कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डेंगु भए आफैंले कसरी गर्ने स्याहार ?

सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोलाका अनुसार सबैलाई डेंगुको लक्षण कडा नहुन सक्छ । उनी भन्छन्–‘ जटिलताको लक्षण देखिएपछि अस्पताल जानुपर्छ नभए घरमै आराम गरी हप्ता, १० दिनमा आराम मिल्छ । डेंगुमा प्लेट्लेट्स घटेर जान्छ तर त्यो सामान्य हो पछि आफै बढेर आउँछ । आत्तिनुपर्ने अवस्था छैन । जटिल लक्षण देखिए चिकित्सकलाई सम्पर्क गर्नुपर्छ र अस्पताल जानुपर्छ ।’

काठमाडौँ — हाल डेंगुका केशहरु ७५ जिल्लामा पुष्टि भइसकेका छन् भने ७ जनाको मृत्यु भइसकेको छ । डेंगु बढेसँगै अस्पतालमा जटिल लक्षण लिएर आउने बिरामी पनि बढेका छन् । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्यांकअनुसार देशभर साउनदेखि हालसम्म ९ हजार ८३५ जनामा डेंगु संक्रमण भएको छ ।

डेंगु भए आफैंले कसरी गर्ने स्याहार ?

ललितपुर, काठमाडौं, मकवानपुर, रुपन्देही, दाङ, भक्तपुर, धादिङ, तेह्रथुम, काभ्रे र चितवन गरी १० जिल्ला डेंगुको उच्च जोखिममा रहेका छन् जहाँ डेंगुको केश दिनानुदिन बढ्दो छ ।

उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ अत्यधिक दुख्ने डेंगुका प्रमुख लक्षण हुन् । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा हाल डेंगुको उपचार तथा परीक्षण आउनेको संख्या बढ्दो छ ।अस्पतालका रिसर्च युनिटका संयोजक तथा संक्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार डेंगु भइहालेमा घरमै झोलिलो खानेकुरा खाने र सिटामोल खान सकिन्छ । योबाहेक चिकित्सकको सल्लाहबिना अरु कुनै पनि किसिमको दुखाइ कम गर्ने औषधि नखान उनी सुझाव दिन्छन् ।

भन्छन्–‘जटिलता देखिएबाहेक सिटामोलमात्र खाए पुग्छ भन्दा धेरैले पत्याउँदैनन् र आफूखुसी औषधि खाने पनि छन् । जसले पछि थप हानी गर्न सक्छ ।’ उनले डेंगु बिरामीलाई खाना नरुच्ने भएकाले आफूले मनपर्ने खानेकुरा खान र धेरै झोलिलो खानेकुरा नै खान जोड दिए । उनले घरेलु औषधि प्रयोग गर्दा पनि चिकित्सकको सल्लाह लिन आग्रह गरे । ‘डेंगुमा मेवाको पात खाने भन्ने हल्ला फैलिएको छ । यसमा पनि सरकारले आधिकारिकरुपमा राम्रो वा नराम्रो भनेर सन्देश दिन जरुरी छ ,’ उनले भने ।


सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोलाका अनुसार सबैलाई डेंगुको लक्षण कडा नहुन सक्छ । उनी भन्छन्–‘ जटिलताको लक्षण देखिएपछि अस्पताल जानुपर्छ, नभए घरमै आराम गरी हप्ता १० दिनमा आराम मिल्छ । डेंगुमा प्लेट्लेट्स घटेर जान्छ तर त्यो सामान्य हो पछि आफै बढेर आउँछ । आत्तिनुपर्ने अवस्था छैन । जटिल लक्षण देखिए चिकित्सकलाई सम्पर्क गर्नुपर्छ र अस्पताल जानुपर्छ ।’

उनका अनुसार गम्भीर प्रकृतिको डेंगु संक्रमण भएका बिरामीमा थकान महसुस हुने, गिँजाबाट रक्तश्राव हुने, पेट असाध्यै दुख्ने, तारन्तर बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट खुट्टा सुनिनेजस्ता लक्षण देखा पर्छन् । यस्ता लक्षण देखिएका बिरामीलाई भने तत्काल अस्पताल भर्ना गनुुपर्ने उनको सुझाव छ । उनले घरमा जालीढोका लगाउने, झुल टाँगेर सुत्ने, साँझ–बिहान सकेसम्म बाहिर ननिस्कने तर निस्कनै परे लामा बाहुला भएका लुगा लगाउने वा लामखुट्टे भगाउने क्रिम लगाएर हिँड्न सुझाए ।

डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको किटजन्य रोग हो । डेंगुबाट सुरक्षित रहने तरिका यस प्रकारका छन् :

  • लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने र घरबाहिर जाँदा अनिवार्यरुपमा मास्क लगाउने
  • घर वरपर प्लास्टिक, सीसा, खपटा, चिया खाएर फालिएका कप, नरिवलका बोक्रा आदि भए सफा गर्ने र पानी जम्न नदिने
  • खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने
  • पानीको नाली, ढलपोखरीमा हप्ताको २ दिन डढेको मोबिल वा मट्टीतेल छर्कने
  • खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने
  • पानीको ट्यांकी पूरै खाली गरेर सफा गरिरहने
  • कुलरमा हप्ताको एक वा दुई पटक मट्टीतेल हाल्ने
  • बेलाबेलामा साबुन पानीले मिचिमिचि हात धुने र भौतिक दूरी कायम गर्ने
  • सुत्ने बेला झुलको प्रयोग गर्ने

प्रकाशित : भाद्र २८, २०७९ २०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?