सेतो दुबी छुँदैमा सर्दैन- स्वास्थ्य - कान्तिपुर समाचार

सेतो दुबी छुँदैमा सर्दैन

डा. प्रज्वल पुडासैनी

काठमाडौँ — जुन महिनालाई सेतो दुबी सचेतना महिनाका रुपमा  विशेषत: अमेरिकी प्रान्तमा मनाइए पनि विश्वभर नै  सेतो दुबीको सचेतना जगाउन आवश्यक छ । विश्वको करिब एक प्रतिशत जनसंख्यालाई भएको यो रोगमा छालालाई कालो वा खैरो रंग प्रधान गर्ने मेलनओसाईट नामक कोषिकामा वंशाणुगत र वातावरणका कारणले असर गर्ने गरेको पाइएको छ ।

मेलनओसाइटका कोषिकाहरू बिस्तारै बिग्रिँदै र कम हुँदै जाँदा यसले छालालाई दूध सेतो रंग प्रधान गर्दछ । सेतो दुबी धेरैजस्तो २० देखि ३० वर्ष उमेरका महिलाहरूमा बढी देखिन्छ ।

सेतो दुबीका प्रकार :

सेग्मेन्टल : अर्थात् शरीरको एउटा पूरै भागमा देखिने सेतो दूधजस्तो टाटो ।

नन् सेग्मेन्टल : अर्थात् अनुहार-हातखुट्टा, मुखभित्र, यौनी र यौनीका वरिपरी र जिउभर नै देखिने सेतो दूधजस्ता टाटा

कसरी हुन्छ सेतो दुबी अर्थात् 'भिटिलिगो' ?

इम्युन सिस्टममा गडबडी, वंशाणुगत र वातावरणका कारण मेलनओसाइटका विरुद्ध शरीरमा विभिन्न रसायन र एन्टिबडी बनेका कारण मेलनओसाइट नामक कोषिकाहरू बिस्तारै बिग्रिँदै र कम हुदै जानछन् र छाला दूधजस्तो सेतो रंगको देखिन थाल्छ । सामान्यतया मेलनओसाइटले छालालाई कालो वा खैरो रंग प्रदान गर्दछ । करिब ३० प्रतिशत सेतो दुबी भएका व्यक्तिका आमाबुबा, दाजुभाइ, दिदीबहिनीमा सेतो दुबी हुने गरेको पाइन्छ ।

यस्तै घाउचोट लागेका ठाउँमा, कस्सिने लुगा, बेल्ट लगाएका ठाउँमा, रबर, प्लास्टिक, केमिकलहरुको छालासँगको सम्पर्कबाट पनि सेतो दुबी बढ्ने गर्दछ । साथै सेतो दुबी इम्युन सिस्टमको गडबडीले हुने अरु रोग‚ जस्तैः सुगर, थाइरोइड, एनेमिया आदिसँग पनि सँगैसँगै देखिने हुँदा, सेतो दुबी भएका बिरामीमा ती रोग को जाँच गर्नुपर्ने हुन्छ ।

सेतो दुबीका लक्षण के-के हुन् ?

सेतो दूधजस्तो देखिने, सेतो कपाल उम्रेका टाटाहरू, घामको विकिरण पर्ने ठाउँ, घाउचोट लागिरहने ठाउँहरू- हातखुट्टा, कुइना, घुडा, कम्मरमा यो बढी देखिन्छ । यस्तै थोरै मानिसमा शरीरको पूरै छाला दूधजस्तै सेतो भई कुनैकुनै ठाउँमा मात्र रंग भएको छाला हुने पनि हुन्छ ।

कसैकसैमा सेतो छाला भएको ठाउँमा घामको एलेर्जीसमेत हुने हुन्छ ।

सेतो दुबी धेरै जसो मानिसमा समयसँगै बढ्दै जान्छ । छालामा घाम पर्ने स्थानमा सेतो दुबीमा रौँका वरिपरी छालाको सामान्य रंग आउने पनि गर्दछ । सेतो दुबी वंशाणुगत कारणले जीनको माध्यमबाट परिवारमा देखिए पनि, छोएर, सँगै बसेर, हात मिलाएर भने सर्दैन ।

सेतो दुबी कसरी पत्ता लगाउने ?

