१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

डेंगु महामारी उत्कर्षतिर : दुखाइ, दुखाइ अनि दुखाइ !

'डेंगु' भनेकै 'दुखाइ' भन्दा फरक नपर्ला। शारीरिक पीडा कम गर्न धेरैले 'फ्लेकसन' वा 'ब्रुफेन' जस्ता औषधिको सहारा लिने गरेका छन्। यसबाट संक्रमितमा डेंगुको जोखिम झन् बढ्न सक्दछ। तसर्थ चिकित्सकको सल्लाहबिना आफूखुसी जथाभावी औषधिको प्रयोग गर्नु हुँदैन।
डा‍‌‍‌. शेरबहादुर पुन

काठमाडौँ — शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा एकदिन २० वर्षीय युवक शरीरमा अत्यधिक दुखाइ रहेकाे र याे कहिलेसम्म निकाे हुन्छ भन्दै जँचाउन आए । केही हप्तायता अस्पतालमा शारीरिक दुखाइ अत्यधिक लिएर आउने बिरामी बढेका छन् ।

डेंगु महामारी उत्कर्षतिर : दुखाइ, दुखाइ अनि दुखाइ !

त्यस्तै डेंगु पुष्टि भएका बुवालाई फलाेअपमा लिएर आएका छाेराले शरीरमा अत्यधिक पीडा हुँदा सहन नसकेर बेला बखतमा राती चिच्याउने गरेको सुनाए । डेंगुको मुख्य लक्षण नै अत्यधिक शारीरिक पिडा हाे । याे पीडा अधिक हुन्छ।

वास्तवमा, डेंगुलाई 'ब्रेक बोन फिबर' अर्थात् 'हड्डी भाँच्चिए सरह दुखाई हुने ज्वरो' पनि भन्ने गरिन्छ। हाल डेंगु व्यापक फैलिँदो छ।ईपिडिमियाेलाेजी तथा राेग नियन्त्रयण महाशाखाका अनुसार हालसम्म डेंगु ६९ जिल्लामा पुगिसकेकाे छ ।तसर्थ परिवार-परिवारमा, टोल-टोलमा डेंगुको दुखाइ लिएर बसेका संक्रमितको संख्या अत्यधिक छ।

केही समय अगाडिसम्म कोभिडको लहरले चर्चा पाउने गर्दथ्यो भने हाल डेंगुबाट सिर्जित 'दुखाइको लहर' उत्कर्षतिर गइरहेको देखिन्छ।'दुखाइको लहर' को तीव्रता लामखुट्टेको नियन्त्रणबिना ब्रेक लाग्ने देखिदैन। किनभने डेंगु भाइरस 'एडिस' जातको लामखुट्टेले सार्ने गर्दछ। हाल यो लामखुट्टे अत्यधिक सक्रिय र व्यापक भएको देखिन्छ।

धेरै मानिसहरु राति सुत्दा झुल लगाउने र लामखुट्टे भगाउने धुप/ वा अन्य उपायहरु अपनाउने गर्दछन्। तर डेंगु भाइरस फैलाउने याे लामखुट्टे भने रातमा भन्दा दिनमा बढी सक्रिय हुने र टोक्ने गर्दछ। कोभिडजसरी नै कतिपयले डेंगु संक्रमितसँग बस्दा वा नजिकै बस्दा पनि सर्छ भन्ने लाग्दो रहेछ ।

सन् २०१९ को डेंगु महामारीकाे कुरा हाे । डेंगु पुष्टि हुँदा सर्ने डरले आफू श्रीमान्-श्रीमती अलग-अलग कोठामा बस्ने गरेको संक्रमितले हामीलाई सुनाएका थिए । त्यस्तै एक युवकले त डेंगु नेगेटिभ भएको रिपोर्ट नल्याएसम्म घरमा नै पस्न नदिने भनेकोले परीक्षण गर्न आएका थिए । अर्थात् डेंगु लामखुट्टेको टोकाइबाट मात्र सर्छ र याे अरु स‌ंक्रामक राेग जस्ताे हाेइन भन्ने जानकारी अधिकांशलाई नभएको देखिन्छ । माथि उल्लेख गरेझैं यो लामखुट्टे दिनमा बढी सक्रिय हुने भएकोले धेरै संक्रमित आफ्नो काम गर्ने कार्यालय/कार्य थलोमा संक्रमित हुने गरेको पनि पाइएको छ।

लेखकलाई कतिपय डेंगु संक्रमितले आफुसँगै काम गर्ने अरु कर्मचारीमा पनि आफूलाई जस्तै लक्षण देखिएको भन्ने गरेका पनि छन् । विशेषत: पानी संकलन हुने सामान/भाँडा, गमला वा खाल्डो आदिमा लामखुट्टेका लार्भा सहज वृद्धि विकास हुने भएकोले त्यस्ता ठाउँहरूमा विशेषत निगरानी गर्नुपर्दछ। वयस्क लामखुट्टे कालो-सेतो छिरबिरे रंगको हुने भएकोले लेखकले यसलाई 'जेब्रा लामखुट्टे' को उपनाम पनि दिएको छ।

