कोरोनासँगै डेंगुको संक्रमण पनि उकालो लाग्दै- स्वास्थ्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनासँगै डेंगुको संक्रमण पनि उकालो लाग्दै

डा‍‌‍‌. शेरबहादुर पुन

काठमाडौँ — टाउको र शरीरका मांशपेशीका दुख्ने, वाकवाक लाग्ने/बान्ता हुने, आँखाको गेडी दुख्ने समस्या देखिएसँगै एक बिरामीले मसँग परामर्श गरेर परीक्षण गर्दा डेंगु पुष्टि भयो । लक्षण तथा मौसमको आधारमा डेंगु पुष्टि हुनसक्ने अनुमानित नै थियो तर पुष्टि हुन परीक्षण अनिवार्य हुन्छ ।

माथि उल्लेखित लक्षणहरू भएकाहरुले परामर्श लिनेको संख्या दिनानुदिन बढ्दै गैरहेको छ। पछिल्लो एक महिनामा डेंगु संक्रमितको संख्या ह्वात्तै बढेको तथ्यांकले देखाउँछ । पछिल्लो केहि दिनयता कोरोना संक्रमितको बढिरहेको ग्राफमा डेंगु पनि सामेल भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) का अनुसार ५९ जिल्लामा ६०४ वटा डेंगुका केसहरू भेटिएका छन् । जनवरीदेखि अगस्ट ४ गतेसम्मको तथ्यांकअनुसार सबैभन्दा बढी केस रुपन्देहीमा पाइएको छ । रुपन्देहीमा १ सय २३ जना डेंगुका बिरामीहरू पाइएको छ भने धादिङमा ५५, संखुवासभामा ३२, बर्दियामा २१ जना बिरामी देखिएका छन् । गत साल यही अवधिमा ५ सयको हाराहारीमा डेंगु संक्रमण पुष्टि भएका थिए । यसपटक सबैभन्दा बढी डेंगुका बिरामीहरू गएको ३० दिनयता देखिएका छन् । यो महिनामा ३९८ जनामा डेंगु पुष्टि भएको छ ।

सन् २००४ मा डेंगु नेपालमा पहिलो पटक पुष्टि भएको थियो भने सन् २०१९ मा नेपालको इतिहासमै सबैभन्दा लामो अवधि देखिएको, धेरै जिल्लाहरुमा फैलिएर र हजारौं मानिस संक्रमित भएका थिए । डेंगु नेपालमा सामान्यतया मनसुन र अझ विशेषत: पोस्ट मनसुनमा देखिने भए पनि सन् २०१९ मा भने प्रि-मनसुनमा नै देखिएको थियो ।

त्यसबेला काठमाडौंमा सबैभन्दा पहिले खुसिबू क्षेत्र (नयाँ बजार) मा डेंगु व्यापक फैलिएको देखिएको थियो । झन्डै एक महिनासम्म सयौंको संख्यामा देखिएको संक्रमितलाई अस्पतालको बहिरंग विभागमार्फत उपचार गरेपछि मात्र सम्बन्धित निकायले पनि डेंगु फैलिएको विषयलाई गम्भीरताका साथ लिएको थियो ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा पहिलो पटक डेंगु महामारीलाई लक्षित गरी 'फिभर क्लिनिक' को स्थापना गरिएको थियो‚ जसको बागडोर मैले नै सम्हालेको थिएँ । कोरोनाको महामारी सबैभन्दा उच्च विन्दुमा रहेको अवधिमा डेंगु उल्लेखनीय रुपमा फैलिएको भने देखिएन । डेंगु सामान्यतया ३ देखि ५ वर्षको अन्तरालमा प्रकोप/महामारीको रुपमा आउने गर्दछ ।

