५–११ वर्षका बालबालिकालाई आयो खोप- स्वास्थ्य - कान्तिपुर समाचार

५–११ वर्षका बालबालिकालाई आयो खोप

आइतबार नै २२ लाख मात्रा खोप सातै प्रदेशमा
प्रशान्त माली

काठमाडौँ — अब नेपालका पाँचदेखि एघार वर्षमुनिका बालबालिकाले पनि कोभिड–१९ विरुद्धको खोप लगाउन पाउने भएका छन् । आइतबार अमेरिकाबाट आइपुगेको कोभ्याक्स सुविधाअन्तर्गत पहिलो लटको २२ लाख ३ हजार २ सय मात्रा खोप वितरणका लागि सातै प्रदेशस्थित स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा पठाइएको छ । 

काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै ‘५–११ वर्षका बालबालिकालाई लक्षित गरी प्रदान गरिएका यी खोप हालसम्म अमेरिकाले नेपाललाई प्रदान गरेको फाइजर खोपका २२ लाख ६० हजार र जोन्सन एन्ड जोन्सनका १५ लाख मात्रामा थपिने’ जनाएको छ ।

स्वास्थ्य सेवा विभागले पहिलो चरणमा २७ वटा जिल्लामा पहिलो मात्रा खोप लगाउन तयारी थालेको छ । जसअनुसार उपत्यकासहित काभ्रेका लागि ३ लाख ३१ हजार २ सय, वाग्मती प्रदेशका चितवन, मकवानपुर र सिन्धुलीका लागि १ लाख ४२ हजार ४ सय, प्रदेश १ का झापा, मोरङ, सुनसरी र इलामका लागि ४ लाख ८ हजार, मधेसका सप्तरी, सिरहा, धनुषा, महोत्तरी र पर्साका लागि ५ लाख ४२ हजार ४ सय डोज खोप पठाइएको छ । त्यस्तै, गण्डकीका कास्की र नवलपरासी पूर्वका लागि १ लाख ८ सय, लुम्बिनीका नवलपरासी पश्चिम, रूपन्देही, दाङ, बाँके र बर्दियाका लागि ३ लाख ९८ हजार ४ सय, कर्णालीको सुर्खेतका लागि ५२ हजार ८ सय र सुदूरपश्चिमका कैलाली, कञ्चनपुर र डडेलधुराका लागि १ लाख ८७ हजार २ सय डोज पठाइएको छ ।

प्रदेश कार्यालयले जिल्लामा पठाएपछि सम्बन्धित स्वास्थ्य कार्यालयले खोप केन्द्र तोक्ने विभागको कोल्डचेन तथा भ्याक्सिन वितरण शाखा प्रमुख बडेबाबु थापाले बताए । ‘हामीले असार ९ देखि वितरण गर्ने तयारीअनुसार काम थालेका छौं,’ उनले भने, ‘पहिलो डोज लगाउनेले दोस्रो मात्रा ३ साताभित्र लगाउनुपर्छ । यसका लागि अर्को खोप १० देखि १४ दिनभित्र यति नै मात्रामा ल्याउने योजना छ ।’

दोस्रो चरणमा बाँकी ५० वटा जिल्लामा पहिलो मात्रा भदौ ५ देखि ११ गतेसम्म र सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ सम्म लगाउने तयारी सरकारको छ ।

बुस्टर डोज लगाउनेबारे भने विभागले केही भनेको छैन । मुलुकमा ५–११ उमेर समूहका बालबालिका करिब ३९ लाख छन् । खोपमा मिलाउने सोडियम क्लोराइड र खेर जान सक्ने अनुमान गरेर ८४ लाख मात्रा फाइजर खोप ल्याउने सरकारको योजना छ । विभागका अनुसार बालबालिकालाई दिइने खोपमा ०.९ प्रतिशत सोडियम क्लोराइड खोपमा मिसाउनुपर्छ । मिसाएपछि हल्लाउने तरिका पनि छुट्टै छ । सिरिन्ज पनि ०.२ मिलिलिटर मार्जिनको हुने भएकाले अन्य उमेर समूहलाई लगाउने जस्तो सहज नभएकाले तालिमको आवश्यकता छ । तैपनि विभागले सबै जिल्लाका स्वास्थ्यकर्मीलाई तालिम दिइसकेको छैन । अझै २७ जिल्लाका स्वास्थ्यकर्मीलाई तालिम दिन बाँकी छ ।

स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालले पहिलो चरणमा खोप अभियान सञ्चालन गरिने सबै जिल्लामा तालिम सम्पन्न गरिसकेको बताए । ‘अर्को खोप लगाउने बेलासम्म सबै जिल्लामा तालिम सम्पन्न गरिसक्छौं,’ उनले भने, ‘अभिभावकले आफ्ना बालबालिकालाई खोप लगाउन सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।’

बालबालिकाको खोप उत्पादन भएको मितिले माइनस ६० देखि ९० डिग्री तापक्रमको कोल्ड रुम (फ्रिज) मा ६ महिनासम्म मात्र राख्न मिल्छ । टेकुस्थित खोप भण्डार केन्द्रमा कोचेर राखेमा ३० लाख मात्रा राख्न सक्ने क्षमता छ । प्रदेशस्तरमा यो खोप भण्डार गर्न मिल्ने कोल्ड रुम छैन । त्यसैले खोप आएको मितिले एक महिनाभित्र वितरण गरिसक्नुपर्छ । कोल्डचेन तथा भ्याक्सिन वितरण शाखा प्रमुख थापाले सबै तयारी पूरा भइसकेकाले खोप खेर नजाने दाबी गरे ।

