कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

५–११ वर्षका लागि असार ९ देखि खोप

कोभ्याक्स सुविधाअन्तर्गत २० लाख डोज फाइजर खोप एक साताभित्र आइपुग्ने
प्रशान्त माली

काठमाडौँ — सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोप असार ९ बाट वितरण गर्ने भएको छ । यसका लागि साताभित्र २० लाख डोज खोप आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

५–११ वर्षका लागि असार ९ देखि खोप

मन्त्रालयका अनुसार दुई चरणमा खोप अभियान सञ्चालन गरिनेछ । पहिलो चरणमा २७ जिल्लामा पहिलो मात्रा खोप असार ९ देखि १५ सम्म र दोस्रो मात्रा साउन २ देखि ८ सम्म लगाइनेछ । दोस्रो चरणमा बाँकी ५० जिल्लामा पहिलो मात्रा भदौ ५ देखि ११ सम्म र दोस्रो मात्रा भदौ २७ देखि असोज १ सम्म लगाउने तयारी छ । बुस्टर डोज लगाउनेबारे भने मन्त्रालयले केही भनेको छैन । स्वास्थ्य विभागले पहिलो चरणमा काठमाडांै, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, पर्सा, सिन्धुली, काभ्रेपलाञ्चोक, चितवन, कास्की, बागलुङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप लगाउने तयारी गरेको छ ।

५–११ वर्ष समूहका बालबालिका करिब ३९ लाख छन् । खोपमा मिलाउने सोडियम क्लोराइड खेर जाने अनुमान गरेर ८४ लाख मात्रा फाइजर खोप ल्याउने सरकारको योजना छ । खोप कोभ्याक्स सुविधाअन्तर्गत नि:शुल्क प्राप्त हुन लागेको हो । यो उमेर समूहका बालबालिकाका लागि खोप खरिद गर्न सरकारले ६ अर्ब रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरेको थियो । स्वास्थ्यमन्त्री विरोध खतिवडाले कोभ्याक्स सुविधाअन्तर्गत खोप नि:शुल्क प्राप्त हुन लागेको बताए । ‘सम्पूर्ण अभिभावकले विद्यालयमा सञ्चालन हुने अभियानमा सहभागी गराई खोप लगाउन अपिल गर्छु,’ उनले भने ।

सरकारले खोप लगाउने मिति घोषणा गरे पनि अभियानका लागि आवश्यक तयारी पूरा गरेको छैन । स्वास्थ्य विभागले ३० जिल्लाका स्वास्थ्यकर्मीलाई मात्र तालिम दिएको छ । स्वास्थ्य विभागका अनुसार बालबालिकालाई दिइने खोपमा ०.९ प्रतिशत सोडियम क्लोराइड खोपमा मिसाउनुपर्छ । मिसाएपछि हल्लाउने तरिका पनि छुट्टै छ । सिरिन्ज पनि ०.२ मिलिलिटर मार्जिनको हुने र अन्य उमेर समूहलाई लगाउन जस्तो सहज नहुने भएकाले तालिम आवश्यक छ ।

स्वास्थ्य विभाग खोप शाखा प्रमुख सागर दाहालले यूएसआईडीको सहयोगमा तालिम सञ्चालन भइरहेको र खोप अभियानअगावै सबै जिल्लामा तालिम दिइसक्ने बताए । बालबालिकाका लागि भनेर ल्याउन लागिएको खोप उत्पादन भएको मितिले माइनस ६० देखि ९० डिग्री तापक्रमको कोल्ड रुम (फ्रिज) मा ६ महिनासम्म मात्र राख्न मिल्छ । टेकुस्थित खोप भण्डार केन्द्रमा कोचेर राखे ३० लाख मात्रा व्यवस्थापन हुन सक्छ । प्रदेशस्तरमा यो खोप भण्डार गर्ने कोल्ड रुम छैन । त्यसैले खोप आएको मितिले एक महिनाभित्र वितरण गरिसक्नुपर्छ, नत्र खेर जान्छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले खोप व्यवस्थापनमा खासै समस्या नभएको जनाउँदै तालिका मिलाएर वितरण गरिने बताए । विश्व स्वास्थ्य संगठनले कोभिड भाइरसको विकासक्रम जारी रहेको भन्दै सबैलाई खोप अनिवार्य लगाउन आग्रह गर्दै आएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार शनिबारसम्म २० वर्षमुनिका २७ हजार २ सय ७३ जना बालबालिकामा कोभिड संक्रमण भएको र संक्रमणका कारण ९ वर्षसम्मका ५१ जना, १० देखि १९ वर्ष उमेर समूहका ५७ जनाको मृत्यु भएको तथ्यांक छ ।

प्रकाशित : जेष्ठ २१, २०७९ २१:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?