पाटन अस्पताललाई तोकियो हैजा रोग उपचारको ‘डेडिकेटेड अस्पताल’- स्वास्थ्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाटन अस्पताललाई तोकियो हैजा रोग उपचारको ‘डेडिकेटेड अस्पताल’

कान्तिपुर संवाददाता

काठमाडौँ — जिल्ला प्रशासन कार्यालय ललितपुरले पाटन अस्पताललाई हैजा रोगको उपचारका लागि ‘डेडिकेटेड’ अस्पताल तोकेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) घनश्याम उपाध्यायको संयोजकत्वमा आइतबार बसेको जिल्लास्थित सुरक्षा अधिकारी, स्थानीय तह, जनस्वास्थ्य अधिकृत, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, खानेपानी वितरक, ट्यांकर व्यवसायी, उपभोक्ता अधिकारवादी, व्यवसायीसहितको बैठकले हैजा रोग तथा यससँग मिल्दोजुल्दो लक्षणको उपचारमा पाटन अस्पताललाई डेडिकेटेड अस्पताल तोक्ने निर्णय गरेको हो ।

डेडिकेटेड तोकिएसँगै हैजा रोगका लागि पाटन अस्पतालमा छुट्टै हेल्थ डेस्क खडा गरी सोहीअनुसार उपचारको प्रबन्ध मिलाइने प्रशासनले जनाएको छ ।

प्रजिअ उपाध्यायले ललितपुर जिल्ला र अरु ठाउबाट आउने हैजा रोगका बिरामी तथा यससँग मिल्दोजुल्दो लक्षण भएका सबैले अस्पतालबाट उपचार सेवा लिन सक्ने बताए ।

‘हैजा रोगको रोकथाम तथा नियन्त्रण एवं उपचारका लागि प्रतिकार्य योजना बनाउने क्रममा हामीले सरोकारवाला सबै पक्षलाई एकै ठाउमा राखेर पाटन अस्पताललाई डेडिकेटेड अस्पतालका रुपमा प्रयोग गर्न पाउने गरी निर्णय गरेका छौं,’ प्रजिअ उपाध्यायले भने, ‘कसैमा हैजासँग मिल्दोजुल्दो लक्षण देखिएको छ भने निर्धक्क अस्पतालमा आएर उपचार गर्नुहोस्; कुनै समस्या परेमा हामी आवश्यक समन्वय गर्छौं ।’

प्रजिअ उपाध्यायले पानीका मुहान सफा गर्न स्थानीय तहलाई प्रभावकारी पहल लिन भनिएको बताए । त्यस्तै पानीका मुहानमै उपकरणले परीक्षण गरेर मात्रै ट्यांकरमा हाल्न ट्यांकर व्यवसायीलाई निर्देशन दिइएको छ; त्यसका लागि हरेक तीन तीन दिनमा प्रशासन र जनस्वास्थ्य कार्यालयबाट अनुगमन गरिने पनि प्रजिअ उपाध्यायले बताए ।

प्रकाशित : असार १२, २०७९ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्

माधव नेपालले संन्यास लिए हुन्छ : योगेश भट्टराई

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई संन्यास लिएर बस्न सुझाव दिएका छन् ।

फाइल तस्बिर ।

आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद भट्टराईले अध्यक्ष नेपाल राजनीति र जीवन दुवैको उत्तरार्द्धमा रहेकाले संन्यास लिएर बस्न सुझाव दिएका हुन् । केही दिनअघि अध्यक्ष नेपालले आफूहरूलाई ‘१० भाइ एमालेका दास हौ; तिमीहरूले हाम्रो खैरो खन्छौ’ भन्ने भाषण गरेकोप्रति सांसद भट्टराईले माधव नेपालजत्तिको शीर्ष नेताले सम्हालिएर बोल्नुपर्ने बताए ।

उनले समाजवादीका अध्यक्ष नेपाल राजनीतिबाट नै अवकाश लिने बेलामा अर्को पार्टी बनाउँछु भन्दै धुलो उडाउनुको तुक नरहेको पनि स्पष्ट पारे । सांसद भट्टराईले आफूले गरेका गल्तीहरूलाई आत्मसात् गर्दै नयाँ पुस्तालाई राजनीति, पार्टी, मुलुक सुम्पिएर आफू आनन्दले बस्न सुझाव दिए । भट्टराईले मुख छाड्दै हिँड्ने हो भने आफूलाई पनि त्योभन्दा धेरै मुख छाड्न आउने बताए ।

सांसद भट्टराईले भने, ‘माधव नेपालजस्तो शीर्ष नेता‚ त्यो ढंगले बोल्ने कुरा मलाई त्यति ठिक लाग्दैन । उहाँ सम्हालिनु पर्छ । अर्को कुरा उहाँ जीवनको उत्तरार्द्धमा हुनुहुन्छ; राजनीतिको पनि उत्तरार्द्धमा हुनुहुन्छ । उहाँका बारेमा धेरै टिप्पणी किन गर्नु ? उहाँको आगामी अवकाशको जीवन राम्रो बितोस् ।’

अवकाश लिने बेलामा अर्को पार्टी बनाउने भन्दै धुलो उडाउँदै हिँडेको बताए । ‘असम्भव कुरामा दौडिने नभई आफ्ना गल्तीहरूलाई रिलाइजेसन गरेर अब नयाँ पुस्तालाई राजनीति सुम्पिएर आफू आनन्दले बस्ने; संन्यासी मान्छेले मुख छाड्दै हिँड्दैनन् । अब माधव नेपाल पनि संन्यासी भएर बस्ने हो; मुख छाड्दै हिँड्ने होइन ।’

प्रकाशित : असार १२, २०७९ १९:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×