कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

प्रसूति गृहमा तयार भयो ‘ह्युमन मिल्क बैंक’

भदौदेखि सञ्चालन गरिने
बुनु थारु

काठमाडौँ — काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा ‘ह्युमन मिल्क बैंक’ (आमाको दूध)को सेटअप तयार भएको छ । आमाहरूले दान गर्ने दूध सुरक्षितरूपमा राखेर शिशुलाई खुवाउन मिल्ने गरी खोलिएको ‘ह्युमन मिल्क बैंक’ को औपचारिकरुपमा उद्घाटन भने भदौमा गरिने भएको छ । 

प्रसूति गृहमा तयार भयो ‘ह्युमन मिल्क बैंक’

अस्पतालका निर्देशक डा अमिरबाबु श्रेष्ठले अस्पतालको आउँदो वार्षिकोत्सवमा उद्घाटन गरिने जनाए । उनले भने–‘केही प्राविधिक कामबाहेक सबै सेटअप तयार भइसकेको छ । भदौ ३ गते उद्घाटनको तयारीमा रहेका छौं ।’ अस्पतालले विश्व स्तनपान सप्ताह २०७९ (अगस्ट १ देखि ७) सम्मको बीचमा उद्घाटन गर्ने सोचेको थियो तर केही प्राविधिक कारणले हुन नसकेको डा श्रेष्ठको भनाइ छ ।

सरकारले अघिल्लो वर्ष ‘ह्युमन मिल्क बैंक’को स्थापना गर्ने अवधारणा ल्याएको थियो । अस्पताललाई सरकारले स्थापनाका लागि गत वर्ष १ करोड ५ लाख बजेट पनि दिएको थियो । यो बैंक स्थापना गर्न प्राविधिक सहयोग युनिसेफले गरेको छ भने स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको ‘पाथ’ले स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरेको छ । डा श्रेष्ठले ‘ह्युमन मिल्क बैंक सञ्चालन गर्नका लागि कार्यविधि बनिरहेको बताए ।

नेपाल मल्टी इन्डिकेटर क्लष्टर सर्भे(मिक्स) २०१९ अनुसार नेपालमा पूर्ण स्तनपान गराउनेको संख्या ६२ प्रतिशत मात्र छ ।विश्व स्वास्थ्य संगठनका अनुसार स्तनपानले बच्चाको पहिलो खोपको रूपमा काम गर्छ जसले उनीहरूलाई बाल्यकालका सामान्य रोगहरूबाट बचाउँछ। जन्मेदेखि ६ महिनासम्म बच्चालाई पूर्ण रुपमा स्तनपान गराउँदा शिशु मृत्युदरलाई धेरै हदसम्म घटाउन सकिने तथ्यांकहरूले देखाएका छन् । आमाको दूध शिशुहरूको लागि सुरक्षित, सफा र एन्टिबडी समावेश हुन्छ जसले बाल्यकालका सामान्य रोगहरूबाट जोगाउन मद्दत गर्दछ।

मिल्क बैंकले आमाको दूध खान नसक्ने, दूध नै नआउने आमा, आमाले खुवाउन नसक्ने समस्यालाई समाधान गर्न सहयोग गर्नेछ । अस्पतालकी नवजात शिशु विभागकी प्रमुख तथा बालरोग विशेषज्ञ डा कल्पना सुवेदी भन्छिन्–‘आमाले आफ्नो बच्चालाई पुगेर बढी भएको दूध अरु बच्चालाई दान दिने हो । यदि कुनै कारणले बच्चाले दूध खान सक्दैन तर आमाको दूध आउँछ भने संकलन गरिन्छ ।’ उनका अनुसार उमेर नपुगी जन्मिने बच्चामा दूध तान्न सक्ने शक्ति हुँदैन र धेरै बिरामी बच्चा छ भने उसले दूध खान सक्दैन।

नेपालको एकमात्र ठूलो रिफरल स्त्रीरोग अस्पताल हो परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल । जहाँ वार्षिक २२ देखि २४ हजार डेलिभरी हुन्छ । अस्पतालमा मासिक २ हजार डेलिभरी हुने गरेका छन् जसमा ३५ प्रतिशत शल्यक्रियाबाट बच्चा जन्मिने गरेका छन् । जसलाई डेलिभरीपछि कम्तीमा दुई दिन दूधको आवश्यकता पर्छ । जुन ‘ह्युमन मिल्क बैंक’ बाट हुनेछ ।

