कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

हुम्ला र मुस्ताङबाहेक ७५ जिल्लामा डेंगु, झन्डै १० हजारलाई संक्रमण

बुनु थारु

काठमाडौँ — डेंगु संक्रमण निरन्तर उकालो लाग्दै गएको देखिन्छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को आइतबारसम्मको तथ्यांकअनुसार देशभर साउनदेखि हालसम्म ९ हजार ८३५ जनामा डेंगु संक्रमण भएको छ । 

हुम्ला र मुस्ताङबाहेक ७५ जिल्लामा डेंगु, झन्डै १० हजारलाई संक्रमण

हुम्ला र मुस्ताङबाहेक देशभरका ७५ जिल्लामा डेंगु फैलिएको छ । त्यसमध्ये १० वटा जिल्ला उच्च जोखिममा छन् । उच्च जोखिममा रहने जिल्लामा ललितपुर, काठमाडौं, मकवानपुर, रुपन्देही, दाङ, भक्तपुर, धादिङ, तेह्रथुम, काभ्रे, र चितवन रहेका छन् ।

आइतबारसम्मको तथ्यांकअनुसार ललितपुरमा ३ हजार ६ सय २२, काठमाडौंमा २ हजार ४ सय १४, मकवानपुरमा ६ सय ६३, रुपन्देहीमा ५ सय ७०, दाङमा ३ सय ५८, भक्तपुरमा १ सय ७६, धादिङमा १ सय ३७, तेह्रथुममा १ सय १०, काभ्रेपलाञ्चोकमा १ सय ५ र चितवनमा ९० केस पुष्टि भएका छन् । यी १० जिल्लामा मात्र ८ हजार २ सय ४५ जनामा डेंगु संक्रमण भएको छ ।

त्यस्तै प्रदेशतर्फ सबैभन्दा बढी वाग्मतीमा ७ हजार ४ सय ४०, लुम्बिनीमा १ हजार ३ सय ५६, प्रदेश १ मा ३ सय २०, सुदूरपश्चिममा २ सय ७१, गण्डकीमा २ सय २ र कर्णालीमा ६६ जनामा संक्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले हालसम्म डेंगुबाट ७ जनाको मृत्यु भएको पुष्टि गरे । उनका अनुसार मृत्यु हनेमा ४ जना डेंगुकै जटिलताले मृत्यु भएको हो भने ३ जनामा भने डेंगुसँगै अरु रोगको पनि जटिलता थियो ।

डेंगु महामारी उत्कर्षतिर : दुखाइ, दुखाइ अनि दुखाइ !

भाइरोलोजिस्ट डा. लुना भट्ट मानिसमा जनचेतनाकै कमीले डेंगु फैलिइरहेको बताउँछिन् । लामखुट्टे मार्ने प्रभावाकारी उपाय नै अपनाइएको उनको भनाइ छ । उनी भन्छिन्,‘झाडीहरू फाँड्ने हो वा पेस्टिाइड छर्ने, मानिसहरूलाई जनचेतना गराउने, घरवरपर सुख्खा राख्ने उपाय अझै गरिएको छैन । यसले जोखिम बढाइरहेको छ ।’

सहरी क्षेत्रमा धेरैले कौसीखेती गर्ने भएकाले लामखुट्टे बढ्ने डा. भट्ट बताउँछिन् । ‘कौसी खेती नराम्रो भन्न खोजेको होइन । बोटबिरुवा हुने ठाउँमा लामखुट्टेलाई लुक्न सजिलो हुन्छ । घरको झ्याल तथा ढोकामा जाली छैन भने ढोका खोल्दा साँझपख लामखुट्टे छिर्छ । यही लामखुट्टे कोठाको कुनातिर बस्छ र टोक्छ । जाली नभएकाले बढी सावधानी अपनाउनुपर्ने हुन्छ,’ उनले भनिन् ।

साँझपख झ्यालढोका नखोल्ने, काम गर्दा पूरा बाहुला भएका लुगा लगाउने, कुनाकाप्चा राम्ररी सफा गर्ने, नचाहिने सामान कोठामा थुपारेर नराख्ने गर्दा लामखुट्टेको टोकाइबाट बच्न सकिने जनस्वास्थ्यविद्हरू बताउँछन् ।

