'दूषित पानी र स्ट्रिट फुडले हैजा फैलिएको छ'- स्वास्थ्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
राजधानीमा हैजा

'दूषित पानी र स्ट्रिट फुडले हैजा फैलिएको छ'

अतुल मिश्र

काठमाडौँ — राजधानी काठमाडौंमा ८ जनामा हैजा देखिएपछि सडक छेउमा बिक्री वितरण गरिने खाद्य पदार्थ (स्ट्रिट फुड) र सकेसम्म घर बाहिरको खाना सेवन नगर्न विज्ञहरूले सुझाव दिएका छन् । बागबजार, डिल्लीबजार, सानेपा, कालो पुल, कपन, बल्खु, बालाजु, बोहोराटार र थानकोटमा हैजाका बिरामी देखिएका छन् ।

प्रारम्भिक जानकारी अनुसार राजधानीमा हैजा मानव दिसाबाट प्रदूषित पानी र सडक छेउमा बिक्री वितरण गरिने खाद्य पदार्थको माध्यमले फैलिरहेको हो ।

‘हालसम्म ८ जनामा हैजा देखिएको छ भने यो संक्रमण राजधानीमा भित्रभित्रै छरिएर रहेको र बढ्दो क्रममा देखिएको छ’, इपिडिमियोलोजी तथारोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले कान्तिपुरसँग भने–‘अहिलेसम्म पाएको जानकारी अनुसार हैजा फैलिने मुख्य कारण दिसाले संक्रमित ट्युबेल, धारा र जार लगायतका पानी र स्ट्रिट फुड हो ।’

हालको अवस्थामा पानी उमालेर मात्र खान वा उपयुक्त मात्रामा क्लोरिनको प्रयोग गरेर शुद्ध बनाएर मात्र खानुपर्ने डा. दास बताउँछन् । यस्तै सडक छेउको खाने कुरा पटक्कै नखान र सकेसम्म घर बाहिर खाना नखान उनले आग्रह गरेका छन् ।

स्वास्थ्यकर्मीका अनुसार डिल्लीबजारमा धारा, ट्युबेल आदिबाट संकलित पानीमा ‘कोलिफर्म’ र ‘इकोलाइ’ दुवैमा संक्रमण देखिएको थियो। बुढानीलकण्ठमा धारा, जार लगायतका पानीको नमूनामध्ये ७५ प्रतिशत ‘कोलिफर्म’ र ‘इकोलाइ’ दुवैबाट प्रदूषित रहेको पाइएको छ।

अनियन्त्रित रुपमा चौलानी जस्तो पातलो दिसा हुने रोगलाई बोलीचालीको भाषामा झाडापखाला भनिन्छ भने रोगीको पखालामा ‘ब्याक्टेरियम भिब्रियो कोलेरी’ नामक ब्याक्टेरिया जीवाणु देखियो भने त्यो हैजा हो ।

भिब्रियो कलेरीबाट संक्रमित दूषित खाना वा पानी सेवन गर्दा कुनै पनि व्यक्तिलाई हैजा हुन सक्छ । विज्ञहरूका अनुसार महामारीको समय सामान्यत: हैजा संक्रमित व्यक्तिको दिसाबाट अन्य व्यक्तिमा फैलिन्छ ।

हैजाको बिरामीहरूको चिकित्सकीय इतिहासको अनुसार उनीहरूले सोझै धारा, ट्युबेल र जारको पानी सेवन गर्नुको साथै चटपटे लगायत सडक छेउमा बिक्री वितरण गरिने खाद्य पदार्थ र होटेलको खाना सेवन गरेको देखिएको डा. दास बताउँछन् ।

हैजा हुँदा धेरै मात्रामा वान्ता र पखाला हुनाले शरीरमा भएको पानीसँगै द्रव्य र लवणसमेत निस्किन्छ । शरीर बाहिर निस्किएका यी पदार्थको तुरुन्त आपूर्ति नभए संक्रमित व्यक्तिको मृत्युसमेत हुनसक्ने चिकित्सकहरू बताउँछन् । विशेषगरी शुद्ध खाना, पानी, पर्याप्त सरसफाइ, व्यक्तिगत स्वच्छताले हैजाको संक्रमणबाट जोगिन सकिन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार हैजाको जीवाणु शरीरमा प्रवेश गरेपछि यो रोगको लक्षण दुई घन्टादेखि पाँच दिनसम्म देखिन सक्छ । धेरै कम अवधि भएकोले यो संक्रमण समाजमा विस्फोटकै रुपमा फैलिने क्षमता राख्छ । यसको उपचार नगरिए बिरामीको मृत्युसमेत हुने चिकित्सकहरूको चनाइ छ ।

हैजा रोकथाम गर्नका लागि छानबिन समिति गठन

राजधानीमा भित्रभित्रै हैजा !

