छालामा सनस्क्रिन प्रयोग किन आवश्यक छ ? - स्वास्थ्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छालामा सनस्क्रिन प्रयोग किन आवश्यक छ ? 

सनस्क्रिन क्रिमले घामको हानिकारक विकीरणबाट जोगाउन मद्दत गर्छ 
डा. प्रज्वल पुडासैनी

काठमाडौँ — सनस्क्रिन भनेको घामबाट बच्नको लागि प्रयोग गरिने क्रिम हो । घाममा विभिन्न हानिकारक विकरणहरु हुन्छन् । जस्तै ‘अल्ट्राभोइलेट ए’(युभिए), युभिबि आदि । युभिएले छालालाई कालो बनाउन सक्छ । जस्तै चर्को घाममा स्वीमिङ गर्दा छाला डढ्न सक्छ । यी विकीरणहरुले फोटो एजिङ गराउँछन् जसले अनुहारमा चाउरीपना आउने, कालो दाग बस्ने, छालालाई आफ्नो उमेरभन्दा वृद्ध उमेरको देखाउँछ ।

यी विकरणले छालाको क्यान्सर गराउने, एलर्जी हुने, बिबिरा, डाबर निकाल्ने, कालोपोतो निकाल्ने, सानो–सानो तिलकोठीहरु पनि बढाउन सक्छन् । यी सबैबाट बच्न सनस्क्रिनको आवश्यकता पर्दछ ।

घाममा हिँड्दामात्र सनस्क्रिनको प्रयोग गर्नुपर्छ भन्ने छैन । बादल लागेको बेला, पानी परेको बेला, बसभित्र यात्रा गर्दा, घरमै रहँदा पनि सनस्क्रिन लगाउनुपर्छ । घरभित्रबाट बस्दा पनि झ्यालबाट विकीरणहरु आउन सक्छन् । सनस्क्रिनको प्रयोग आफ्नो छालाको प्रकारअनुसार प्रयोग गर्नु उचित हुन्छ । यो मुख्यत: ३ खालको हुन्छ: क्रिम, जेल र लोसनमा । चिल्लो छालाका लागि जेलबेस्ड उपयुक्त हुन्छ भने सुख्खा छालाका लागि हामीले क्रिम लगाउन सुझाउँछौं । त्यसैगरी जसको चिल्लो र सुख्खा दुवै छैन र मिस्क प्रकारको छाला छ भने उनीहरुलाई लोसनबेस्ड सनस्क्रिन उपयुक्त हुन्छ ।

कति र कसरी लगाउने ?

सनस्क्रिनले लगाएकै कारणले पनि एलर्जी हुन सक्छन् त्यसैले आफ्नो छाला सुहाउँदो सनस्क्रिन लगाउन जरुरी छ । बजारमा विभिन्न किसिमका सनस्क्रिन पाइन्छन् ।सनस्क्रिन सबैभन्दा राम्रो मेडिकलबाट लिएको राम्रो । सनस्क्रिन रोज्दा एकदमै बास्नादार, रंगीचंगी प्याकेट भएको रोज्नुहुँदैन । औषधीय गुण भएको सनस्क्रिन रोज्नुपर्दछ ।

