कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कोरोना संक्रमण बढ्यो, २ हप्तामा १६ को मृत्यु

जनस्वास्थ्यविद् भन्छन् : ‘खोप अनिवार्य रूपमा लगाऔं । मास्क लगाऔं । लक्षण देखिए आइसोलेसनमा बसौं ।
बुनु थारु

काठमाडौँ — नेपालमा कोरोना संक्रमणको रफ्तार बढ्दै गएको छ । सोमबार एकैदिन ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।यो सँगै सक्रिय संक्रमितको संख्या ४ हजार ९३४ पुगेको छ र एक जनाको मृत्यु भएको छ । आइतबार ६२० जनामा संक्रमण देखिएको थियो भने एक जनाको मृत्यु भएको थियो ।

कोरोना संक्रमण बढ्यो, २ हप्तामा १६ को मृत्यु

साउन १ देखि १६ गतेसम्म ७ हजार ९२३ कोरोनाका नयाँ संक्रमित थपिएका छन् । साउन १ गते संक्रमण दर ४.४३ प्रतिशत रहेकोमा साउन १६ गते संक्रमण दर बढेर १५.१४ प्रतिशत पुगेको छ । देशभर कोरोनाको सक्रिय संक्रमित ४ हजार ९३४ जना रहेका छन् जसको आधाभन्दा बढी काठमाडौं उपत्यकामा रहेका छन् ।

यो दुई हप्तामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा धेरैजसो ज्येष्ठ नागरिक र खोप नलगाएका छन् । पछिल्लो पटक वैशाख २१ गते कोरोना संक्रमणबाट मृत्यु भएकोमा ७३ दिनपछि साउन १ गते कोरोना संक्रमणबाट १ जना संक्रमितको मृत्यु भएको थियो ।

उपत्यकामा संक्रमण बढ्दै

पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमण बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्र ३ सय ७३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै भक्तपुरमा १७ र ललितपुरमा ६६ जना संक्रमित थपिएका छन् । काठमाडौंमा सक्रिय संक्रमितको संख्या २ हजार ८ सय ७२, भक्तपुरमा सक्रिय संक्रमितको संख्या ३० र ललितपुरमा ५ सय ४३ गरी काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ३ हजार ४ सय ४५ पुगेको छ ।

सोमबारसम्म ५ सयभन्दा बढी सक्रिय संक्रमित हुने जिल्लामा काठमाडौं र ललितपुर रहेका छन् भने कास्कीमा २ सयभन्दा बढी संक्रमित रहेका छन् । त्यस्तै सक्रिय संक्रमित शून्य रहेका जिल्लामा भने मनाङ, कालिकोट, मुगु, हुम्ला, बाजुरा, दार्चुला र बझाङ रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर ३६ जना आइसोलेसनमा र ५ जना भेन्टिलेटरमा उपचाररत छन् । उपत्यकाका विभिन्न अस्पतालमा ३५ जना जनरल वार्डमा, ३१ जना एचडीयूमा, ३२ जना आईसीयूमा र ५ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालकी निर्देशक डा. मनिषा रावलले चाडबाड नजिकिएसँगै संक्रमण बढ्दै जानसक्ने भएकाले सजगता अपाउनुपर्ने सुझाउँछिन् । अस्पतालमा हाल एक जना संक्रमित आईसीयूमा उपचाररत छन् । डा. रावलका अनुसार आइतबारसम्म १४ जना उपचाररत रहेका थिए । उनले भर्ना भएका धेरैले खोपको पहिलो मात्रा लगाएको र धेरैले बुस्टर डोज नलगाएको बताइन् । ‘दुई हप्ताअघि कोभिड परीक्षण गराउने न्यून थिए अहिले १ हप्तायता परीक्षण गराउनेको संख्या बढेको छ ।भर्ना भएका बिरामीमा जटिलता देखिएको छैन । भेन्टिलेटरमै राख्नुपरेको छैन,’उनले भनिन् ।

त्यसैगरी त्रिवि शिक्षण अस्पतालमा हाल ३ जना कोभिड संक्रमित उपचार गराइरहेको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जनाए । उनले भने, ‘एक हप्ताअघि ७ जना कोभिड संक्रमित उपचाररत थिए । संक्रमितमा एकदम जटिलता थिएन । अहिले स्वास्थ्यकर्मीहरू संक्रमित हुने बढेको छ ।’ उनका अनुसार हाल १२ जना स्वास्थ्यकर्मी संक्रमित रहेका छन् ।

१७ अस्पतालमा नि:शुल्क उपचार

मन्त्रालयले सोमबार कोभिड–१९ संक्रमणको मध्यम अवस्था र गम्भीर अवस्था भएका बिरामीहरूका लागि नि:शुल्क उपचारका लागि १७ अस्पताल तोकेको छ । असार ३१ गतेको निर्णयअनुसार मन्त्रालयले कोभिड संक्रमतिको उपचारका लगि अस्पताल तोकेको हो । कोभिड १९ संक्रमितको उपचारबापत ती अस्पताललाई बिरामीको अवस्थाका आधारमा अनुदान दिने व्यवस्था मिलाइएको छ ।

प्रदेश १ मा कोसी अस्पताल(विराटनगर) र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान(धरान) लाई तोकिएको छ । त्यसैगरी मधेश प्रदेशमा जनकपुर प्रादेशिक अस्पताल(जनकपुर) र नारायणी अस्पताल(वीरगञ्ज) रहेको छ । वाग्मती प्रदेशमा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल(टेकु), भरतपुर अस्पताल (चितवन), वीर अस्पताल(महाबौद्ध), त्रिवि शिक्षण अस्पताल(महाराजञ्ज), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान(लगनखेल) लाई तोकिएको छ ।

त्यसैगरी गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान(पोखरा) र धौलागिरी अस्पताल –बागलुङ), लुम्बिनी प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल(बुटवल) र भेरी अस्पताल(नेपालगञ्ज) लाई तोकिएको छ । कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान(जुम्ला) र सुर्खेत प्रार्देशिक अस्पताल(वीरन्द्रनगर) र सुदुरपश्चिम प्रदेशमा डडेलधुरा अस्पताल(डडेलधुरा) र सेती प्रादेशिक अस्पताल (कैलाली)लाई नि:शुल्क कोभिड संक्रमितको उपचार गरिने अस्पतालको रुपमा तोकिएको छ ।

अहिलेसम्म नेपालमा ४ करोड ९४ लाख २५ हजार १ सय १३ मात्रा खोप लगाइएको छ । त्यसमध्ये २ करोड १५ लाख ५६ हजार ९१ जनाले एक मात्रा, २ करोड ५ लाख ९२ हजार १ सय जनाले पूर्ण मात्रा र ७२ लाख ७६ हजार ९ सय २२ जनाले अतिरिक्त मात्रा लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जनस्वास्थ्य विज्ञ डा. विन्ज्वला श्रेष्ठले जनस्वास्थ्यका मापदण्ड पालना गरे संक्रमणबाट बच्न र बचाउन सकिने बताउँछिन् । भन्छिन्, ‘कम्तीमा मास्क लगाऔँ । लक्षण देखिए आइसोलेसनमा बसौँ।’ उनले खोप नलगाएकाले अनिवार्य खोप लगाउन आग्रह गरिन् । ‘पक्कै पनि खोप नलगाएको र बढी उमेर भएकालाई जटिल बनाउन सक्छ कोरोनाले । सरकारले खोप अभियानमा पनि व्यापकता लगाउन जरुरी देखिन्छ,’उनले भनिन् ।

प्रकाशित : श्रावण १६, २०७९ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?