नसा च्यापिने समस्या के हो? 

डा. सुमन भट्टराई

काठमाडौँ — नसा च्यापिने समस्या अहिले सबैको साझा समस्या बनेको छ । भनिन्छ, प्रत्येक ५ जनामा ४ जनाले यो समस्या आफ्नो जीवनकालमा भोगेकै हुन्छन् । मष्तिष्कबाट कम्मरसम्म ढाडको नसा गएको हुन्छ । हाम्रो मेरुदण्डको भाग विभिन्न कुरकुरे हड्डीले बनेको हुन्छ । ती हड्डीहरु विभिन्न कारणले बाहिर निस्कँदा नसा च्यापिने समस्या देखा पर्छ । सबैभन्दा धेरै घाँटीको नसामा बढी प्रभाव पर्छ किनकि त्यो धेरै चल्छ । 

नसा च्यापिने समस्या विभिन्न कारणले देखा पर्न सक्छ ।३० देखि ४० माथिकालाई यो समस्याले बढी सताउन सक्छ । त्यसैगरी उमेरअनुसार तौल बढी हुनु, चोटपटक लाग्नु, दुर्घटनाले हड्डी भाँचिन पुग्दा, ट्युमर निस्कँदा पनि नसाहरु च्यापिने समस्या देखिन सक्छन् ।त्यसैगरी धेरै तौल उठाउने, जन्मेदेखि हड्डी खिइने तथा बा‌ँगाे हुने समस्या भएकालाई पनि यो देखिन सक्छ । मुख्यत: नसा च्यापिने समस्या हाम्रो ‘बडी पोस्चर’ अर्थात् शारीरिक अवस्थासँग जोडिएको हुन्छ । बडी पोस्चर मिलेन भने यस्तो समस्या बढी देखिने सम्भावना रहन्छन् । घण्टौंसम्म एकै ठाउँमा बस्ने, निहुरिँदा एकदमै झुक्ने, व्यायामको कमीले पनि यो समस्या देखिन्छ ।

धेरैजसो ढाड दुख्यो भनेर आउने गरेका छन् । ढाडको दुखाइ सरेर खुट्टातिर जाने, निहुँरिदा अप्ठ्यारो हुने, ढाड झमझम जस्तो हुने, ढाड झसक्क हुने, च्याप्प समाएजस्तो महसुस हुने लक्षणहरु देखिन सक्छन् । कसैलाई ढाड दुखेरै ज्वरो आउने, तौल घट्दै जाने, हातखुट्टा कमजोर भएर लुलो हुने, दिसा पिसाब नै नियन्त्रण हुन गाह्रो हुन सक्छ त्यो भनेको जटिल अवस्था हो ।

कसैलाई ढाड दुखेर दैनिक क्रियाकलापमा अप्ठ्यारो भएमा, दिसा–पिसाब नियन्त्रण नभएमा, हातखुट्टा लुलो महसुस भएमा अस्पताल जानुपर्छ र विशेषज्ञलाई भेटेर उपचार सुरु गर्नुपर्छ । अफिसमा एकै पोजिसनमा लामो समयसम्म बसेर काम गर्ने, गह्रुँगो भारी उठाउनुपर्ने कामदारहरु वा भनौं एउटै पोजिसनमा बसेर काम गर्नेलाई यो समस्या बढी देखिँदै आएको छ ।

जाँच गर्दा सामान्य खालको दुखाइ छ र दुखाइ हातखुट्टामा सरेको छैन भने दुखाइ कम गर्ने औषधि र फिजियोथेरापीले नै ठीक हुन्छ । अर्को भनेको खुट्टासम्मै सरेको छ भने औषधि र थेरापी पनि निकाे हुन्छ नभए आवश्यकलाई शल्यक्रिया पनि गरिन्छ । तर धेरैलाई शल्यक्रिया गर्नुपर्ने अवस्था आउँदैन । केही बिरामीमा औषधि भएन भने इन्जेक्सन औषधिले पनि काम गर्छ । समस्या लिएर आउने बिरामीमध्ये १० प्रतिशत जतिलाई शल्यक्रिया आवश्यक पर्छ । कतिपयले शल्यक्रियाले कालान्तरमा झन् दुखाइ हुन्छ भन्ने भ्रम हुन्छ तर त्यस्तो होइन । शल्यक्रिया गराउन डराउनु पर्दैन । यसले प्यारालाइसिस अनि हातखुट्टा नचल्ने भन्ने हुँदैन ।

नसा च्यापिने समस्या चिकित्सकको सल्लाहअनुसार व्यायाम गर्ने र सावधानी अपनाउने भने नियन्त्रणमा आउन सक्छ । ढाडको समस्या देखिएपछि सावधानी नअपनाउँदा पुन: बल्झिन सक्छ । आफनो बडी पोस्चर मिलाएर काम गरिएन भने फेरी समस्या निम्तिन सक्छ । नसा च्यापिन समस्या हुन नदिन दैनिक १० देखि १५ मिनेट हल्का व्यायाम गर्ने यसले गर्दा मांसपेशी बलियो हुन्छ । तौल नियन्त्रण गर्ने, निहुरिँदा अनि गह्रुँगो सामान उठाउँदा ख्याल गर्ने अनि मुख्य कुरा आफ्नो बडी पोस्चरमा जहिल्यै पनि ध्यान दियो भने यस्तो समस्या कम आउँछ ।

(न्युराेलाेजिस्ट डा सुमन भट्टराईसँगकाे कुराकानीमा आधारित)

प्रकाशित : श्रावण २८, २०७९ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?