हैजाबाट बच्न नागरिकले नै पहल थाल्नुपर्छ : डा दास

काठमाडौँ — इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले हैजाबाट बच्न आम नागरिक नै सजग रहनुपर्ने सुझाव दिएका छन् ।

हैजाबाट बच्न नागरिकले नै पहल थाल्नुपर्छ : डा दास

सोमबार सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले हैजाबाट बच्न आम नागरिक र सरोकारवाला निकायहरू सजग रहनुपर्ने आवश्यक्ता रहेको बताए ।

उनले अहिलेसम्म महाशाखाले परीक्षण गरेको ३ ठाउँको पानी प्रदूषित देखिएको बताए । परीक्षण गरिएका तीन ठाउँमध्ये ललितपुरको सानेपा साथै काठमाडौंको वागबजार र डिल्लीबजारमा गरिएको पानी परीक्षणमा प्रदूषित पानी फेला परेको निर्देशक दासले बताए ।

निर्देशक दासले कोटेश्वर र बल्खुको पानीको नमूना लिइसकेको र परीक्षणको क्रममा रहेको पनि जानकारी दिएका छन् । यस्तै उनले बूढानीलकण्ठ नगरपालिकाले महाशाखाको सहयोगमा गरेको परीक्षणमा पनि प्रदूषण फेला परेको बताए ।

सरकारले हैजाको न्यूनिकरणका लागि आवश्यक काम गरिरहेको पनि उनले बताएका छन् । यस्तै पानी उमालेर पिउने, क्लोरिन, पियुष हालेर खाएमा पनि हैजबाट बच्न सकिने निर्देशक दासको सुझाव थियो ।

‘हैजा र पानीको कुरा छ, वाटर क्वालिटी सर्भिलेन्समा अहिलेसम्म हामीसँग ३ ठाउँको रिपोर्ट आइसक्यो । वागबजार, डिल्लीबजार र सानेपाको रिपोर्ट आइसकेको छ । तीनै ठाउँको रिपोर्टमा स्टोर गरेर राखेको पानीमा प्रदूषित भएको भेटिएको छ । सानेपामा ६२ प्रतिशत पानी प्रदूषित भेटिएको छ । बल्खु र कोटेश्वरको पनि स्याम्पल लिइएको छ । रिपोर्ट आएको छैन । १० वटा स्याम्पल केयुकेएलले लिएको छ तर ठाउँ यकिन छैन । बूढानीलकण्ठ नगरपालिकाले परीक्षण गरेकोमा जार, ढुंगेधारा सबैको परीक्षण गर्दा प्रदूषित पाएका छौं । त्यहाँ १५ प्रतिशत जारको पानी प्रदूषित पाइएको छ,' निर्देशक दासले भने ।

प्रकाशित : असार १३, २०७९ २१:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?