डेंगु नियन्त्रणमा निरन्तर लागिपरेका छौँ : ईडीसीडी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै डेंगुबाट बच्न कर्मचारीलाई पूरा बाहुला भएको पोसाक लगाउन अनुरोध गरेको छ । मन्त्रालयले डेंगु प्रकोप न्यूनीकरणका लागि प्रदेश, जिल्ला र स्थानीय तहसँगको समन्वयमा रोग सार्ने लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियानलाई तीव्र बनाइएको जनाएको छ ।

मन्त्रालयले यही शनिबारदेखि बिहान १० बजे १० मिनेट घरभित्र र बाहिर डेंगु सार्ने लामखुट्टेको लार्भा रहे/नरहेको निरीक्षण गर्न अभियान चलाउने निर्णय गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले डेंगु रोकथामकालागि तीनवटै तहसँगै समन्वय गरेर अघि बढिरहेको बताए । उनले भने, ‘तीनै तहकसरकारसँग समन्वय गरेर अस्पतालको तयारी, समुदाय स्तरमा खोज र नष्टको अभियान तीव्र गतिमा अगाडि बढाइएको छ । ’

ईडीसीडीका निर्देशक डा. चुमनलाल दासले डेंगु नियन्त्रण तथा रोकथाममा निरन्तर लागिपरेको दाबी गरे । उनी भन्छन्, ‘सरकारको ढिलासुस्ती भएको छैन । हामी निरन्तर लागेका नै छौँ । यो सबै क्षेत्रको समन्वयको काम हो । सर्वसाधारणदेखि लिएर सबैको सहकार्य आवश्यक छ । मुख्य पाटो भनेको जनचेतना, लार्भा खोज र नष्ट अभियानमा स्थानीय निकाय खटिएका छन् । सबै अस्पताललाई पनि अवस्था हेरेर व्यवस्थापन गर्नु भनेर निर्देशन गइसकेको छ । सर्वसाधारण पनि सजग हुनुपर्छ । डेंगु जाँच गर्ने किटहरु अभाव छैन ।’ उनले मंगलबारदेखि नै समुदायमा भेक्टर सर्भिलेन्स र डेंगुको सेरोटाइपको अध्ययनका लागि नमुना संकलन गरिने बताए ।

विज्ञहरूका अनुसार डेंगुको अझै २ महिना जोखिम छ । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिटका संयोजक तथा संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन डेंगुको उत्कर्ष अझै केही समय रहने बताए । उनका अनुसार घरका सबै सदस्य नै डेंगु पुष्टि भइरहेका छन् ।

‘उत्कर्षतिर पुगेको छ डेंगु । उत्कर्षमा स्थिर रहन्छ होला । अझै घट्छ भनेर यकिनका साथ भन्न सकिन्न । लामखुट्टेको वासस्थान नष्ट गर्ने अभियानमा सिरियस्ली लागेको देखिन्न । यो लामखुट्टे दिनमा सक्रिय हुने भएकाले पनि धेरैले ध्यान दिँदैन । लामखुट्टेको आनीबिनीले पनि चुनौती देखिएको छ । सुरुमै बासस्थान नष्ट गर्नुपर्ने थियो,’ उनले भने ।

उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ अत्यधिक दुख्ने लक्षण डेंगुका हुन् । गम्भीर प्रकृतिको डेंगु संक्रमण भएका बिरामीमा थकान महसुस हुने, गिँजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट खुट्टा सुनिने जस्ता लक्षण देखा पर्छन् । यस्ता लक्षण देखिएका बिरामीलाई भने तत्काल अस्पताल भर्ना गर्नुपर्ने चिकिसकहरू सुझाउँछन् ।विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण फैलिने गर्छ ।

नेपालमा सन् २००४ मा पहिलो पटक डेंगु पुष्टि भएको थियो । सन् २००६, २०१०, २०१३, २०१६, २०१७ तथा २०१९ मा डेंगुका सबैभन्दा धेरै केस पुष्टि भएका थिए । सबैभन्दा धेरै सन् २०१९ मा १७ हजार ९ सय ९२ जनामा डेंगु पुष्टि भएको थियो जसले महामारीको रूप लिएको थियो । त्यतिबेला ६८ जिल्लामा फैलिएको डेंगुबाट ६ जनाको मृत्यु भएको थियो ।

प्रकाशित : भाद्र २८, २०७९ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?