आजदेखि १२-१७ वर्ष उमेर समूहलाई ‘बुस्टर डोज’- स्वास्थ्य - कान्तिपुर समाचार

आजदेखि १२-१७ वर्ष उमेर समूहलाई ‘बुस्टर डोज’

अतुल मिश्र

काठमाडौँ — सरकारले १२ देखि १७ वर्ष उमेर समूहलाई कोभिड-१९ विरुद्धको ‘बुस्टर डोज’ (अतिरिक्त) दिने भएको छ । पूर्ण मात्रा खोप लिएर ३ महिना नाघेका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई सरकारले शुक्रवारदेखि बुस्टर डोज लगाउने निर्णय गरेको हो ।

सरकारी तथ्याङ्कअनुसार मुलुकमा यो उमेर समूहमा ३४ लाख २५ हजार ४ सय ८ जना छन् । १२ देखि १७ वर्ष उमेर समूहलाई गत वर्ष पुस ४ गतेदेखि कोभिडविरुद्धको खोप दिन थालिएको हो ।

‘१२ वर्षदेखि १७ वर्ष उमेर समूहका कोभिडविरुद्धको पूर्ण मात्रा खोप लिएर तीन महिना भइसकेकाहरूलाई बुस्टर डोज लगाउन सुरु गर्न देशभरिको स्वास्थ्य निकायलाई बिहीबार हामीले परिपत्र गरेका छौं । हाल चलिरहेकै खोप अभियानमा बुस्टर डोज कार्यक्रम समावेश गरेर शुक्रबारबाटै खोप दिन सुरु हुनेछ,’ स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दहालले भने, ‘बुस्टर लगाउन योग्य बालबालिकालाई फाइजर वा मोडर्नाको खोप दिइने छ ।’

बुस्टरको रुपमा किशोरकिशोरीलाई मोडर्ना खोपको ०.२५ एमएल मात्रा वा फाइजर खोपको ०.३ एमएल मात्रा दिने सरकारको तयारी छ । हालसम्म मुलुकमा १२ वर्ष र सोभन्दा माथि उमेर समूहका जनसंख्यामध्ये २१.६८ प्रतिशत अर्थात् ५० लाख ५८ हजार ९ सय ६५ जनाले कोभिडको अतिरिक्त मात्रा खोप लिएका छन् ।

दहालका अनुसार सरकारले तोकेको मापदण्डमा पर्ने सबैले अनिवार्य रुपमा बुस्टर डोज अर्थात् अतिरिक्त मात्रा खोप लिनुपर्छ । १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीले पहिलो दुई मात्रामा जुनसुकै खोप लिएको भए पनि बुस्टर डोजमा ‘एम-आरएनए’ प्रविधिमा आधारित मोडर्ना वा फाइजर खोप लिन सक्ने दहाल बताउँछन् ।

‘एम-आरएनए’ अर्थात मेसेन्जर राइबोन्युक्लिक एसिड आनुवंशिक सामग्री हो‚ जसले शरीरमा प्रोटिन बनाउन मद्दत गर्छ । खोपमा भएको एमआरएनएले कोसिकाहरूलाई स्पाइक प्रोटिनको प्रतिलिपी बनाउन सिकाउँछ । यदि यस्तो खोप लिएको व्यक्ति भाइरसको सम्पर्कमा आएमा उनीहरूको शरीरले त्यो भाइरसलाई पहिचान गर्छ र त्योसँग लड्नका लागि शरीरमा प्रोटिन बनाउन सघाउँछ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल मुलुकमा कूल जनसंख्याको ७६.९ प्रतिशत अर्थात् २ करोड २४ लाख ५८ हजार ७ सय २९ जनाले कोभिडविरुद्धको कम्तीमा एक मात्रा खोप लिएका छन् भने कूल जनसंख्याको ६८.४ प्रतिशत अर्थात् १ करोड ९९ लाख ६९ हजार ६ सय ६२ जनाले पूर्ण मात्रा खोप लिएका छन् ।

देशभरिमा १२ वर्ष र सोभन्दा माथिको जनसंख्यामध्ये ९६.३ प्रतिशतले कोभिडविरुद्धको एक मात्रा र ८५.६ प्रतिशतले पूर्ण मात्रा खोप लिएका छन् ।

हालसम्म मुलुकमा अनुदान सहयोग र खरिदबाट समेत गरी ५ करोड ३३ लाख ८१ हजार ५ सय ७० मात्रा खोप भित्रिएको छ भने बिहीबारसम्ममा देशभरिमा ४ करोड ४० लाख ८५ हजार ५ सय ६८ मात्रा खोप लगाइएको छ ।

प्रकाशित : जेष्ठ २७, २०७९ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्

नगर बसले सहज

सबै वडा सडक सञ्जालमा जोडिएपछि नगर बस सञ्चालन
हरि गौतम

रुकुम पश्चिम — चौरजहारी नगरपालिका–१४, की मणिदेवी शर्माले चौरजहारी बजार जाँदा होस् या फर्कंदा सवारीसाधनको समस्या झेल्नुपरेको छैन । गाडी पाइन्छ कि पाइन्न भन्ने चिन्ताले पनि उनलाई पिरोल्दैन । बिहान ८ बजे घर नजिकैबाट र बेलुका पनि समयमै घर नजिकै पुग्न बसले उनको यात्रालाई सजिलो बनाइदिएको छ ।

