के मेवाको पातले डेंगु निको हुन्छ ?- स्वास्थ्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

के मेवाको पातले डेंगु निको हुन्छ ?

चिकित्सक भन्छन्– प्रमाणित तथ्य छैन, जथाभावी खाँदा झन् हानि गर्छ
बुनु थारु

काठमाडौँ — पाटनका ५० वर्षीय एक पुरुष सोमबार एउटा ठेला व्यापारीबाट मेवा किन्दै गरेका भेटिए । उनले हातमा मेवाको ३ वटा ताजा हरियो पातसमेत बोकेका थिए । उनले घरमा छोरालाई डेंगु भएकाले छिमेकीको घरबाट टिपेको बताए । ‘अहिलेसम्म त खुवाएको छैन । छिमेकीले भनेर सुनेको हुँ। यसले डेंगु सञ्चो गराउँछ रे,’ उनले भने ।

तस्बिर : सटरस्टक

शंखमूलकी ४० वर्षीया एक महिला विगत एक हप्तादेखि डेंगुबाट पीडित छिन् ।उनलाई एकजना साथीले मेवाको पात खाएपछि प्लेटलेट्स बढ्छ भनेपछि उनले मेवाको पात सेवन गरेको बताइन् । तर उनलाई मेवाको पातले उल्टी आउन थालेपछि खाइनन् । भन्छिन्– ‘मेरो एकजना साथीलाई त राम्रै भएको थियो तर मलाई सञ्चो गराएन ।’

डेंगु संक्रमण बढ्दै गएको छ । देशभर हाल ७२ जिल्लामा ५ हजारभन्दा बढी डेंगुको केस भेटिएका छन् । घर–घरमा डेंगुको बिरामी बढेसँगै मानिसहरू बढिरहेका त छन् नै अस्पताल भर्ना हुनेको संख्या पनि बढ्दो छ । डेंगुमा अत्यधिक जिउ दुख्ने, उच्च ज्वरो आउनु, आँखाको गेडी दुख्नु, वाक–वाक वा बान्ता हुनु, पखाला वा पातलो दिसा लाग्नु, प्लेटलेट्स घट्नुलगायतका लक्षण हुन्छन् ।

चिकित्सकहरूका अनुसार डेंगुको विशेष औषधि छैन । यसलाई लक्षणका आधारमा उपचार गरिन्छ तर हाल मानिसहरू मेवाको पातले डेंगु ज्वरो र प्लेट्स बढाउने भन्दै जथाभावी सेवन गरिरहेको पाइएको छ । यसरी चिकित्सकीय परामर्शबिना दुई डेंगुमा मेवाको पातले प्लेटलेट्स बढ्न मद्दत गर्छ भन्दै जथाभावी सेवन गर्ने यी प्रतिनिधि पात्र मात्र हुन् ।

के मेवाको पातले डेंगुमा लाभदायिक हुन्छ त? के यसले प्लेटलेट्स बढाउँछ त?

जवाफ हो– आयुर्वेदिक चिकित्सा पद्धतिअनुसार बढाउनसक्छ, तर यसलाई चिकित्सकीय निगरानीबिना खाँदा भने फाइदा हुनुको साटो उल्दै बेफाइदा गराउने आयुर्वेदका विज्ञहरुको भनाइ छ । मेवाको पातको जथाभावी सेवनले बान्ता हुने, पेट काटने, पेट दुख्ने, पेट बाउँडिने जस्तो समस्या देखिने सक्ने विज्ञ बताउँछन् । यस्तै आधुनिक चिकित्सा विज्ञानमा भने मेवाको पातले डेंगुका बिरामीलाई फाइदा गर्नेबारे कुनै प्रमाणित तथ्य छैन ।

तस्बिर : सटरस्टक

नेपाल आयुर्वेद चिकित्सक संघका निवर्तमान अध्यक्ष डा. प्रकाश ज्ञवालीका अनुसार कोरोना महामारीका बेला गुर्जोको जथाभावी सेवनले मानिसहरुको स्वास्थ्यमा असर पारेको थियो त्यस्तै डेंगुको बेलामा नहोला भन्न सकिन्न । डा. ज्ञवाली भन्छन्– ‘मेवाको पात दुरुपयोग हुन थाल्यो जसरी पहिले गुर्जो प्रयोग गरेका थिए । मेवाको पातमा एउटा इन्जाइम हुन्छ जसले प्लेटलेट काउन्ट बढाउँछ । तर त्यसको निश्चित मात्रा मिलेको हुनुपर्छ।’

