१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कोरोनासँगै डेंगुको संक्रमण पनि उकालो लाग्दै

डा‍‌‍‌. शेरबहादुर पुन

काठमाडौँ — टाउको र शरीरका मांशपेशीका दुख्ने, वाकवाक लाग्ने/बान्ता हुने, आँखाको गेडी दुख्ने समस्या देखिएसँगै एक बिरामीले मसँग परामर्श गरेर परीक्षण गर्दा डेंगु पुष्टि भयो । लक्षण तथा मौसमको आधारमा डेंगु पुष्टि हुनसक्ने अनुमानित नै थियो तर पुष्टि हुन परीक्षण अनिवार्य हुन्छ ।

कोरोनासँगै डेंगुको संक्रमण पनि उकालो लाग्दै

माथि उल्लेखित लक्षणहरू भएकाहरुले परामर्श लिनेको संख्या दिनानुदिन बढ्दै गैरहेको छ। पछिल्लो एक महिनामा डेंगु संक्रमितको संख्या ह्वात्तै बढेको तथ्यांकले देखाउँछ । पछिल्लो केहि दिनयता कोरोना संक्रमितको बढिरहेको ग्राफमा डेंगु पनि सामेल भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) का अनुसार ५९ जिल्लामा ६०४ वटा डेंगुका केसहरू भेटिएका छन् । जनवरीदेखि अगस्ट ४ गतेसम्मको तथ्यांकअनुसार सबैभन्दा बढी केस रुपन्देहीमा पाइएको छ । रुपन्देहीमा १ सय २३ जना डेंगुका बिरामीहरू पाइएको छ भने धादिङमा ५५, संखुवासभामा ३२, बर्दियामा २१ जना बिरामी देखिएका छन् । गत साल यही अवधिमा ५ सयको हाराहारीमा डेंगु संक्रमण पुष्टि भएका थिए । यसपटक सबैभन्दा बढी डेंगुका बिरामीहरू गएको ३० दिनयता देखिएका छन् । यो महिनामा ३९८ जनामा डेंगु पुष्टि भएको छ ।

सन् २००४ मा डेंगु नेपालमा पहिलो पटक पुष्टि भएको थियो भने सन् २०१९ मा नेपालको इतिहासमै सबैभन्दा लामो अवधि देखिएको, धेरै जिल्लाहरुमा फैलिएर र हजारौं मानिस संक्रमित भएका थिए । डेंगु नेपालमा सामान्यतया मनसुन र अझ विशेषत: पोस्ट मनसुनमा देखिने भए पनि सन् २०१९ मा भने प्रि-मनसुनमा नै देखिएको थियो ।

त्यसबेला काठमाडौंमा सबैभन्दा पहिले खुसिबू क्षेत्र (नयाँ बजार) मा डेंगु व्यापक फैलिएको देखिएको थियो । झन्डै एक महिनासम्म सयौंको संख्यामा देखिएको संक्रमितलाई अस्पतालको बहिरंग विभागमार्फत उपचार गरेपछि मात्र सम्बन्धित निकायले पनि डेंगु फैलिएको विषयलाई गम्भीरताका साथ लिएको थियो ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा पहिलो पटक डेंगु महामारीलाई लक्षित गरी 'फिभर क्लिनिक' को स्थापना गरिएको थियो‚ जसको बागडोर मैले नै सम्हालेको थिएँ । कोरोनाको महामारी सबैभन्दा उच्च विन्दुमा रहेको अवधिमा डेंगु उल्लेखनीय रुपमा फैलिएको भने देखिएन । डेंगु सामान्यतया ३ देखि ५ वर्षको अन्तरालमा प्रकोप/महामारीको रुपमा आउने गर्दछ ।

डेंगु संक्रमण किटजन्य रोगअन्तर्गत पर्दछ । एडिस जातको लामखुट्टेमार्फत डेंगु भाइरस फैलने गर्दछ । एडिस लामखुट्टे विशेषतः बिहान र बेलुकी सूर्यास्त हुनुभन्दा अगाडि बढी सक्रिय हुने र त्यसैबेला संक्रमण बढी सार्ने गर्दछ । सन् २०१९ को डेंगु महामारीमा समयमा अधिकांश संक्रमितहरू आफ्नो कार्य स्थानबाट डेंगुबाट संक्रमित भएको पाइएको थियो । अर्थात् रातमा होइन‚ दिनमा लामखुट्टेको टोकाइबाट संक्रमित भएको स्पष्ट देखिन्छ । जनचेतनामूलक कार्यक्रमहरूमा आफू बस्ने घर वरिपरी पानी जम्न नदिने वा सरसफाइमा ध्यान दिने भन्ने गरिए पनि कार्यस्थानमा भने धेरैले ध्यान दिएको देखिँदैन ।

डेंगु भाइरसलाई ‘१’, ‘२’, ‘३’ र ‘४’ गरी चार सेरोटाइपमा वर्गीकरण गरिएको छ । यीमध्ये कुनै एक सेरोटाइपले संक्रमण गरिसकेको अवस्थामा अर्कोपटक अर्को सेरोटाइपले संक्रमण गरे संक्रमितमा थप स्वास्थ्य जटिलता देखिन सक्ने हुन्छ । जस्तै, डेंगु सेरोटाइप '१' ले संक्रमण गरिसकेको थियो र दोस्रोपटक सेरोटाइप '२', वा '३' वा '४' ले संक्रमण गरे सो संक्रमितमा जटिलता देखिन सक्दछ ।

