एम्समा कार्यरत नेपाली चिकित्सकले पाए अन्तर्राष्ट्रिय सम्मान - स्वास्थ्य - कान्तिपुर समाचार

एम्समा कार्यरत नेपाली चिकित्सकले पाए अन्तर्राष्ट्रिय सम्मान 

कान्तिपुर संवाददाता

नयाँ दिल्ली — दिल्ली स्थित अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स(एम्स) मा कार्यरत एकजना नेपाली चिकित्सक माधवप्रसाद यादव अन्तर्राष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित भएका छन् । 

वीरगन्ज घर भएका डा. यादव एम्सको न्यूक्लियर मेडिसिन विभागमा कार्यरत छन् । उनी उपचार तथा रिसर्च क्षेत्रमा एम्स भित्र ‘साइन्टिस्ट–सी’ पदमा छन् । रेडियो न्युक्लियाइड एक्टिनियम–२२५ प्रविधिबाट क्यान्सरको उपचारमा गहिरो अनुसन्धान गरेको र त्यसमा सफलता प्राप्त गरेकाले उनलाई पुरस्कृत गरिएको हो ।

जर्मनीमा आयोजित एक समारोहमा दी इन्टरनेसनल सेन्टर्स फर प्रेसिजन अनकोलाजी (आईसीपीओ) फाउन्डेसनले डा. यादवलाई ५ हजार यूरो नगद र प्रमणपत्रले सम्मानित गरेको हो । उक्त पुरस्कारका लागि ४० देशका चिकित्सक र अनुसन्धकर्ताहरुले दावी गरेका थिए । तर, छनौट कमिटीले डा.यादवको चयन गरेको हो ।

सन् १९९३ मा मौरिटस डब्लू ग्रीलिंग्सले रेडियो न्युक्लियाइडबाट क्यान्सरको उपचार गर्न सकिने पत्ता लगाएका थिए । तर, त्यसको प्रयोग धेरैपछि मात्रै प्रारम्भ भयो । डा. यादवले उक्त प्रविधिमाथि सन् २०१६ देखि काम थालेका थिए । त्यसयता त्यस प्रविधिबाट उनले एम्समा ५ सय बढी बिरामीको सफल उपचार गरिसेका छन् ।

‘रेडियो न्युक्लियाइड एक्टिनियम–२२५’ प्रविधिले लिभर र प्रोस्टेड क्यान्सरको उपचारमा धेरे सफलता प्राप्त भएको डा. यादवले कान्तिपुरलाई बताए । ‘सबै तिरबाट उपचार गराएर थाकेर आएका हरुको यस प्रविधिबाट सफल उपचार गरिएको छ,’ उनले भने, ‘करीब १० वर्ष देखि यसको अनुसन्धानमा संलग्न थिए । उपचारले सफलता प्राप्त गर्दै गएपछि यसको चर्चा भएको हो ।’

उनले काम गर्दै जाँदा पाएको अन्तर्राष्ट्रिय पुरस्कारले होसला बढाएको बताए । उनले विभागका प्रमुख प्रो.सीएस बलको नेतृत्वमा आफूले यस सन्दर्भमा काम गरेको उल्लेख गरे ।


प्रकाशित : असार १५, २०७९ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्

एमालेमा माओवादीको बीउ रोपेका छौँ, केही समयपछि फल्छ : अध्यक्ष दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेमा माओवादीको बीउ रोपेर आएको बताएका छन् । 

बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नेकपा एमालेमा तीन वर्षसम्म बीउ रोपेर आएको र केही समयपछि फुल्ने र फल्ने बताएका हुन् । नेकपा एमालेभित्र पनि सच्चा कम्युनिष्ट रहेको र उनीहरुलाइृ पनि समेटेर जानुपर्ने अहिलेको आवश्यक्ता भएको बताएका छन् ।

अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व नरहने भने एमालेका नेता र कार्यकर्तालाई पनि सँगै समेटेर जान सकिने बताए । 'माओवादी मात्रै मिलेर हुन्छ भन्ने भ्रममा पनि हामी नपरौँ । माओवादीबाहेकका सच्चा कम्युनिष्ट पनि बाहिर छन् । बाहिरका सबै अवसरवादी मात्रै छन् भन्ने भ्रम पनि राख्नुहुँदैन । मैले अस्ति भर्खरै प्रतिनिधि सभाको रोस्ट्रमबाट भनेको थिएँ । नेकपा एमालेमा पनि केपी ओली प्रवृत्ति नहुने हो भने र नेतृत्व त्यो नहुने हो भने अरु हजारौँ, कार्यकर्ता, नेतालाई आरामसँग समाजवादको यात्रामा डोर्‍याउन सकिन्छ भन्ने मेरो विश्वास छ,' उनले भने ।

एमालेभित्रका कार्यकर्ता र नेताहरूलाई पनि एकीकृत गरेर लैजान सकिने उनले बताएका छन् । '३ वर्षको मेरो अनुभव भनेको एमालेभित्रका कार्यकर्ता र नेताहरुलाई पनि एकीकृत र केन्द्रिकृत गरेर लैजान सकिने रहेछ भन्ने अनुभव हो । सकिएन नि त, बिग्रियो नि त भन्ने लाग्ने सक्छ तर त्यहाँ बीउ रोपिएको छ, हामी माओवादीलेबीउ रोपेर आएका छौँ, हेर्नुहोला, केही समयपछि त्यो फुल्छ फल्छ,' उनले भने ।

अध्यक्ष दाहालले सबै माओवादी मिल्नुको विकल्प नरहेको भन्दै नेत्रविक्रम चन्द र मोहन वैद्य लगायतका नेताहरुलाई माओवादीमै फर्किन आग्रह गरे।

जनताको आवाज भनेकै पूर्वमाओवादीहरु सबै एकै ठाउँ रहनु हो भन्दै दाहालले जनताको आवाजलाई नजरअन्दाज गर्न नमिल्ने बताएका छन् ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य ओमप्रकाश पुन, नेपाली कांग्रेस दार्चुलाका निर्वाचित उपसभापति ललितसिंह ठगुन्नालगायतलाई दाहालले बुधबार माओवादी पार्टीमा प्रवेश गराएका हुन् ।

प्रकाशित : असार १५, २०७९ ११:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×