कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

घरकै ताजा खानाले बनाउँछ स्वस्थ

प्रनिति सिंह

काठमाडौँ — धेरैजसो मान्छे आफू फरक देखिन चाहन्छन् । जस्तै कोही मोटो छ भने उ दुब्लो देखिन चाहना राख्छ होला वा दुब्लो मान्छेलाई ठिक्कको तौल भइदिएहुन्थ्यो भन्ने लाग्छ । मानिसहरु बाहिरीरुपमा राम्रो देखिन चाहिरहेका हुन्छन् तर समग्रमा स्वास्थ्यलाई त्यति ध्यान दिइरहेका छैनन् ।

घरकै ताजा खानाले बनाउँछ स्वस्थ

आफू स्वस्थ तथा फिट रहनका लागि हामीले दीर्घकालीन सोच बनाउनुपर्छ । जस्तै कोही बिहे वा कुनै विशेष समारोहका लागि मात्र दुब्लाउन चाहिरहेका भेटिन्छन् । छोटो समयका लागि तौल घटाउने भन्दै जिमखाना धाइरहेका छन् । जुन क्षणिकरुपमा लाभ होला तर शरीर स्वस्थ रहँदैन । कोही छिट्टै फिट देखिने लालसाले कडा डायट अपनाउने गर्दछन् त्यो पनि शरीरका लागि राम्रो हुँदैन ।

स्वस्थ रहन हामीले दीर्घकालीन योजना बनाउनुपर्छ जसलाई हामीले दैनिकी बनाएर लग्न सकौं । स्वस्थ जीवनशैली नै स्वस्थ जीवनको मूलमन्त्र हो । तौलमात्र घटाउने उद्देश्य होइन कि मुख्य कुरा कसरी स्वस्थ हुने त ? कसरी उर्जाशील र कर्मशील बन्ने कुरामा बढी ध्यान दिन आवश्यक छ । स्वस्थ रहनका लागि यी ५ कुरा : खानपान, शरीरमा पानीको मात्रा, व्यायाम, निद्रा अनि तनावरहित जीवनमा जोड दिनुपर्छ ।

स्वस्थ रहन हामी कस्तो खाइरहेका छौँ त ? पोषणको अवस्था कस्तो छ त्यसमा भर पर्छ । हामी अहिले धेरै पश्चिमा संस्कृति पछ्याइरहेका छौं ।हाम्रो खान्की परिवर्तन भएको छ । हामीले दैनिक खाने दाल, भात, तरकारीलाई भुल्दै गइरहेका छौं । भात खाँदा मोटाइन्छ भन्दै प्रशोधित खानामा रमाइरहेका छौं । जंकफुड हाम्रो लागि प्रिय खान्की बनिरहेको छ । मकै, भटमास, कोदो, फापरजस्ता अन्नको ठाउँ ओट्स, किनवाले लिइरहेका छन् । जस्तै बाराको विकल्प प्यानकेक बनेको छ । घरको भन्दा बाहिरको खानामा बढी मोहित देखिन्छौं । चाउमिन, म:म लगायतका फास्टफुडले तौल बढी स्वास्थ्यमा समस्या आइरहेको छ ।

खानपानमा ध्यान नदिएर र हामीले जस्तो खाना खाइरहेको थियौं त्यसलाई परिवर्तन गरेपछि स्वास्थ्यमा पनि विभिन्न समस्या आउन थालेका छन् । खानै नहुने भनेको त जंकफुड नै हो । हप्तामा एक दुई पटक खाइराख्नुभएको छ भने ठीक छ तर अहिले हेऱ्यौ भने मान्छेहरु हरेक दिन नै त्यसको प्रयोग गरिरहेका छन् । बाहिरको खानाको उपभोग बढिरहेको छ । त्यसको गुणस्तर हामीलाई थाहा हुँदैन । कति नुन अनि कति तेल प्रयोग भएको छ थाहा हुँदैन । त्यसैले जंकफुड कम गर्ने र प्याकेट गरिएका खानेकुराको प्रयोग कम गर्नुपर्छ ।

अर्को पेयपदार्थको उपभोग पनि बढिरहेको देखिन्छ । जसमा चिनीको मात्रा अधिक हुन्छ जसले स्वास्थ्यमा विभिन्न समस्या उत्पन्न गराउन सक्छन् । सकेसम्म बाहिरको खानेकुरा हप्ताको एक–दुईपटक मात्र खानुपर्छ । घरमै बनाएको ताजा शुद्ध खानेकुरा खाएको स्वास्थ्यलाई राम्रो हुन्छ । घरमै बनाएको दाल, भात, तरकारी, फलफूल, नट्स, सातु शरीरका लागि फाइदाजनक र स्वास्थ्यवर्द्धक छन् ।

स्वस्थ रहनका लागि अर्को महत्वपूर्ण सुत्र हो शारीरिक व्यायाम र क्रियाकलाप । व्यायाम प्रतिदिन कम्तीमा आधा घण्टा नभए १५० मिनेट हप्तामा जसरी पनि पुर्‍याएको राम्रो । साथै डेस्कमा काम गर्ने मानिस जो घण्टौँसम्म कम्प्युटरमा बसिराख्नुपर्ने हुन्छ उनीहरु हरेक एक–दुई घण्टामा आफ्नो कुर्सीबाट उठेर पानी ल्याएर खाएको राम्रो । यसले गर्दा आँखालाई आराम मिल्छ नै जिउ पनि चल्छ । फूर्तिलो बनाउँछ ।

शरीरमा पानीको मात्रा कति छ भन्ने कुरा पनि स्वस्थ जीवनयापनका लागि मद्दत गर्छ । हाम्रो शरीर करिब ६० प्रतिशत पानीले बनेको हुन्छ । पानीको प्रयोगले शरीर स्वस्थ बनाउँछ । शरीरमा पानीको मात्रालाई ख्याल गर्नुपर्छ । गर्मी महिनामा दैनिक २ देखि ३ लिटरजति पानी खाएको राम्रो मानिन्छ ।

स्वस्थ रहन तनावरहित हुन जरुरी छ । हामी यति तनावपूर्ण जिन्दगी बाँचिरहेका छौं कि बिहान निस्किएर काममा जान्छौं र दिनभरी काम गर्छौँ । राति घर आउने ठेगान हुँदैन । शरीर थाकेको हुन्छ । खायो अनि सुत्यो । व्यायामको ठेगान हुँदैन । दिनभरीको तनावले गर्दा स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ । आफ्नो रुचीको विषयलाई समय दिन सके हामी तनावमुक्त हुन सक्छौं । जस्तै कसैलाई नाच्न, गाउन, पकाउन आदि मनपर्छ होला । आफूलाई मनपर्ने चिजका लागि तपाईंले हप्तामा एकचोटी समय निकालेर त्यसमा ध्यान केन्द्रित गर्नुभयो भने धेरै आराम मिल्छ । खुसी भइन्छ ।

धेरै मानिसमा डिप्रेसन, एन्जाइटी भएका कारणले निद्रा राम्ररी पुगिरहेको हुँदैन । हाम्रो मानसिक स्थिति पनि स्वस्थ रहनुपर्छ । गहिरो निद्राले पनि स्वस्थ रहन मद्दत गर्छ । निद्राको कुरा गर्दा कम्तीमा ६ देखि ८ घण्टा मजाले निदाएको राम्रो मानिन्छ ।

(डाइटिसियन सिंहसँग कुराकानीमा आधारित)

प्रकाशित : श्रावण ७, २०७९ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?