उनका अनुसार यो प्रशोधित हुनुपर्छ र निश्चित समय र मात्रा मिलाएर खानुपर्छ । उनले जसले जे भन्छ त्यही सिको गरेर जथाभावी खान थालेको र त्यसले थप स्वास्थ्य समस्या निम्त्याउने बताए । ‘काँचै त्यसरी खान मिल्दैन। निश्चित डोजमा निश्चित समयमा अनि चिकित्सकको निगरानीमा खानुपर्छ । मेवाको पात आफैंमा नराम्रो होइन तर तरिकाबिना खाँदा यसले हानी गर्छ ।यसको सिरप वा ट्याब्लेटमा आएका छन् तर आफूखुसी किनेर खानुहुँदैन ।’

उनले यसरी जथाभावी खाँदा पेट बाउँडिने तथा उल्टी हुने समस्याका साथ पछि गएर कलेजो तथा पेटमा समस्या ल्याउन सक्ने बताए । नरदेवी आयुर्वेद अस्पतालका निर्देशक डा. प्रदीप केसीले पनि औषधिजन्य वा रेडिमेड रूपमा छ भने मात्र यो लाभदायिक हुने नभए यसले हानी गर्ने बताए। ‘यसमा प्लेटलेट्स बढाउने सक्ने कुरा साँचो हो । तर जथाभावी खाने होइन ।कोरोनाका बेला जथाभावी गुर्जो खाँदा आयुर्वेद नै बदनाम भयो । हामीले मेवाको पात खान सुझाएका छैनौँ। सर्लक्कै थिचेर खाने चिज होइन ।’

के डेंगुले महामारीको रूप लिएको हो?

शुक्रराज ट्रोपिकल अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा. विमल चालिसेले डेंगुका बेला प्लेटलेट्स घट्ने भए पनि निको हुँदै जान थालेपछि स्वत: सामान्य बन्दै जाने भएकाले जथाभावी केही नखान सुझाउँछन् । डा. चालिसे भन्छन्– ‘अनावश्यक हल्लाका पछि लाग्नु हुँदैन। डेंगु निको हुन्छ भन्दै मेवाको पातलगायत अरु जडिबुटी खाने पाइएको छ। साथीभाइको लहैलहैमा वा अरुले भनेको भरमा खाने चलन छ । महामारीका बेला त्यस्ता सल्लाह दिने थुप्रै हुन्छन् । घटेको प्लेटलेट्स आफैं बढ्दै आउँछ आत्तिनु पर्दैन । डेंगुका बिरामीमा सामान्य लक्षण छ भने घरमै आराम गरेर बस्ने र ताजा झोलिलो खानेकुराहरु बढी खानुपर्छ ।’

उनका अनुसार गिँजा वा पिसाबबाट रगत आएमा, चोटपटक लागेर रगत बगिराखेमा, रक्तचाप कम हुनेलगायतका समस्या भए अस्पताल आउनुपर्छ। ‘डेंगुको बिरामीलाई साधारण लक्षण छ भने सिटामोल खाने र घरमा बस्ने आराम गर्नुपर्छ । सित्तैमा दिएको सुझाव लाभदायक नहुन सक्छन् । स्वास्थ्यकर्मीको सल्लाहबमोजिम औषधि सेवन गर्नुस्,’ उनले भने।

कोरोना महामारीका बेला पनि गुर्जो खाने लहर चलेको थियो र मात्रा नमिलाइ खाँदा त्यसबाट उल्टो असर देखिएकाले चनाखो हुनुपर्ने विज्ञहरुको भनाइ छ।

संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले डेंगुको बेला मेवाको पात खानुपर्छ भन्ने हल्ला २०१९ को डेंगु महामारीको बेला पनि फैलिएको थियो । डा. पुन भन्छन्– ‘डेंगु महामारीको बेलामा सुनिन्छ यो हल्ला । अहिले फेरि दोहोरिएको छ तर त्यसरी जथाभावी खान छोडेका छैनन् । चिकित्सकको सल्लाहबिना कुनै पनि रोगमा केही पनि नखाएको राम्रो मानिन्छ।’

उनले क्लिनिकमा चिकित्सकको परामर्शबिना औषधि किनेर खाने गरेको र त्यसको जटिलता लिएर बिरामी जाँचका लागि आउने गरेको बताए।

‘ओपीडीमा जथाभावी औषधि खाएर आएको केसहरु भेटेको छु । डेंगुमा कुनै दुखाइ कम गर्ने औषधि वा अरुले भनेकै भरमा केही पनि खानु हुँदैन यसले राम्रो भन्दा हानि गर्छ । खाने नै हो भने जानकारी लिएर मात्र खानुपर्छ । कति मात्रामा खाने?कसरी खाने? कस्ताले खान हुने? भन्ने कुराको जानकारी हुन आवश्यक छ । सम्बन्धित विशेषज्ञलाई मात्र सोधेर खान आवश्यक छ,’ उनले भने ।

प्रकाशित : भाद्र २०, २०७९ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्

१९ हजार न्युरो सर्जरी गरेका चिकित्सक भन्छन्- 'सबै शल्यक्रियाले नयाँ कुरा सिकायो'

‘शल्यक्रिया गरेर निको भएका बिरामी भेट्न आइरहँदा खुसी लाग्छ’ 
बुनु थारु

काठमाडौँ — कुरा हो १९९५ को । करिब १० बजेतिर भक्तपुरका २ वर्षीय बालकलाई वीर अस्पतालमा टाउको फुटेको अवस्थामा ल्याइयो । छतबाट खसेर गम्भीर घाइते उनको तत्काल शल्यक्रिया गर्नुपर्ने भयो । शल्यक्रिया गर्न ४ घण्टा लाग्यो । ती बालक झण्डै २० दिन भेन्टिलेटरमा उपचारपछि घर फर्किए ।

तिनै बालक त्यसपछिका दसैंमा टीका थाप्न आइराख्ने गरेको खुसी हुँदै सुनाउँछन् न्युरो सर्जन डा. गोपालरमण शर्मा । त्यो शल्यक्रिया डा. शर्माको पहिलो ठूलो शल्यक्रिया थियो । त्यसैले पनि उनी यो शल्यक्रिया सम्झिरहन्छन् ।

करिब २७ वर्षअघिको त्यो शल्यक्रिया बारे गम्भीर हुँदै उनी भन्छन्– ‘राति करिब ११ बजेतिर शल्यक्रिया गरेको जस्तो लाग्छ। त्यो शल्यक्रिया मेरा लागि परीक्षा पनि थियो किनकि त्यसअघि मैले साना शल्यक्रिया मात्र गरेको थिएँ। बच्चा तंग्रिँदै गएपछि ममा झन् आत्मविश्वास पलायो।’

पहिलो सर्जरी सफल भएपछि उनलाई न्युरो सर्जरीमा केही गर्न सक्छु भन्ने आँट मिल्यो । सन् १९९० मा एमबीबीएस गरेका उनले १९९२ मा लोकसेवापछि वीर अस्पतालमा नियुक्ति पाए । खासमा उनलाई न्युरोभन्दा जेनेरल सर्जरीमा रुची रहेको थियो । त्यसबेला अस्पतालमा जर्नल सर्जरीमा खाली नभएपछि उनी न्युरोमा काम गर्न थाले। उनले त्यहाँ डा. उपेन्द्र देवकोटासँग काम गर्न पाए । डा. शर्मा भन्छन्– ‘त्यहाँ काम सिक्दै जाँदा बिस्तारै मलाई यही क्षेत्रमा रुची हुन थाल्यो। डा. देवकोटासँग थुप्रै कुरा सिक्ने मौका पाएँ। डा. देवकोटाले सिकाएका कुरा म झट्ट टिपिहाल्थेँ। उनी राम्रो गुरुका साथै राम्रो मान्छे पनि थिए।’