डेंगु संक्रमण किटजन्य रोगअन्तर्गत पर्दछ । एडिस जातको लामखुट्टेमार्फत डेंगु भाइरस फैलने गर्दछ । एडिस लामखुट्टे विशेषतः बिहान र बेलुकी सूर्यास्त हुनुभन्दा अगाडि बढी सक्रिय हुने र त्यसैबेला संक्रमण बढी सार्ने गर्दछ । सन् २०१९ को डेंगु महामारीमा समयमा अधिकांश संक्रमितहरू आफ्नो कार्य स्थानबाट डेंगुबाट संक्रमित भएको पाइएको थियो । अर्थात् रातमा होइन‚ दिनमा लामखुट्टेको टोकाइबाट संक्रमित भएको स्पष्ट देखिन्छ । जनचेतनामूलक कार्यक्रमहरूमा आफू बस्ने घर वरिपरी पानी जम्न नदिने वा सरसफाइमा ध्यान दिने भन्ने गरिए पनि कार्यस्थानमा भने धेरैले ध्यान दिएको देखिँदैन ।

डेंगु भाइरसलाई ‘१’, ‘२’, ‘३’ र ‘४’ गरी चार सेरोटाइपमा वर्गीकरण गरिएको छ । यीमध्ये कुनै एक सेरोटाइपले संक्रमण गरिसकेको अवस्थामा अर्कोपटक अर्को सेरोटाइपले संक्रमण गरे संक्रमितमा थप स्वास्थ्य जटिलता देखिन सक्ने हुन्छ । जस्तै, डेंगु सेरोटाइप '१' ले संक्रमण गरिसकेको थियो र दोस्रोपटक सेरोटाइप '२', वा '३' वा '४' ले संक्रमण गरे सो संक्रमितमा जटिलता देखिन सक्दछ ।

सन् २०१९ को डेंगु महामारीमा सेरोटाइप '२' ले सबैभन्दा धेरैलाई संक्रमण गरेको पुष्टि अनुसन्धानले देखाउँदछ । अबको दिनमा सेरोटाइप '१', वा '३' वा '४ ' ले संक्रमण गरे पहिले संक्रमित भइसकेकामा (सेरोटाइप '२' संक्रमितमा) स्वास्थ्य जटिलता आउन सक्ने सम्भावना बढी हुनेछ । अर्को शब्दमा भन्नु पर्दा डेंगुको निरन्तर उपस्थिति हुनु भनेको डेंगुको संक्रमण बर्सेनि बढ्दै जानु हो । डेंगुको सेरोटाइप सामान्य किटको परीक्षणबाट हुँदैन । पीसीआर प्रविधिको सहयोगबाट सेरोटाइप थाहा पाउन सकिन्छ । हाल पीसीआर प्रविधि कोरोना पत्ता लगाउन धेरै ठाउँहरूमा उपलब्ध छ । तर‚ डेंगुको नियमित परीक्षणमा यसको प्रयोग भने हालसम्म गर्ने गरिएको छैन । डेंगुमा प्रयोग हुने रिएजेन्ट र सामान्य प्रशिक्षण पछि डेंगुको सेरोटाइप पीसीआर प्रविधिबाट सहजै पत्ता लगाउन भने सकिन्छ ।

ज्वरो आउने, टाउको र शरीर दुख्ने, शरीरमा स-साना बिमिराहरु देखिने, आँखाको सेतो भाग रातो देखिने, आँखाको गेडी दुख्ने, जोर्नी दुख्ने, वाक-वाक/बान्ता हुनेजस्ता लक्षणहरु डेंगु संक्रमणका सुरुवाती अवस्थामा देखिने गर्दछ । तर‚ औसतमा ३ दिनपछि ज्वरो कम भएर जाने गर्दछ । यो समयमा बिरामीले आफू स्वस्थ भइसकेको अनुमान गर्ने गर्दछ । तर‚ कतिपयमा भने ज्वरो घट्ने बित्तिकै डेंगुको 'क्रिटिकल फेज' अर्थात् जटिल अवस्था शुरु हुने गर्दछ । यो २४ देखि ४८ घण्टा अवधिको हुने गर्दछ । यो समय पार गरेपछि भने 'रिकभरी फेज' अथवा बिरामी सुधारउन्मुख अवस्थामा प्रवेश गर्दछ । यो समयमा फेरि शरीरमा स-साना बिबिरा देखिने, हत्केला र पैतालामा चिलाउने, खानामा रुचि नहुने आदि हुने गर्दछ ।