डेंगु संक्रमण भएको ४ देखि १० दिनसम्ममा लक्षणहरू देखा पर्ने गर्दछ। माथि उल्लेख गरेझैं दुखाइबाहेक उच्च ज्वरो आउनु, आँखाको गेडी खस्ला जस्तो हुनु/दुख्नु, वाक-वाक वा बान्ता हुनु, पखाला वा पातलो दिसा लाग्नु, खानामा अरुचि देखा पर्नु हाल डेंगु संक्रमितहरु देखिँदै आइरहेका प्रमुख लक्षणहरू हुन् ।

विगतमा आँखा रातो हुने, शरीरमा स-साना राता बिबिरा देखिने जस्ता देखिने गरेका समस्या भने हाल संक्रमितहरुमा अलि कम नै देखिएको छ। तर पखाला वा पातलो दिसा हुने समस्या भने हाल धेरै संक्रमितले अनुभव सुनाएका छन् जुन यसअघिकाे लहरमा देखिँदैन थियो। डेंगु पुष्टि भएपछि आत्तिनुहुँदैन । पुष्टि भएका सबै अस्पतालमा भर्ना हुनुपर्छ भन्ने छैन। कोभिडमा पनि संक्रमितहरू सबैलाई अस्पताल भर्ना गरिदैनथ्यो।

तर निश्चित स्वस्थ समस्या देखिए अस्पताल जान सुझाउने गर्दथ्यौँ। त्यस्तै डेंगुमा पनि निश्चित वा विशेष लक्षणहरू देखिए अस्पताल भर्ना हुनुपर्ने संकेतका रूपमा लिन सकिन्छ। तारन्तार बान्ता हुनु, अत्यधिक पेटको दुखाइ हुनु, नाक, गिँजा वा शरीरका अरु ठाउँबाट रगत बग्नु दिसा, पिसाब वा बान्तामा रगत देखिनु, बेचैन हुनु, श्वास प्रश्वासमा कठिनाइ देखिनु आदि लक्षण संक्रमितमा देखिए तुरुन्त चिकित्सकलाई सम्पर्क गर्ने वा अस्पताल जानु पर्दछ। यस्ता स्वास्थ्य समस्याहरू देखिए संक्रमित जटिलतातिर गइरहेको हुनसक्ने संकेतका रूपमा लिन सकिन्छ।

'डेंगु' भनेकै 'दुखाइ' भन्दा फरक नपर्ला । तसर्थ संक्रमितहरुले दुखाई कम गर्ने औषधी वा उपाय खोज्नु स्वाभाविक हो।पीडा अत्यधिक हुने भएकोले धेरैले आफूलाई सिटामोलले खासै काम नगरेको वा एक दुइ घण्टामा नै फेरि शरीरमा अत्यधिक पीडा फर्कने भन्ने गरेका छन्। तसर्थ शारीरिक पीडा कम गर्न 'फ्लेक्सन' वा 'ब्रुफेन' जस्ता औषधिको सहारा लिने गरेका छन्। ओपीडीमा आएका संक्रमितमध्ये झन्डै १० प्रतिशतले उपचार गर्न आउनुभन्दा अगाडिसम्म फ्लेक्सन प्रयोग गर्ने गरेको देखिन्छ।यसबाट संक्रमितमा डेंगुको जोखिम झन् बढ्न सक्दछ।तसर्थ चिकित्सकको सल्लाहबिना आफूखुसी जथाभावी औषधिको प्रयोग गर्नु हुँदैन।

धेरैको अर्को प्रश्न वा चासो भनेको डेंगु संक्रमणमा दिने औषधिप्रति देखिन्छ। सन् २०१९ को डेंगु महामारीमा धेरै बिरामी डेंगुको औषधि पाउने आशमा घन्टौँ लाममा बस्ने गरेका थिए ।चिकित्सकले डेंगुको विशेष औषधि हुँदैन र सिटामोल नै डेंगु संक्रमण अवधिभर आवश्यकताअनुसार प्रयोग गरिन्छ भन्दा धेरैजना चकित हुने गर्दथे। कतिपय त घन्टौँ लामको बाबजुद डेंगुको विशेषत: औषधि हुँदैन भन्ने जानकारी पाएपछि खिन्न र केहीले आक्रोशसमेत पोखेका समेत थिए ।डेंगुको उपचार लक्षणका आधारित गर्ने गरिन्छ भने हाल डेंगुविरुद्धको खोप उपलब्ध छैन।

हाल डेंगुको लहर उर्लंदो छ।अहिले काठमाडौँकेन्द्रित जस्तो देखिएको डेंगु देशका अरु भागहरुमा पनि व्यापक नहोला भन्न सकिदैन।डेंगु नफैलियोस् भन्नका लागि लामखुट्टे नियन्त्रणमा विशेष पहल गर्न आवश्यक छ। डेंगुमा जटिल अवस्था सिर्जना नहोस् भन्नका लागि विशेष सतर्कता अपनाउने र जटिलताका संकेतहरु देखिए तुरुन्त चिकित्सकको परामर्श लिने वा अस्पताल जानु पर्दछ।

(डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्)

प्रकाशित : भाद्र १३, २०७९ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अतिरिक्त भत्ता स्वत: नपाए त्रिवि ठप्प पार्ने कर्मचारीहरूको धम्कीलाई के भन्नुहुन्छ ?