उमेरले ६५ वर्ष टेकेका वरिष्ठ न्युरो सर्जन डा. शर्माले चिकित्सकीय अभ्यासका क्रममा हालसम्म १९ हजार शल्यक्रिया गरिसकेका छन् । यस अवधिमा उनले सरल तथा जटिल खालका शल्यक्रिया गरेका छन्। १५ घण्टा लगाएर हालसम्म ७ वटा सर्जरी शल्यक्रिया गरेका छन् र एन्ज्युरिजम सर्जरी एकै दिनमा ३ वटासम्म गरेका छन् । साथै एभीएम (आर्टेरियोभेनस मालर्फमेसन) सर्जरी ५० वटा गरिरसेका छन् ।

त्यो १८ घण्टे जटिल तथा लामो शल्यक्रिया
डा. शर्मासँग १८ घण्टा लगाएर आफ्नो जीवनको सबैभन्दा लामो तथा जटिल शल्यक्रिया गरेको अनुभव छ।२०२० को अक्टोबर २२ मा उनले गैंडाकोटकी ३५ वर्षीया एक महिलाको मस्तिष्कको जटिल मानिने एभीएम सर्जरी गरे । उनले उक्त शल्यक्रिया अघिल्लो दिन बिहान १० बजे सुरु गरेको अर्को दिन बिहान ४ बजे सकिएको थियो । शर्मा भन्छन्– ‘त्यो मेरो जीवनकै सबैभन्दा लामो र जोखिमपूर्ण शल्यक्रिया हो । एभीएम भनेको मस्तिष्कको जटिल रोग हो। उनको मस्तिष्कभित्र रगतको गुजुल्टो थियो । २० प्रतिशत असफल हुने सम्भावना थियो तर जोखिम मोलेँ । शल्यक्रिया सफल भयो ।’

बचाउन नसक्ने केसहरु पनि सफल भएको उदाहरण डा. शर्माको डायरीमा प्रशस्त छन् । सन् २०१० मा नुवाकोटको ३५ वर्षीय पुरुषको केस उनलाई झझल्को आइरहन्छ । ती व्यक्ति वीर अस्पतालमा राति १० बजेतिर आउँदा उनको अवस्था सन्तोषजनक थिएन। डा. शर्माकाअनुसार ती व्यक्तिको दाहिने हातखुट्टा पनि लुलो अवस्थामा थियो । उनी ७ दिनजति भेन्टिलेटरमा बसेर निको भएर घर फर्किए । फलोअपमा नबोलाउँदा पनि उनी समयसमयमा भेट्न आइराख्ने गरेको डा. शर्मा सुनाउँछन् ।

‘एन्युरिजम थियो उनमा, त्यो भनेको मष्तिष्कको नसामा बेलुन जस्तै फोका हुन्छ । प्रायः जन्मिँदै हुन्छ र त्यो पातलो हुन्छ । कहिलेकाँही तनाव भयो वा प्रेसर बढ्यो भने फुट्छ । कतिपय यस्तो केशमा ५० प्रतिशत बिरामीहरु बाँच्दैनन् । ५० प्रतिशतमा बेलैमा सर्जरी गर्न सके बचाउन सकिन्छ,’ उनले भने ।

त्यसैगरी सन् २००२ मा दोलखाका १६ वर्षीय युवक दुवै खुट्टा नचल्ने अवस्थामा ढाड दुख्ने लक्षण लिएर आए । परीक्षणमा उनको स्पाइनमा टिबी देखियो । डा. शर्माले बचाउन त सकिन्छ तर खुट्टा भने नचल्ने ठाने । तर भइदियो अचम्म । ती युवकमा स्वास्थ्यमा सुधार हुँदै गयो र उनी पुनः हिँड्न सक्ने भए । डा. शर्मा प्रफुल्लित हुँदै भन्छन्– ‘नसोचेको चमत्कार भयो । उ पुरानै अवस्थामा फर्किएको देख्दा एकदम खुसी भएँ ।’