डेंगुको प्रकोप/महामारी फैलिएको समयमा ब्रुफेन, फ्लेक्सोन, एस्पिरिनजस्ता दुखाइ कम गर्ने औषधिहरूको प्रयोग झुक्किएर पनि गर्नु हुँदैन । यस्ता औषधिको प्रयोगले संक्रमितमा रक्तश्राप (अन्तरिक/बाहिरी) गराउने सम्भावना बढी हुने गर्दछ । तर‚ नेपालमा आफैं औषधि पसलमा जाने र ब्रुफेनजस्ता दुखाइ कम गर्ने औषधिको प्रयोग आफूखुसी गर्ने हुँदा त्यो घातक सिद्ध हुनसक्दछ ।

डेंगुका सामान्य लक्षणहरुमा बिरामीले घरमा नै बसेर स्वास्थ लाभ गर्न पनि सक्दछ । तर अत्यधिक पेट दुखेमा, तारन्तार बान्ता भएमा, अलश्य भएमा, रक्तश्राव भएमा र रगत परीक्षण गर्दा प्लेटलेट्सको संख्या तीव्र गतिमा घटेको र हेमाटोक्रिट बढ्दै गएमा तुरुन्त चिकित्सकको सम्पर्कमा जानु पर्दछ । जाँच गर्दा पेटमा पानी जमेको, कलेजोको सुजन देखिए त्यो कडा डेंगुको संकेत मानिन्छ । यस्तो अवस्थामा भर्ना हुनुपर्ने पनि हुनसक्दछ; यसको विशेषतः एन्टी भाइरल औषधि भने हुँदैन ।

सारांशमा भन्नुपर्दा, हाल कोरोनाको मात्र चर्चा बढी हुने गरेकोमा डेंगुको ग्राफ पनि उक्लदै गैरहेको देखिन्छ । एडिस जातको लामखुट्टे विशेषतः बिहान र सूर्यास्त हुनुभन्दा अगाडि सक्रिय हुने र यहि बेला डेंगु संक्रमण बढी हुने भएकाले विशेष सजगता अपनाउनु पर्दछ । ज्वरो आउने र शरीर असाध्य दुख्नेबित्तिकै ब्रुफेनजस्ता औषधि आफूखुसी प्रयोग गर्नाले संक्रमितमा थप जटिलता देखिन सक्ने भएकाले औषधि वितरक र संक्रमित स्वयंले पनि सचेत हुन जरुरी हुन्छ ।

लेखक शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् ।

प्रकाशित : श्रावण २२, २०७९ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्

राजधानीमा हैजाको लहर उर्लंदो !

डा‍‌‍‌. शेरबहादुर पुन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार २ गते विज्ञप्ति प्रकाशित गर्दै काठमाडौंमा दुई बिरामीमा हैजा पुष्टि भएको जानकारी दियो । काठमाडौंस्थित बागबजार निवासी एकै परिवारका दुई सदस्यलाई एकैपटक अचानक कडा हैजा देखिएको थियो । उनीहरूले प्रयोग गरेका पानीको नमुनामा कोलिफर्म (इकोलाई संक्रमण) देखिएको पनि सार्वजनिक भइसकेको छ अर्थात् खानेपानीमा दिसा मिसिएको रहेछ भन्ने हो ।

