कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मिर्गौला प्रत्यारोपण

अतुल मिश्र

काठमाडौँ — पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शनिबार एकै दिन दुई जनाको मिर्गौला प्रत्यारोपण गरिएको छ । यसअघि पनि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा गत असार ९ गते प्रतिष्ठानमा पहिलो पटक एक जनाको मिर्गौला प्रत्यारोपण भएको थियो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मिर्गौला प्रत्यारोपण

उपत्यकामा मात्र सीमित नराखी सातवटै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने कार्यक्रमअन्तर्गत मुलुकमै पहिलो पटक उपत्यका बाहिरको सरकारी स्वास्थ्य प्रतिष्ठानमा गत महिना मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको थियो । शनिबार गरिएको दुई जनाको मिर्गौला प्रत्यारोपणसमेत त्यसकै निरन्तरता भएको केन्द्रका कार्यकारी निर्देशक एवं वरिष्ठ मिर्गौला र कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा. पुकारचन्द्र श्रेष्ठले बताए ।

पहिलो पटक पोखरामा प्रत्यारोपण सेवा सुरु हुँदा नै यसले निरन्तरता पाउने डा. श्रेष्ठले बताएका थिए । हाल प्रत्यारोपण केन्द्रले मुलुकका अन्य प्रदेशहरूमा समेत प्रत्यारोपण सेवा विस्तार गर्ने क्रम जारी राखेको छ ।

कास्की जिल्ला रुपाकोट गाउँपालिकाका ५३ वर्षीय पुरुष र स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका ४२ वर्षीय पुरुषको शनिबार मिर्गौला प्रत्यारोपण गरिएको हो । दुवै जनालाई आ-आफ्ना पत्नीले मिर्गौला दिएका थिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रत्यारोपण सेवामा आत्मनिर्भर बनाउनका लागि नेफ्रोलोजिस्ट, सर्जन, एनेस्थेसियोलोजिस्ट, कोअर्डिनेटर, शल्यक्रिया कक्ष एवं आईसीयू नर्सहरूलाई तालिम दिइँदै आएको केन्द्रले जनाएको छ ।

प्रकाशित : श्रावण २९, २०७९ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?