बचाउन सक्ने केसहरू पनि कम्प्लिकेसनका कारण बचाउन नसक्दाको क्षण भने उनका लागि दुखदायी क्षण बन्छ । उनले शल्यक्रिया सफल भएर पनि त्यसपछिको जटिलताले मृत्यु भएको एक केस सुनाए । क्यान्सर नियन्त्रणमा आएको २८ वर्षीय पुरुषको टाउकोमा ठूलो ट्युमर थियो । शल्यक्रिया सफल त रह्यो तर पछि जटिलताका कारण उनको ४ दिनपछि मृत्यु भयो। यस्तै उनले आफ्नै दुईजना साथीहरुलाई हरसम्भव प्रयास गर्दा पनि बचाउन नसकेकोमा दुःख व्यक्त गर्छन् ।

उनका अनुसार पहिलेको तुलनामा हाल शल्यक्रियाको मृत्यु दर एकदमै कम रहेको छ । ‘प्रविधिले अहिले जोखिम घटाएको छ । पहिले न आईसीयू राम्रो हुन्थे न त उपकरण त्यति एड्भान्स । त्यसैले मृत्युदर उच्च थियो । अहिले इलेक्टिभ सर्जरीमा मृत्युदर शुन्यप्राय छ भने सिभियर हेड इन्ज्युरीमा जस्तै दुर्घटना भएर आउनेमा मृत्यदुर १० प्रतिशत,’ उनले भने।

न्युरोसर्जरी आफैंमा पनि चुनौतीपूर्ण पेशा मानिन्छ । डा. शर्मा यो पेसामा पहिलाभन्दा थप चुनौती तथा डर थपिएको बताउँछन् । भन्छन्– ‘कतिपय यस्तो परीस्थिति हुन्छ कि शल्यक्रिया गर्न सके पनि भोलि केही भइहाल्यो भने आरोप लगाउने हो कि भन्ने डर छ चिकित्सकहरूमा ।’ उनले धेरै चिकित्सकहरुले गर्नसक्ने शल्यक्रिया पनि प्रायः भारत रिफर गरिदिने गरेको बताए । तर शर्मा भने आफूलाई जोखिम मोल्न सक्नेमा उभ्याउँछन् ।

‘वीर अस्पतालमा जतिसुकै गाह्रो सर्जरी हुदा पनि आँट गरेर गरिन्थ्यो । तर अहिले अलिकति अप्ठ्यारो केस गर्दा सोचेर सम्झेर गर्नुपर्छ ।परिवारलाई जति सम्झाउँदा पनि गल्ती औंल्याउछन्। यदि आफूसँग सीप र क्षमता छ भने त्यसको प्रयोग गर्नुपर्छ । त्यसैले म जोखिम मोल्ने प्रयास गर्छु । रेडियो सर्जरीबाहेक म सकभर रिफर गर्दिन,’ उनले दृढ हुँदै भने । उनले नेपालमै न्युरो सर्जरी सम्बन्धी सुविधासम्पन्न उपचार रहेको बताए।

डा. शर्मा शल्यक्रिया सुरु गरेपछि घडी हेर्दैनन् । कतिपय समयमा परिवारलाई दिएको समय पनि बिर्सिने गर्छन् उनी । आफ्ना २ छोरीको लालनपालनको श्रेय उनी श्रीमतीलाई दिन्छन् । भन्छन्– ‘मेरो सफलताको श्रेय मेरो श्रीमती अनि परिवारलाई जान्छ । सबै श्रीमतीले हेरिन्। मेरो काम पनि छोरीहरुले पछि बुझ्दै गए।’ त्यस क्षणलाई मिस गर्ने उनी परिवारलाई धेरै समय नदिए पनि वर्षमा एक पटक अमेरिकामा रहेका छोरीहरूलाई भेट्न जान्छन् र घुमेर फर्किन्छन् ।

उनले आफ्नो जीवनमा गरेका सबै सर्जरीले केही न केही नयाँ कुरा सिकाएको बताउँछन् । ‘एउटा राम्रो क्लिनिसियन हुनका लागि उसँग ज्ञान तथा सीप हुनुपर्‍यो । र मिहिनेत अनि लगन पनि,’ उनले भने ।

प्रकाशित : भाद्र १९, २०७९ २०:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×