धेरैजस्ता मानिसमा छालामा देखिएका लक्षणबाट सेतो दुबी पत्ता लगाउन सकिन्छ र कुनै किसिमको विशेष जाँचको आवश्यकता पर्दैन । तर‚ अरु किसिमका सेतो दुबीजस्तै रोग पहिचानका निम्ति बायप्सी, वुड्स ल्याम्प आदि जाँच गर्नुपर्ने हुन्छ ।

सेतो दुबीका उपचार विधि के-के हुन् ?

शरीरको पाँच प्रतिशतभन्दा कम छाला सेतो छ भने स्टेरोइड मलम र ट्याक्रोलिमस मलम चिकित्सकको सल्लाहबमोजिम लगाउनु पर्छ । पाँच प्रतिशतभन्दा बढी शरीरको छाला सेतो भएमा भने फोटोथेरापी अर्थात् प्रकाशको माध्यमले सेतो दुबीको उपचार गर्नुपर्ने हुन्छ । तर‚ फोटोथेरापीको उपलब्धता सबै ठाउँमा नहुने हुँदा यस्ता बिरामीमा चिकित्सकको सल्लाहबमोजिम खाने औषधि स्टेरोइड सेवन गर्नु उचित हुन्छ ।

सेतो दुबीको मानसिक पाटो र उपचार :

सेतो दुबी छालाको दीर्घरोग भएकाले यसले गर्दा मानिसलाई डिप्रेसन, एन्जाइटी पनि देखिन सक्छ । त्यसैले सेतो दुबी भएका बिरामीलाई मनोचिकित्सकको उचित परामर्श र उपचार दिएमा यसले छालामा सामान्य रंग ल्याउन मद्दत गर्ने पनि अनुसन्धानहरूले देखाएका छन् ।

यस्तै शरीरका अनुहार, हातलगायत ठाउँमा भएका सेतो दुबीलाई कस्मेटिक क्यामोफ्लाजबाट विभिन्न रंग भएका क्रिमहरू लगाई छालाको सामान्य रंगजस्तो देखाउन पनि सकिन्छ ।

सेतो दुबीमा गरिने शल्यक्रिया

सेतो दुबीको उपचारका निम्ति विभिन्न किसिमका शल्यक्रिया पनि गर्न सकिन्छ । यस्ता शल्यक्रियामा तिग्रा, पाखुरालगायतका ठाउँबाट सामान्य रंग भएका छाला निकाली सेतो दुबी भएका ठाउँमा टाँस्ने गरिन्छ । यस्तै सामान्य रंग भएका छालालाई निकाली त्यसमा विभिन्न रसायन प्रयोग गरी झोलिलो पदार्थ बनाई दुबी भएको ठाउँमा राखेर गरिने शल्यक्रिया पनि अहिले निकै प्रचलित हुँदै आएको छ ।

सेतो दुबी छोएर नसर्ने, मानसिक असर गर्ने र यसको समयमै उपचार गरे धेरै हदसम्म न्यूनीकरण गर्न सकिने हुँदा यसबारे जानकारी फैलाउन निकै जरुरी छ ।

डा. पुडासैनी निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) तथा भक्तपुर स्किन एन्ड कस्मेटिक सेन्टर (बीएससीसी)मा छालारोग विशेषज्ञका रुपमा कार्यरत छन् ।

प्रकाशित : असार ७, २०७९ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्

लघु आवास कर्जालाई नीतिमा समेट्न माग 

कान्तिपुर संवाददाता

काठमाडौँ — लघु आवास कर्जाबारे राष्ट्रिय नीति आवश्यक रहेको सरोकारवालाहरुले औंल्याएका छन् । लघु आवास कर्जा बारे राष्ट्रिय नीति नभएकाले त्यसलाई सम्बोधन गरेर प्रभावकारी रुपमा कार्यान्वयनमा लाग्नुपर्नेमा उनीहरुको जोड थियो । लघुवित्त बैंकर्स संघले मंगलबार आयोजना गरेको ‘लघु आवास कर्जामा राष्ट्रिय नीतिको आवश्यकता’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।