प्रकाशित : असार १०, २०७९ २०:०९
प्रतिक्रिया
पठाउनुहोस्

जनकपुरधाम उपमहानगरको बजेट १ अर्ब ८० करोड

श्यामसुन्दर शशि

जनकपुर — जनकपुरधाम उपमहानगर पालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि १ अर्ब ८० करोड ७१ लाख ४५ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

‘अपन संस्कृति अपन पहिचान, स्वच्छ, समृद्ध नगर अभियान’ मूल नारा साथ सुरु भएको जनकपुरधाम उपमहानगरपालिकाको आठौं नगरसभामा प्रमुख मनोज साहले सफा, स्वच्छ, सुन्दर र सुसंस्कृत जनकपुर उपमहानगर बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रस्तुत नीति तथा कार्यक्रममा फोहरमैला व्यवस्थापन, धार्मिक पर्यटनको विकास, गुणस्तरीय शिक्षा, कृषि यान्त्रिकरण, रोजगारी सिर्जना, स्वास्थ्य सेवामा सुधार, सहरी सौन्दर्यीकरण, हरियाली प्रवर्द्धन, सुशासन आदिलाई प्राथमिकतामा राखिएको छ । साथै स्थानीय भाषामा पाठ्यक्रम निर्माण, मेयर र उपमेयरसँग बालबालिका, एक वडा एक खेल मैदान र एक विद्यालय एक खेल मैदान जस्ता युवा केन्द्रित योजनाहरू पनि नीति तथा कार्यक्रममा उल्लेख छन् ।

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले आर्थिक वर्ष २०७९/०८०को प्रस्तावित बजेट प्रस्तुत गरेका थिए । १ अर्ब ८० करोड ७१ लाख ४५ हजारको वार्षिक बजेटमा चालुतर्फ १ अर्ब ७ करोड ४१ लाख २७ हजार विनियोजन गरिएको छ भन्ने पुंजीगततर्फ ७३ करोड ३० लाख १८ हजार विनियोजन गरिएको छ ।

उपमहानगरले चालु आर्थिक वर्ष २०७८/०७९ भन्दा २६ करोड ८३ लाख ८४ हजार अधिक बजेट अनुमान गरेको छ । चालु आर्थिक वर्षमा उपमहानगरपालिकाले १ अर्ब ५३ करोड ८७ लाख ६१ हजार बजेट विनियोजन गरेकोमा चालु कुल बजेटको ४९ दशमलव १३ प्रतिशत अर्थात् ८० करोड १५ लाख ६२ हजार ३ सय २४ रुपैयाँ मात्र खर्च गर्न सकेको थियो ।

जनकपुरधाम उपमहानगरपालिकाको नगरसभा यस वर्ष जनकपुरधाम उद्योग वाणिज्य संघको सभाकक्षमा सञ्चारकर्मी, राजनीतिकर्मी तथा सरोकारवालाहरू माझ गरिएको थियो ।

नगर प्रमुख मनोज कुमार साहका अनुसार नगरसभाको दोश्रो दिन शनिबार नीति तथा कार्यक्रममाथि दफाबार छलफल हुनुका साथै आर्थिक ऐन, विनियोजन ऐन, शिक्षा ऐन (परिमार्जनसहित), सार्वजनिक निजी साझेदारी ऐन, सार्वजनिक खरिद ऐन, खानेपानी, सरसफाइ तथा स्वच्छता ऐन, संस्था दर्ता तथा नियमन सम्बन्धी ऐन तथा संगठन तथा व्यवस्थापन सर्भे ऐन पेस गरी पारित गर्ने कार्यसूचि रहेको छ ।

यस्तै धनुषाका १८ स्थानीय तहमध्ये हंसपुर, विदेह, गणेशमानचाननाथ, मिथिला, मिथिला विहारी, कमला, क्षीरेश्वरनाथ लगायत नगरपालिकाहरूमा नगरसभा सुरु भएको जनप्रतिनिधिहरूले जानकारी दिएका छन् । विदेह नगरपालिकाले भने आर्थिक वर्ष २०७९/०८०को लागि ५१ करोडको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

प्रकाशित : असार १०, २०७९ १९:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×