त्यसैगरी सघन उपचार कक्षमा उपचार गराइने शिशुहरूलाई पनि ‘ह्युमन मिल्क बैंक’ले सहायता गर्नेछ । शल्यक्रिया गरेर जन्मिएका शिशुहरूमा फर्मूला दूधहरूको बढ्दो प्रयोग देखिने गरेको छ । ह्युमन मिल्क बैंक’ले यसको निदान गर्ने आंकलन गरिएको छ । अस्पतालले मासिक १००० जना बच्चाहरूलाई ‘ह्युमन मिल्क बैंक’ ले प्रत्यक्ष रुपमा लाभ दिने आंकलन गरेको छ ।

बृहत स्तनपान व्यवस्थापन केन्द्रकी म्यानेजर स्मृति पौडेलले सुरुमा आमाहरूलाई आफ्नो दूध पुगेको छ वा छैन भनेर व्यक्तिगत तथा समूहमा परामर्श दिइने र त्यसपछि परीक्षण हुने बताइन् । स्मृति भन्छिन्–‘यही डेलिभरी गराउने आमाको परीक्षण पहिले भइसकेकाले पर्दैन तर जो दूध दान गर्ने इच्छुकले केही परीक्षण गराउनुपर्ने हुन्छ ।’

दूध दान गर्ने आमाहरूले ६ महिनाभित्र प्रमुख तीन परीक्षण एचआईभी, भेनेरल डिजिज रिसर्च ल्याबोलरेटरी टेस्ट(भिडिआरएल) र हेपटाइटिस बी सर्फेस एन्टिजेन टेस्ट (एचबीएसजी) परीक्षण गरेको हुनुपर्छ ।त्यसपछि स्वस्थ्य आमाबाट ब्रेस्ट मिल्क पम्पको माध्यमले आमाको दूध संकलन गरिन्छ । बैंकमा इलेक्ट्रिक र म्यानुअल पम्प उपलब्ध हुनेछ ।

संकलन गरिएको दूधमा कुनै रोगव्याधि नरहेको परीक्षणबाट सुनिश्चिततापछि पास्चराइजेसन गरेर एक सय मिलिलिटरको बोतलमा राखिन्छ । त्यसपछि माइनस २० डिग्री सेल्सियस तापक्रमको डिप फ्रिजरमा राखिने उक्त बोतल आमाको दूध नपाएका शिशुलाई उपलब्ध गराइनेछ ।

पौडेल भन्छिन्–‘दूध खुवाउन नसक्ने वा खान नसक्ने बच्चाका लागि संकलन गरेको दूधलाई रेफ्रिजिरेटरमा ४ देखि ८ डिग्री सेल्सियससम्म राख्छौं ।त्यो संकलन गरेको दूध २४ घण्टामा दिइसक्नुपर्छ । अर्को स्वेच्छाले दान दिने गरिएको आमाको दूध माइनस २० डिग्रीमा तापक्रममा डिप फ्रिजमा राखिन्छ । दूध किटाणुरहित बनाउन कल्चर गरी पास्चराइजेसन गरिन्छ ।’

संकलन गरेको दूधलाई ६ महिनासम्म प्रयोग गर्न सक्ने बताइन्छ । अस्पतालको मुख्य भवनको दोस्रो तल्लामा रहेको ‘ह्युमन मिल्क बैंक’मा ५ जना परामर्शदाता, एक जना प्रशासनतर्फ, दुई जना सहयोगी, एक जना लयाब टेक्निसियन र एक जना माइक्रोबायोलोजिस्ट गरी १० जनाको टिम रहेको छ ।

बालरोग विशेषज्ञ डा सुवेदीले स्तनपान गर्नुपर्ने जनचेतना कम रहेको औल्याउँदै प्रसूति गृहमा जन्मिएका आईसीयूमा भर्ना हुने पोस्ट अपरेटिभ वार्डका कम्तीमा ४० प्रतिशतलाई अतिरिक्त दूधको आवश्यकता पर्न सक्छ । उनले भनिन्–‘संकलन गरिएको दूध सबै बच्चालाई नपुग्ला । उमेर नपुगी जन्मिएका बच्चा, बिरामी बच्चा जसलाई फर्मुला दिँदा पनि साइडइफेक्ट हुन सक्छ उनीहरूलाई प्राथमिकता दिइनेछ । बिस्तारै प्रचारप्रसार बढेर बढी मात्रामा संकलन हुन थालेपछि प्राथमिकताको दायरा बढाइनेछ साथै अरु प्रदेशमा पनि यस्ता सेन्टर सञ्चालन गरिनेछ ।’

नेपालमा पहिलाे पटक ह्युमन मिल्क बैंक स्थापना भएको हो । विश्वभर करिब ६ सयभन्दा बढी मिल्क बैंक छन् । पहिलो पटक सन् १९०९ मा अस्ट्रियामा ह्युमन मिल्क बैंक खोलिएको थियो ।

प्रकाशित : श्रावण १७, २०७९ २१:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?