१४ वडा मात्रै होइन चौरजहारी नगरका सबै वडाका अधिकांश भूभागका नागरिकलाई सजिलो भएको छ । १२ नम्बर वडाका दलु ओली पनि घरकै छेउबाट नगर बस चढ्छन् नगरपालिका पुग्छन् । सोही बस चढेर घर पुग्छन् । १४ कि शर्मा र १२ नम्बर वडाका ओली मात्रै होइन । नगरका १४ वटै वडाका सर्वसाधारणले सजिलै र यातायातको नियमित सेवा पाइरहेका छन् । नगरपालिकाले नगरबासीका लागि सञ्चालन गरिरहेका बसमार्फत आवतजावतमा सहज भइरहेको हो ।

नगरपालिकाले नगरका सबै वडा लक्षित गरी ५ नगर बस सञ्चालन गरिरहेको छ । सुरुमा ३ वटा नगर बस सञ्चालन गरेको नगरपालिकाले पछिल्लो पटक केही दिन यता थप २ बसबाट सेवा प्रवाह गरिरहेको छ । टोल, वडा र रुट कायम गरेर सञ्चालन गरिएका नगर बसबाट सर्वसाधारणलाई सहज भइरहेको छ । बिहान गाउँबाट नगरपालिका वा चौरजहारी बजार जानेहरूलाई लिएर छुट्ने बस बेलुका तिनै सर्वसाधारणलाई बोकेर गाउँ गाउँ पुग्छन् ।

सबै वडा सडक सञ्जालमा जोडिएपछि नगरपालिकाले नगर बस सञ्चालन गरेको थियो । २०७६ फागुनदेखि नगरका सबै वडामा नगर बस चल्छन् र त्यसैबाट सर्वसाधारणले यातायात सुविधा लिइरहेका छन् । ‘सडक बन्यो गाडी पाइएला र भन्ने लागेको थियो,’ शर्माले भनिन्, ‘सडक बनेको केही समयमै नगरले बस चलायो हामीलाई सजिलै भएको छ ।’ सस्तो भाडामा आफूहरू नगर बस चढिरहेको शर्माले बताइन् । डाँडाकाँडा सडक पुगेपछि कहिलेकाहीँ गाडी चढ्ने आशा गरेका आफूहरू नियमित गाडि चढ्न पाएको ओलीले बताए । ‘कसैले गाडी ल्याए चढौंला भन्ने थियो नगर आफैले बस चलाएपछि सजिलो भयो,’ ओलीले भने, ‘सडक बनाएको नगरले बस पनि ल्याएपछि साह्रै सहज भएको छ ।’ नगरले बस किन्नुअघि सडक पुगे पनि नियमित सार्वजनिक बस पुग्दैन थिए । कहिलेकाहीं रिजर्भवाला गाडी र सामग्री ढुवानीका साधन मात्रै गाउँ पुग्थे ।

नगरपालिकाले लामो दूरीको २ सय भाडा दर कायम गरेको छ । चौरजहारी बजारदेखि १४ नम्बर वडाको नुवाकोटसम्मको ४३ किलोमिटर दूरी यात्रा गरे २ सय र छोटो दूरीको यात्रामा २० रुपैयाँ भाडा कायम गरिएको छ । नगरपालिकाले सुलभ भाडा दरमा गाडी चलाइरहेको छ । यसले पनि बस सञ्चालन पुगिरहेको छ । हालसम्म नगर बस सञ्चालनका लागि नगरपालिकाले छुट्टै बजेट खर्चेको छैन । बसबाटै कमाइ भएको नगदले त्यसको व्यवस्थापन पुगेको छ ।

नगर बसबाट आर्थिक वर्ष २०७७/०७८ र २०७८/०७९ को वैशाख पहिलो हप्तासम्म ४० लाख आम्दानी भएको छ । मर्मत खर्च, कर्मचारी र अरू सम्पूर्ण व्यवस्थापन त्यसैबाट बेहोर्ने गरिएको छ । नगरपालिकाले ५ वर्षमुनिका बालबालिका, ज्येष्ठ नागरिक, अपांग, जनयुद्ध तथा जनआन्दोलनका घाइते सहिद परिवारलाई छुट र कतिलाई निःशुल्क बस सेवा प्रदान गरिरहेको छ । नगरप्रमुख पुष्प वादीले निवर्तमाण नगर सरकारको नगर बसले नगरबासीलाई सजिलो भएको बताए । ‘नगर बसले सजिलो भएको महसुस हामीलाई भएको छ,’ नगरप्रमुख वादीले भने, ‘यसलाई अझ व्यवस्थित, सहज र सस्तो बनाउने विषयमा छलफल गरेर अघि बढ्ने योजना छ ।’ जसरी भए पनि नगरवासीलाई सुविधा प्रदान गर्ने नगरको ध्यय हुने र निवर्तमान पदाधिकारीले कार्यान्वयन गरेको यो निर्णयलाई निरन्तरता र थप व्यवस्थित गर्न प्रयास गर्ने वादीको भनाइ छ ।

प्रकाशित : जेष्ठ २७, २०७९ १०:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×