले कोमा पनि गराउन सक्छ ।

जिका भाइरस

संक्रमित व्यक्तिलाई एडिस (दिउँसो टोक्ने) लामखुट्टेले टोकेर अरूलाई टोके जिका भाइरस सर्छ । संक्रमित हुनेमा हल्का ज्वरो, टाउको दुख्ने, मासंपेशी र जोर्नीमा डाबर आउने, आँखा रातो हुने लगायतका लक्षणहरू देखिन्छन् । यी लक्षणहरू २ देखि ७ हप्तासम्म रहन्छन् । कसैलाई लक्षण नदेखिन पनि सक्छ ।यो भाइरसको उच्च जोखिममा भने गर्भवती महिला रहेको पाइएको छ । यो भाइरस संक्रमित गर्भवती महिलाबाट जन्मिने शिशुमा, रगत आदानप्रदान र यौनसम्पर्क तथा अंग प्रत्यारोपणबाट पनि सर्ने गरेको पाइएको छ । संक्रमित गर्भवती महिलाबाट जन्मने सन्तानमा असामान्य रुपले टाउको सानो हुने ‘माइक्रोसेफली’ हुन्छ ।यो भाइरसले ‘गिलान बारे सिन्ड्रोम’ पनि गराउन सक्छ । यो एउटा नसासम्बन्धी समस्या हो, जसमा शरीरको रोग प्रतिरोधी क्षमताले नसाका कोषहरूलाई आक्रमण गर्दछ । यसले मासंपेशी कमजोर बनाउनुका साथै कहिलेकाहीँ पक्षघातसमेत गराउन सक्छ ।

प्रकाशित : भाद्र २९, २०७९ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेसले तोक्यो समानुपातिक उम्मेदवार छान्ने चार मापदण्ड

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसले समानुपातिकतर्फ उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय संसदीय समितिको बैठकले उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको हो । गठबन्धनमा सिट बाँडफाँटको छलफल चलिरहे पनि समानुपातिकतर्फ बन्दसूची बुझाउने म्याद नजिकिँदा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार अपराह्न संसदीय समितिको बैठक बोलाएका थिए ।

बैठकमा संसदीय समितिमा सदस्य नरहेका नेता शेखर कोइरालासहित केन्द्रीय सदस्यहरूलाई समेत आमन्त्रण गरिएको थियो । बैठकले समानुपातिकतर्फ उम्मेदवार चयनका चार मापदण्ड तोक्ने निर्णय गरेको महामन्त्री गगन थापाले जानकारी दिए । उनका अनुसार गत स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरूले समानुपातिकतर्फ उम्मेदवारीको दाबी गर्न पाउने छैनन् ।

त्यस्तै, ०७४ मा समानुपातिकतर्फ उम्मेदवार भएका नेताहरूलाई समेत संघ वा प्रदेश दुवैतर्फ उम्मेदवार नबनाउने मापदण्ड तय भएको छ ।

‘प्रतिनिधिसभामा समानुपातिकबाट सांसद भएको व्यक्ति अब प्रदेशमा गएर पनि फेरि समानुपातिकबाटै सांसद बन्न नपाउने र प्रदेशमा भएको व्यक्ति प्रतिनिधिसभामा आएर समेत बन्न नपाउने गरी मापदण्ड निर्धारण गरिएको छ,’ महामन्त्री थापाले भने ।

त्यस्तै, उच्च नैतिकता, योग्यता, क्षमता भएको र उमेरको सन्तुलनलाई आधार मानेर पार्टीलाई लोकप्रिय मत थप्न सक्ने व्यक्तिलाई समानुपातिकतर्फ उम्मेदवार बनाउने मापदण्ड बनाइएको छ ।

महामन्त्री थापाले यसपटक एक निर्वाचन क्षेत्रबाट एक उम्मेदवार हुने गरी समानुपातिकतर्फ उम्मेदवार चयन गरिने मापदण्ड तय गरिएको बताए । ‘विगतमा नेताको क्षेत्रबाट ५/७ जनासम्म हुने, तर कुनै क्षेत्रमा एक जना पनि उम्मेदवार नहुने अवस्था समेत रहेछ,’ उनले भने, ‘यसपटक हामीले सबै क्षेत्रबाट उम्मेदवार हुने गरी उम्मेदवार चयन गर्ने निर्णय गरेका छौं ।’

संसदीय समिति २५ सदस्यीय हुने व्यवस्था छ । तर, सभापति देउवाले समितिलाई पूर्णता दिन सकेका छैनन् । सभापतिसहित पदाधिकारीबाहेक नेता रामचन्द्र पौडेलमात्रै समितिको सदस्य छन् ।

बुधबारको बैठकले उम्मेदवार चयनका मापदण्डमात्रै तय गरेको छ भने उम्मेदवारबारे छलफल गर्न बिहीबार दिउँसो साढे १२ बजे पुनः बैठक बस्ने कांग्रेसले जनाएको छ ।

प्रकाशित : भाद्र २९, २०७९ १८:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×