सनस्क्रिन लिँदा पनि कुन एसपिएफको लिने भन्नेमा पनि ध्यान दिनुपर्छ । एसपिएफ अर्थात ‘सन प्रोटेक्सन फ्याक्टर’ ।यो भनेको कति विकिरणहरु हाम्रो छालाबाट भित्र गएर असर गर्छ भन्ने मापन हो ।सनस्क्रिनले नराम्रो विकिरणलाई बचाउने काम गर्दछ । नेपाल तथा भारतमा प्राय गहुँगोरो छाला हुने भएकाले ३० एसपिएफको सनस्क्रिनले पुग्छ जसले लगभग ९७ प्रतिशत घामको विकिरणबाट बचाउँछ भनिन्छ । त्यसैगरी एकदम गोरो छाला, लुपस भएका र पोतोहरु आइराख्नेलाई ५० एसपिएफ उपयुक्त हुन्छ भनिन्छ । यसले ९८ प्रतिशत जति घामको विकिरणबाट बचाउँछ । अझ बजारमा त २०० एसपिएफसम्मका सनस्क्रिन पनि पाइन्छन् तर धेरै एसपिएफको सनस्क्रिन प्रयोग गर्दैमा घामको विकिरणबाट पुरै बचिने होइन। धेरै प्रयोग गर्ने भन्दा कसरी प्रयोग गर्नेमा यसको प्रभावकारिता देखिन्छ ।

सनस्क्रिन लगाउनुभन्दा पहिले आफ्नो छालमा एलर्जी हुन नदिन चेक गरेर मात्र लगाउनुपर्छ । हाम्रो कान पछाडी एकदम पातलो छाला हुन्छ त्यसमा थोरै लगाएर हेर्ने एलर्जी भएन भने त्यो छालालाई उपयुक्त हुन्छ । त्यसैगरी हत्केलाभन्दा माथिको भागको छालामा पनि परीक्षण गर्न सकिन्छ त्यसबाट पनि अन्दाज लगाउन सकिन्छ ।

सनस्क्रिन अनुहार र घाँटीमा ३ देखि ५ ग्राम अर्थात १ चिया चम्चा लगाए पुग्छ । साथै छाला एक्सपोज हुने भाग जस्तै हात तथा खुट्टामा पनि प्रयोग गर्ने । सनस्क्रिन दिनकाे एकपटक मात्र लगाएर पुग्दैन पटक पटक प्रयोग गर्नुपर्छ । सामान्यतया प्रत्येक २ घण्टामा सनस्क्रिन लगाउनुपर्छ नभए सनस्क्रिन दिनको ३ पटक लगाउन सल्लाह दिन्छौँ ९ बजे,१२ बजे र ३ बजे । यो समय सम्भव भएन भने दिनको दुईपटक प्रयोग गर्नुपर्छ ।

सनस्क्रिन ‘फिजिकल’ र ‘केमिकल’ गरी दुई प्रकारको हुन्छ । धेरैजसो केमिकल सनस्क्रिनको प्रयोग भइरहेको हुन्छ । यो सनस्क्रिन लगाएको १५ मिनेट देखि आधाघण्टापछि मात्र घाममा जाने, स्वीमिङ गर्ने, चर्को घाममा हिँड्ने गर्दा राम्रो हुन्छ । किनकी यो सनस्क्रिन छालामा सोसिन समय लाग्छ । खेलाडीहरुले भने ‘फिजिकल’ सनस्क्रिनको प्रयोग गर्छन् । यो सनस्क्रिन छालामा लगाउनेबित्तिकै काम गरिहाल्छ । एकदम घाममा गइराख्नुपर्ने, पर्वतारोही, गर्भवती तथा बच्चाकोलागि यो सनस्क्रिन उपयुक्त हुन्छ । गर्भावस्थामा केमिकल सनस्क्रिनको प्रयोग गर्नुहुँदैन । २ वर्ष माथिका बच्चाहरुले पनि सनस्क्रिनको प्रयोग गर्न सक्छन् भनिन्छ तर सानो उमेरमा यसको आवश्यकता खासै पर्दैन ।

अर्को अहिले ‘कम्प्याक्ट फर्म’मा पनि सनस्क्रिनहरु आउन थालेका छन् जुन कम्प्याक्ट फाउन्डेसन जस्तो हुन्छ जसले कालोपोतोहरु लुकाउन सक्छ । सनस्क्रिन लगाएपछि मेकअप लगाउन मिल्छ भन्ने प्रश्न पनि धेरैले सोध्ने गरेका छन् । लगाउन मिल्छ तर केही समय मात्र छालाामा लगाउने र पखालिहाल्नुपर्छ ।

