१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

'परिवार नियोजन सेवाले ३० प्रतिशत मातृ मृत्युदर रोकिन सक्छ'

काठमाडौँ — विज्ञहरूले परिवार नियोजनको साधनले मुलुकमा मातृ तथा शिशु मृत्युमा उल्लेख्य रुपमा कमी ल्याएको बताएका छन् । अनिच्छित गर्भधारण रोकेर अर्थात परिवार नियोजनको सेवा ग्रहण गरेर मुलुकमा ३० प्रतिशत मातृ मृत्युदर रोकिने गरिएको उनीहरूले दाबी गरेका छन । 

'परिवार नियोजन सेवाले ३० प्रतिशत मातृ मृत्युदर रोकिन सक्छ'

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाद्वारा शुक्रबारा आयोजित 'परिवार योजना र प्रजनन स्वास्थ्य सेवा' विषयक अन्तरक्रियामा कार्यक्रममा विज्ञहरूले उक्त कुरा बताएका हुन् ।

'हाल मुलुकमा उपयोग भइरहेको कण्डम, खाने चक्की पिल्स, आकस्मिक गर्भनिरोधका साधन, डिपो, आईयूसीडी इम्प्‍लान्ट, पुरुष र महिला बन्ध्याकरण गरेर ८ वटा आधुनिक परिवार नियोजनको साधन र विधिले मातृ तथा शिशु मृत्युमा उल्लेख्य कमी ल्याउन योगदान पुर्याएको छ,' परिवार कल्याण महाशाखा, वरिष्ठ कम्युनिटी नर्सिङ प्रशासक कविता अर्यालले भनिन् ।

परिवार नियोजनका साधनको माध्यमले अनिच्छित गर्भधारण रोकेर ३० प्रतिशत मातृ मृत्युदर रोकिने सक्ने डा.राजेन्द्र गुरुङले बताए । पछिल्लो एक दशकयता मुलुकमा पुरुष र महिलाको स्थायी बन्ध्याकरण सेवाको प्रतिशत घटेको छ भने लामो अवधिको अस्थायी गर्भ निरोधक साधनको प्रयोग बढेको छ ।

नेपालको सहरी क्षेत्रमा कुल प्रजनन दर दुई दशक अघिदेखि नै स्थिर रहेको छ भने पछिल्लो दशकमा ग्रामीण समुदायमा पनि प्रजनन दरमा कमी आएको छ ।

हाल गाउँमा २.९प्रतिशत प्रजननदर छ भने सहरमा २ प्रतिश प्रजननदर रहेकोमा मुलुकको औसत प्रजनन दर २.३ प्रतिशत रहेको छ ।

पछिल्लो समय मुलुकमा प्रजनन दर घट्नुको कारण दम्पती साथमा नरहनु, विवाहको उमेर बढ्नु गर्भपतन र गर्भनिरोधक साघनको उपयोग रहेको देखिएको औँल्याउदै अर्यालले भनिन्, 'प्रजनन सक्रिय उमेरका ठूलो सख्यामा नेपाली वैदेशिक रोजगारीअन्तर्गत प्रवासमा छन् ।'

विज्ञहरूको अनुसार मुलुकको कुल प्रजनन दरमा देखिएको कमीका लागि दम्पती साथमा नरहनु १०.८४ प्रतिशत, विवाहको उमेर वढ्नु १०.५५ प्रतिशत, गर्भपतन ५.२१ प्रतिशत र गर्भ निरोधक साधनको ४.४ प्रतिशत योगदान देखिएको छ । तर प्रजनन दरमा कमी आए पनि जनसंख्या भने आगामी दिनमा समेत कमी नआउने दाबी विज्ञको छ । 'नेपालमा १० वर्षमा अझ २७ लाख जनसंख्या बढछ,' डा. गुरुङले भने, 'हरेक वर्ष यहाँ ४–५ लाख जनसंख्या बढ्ने छ ।'

प्रकाशित : असार १०, २०७९ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?