सन् २०१९ को डेंगु महामारीमा सेरोटाइप '२' ले सबैभन्दा धेरैलाई संक्रमण गरेको पुष्टि अनुसन्धानले देखाउँदछ । अबको दिनमा सेरोटाइप '१', वा '३' वा '४ ' ले संक्रमण गरे पहिले संक्रमित भइसकेकामा (सेरोटाइप '२' संक्रमितमा) स्वास्थ्य जटिलता आउन सक्ने सम्भावना बढी हुनेछ । अर्को शब्दमा भन्नु पर्दा डेंगुको निरन्तर उपस्थिति हुनु भनेको डेंगुको संक्रमण बर्सेनि बढ्दै जानु हो । डेंगुको सेरोटाइप सामान्य किटको परीक्षणबाट हुँदैन । पीसीआर प्रविधिको सहयोगबाट सेरोटाइप थाहा पाउन सकिन्छ । हाल पीसीआर प्रविधि कोरोना पत्ता लगाउन धेरै ठाउँहरूमा उपलब्ध छ । तर‚ डेंगुको नियमित परीक्षणमा यसको प्रयोग भने हालसम्म गर्ने गरिएको छैन । डेंगुमा प्रयोग हुने रिएजेन्ट र सामान्य प्रशिक्षण पछि डेंगुको सेरोटाइप पीसीआर प्रविधिबाट सहजै पत्ता लगाउन भने सकिन्छ ।

ज्वरो आउने, टाउको र शरीर दुख्ने, शरीरमा स-साना बिमिराहरु देखिने, आँखाको सेतो भाग रातो देखिने, आँखाको गेडी दुख्ने, जोर्नी दुख्ने, वाक-वाक/बान्ता हुनेजस्ता लक्षणहरु डेंगु संक्रमणका सुरुवाती अवस्थामा देखिने गर्दछ । तर‚ औसतमा ३ दिनपछि ज्वरो कम भएर जाने गर्दछ । यो समयमा बिरामीले आफू स्वस्थ भइसकेको अनुमान गर्ने गर्दछ । तर‚ कतिपयमा भने ज्वरो घट्ने बित्तिकै डेंगुको 'क्रिटिकल फेज' अर्थात् जटिल अवस्था शुरु हुने गर्दछ । यो २४ देखि ४८ घण्टा अवधिको हुने गर्दछ । यो समय पार गरेपछि भने 'रिकभरी फेज' अथवा बिरामी सुधारउन्मुख अवस्थामा प्रवेश गर्दछ । यो समयमा फेरि शरीरमा स-साना बिबिरा देखिने, हत्केला र पैतालामा चिलाउने, खानामा रुचि नहुने आदि हुने गर्दछ ।

डेंगुको प्रकोप/महामारी फैलिएको समयमा ब्रुफेन, फ्लेक्सोन, एस्पिरिनजस्ता दुखाइ कम गर्ने औषधिहरूको प्रयोग झुक्किएर पनि गर्नु हुँदैन । यस्ता औषधिको प्रयोगले संक्रमितमा रक्तश्राप (अन्तरिक/बाहिरी) गराउने सम्भावना बढी हुने गर्दछ । तर‚ नेपालमा आफैं औषधि पसलमा जाने र ब्रुफेनजस्ता दुखाइ कम गर्ने औषधिको प्रयोग आफूखुसी गर्ने हुँदा त्यो घातक सिद्ध हुनसक्दछ ।

डेंगुका सामान्य लक्षणहरुमा बिरामीले घरमा नै बसेर स्वास्थ लाभ गर्न पनि सक्दछ । तर अत्यधिक पेट दुखेमा, तारन्तार बान्ता भएमा, अलश्य भएमा, रक्तश्राव भएमा र रगत परीक्षण गर्दा प्लेटलेट्सको संख्या तीव्र गतिमा घटेको र हेमाटोक्रिट बढ्दै गएमा तुरुन्त चिकित्सकको सम्पर्कमा जानु पर्दछ । जाँच गर्दा पेटमा पानी जमेको, कलेजोको सुजन देखिए त्यो कडा डेंगुको संकेत मानिन्छ । यस्तो अवस्थामा भर्ना हुनुपर्ने पनि हुनसक्दछ; यसको विशेषतः एन्टी भाइरल औषधि भने हुँदैन ।

सारांशमा भन्नुपर्दा, हाल कोरोनाको मात्र चर्चा बढी हुने गरेकोमा डेंगुको ग्राफ पनि उक्लदै गैरहेको देखिन्छ । एडिस जातको लामखुट्टे विशेषतः बिहान र सूर्यास्त हुनुभन्दा अगाडि सक्रिय हुने र यहि बेला डेंगु संक्रमण बढी हुने भएकाले विशेष सजगता अपनाउनु पर्दछ । ज्वरो आउने र शरीर असाध्य दुख्नेबित्तिकै ब्रुफेनजस्ता औषधि आफूखुसी प्रयोग गर्नाले संक्रमितमा थप जटिलता देखिन सक्ने भएकाले औषधि वितरक र संक्रमित स्वयंले पनि सचेत हुन जरुरी हुन्छ ।

लेखक शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् ।

प्रकाशित : श्रावण २२, २०७९ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?