हैजा पनि दिसाबाट बाहिरिने भएकाले मानिसले प्रयोग गरिरहेको पानीमा हैजाको जीवाणु हुनसक्ने सहजै अनुमान गर्न सकिन्छ; यो कुरा माथि उल्लेखित बिरामीको नमुनामा हैजाको 'ओ १ ओगावा सेरोटाइप' किटाणु पुष्टि भएसँगै प्रमाणित पनि भइसकेको छ । हैजा संक्रमितले प्रयोग गरेको पानी अन्य सर्वसाधारणहरूले पनि निरन्तर प्रयोग गरिरहेका हुन सक्छन् ।

पुष्टि भएका यी दुईबाहेक हैजाका थप बिरामी राजधानीका विभिन्न ठाउँहरूमा देखिँदै जान थालेका छन् । यसले काठमाडौंमा हैजाको लहर उर्लंदै गइरहेको कुरालाई स्पष्ट संकेतसमेत गरेको छ ।

हुन त हैजाको उपस्थिति राजधानीमा यो पहिलो भने होइन । दुई दशक अगाडि मैले मेडिकल अधिकृतको रुपमा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा सेवा सुरु गर्दा वर्षायाम लाग्नेबित्तिकै झाडापखालाका बिरामीले अस्पताल भरिभराउ हुने गर्दथ्यो; त्यसमा हैजाको संख्या उल्लेखनीय हुने गर्दथ्यो । बिरामीका लागि शय्या अपुग हुँदा भुइँमा राखेर समेत उपचार गर्नुपर्ने अवस्था थियो । अस्पतालका सबै कर्मचारीहरू अत्यन्त व्यस्त हुने गर्दथे ।

स्मरण रहोस्, यो अस्पताल कलेरा अस्पताल अर्थात् हैजा अस्पतालको नामले वि.सं. १९९० मा स्थापना भएको हो । हैजाका लागि नै भनेर छुट्टै अस्पताल स्थापना हुनुले पनि नेपाल हैजाबाट कतिसम्म प्रभावित हुने गरेको रहेछ/गर्दथ्यो भन्ने अनुमान गर्न सकिन्छ । हरेक वर्षजसो नेपालमा हैजा देखिँदै गर्दा फैलिसकेपछि भन्दा फैलनु अगाडि नै तयारी तथा योजनाको आवश्यकतालाई दर्साउँछ ।

हैजालाई घातक संक्रामक रोगको रुपमा लिइन्छ । 'भिब्रियो कोलेरा' नामका जीवाणुको कारणले हैजा रोग हुने गर्दछ । संक्रमण भएको केही घण्टादेखि ५ दिनसम्ममा लक्षणहरू देखापर्ने गर्दछ । अचानक र निरन्तर पीडारहित चौलानी पानी (चामलको माडबाट निकालेको पानी जस्तो) जस्तो पखाला लाग्नु, तारन्तार बान्ता हुनु, पेट अथवा खुट्टाका मांशपेशिकाहरु बौडिनु, आलस्य हुनु, बेचैनी हुनुजस्ता यसका प्रमुख लक्षण हुन् । तर‚ झन्डै ८० प्रतिशत संक्रमितमा झाडापखाला सामान्य अथवा लक्षणविहीन पनि हुन सक्दछ; यस्तो किसिमको झाडापखाला लागेका संक्रमितको दिसामार्फत १० दिनसम्म हैजाका जीवाणुहरू फैलिरहेका हुन्छन् ।

काठमाडौंमा हैजा पुष्टि भएको पहिलो बिरामीसँग झाडा सुरु हुनुको कारण बुझ्दा उनले चाउचाउ आफैं बनाएर खाएको र त्यसको लगभग ६-८ घण्टापछि अचानक रिंगटा लाग्ने, टाउको भारी हुने भएको र त्यसपछि अचानक तारन्तार पातलो दिसा लागेको र लगत्तै बान्ता सुरु भएको बताएका थिए । त्यसपछि होस् गुमाएका उनले अस्पतालमा पुगेपछि मात्रै आफू होसमा आएको बताएका थिए ।

