नेपालमा समेत अध्ययन गरिएको अनुसन्धानमा देखियो औषधि प्रतिरोधी टाइफाइड गराउने ब्याक्टेरिया

अनुसन्धनात्मक अध्ययनका लागि काठमाडौं मेडिकल कलेज र धुलिखेल अस्पतालको पनि सहयोग

काठमाडौँ — नेपाल लगायत दक्षिण पूर्वी एसिया तथा विश्वभर नै टाइफाइड ज्वरोको मुख्य कारक रहेको ब्याक्टेरिया औषधि प्रतिरोधी बन्दै गएको पाइएको छ ।

नेपालमा समेत अध्ययन गरिएको अनुसन्धानमा देखियो औषधि प्रतिरोधी टाइफाइड गराउने ब्याक्टेरिया

विश्व प्रसिद्ध जर्नल द लानसेट माइक्रोबमा प्रकाशित एक अध्ययन रिपोर्ट अनुसार टाइफाइड संक्रमणको कारक मानिएको सालमोनेला इन्ट्रिका सेरोभार टाइफिमुरियम (एस टाइफी) मा औषधि प्रतिरोधात्मक स्ट्रेन देखापरेको र त्यो दक्षिण एसियाका देशबाट अन्य देशहरुमा पनि विस्तार भएको छ ।

अनुसन्धानकर्ताहरुका अनुसार टाइफाइड ज्वरो विश्व जनस्वास्थकै लागि उच्च सरोकार भएको विषय हो । यसका कारण विश्वभर हरेक वर्ष १ करोड १० लाख बढी संक्रमित हुन्छन् र १ लाख बढीको मृत्यु समेत हुन्छ । यसको प्रकोप मुख्य गरेर दक्षिण एसियाका देशमा बढी छ । यस्तै अफ्रिका, दक्षिण पूर्वी एसिया र ओसेनियामा पर्ने देशहरुमा भने यसको प्रभाव निकै भयावह नै रहेको अध्ययनले देखाएको छ ।

अनुसन्धानकर्ताहरुले नेपाल, बंगलादेश, पाकिस्तान र घानाबाट २०१६ देखि २०२१ सम्म तथ्यांक संकलन गरी अध्ययन गरेका थिए । नेपालमा उनीहरुले काठमाडौं मेडिकल कलेज तथा धुलिखेल अस्पतालसँगको सहकार्यमा अध्ययन गरेका थिए । एस टाइफीले गरेको संक्रमणलाई नियन्त्रण गर्न एन्टिभाइरल औषधिहरु उपलब्ध भएपनि ब्याक्टेरियामा प्रतिरोधी क्षमता विकास भएका कारण भने त्यस्ता औषधिको प्रभाव तुलनात्मक रुपले कम हुँदै जाने डर हुन्छ । हाल प्रतिरोधी एस टाइफीको विस्तार धेरै ठूलो नदेखिएपनि अध्ययनको दायरा फराकिलो हुँदा जाँदा यसको दरमा पनि वृद्धि हुने देखिन्छ ।

'जुन रफ्तारमा औषधि प्रतिरोधी एस टाइफी स्ट्रेन उत्पत्ति भएर विस्तार भइरहेको छ त्यसले आउने दिनमा ठूलै जनस्वास्थ्य समस्या निम्त्याउने जोखिम उच्च छ । त्यसैले यसप्रति अहिले नै सजग भएर यसको रोकथाम र नियन्त्रणका लागि सबै मिलेर लाग्नुपर्छ,' यस अध्ययनकी मुख्य लेखक स्ट्यान्डफोर्ड विश्वविद्यालयका जेसन एण्ड्रियुजले भनेका छन् ।

औषधि प्रतिरोधी एस टाइफी सन् १९९० देखि विश्वका विभिन्न देशमा विस्तार हुन थालेपनि सन् २००० यता भने बंगलादेश र भारतमा यसको विस्तार निकै घटेको छ भने नेपालमा पनि कम भएको छ । तर पाकिस्तानमा भने केही मात्रामा यसको विस्तारमा वृद्धि भएको देखिन्छ । यस्तै नेपाल लगायत भारत र पाकिस्तानमा क्विनोलोन प्रतिरोधी एस टाइफीको वृद्धि २०१० देखि देखिन थालेको अध्ययनले बताएको छ भने बंगलादेशमा यो २००० को सुरुमै देखिएको थियो ।


प्रकाशित : असार १४, २०७९ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?