कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

घाँटीको संक्रमणबाट यसरी मुक्त भइन् किशोरी

बुनु थारु

काठमाडौँ — ओखलढुंगा निवासी १९ वर्षीया किशोरीको जिब्रो बाहिर निस्किएको, मुख बन्द गर्न नसकेर श्वासप्रश्वासको समस्याले छट्पटिएको अवस्थामा किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालको आकस्मिक कक्षमा ल्याइयो । घाँटी पनि सुन्निएको थियो । जसले गर्दा ज्वरो आउनुका साथै २ दिनसम्म केही पनि खान सकेकी थिइनन् ।

घाँटीको संक्रमणबाट यसरी मुक्त भइन् किशोरी

उनको दुवै तर्फको तलको बंगारामा किरा लागेको थियो । उनले पायक पर्ने क्लिनिकमा फिलिंग पनि गराइन् तर दाँतको दुखाइ झन् बढ्यो । समस्या बढ्दै गएपछि एउटा बंगारा निकालियो । तर निको भएन । संक्रमण फैलिएर घाँटीसम्म पुग्यो ।

यी युवतीको केस हेरेका अस्पतालका मुख तथा अनुहार शल्य चिकित्सक सुरेन्द्र आचार्यका अनुसार उनलाई अस्पताल ल्याउँदा थुकमात्र आइरहने र निल्न पनि गाह्रो भएको त थियो नै श्वास फेर्न पनि उत्तिकै गाह्रो भइरहेको थियो । डा आचार्यले सबै लक्षण हेरेपश्चात् दाँतबाट फैलिने घाँटीको संक्रमण ‘लुडविग एन्जाइना’को आशंका गरे । थप पुष्टि गर्नका लागि सिटिस्क्यान गरियो र अन्तत: सोही संक्रमण भएको पुष्टि भयो । डा आचार्यले भने–‘दाँतमा किरा लागेर त्यो फैलिँदै गाला हुँदै घाँटीसम्म पुगेको थियो जसले गर्दा श्वासप्रश्वासमा समस्या देखिएको थियो ।’

उनलाई तुरुन्त भर्ना गरी आवश्यक औषधि तथा अक्सिजन दिइ प्राथमिक उपचार सुरु गरियो । सिटी स्क्यानमा पिप र ग्यास भएको प्रमाणित भयो र विशेषगरी घाँटीमा धेरै मात्रामा पिप जमेको देखियो र हावा पनि फैलिएको देखियो । सुन्निएको कारण पछाडिको श्वासनली पनि पुरै च्यापिएको थियो । उनको सुरुमा श्वासप्रश्वासमा सहजता ल्याइयो र त्यसपछि पीप निकालियो ।

उपचारमा संलग्न डा आचार्यका अनुसार यस्तो खालको बिरामीलाई श्वास फेर्न गाह्रो हुने भएकोले मुखबाट फोक्सोमा पाइप हालेर श्वासप्रश्वास सहज बनाउनुपर्ने हुन्छ । कसैलाई भेन्टिलेटरमा पनि राख्नुपर्ने हुन सक्छ । तर उनको अवस्थामा त्यो आवश्यकता परेन्न त्यति मात्रै नभई कहिलेकाहीं घाँटीमा प्वाल पारी श्वासप्रश्वासमा सहायता लिइन्छ जसलाई 'ट्राकेस्टोमी' भनिन्छ। तर त्यो पनि गरिएन । किन भने समयमै प्राथमिक उपचार सुरु भयो र पिप निकालेर सुन्निएको भाग समयमै कम भएर श्वासनली थिचिन कम भयो।

यी सबै गर्न नपरे पनि बेड साइडमा 'ईन्टुबेसन ट्राकेस्टोमी' को व्यवस्था गरिएको डा आचार्यले जनाए । अर्को भनेको मुखभित्र र घाँटीको बाहिरी भागमा कम्तीमा पाँच वटा चिरा लगाएर पीप निकाल्ने विधि हुन्छ । 'उनको हकमा हामीले मुखभित्र मात्र चिरा लगाएर करिब सय मिलिलिटर जति पीप निकाल्यौं जसले गर्दा घाँटीमा तथा अनुहारमा पनि दाग देखिने भएन,’ उनले उपचारबारे बेलिविस्तार लगाए । साथै बुद्धिबंगारा पनि शल्यक्रिया गरी निकालियो। यो सबै आंशिक भाग लठ्ठ्याएर बेहोस नगरी गरिएको उपचार हो ।

डा आचार्यका अनुसार मुखभित्रबाट मात्र चिरा लगाएर उपचार एकदमै विरलै मात्र गरिन्छ र दक्ष जनशक्ति आवश्यक पर्छ । करिब १० दिनसम्मको अस्पताल बसाईमा पूर्ण रुपमा पीप निकालेपछि उनको अवस्थामा क्रमिक सुधार हुँदै गयो । सोही समयको बसाइपछि उनी अस्पतालबाट डिस्चार्ज भइन् । उनी निको त भइन् तर संक्रमणका कारण उनले सीइइ दिन पाइनन् । ‘लुडविग एन्जाइना’ कस्तो संक्रमण हो ?

वेबमेड डटकमका अनुसार लुडविग एन्जाइना भनेको दुर्लभ ब्याकटेरियल संक्रमण हो । जसले मुख, घाँटीमा संक्रमण भई सुन्निएर श्वासप्रश्वासमा जटिलता आएर गम्भीर असर निम्त्याउने एक मेडिकल आकस्मिक अवस्था हो । यो बालबालिकाभन्दा वयस्कलाई बढी देखिन सक्छ । यदि यो समयमा उपचार गरिएन भने यसले संक्रमण फैलाउँदै श्वासप्रश्वासमा समस्या ल्याउन सक्छ ।

मुख तथा अनुहार शल्य चिकित्सक आचार्यले यो संक्रमण मुख, नाक, घाँटी वा कानबाट भएर श्वासप्रश्वास नलीलाई बन्द गरेर सास फेर्न गाह्रो बनाउने ‘इमरजेन्सी कन्डिसन’ भएको बताए । उनले भने–‘यो ८० प्रतिशतभन्दा बढी मुख र दाँतको संक्रमणको कारणले हुन्छ । जस्तै दाँतको संक्रमण । साथै गिजा र कान, टन्सिलको संक्रमणले पनि हुन्छ । त्यो बाहेक दुर्घटना, फ्र्याक्चर, छालाको संक्रमण भएर पनि हुन सक्छ । मुखभित्रको संक्रमणले भने छिटो फैलिने हुन्छ । ’

उनले यो संक्रमणको जड समयमै पत्ता नलागे र उपचार नपाए बिरामीको मृत्यु हुन पनि सक्ने बताए । तर रोग पत्ता लगाउन नसक्ने सम्भावना कम रहन्छ । त्यसैगरी दाँत र मुखको संक्रमण केवल घाँटीमा मात्र फैलिने नभई मुटु, फोक्सो, दिमाग, रगत तथा अन्य शरीरको भागमा फैलिएर जटिल समस्या निम्त्याउने हुन्छ ।

प्रकाशित : असार २५, २०७९ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?