हैजा कडा भए शरीरलाई कतिसम्म जोखिमपूर्ण हुँदो रहेछ भन्ने यो एउटा उदाहरण पनि हो । यसरी अचानक कडा हैजा हुँदा नजिकै आफन्त नभएको वा नजिकै स्वास्थ चौकी/केन्द्र नभएर उपचारमा ढिला हुन गए मृत्युसमेत हुन सक्छ । गत वर्ष कपिलवस्तुको कृष्णनगर नगरपालिकाका गाउँहरूमा हैजा फैलिँदा समयमा उपचार नपाउँदा केहीको मृत्युसमेत भएको थियो ।

नेपाली समाजमा झाडापखाला लागे पहिले आफैं औषधि किनेर खाने प्रचलन व्याप्त छ । काठमाडौंमा हैजा पुष्टि हुनुभन्दा केहि हप्ताअघि देखि नै झाडापखालाका बिरामीहरू देखिन थालिसकेका थिए । तर‚ अधिकांशले घरमै बसेर औषधि लिने गरेको जानकारीमा आएको छ । कडा हैजा लाग्दा पनि घरमै बसेर औषधि लिनुभन्दा त्यसको निदानका लागि अस्पताल आउनु उचित हुन्छ । यस्तो अवस्थामा ‘पर्ख र हेर’ को सिद्धान्त अपनाउँदा घातक सिद्ध हुन सक्छ ।

अचानक र अत्यधिक मात्रामा तारन्तार हुने दिसा र बान्ता नरोकिनु र अचेत अवस्थामा पुग्नु नै यसको घातक पक्ष हो । अझ घरमा परिवारका अरु सदस्य नभएमा अवस्था झन् घातक हुन सक्दछ किनभने यस्तो अवस्था भएको केही घन्टाभित्रमा उपचार नपाए बिरामीको मृत्यु नै हुन सक्दछ । यस्ता कडा हैजा भएका बिरामीको मृत्युदर पनि ५० प्रतिशतसम्म पुग्ने गरेको विगतका तथ्यांकहरूले देखाएका छन् । तसर्थ अचानक र निरन्तर पीडारहित चौलानी पानीजस्तो पखाला लागेमा, तारन्तार बान्ता भएमा, पेट तथा खुट्टाका मांशपेशीकाहरु बौडिने अवस्था सिर्जना भएमा तुरुन्त चिकित्सकको सम्पर्कमा रहने अथवा अस्पताल पुग्ने कोसिस गर्नु पर्दछ ।

समग्रमा, हैजा एउटा कडा झाडापखाला गराउने संक्रामक रोग हो । काठमाडौंमा देखिएको संक्रमितमा 'ओ १ ओगावा सेरोटाइप' को हैजा पत्ता लागेको छ । राजधानीका विभिन्न/फरक फरक ठाउँहरुमा हैजाका बिरामीहरू देखिँदै गर्दा सहरमा हैजाको जीवाणुले प्रकोप फैलाउँदै गैरहेको स्पष्ट हुन्छ । तसर्थ, आगामी दिनहरुमा संक्रमण थप नफैलोस् भन्नका लागि सम्बन्धित निकायले हैजाको स्रोत पत्ता लगाएर रोक्ने र बजारमा बेचबिखन भइरहेका खानेकुरा तथा पानीका गुणस्तरको अनुगमनमा कडाइ तथा तीव्रता दिनु पर्दछ । हामीले पनि खानेकुरा, पानी र हात धुने बानीमा विशेष ध्यान दिनु अत्यन्तै जरुरी छ किनभने राजधानीमा अहिले हैजाको लहर उर्लंदो अर्थात् ग्राफ उक्लँदो क्रममा छ ।

(संयोजक, क्लिनिकल रिसर्च युनिट शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल ।)

प्रकाशित : असार १४, २०७९ १३:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×