विद्यमान कानुनी व्यवस्था अनुसार लघुवित्त वित्तीय संस्थाले सिधै घरजग्गा लगायत क्षेत्रमा लगानी गर्न पाउँदैनन् । तर लघु आवास सम्बन्धमा राष्ट्र बैंकको निर्देशन मौन छ । यहीं कारण केही लघुवित्त वित्तीय संस्थाले घर नभएका र आर्थिक रुपले विपन्न घरपरिवारका लागि लघु आवास कर्जा प्रदान गर्दै आएका छन् । ती संस्थाले सञ्चालन गरेका लघु आवास कर्जा कार्यक्रम प्रभावकारी भएको, सम्बन्धित ग्राहकको आय आर्जन वृद्धि र आर्थिक उपार्जनमा सहयोगी भएको दाबी लघुवित्त बैंकर्स संघले गरेको छ । स्वतन्त्र विज्ञमार्फत गराएको एक अध्ययनले लघु आवास कर्जाले आर्थिक रुपमा कमजोर विपन्न वर्गको आर्थिक उन्नतिमा सहयोगी देखिएको लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशकुमार शर्माले बताए । यहीं कारण यसलाई सरकार र राष्ट्र बैंकले आफ्ना नीतिमा समावेश गरेर कार्यान्वयनका लागि निर्देशन दिनुपर्ने उनको सुझाव छ ।

कार्यक्रममा नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले कम आय भएका परिवारहरुसँग वाणिज्य बैंकहरुमा धितो राखी कर्जा लिन सक्ने अवस्था नहुने भएकाले त्यो काम लघुवित्त वित्तीय संस्थाले गर्न सक्ने बताइन् । ‘लघुवित्त संस्थासँग यस्ता परिवारसम्म पुग्ने सञ्जाल पर्याप्त भएता पनि आवश्यक प्राविधिक क्षमताको कमीले लघु आवास कर्जा सेवा उपलब्घ गराउने उपयूक्त प्रक्रिया नहुन सक्दछ । यस्तो क्षमता अभिवृद्धि गराउनको लागि अस्ट्रेलिया सरकारको व्यवसाय साझेदारी कार्यक्रमले सहयोग गर्दै आएको छ,’ उनले भनिन्, ‘यसरी सञ्चालन भएका कार्यक्रमहरु धेरै प्रभावकारी देखिएको छ ।’ यसका लागि अब सरकार र राष्ट्र बैंकले लघु आवास कर्जा कार्यक्रमलाई राष्ट्रिय नीतिमै समावेश गर्नुपर्ने उनले सुझाव दिइन् ।

यस्तै, राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले लघु आवास कर्जाका लागि आगामी दिनमा नीति नियम निर्माण गर्दा सकारात्मक रुपमा छलफल गरिने प्रतिवद्धता व्यक्त गरे । ‘आवास कर्जा प्रवर्द्धनको क्षेत्रमा भएका उपलब्धी सराहनीय छन्,’ उनले भने, ‘आगामी दिनमा केन्द्रीय बैंक आवश्यक सहयोग गर्न तथा नीति नियमहरु निर्माणमा सकारात्मक छ ।’ सन् २०११ को राष्ट्रिय जनगणना अनुसार नेपालका २ मध्य १ परिवार कम गुणस्तरको असुरक्षित घरमा बसीरहेका छन् । अधिकांश विपन्न परिवारहरुले उपयुक्त आवास कर्जामा पहुँच पाउन सकेका छैनन् जसको प्रमुख कारण नियमित आम्दानीको श्रोत र धितोको अभाव रहेको देखिएको छ । शहरी विकास तथा भवन निर्माण विभागले सन् २०१४ मा तयार पारेको व्यवसायिक योजना अनुसार सन् २०२४ सम्ममा नेपालमा २० लाख घरहरुको आवश्यकता छ भने त्यसको १ तिहाई माग ग्रामीण क्षेत्रमा रहेको संघको विज्ञप्तिमा उल्लेख छ ।


प्रकाशित : असार ७, २०७९ १४:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×