सनस्क्रिनको महत्व छ तर सबैले किन्न नसक्लान् र प्रयोग गर्न नसक्लान् । सकेसम्म छायाँमा रहेर काम गर्नुपर्छ । १० देखि ४ बजेको घाममा एकदमै विकिरण हुन्छ भनिन्छ । घामबाट बच्न ह्याट लगाउने, चस्मा लगाउने, कपडाले अनुहार तथा घाँटी छोप्न सकिन्छ। साथै छाता ओढेर हिँड्ने ,मास्क र टोपी लगाएर हिँड्न सकिन्छ ।

(डा पुडासैनीसँग बुनु थारुले गरेको कुराकानीमा आधारित)

प्रकाशित : श्रावण २१, २०७९ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्

विद्यार्थीलाई शशांकको सुझाव : पढाइ सकेपछि मात्रै राजनीतिमा लाग्नुपर्छ

नारायण शर्मा

पूर्वी नवलपरासी — नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले विद्यार्थीले पढाइ नसकेसम्म राजनीतिमा प्रवेश गर्न नहुने बताएका छन् ।

विद्यार्थीले राजनीति गर्ने होइन भन्ने कुरा आफूले कांग्रेसका नेता बीपी कोइरालाबाट सिकेको उनको भनाइ थियो । 'विद्यार्थीले राजनीति गर्ने होइन भन्ने कुरा मैले बीपी कोइरालाबाट सिकेको हो । पहिले पढ्ने अनि पढाइमा उत्कृष्ट बनेपछि मात्र राजनीतिमा लाग्नुपर्छ,' कोइरालाले भने ।

यसपटकको एसईई परीक्षा उत्तीर्ण विद्यार्थीलाई गैंडाकोटमा शनिबार आयोजित सम्मान कार्यक्रममा डा. कोइरालाले यस्तो बताएका हुन् । विद्यालय राजनीति गर्ने ठाउँ नभएको भन्दै पहिला विद्यार्थीहरू पढाइमा दक्ष हुन जरुरी रहेको सुझाव दिए।

आफूले पनि विद्यार्थी जीवनमा राजनीति नगरेको स्मरण गर्दै नेता कोइरालाले भने, 'मैले पहिला पढाइलाई उत्कृष्ट गराएँ । त्यसपछि राजनीतिमा लागेँ । अहिले पनि म राजनीतिमा उत्कृष्ट नै छु जस्तो लाग्छ ।'

यस सन्दर्भमा उनले जसले जे काम गर्छ त्यसलाई उत्कृष्ट बनाउनुपर्ने दायित्व पनि उसैको हुने भन्दै विद्यार्थीहरूलाई उनले पढाइमा अब्बल हुनुपर्ने सुझाव दिएका थिए ।

एसईई सकेका विद्यार्थीलाई बधाइ तथा सम्मान दिँदै कोइरालले पहिला पढाइलाई उत्कृष्ट गराएर मात्र राजनीतिमा आउन पटकपटक आग्रह गरेका थिए ।

गैंडाकोट नगरपालिकाभित्रका विद्यालयबाट यसपटक एसईई उत्तीर्ण गरेका करिब १३ सय विद्यार्थीमध्ये ६ सयभन्दा बढीलाई शनिबार सम्मान गरिएको थियो । एसईईमा सामेल हुने विद्यार्थीहरू अधिकांश आगामी मंसिरको निर्वाचनका मतदाता समेत हुनसक्ने अपेक्षा गरिएको छ । डा कोइराला पूर्वी नवलपरासी क्षेत्र नम्बर १ बाट लगातार तेस्रोपटक प्रतिनिधिसभा सदस्यको रुपमा विजयी भइसकेका सांसद हुन् ।

प्रकाशित : श्रावण २१, २०७९ १८:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×