प्रकाशित : असार ६, २०७९ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्

पोखरामा भारतीय पर्यटकको भरथेग

कोरोना महामारीले दुई वर्ष सुस्ताएको पोखराको पर्यटनमा पर्यटकको आगमनले राहत
दीपक परियार

पोखरा — भारतीय नम्बर प्लेटका सवारी अचेल लेकसाइडलगायत पोखराका अन्य बजारमा बग्रेल्ती भेटिन्छन् । कार, जिप, भ्यानजस्ता साना सवारी र ठूला बसमा समूहमा आउने भारतीय पर्यटकको चहलपहलले लेकसाइड गुल्जार छ ।

कोरोना महामारीले झन्डै दुई वर्ष सुस्ताएको पोखराको पर्यटनमा हाल भारतीय पर्यटकको आगमनले राहत मिलेको व्यवसायीले बताएका छन् । गर्मी छल्न भारतका सीमावर्ती सहरबाट आउने पर्यटकको संख्या बढी छ । तेस्रो मुलुकका पर्यटकको आगमन कम हुने समयमा भारतीय पर्यटकको उपस्थितिले पर्यटन व्यवसायी उत्साहित छन् । ‘अफ सिजन’ मा भारतीय पर्यटकको आगमनले पर्यटन व्यवसाय भरथेग गरेको व्यवसायीको भनाइ छ ।

गत जेठमा भारतीय र आन्तरिक पर्यटकले पोखराका ८० प्रतिशत होटल भरिएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जनाए । भारतका उत्तरप्रदेश र बिहारका सहरबाट धेरै पर्यटक पोखरा आएका छन् । पोखरा हुँदै मुक्तिनाथ जाने भारतीय पर्यटकले २–३ रात पोखरामा बिताउँछन् । ‘अहिले भारतीय पर्यटकको आगमन देख्दा आगामी सिजनमा पर्यटन पुनरुत्थान हुन्छ भन्ने आशा लिएका छौं,’ उनले भने, ‘युरोपेली पर्यटकको आगमन पनि सुरु भएकाले संकेत राम्रो छ ।’ पृथ्वी राजमार्ग र मुग्लिङ–नारायणगढ सडकमा आएको पहिरोपछि भने असार पहिलो साता भारतीय पर्यटकको आगमनमा केही कमी आएको उनले बताए ।

पोखरा आउने भारतीय पर्यटक फेवातालमा डुंगा चढ्न, प्याराग्लाइडिङ गर्न, वरपरका पर्यटकीय स्थलको भ्रमण गर्न रुचाउँछन् । नयाँ गन्तव्यका रूपमा रहेको पुम्दीकोटको शिव मूर्ति र सराङकोट पुग्ने अन्नपूर्ण केबलकार पनि भारतीयको रोजाइमा पर्ने गरेको छ । पहिला जस्तो खर्च गर्ने भारतीय पर्यटक भने कम भएको रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) पोखराका अध्यक्ष लक्ष्मण बरालको भनाइ छ । ‘संख्यामा वृद्धि भएको छ, जसले गर्दा होटल, रेस्टुरेन्ट र साहसिक गतिविधि चलायमान भएका छन्,’ उनले भने, ‘कोरोना महामारीको यो अवस्थालाई सुखद नै मान्नुपर्छ ।’

पोखराबाट हाल भैरहवा, नेपालगन्ज, धनगढी, सिमरा र जनकपुरमा सीधा हवाई सेवा सञ्चालनमा छ । सुनौली नाका हुँदै भैरहवाबाट हवाईमार्ग हुँदै पोखरा भित्रिने भारतीय पर्यटकको संख्यामा वृद्धि भएको नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष हरिराज अधिकारीले बताए । सीमा नजिकका विमानस्थलबाट हवाईमार्ग हुँदै पोखरा आउने यात्रुमध्ये ६० प्रतिशत भारतीय रहेको उनको भनाइ छ । ‘पहिरो गएर राजमार्ग अवरुद्ध भइरहँदा खर्च गर्ने पर्यटक आउन मान्दैनन्,’ उनले भने, ‘विराटनगर, सिमरा र जनकपुर नियमित हुने र भद्रपुरबाट पनि सीधा उडान सुरु हुने हो भने भारतीय पर्यटकको आगमनमा अझै वृद्धि हुन्छ ।’ तारा एयरको जहाज दुर्घटनापछि पोखरा–जोमसोम उडान रोकिएकाले पनि मुक्तिनाथ जान चाहने भारतीय पर्यटकले स्थलमार्ग रोजिरहेको उनले जानकारी दिए ।

होटल संघ पोखराले हरेक वर्ष भारतका सीमावर्ती सहरमा पुगेर प्रवर्द्धनात्मक कार्यक्रम ‘चलिए पोखरा’ गर्दै आएको छ । पोखरा पर्यटन परिषद्ले भारतमा हुने बंगाल ट्राभल मार्टलगायत विभिन्न पर्यटनसम्बन्धी मेलामा पोखराको प्रवर्द्धन गरेको छ । पोखराकै प्रवर्द्धन गर्न पर्यटन व्यवसायी युवाको समूह ‘डुलुवा’ एकमहिने भारत यात्रामा छ । जेठ २२ मा यात्रा थालेको डुलुवा समूहमा १९ युवा छन् । उक्त टोली नेपालको महेन्द्रनगरबाट भारतको अमृतसहर, कश्मीर, कार्गिल, लद्दाख, मनाली, सिमला, देहरादुन, नैनीताल, हलपुर हुँदै बुटवलबाट फर्किनेछ । पोखराका साहसिक गतिविधिको प्रवर्द्धन भारतीय सहरमा गरिरहेको टोली प्रमुख एवं प्याराग्लाइडिङ पाइलट योगेश भट्टराईले बताए ।

प्रकाशित : असार ६, २०७९ ०६:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×