२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

फाइजरले निम्न तथा कम आय भएका देशलाई आफ्ना पेटेन्टयुक्त औषधि र खोप उत्पादन गर्न दिने

फाइजरले यी देशहरूमा नयाँ औषधि र खोपहरू उपलब्ध गराउन लाग्ने लामो समयलाई कम गर्न द्रुत र प्रभावकारी नियामक मार्गहरू र खरिद प्रक्रियाहरू पहिचान गर्नका लागि सहकार्य गर्नेछ ।

काठमाडौँ — फाइजरले बुधबारदेखि न्यून आय भएका ४५ देशहरूमा बसोबास गर्ने १२० करोड मानिसहरुका लागि स्वास्थ्य समता सुधार गर्न ‘स्वस्थ संसारका लागि एक सम्झौता’ सुरु गरेको छ । यसले न्यून आय भएका देशले फाइजरले विकास गरेका औषधि र खोपहरु उत्पादन तथा विक्री वितरण गर्न पाउने भएका छन् ।

फाइजरले निम्न तथा कम आय भएका देशलाई आफ्ना पेटेन्टयुक्त औषधि र खोप उत्पादन गर्न दिने

यसको उद्देश्य अमेरिका र युरोपेली संघमा उपलब्ध फाइजरका सबै प्याटेन्ट, उच्च गुणस्तरका औषधि तथा खोपहरु ४५ कम आय भएका देशहरूमा उपलब्ध गराउने हो ।

कम आय भएका देशहरू र बाँकी विश्वका बीचमा रहेको स्वास्थ्य असमानतालाई धेरै हदसम्म कम गर्न सहयोग गर्ने यो सम्झौताको उद्धेश्य रहेको छ ।

फाइजरका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत अल्बर्ट बोर्ला भन्छन्–‘ हामीले विश्वव्यापी कोभिड–१९ खोप रोलआउटमा सिकेका छौं, आपूर्ति बिरामीहरूलाई मद्दत गर्ने पहिलो चरण मात्र हो। हामी निदान, शिक्षा, पूर्वाधार, भण्डारण र थपमा सुधार गर्न विश्वव्यापी स्वास्थ्य नेताहरूसँग मिलेर काम गर्नेछौं। सबै बाधाहरू पार भएपछि मात्र हामीले स्वास्थ्य सेवामा रहेको असमानता अन्त्य गर्न सक्छौं र सबै बिरामीहरूको लागि उद्धार गर्न सक्छौं ।’

सम्झौतामा संलग्न देशहरूमा सबै २७ न्यून आय भएका देशहरू र विगत १० वर्षमा निम्नबाट निम्न–मध्यम आय वर्गीकरणमा परिणत भएका १८ निम्न–मध्यम आय भएका देशहरू समावेश छन्। फाइजरले रूवाण्डा, घाना, मलावी, सेनेगल र युगान्डाका स्वास्थ्य सेवा अधिकारीहरूसँग मिलेर काम गर्नेछ र सबै औषधि र खोपहरू आवश्यक परेकाहरूसम्म पुग्न सक्छ भनेर सुनिश्चित गर्नेछ ।

यसमा निदान, स्वास्थ्यकर्मीको व्यावसायिक शिक्षा र तालिमको साथसाथै आपूर्ति श्रृंखला ,व्यवस्थापन र अन्य पूर्वाधार संवद्र्धनहरूलाई सहयोग गर्ने विशेषज्ञता समावेश हुने छ । यी पाँच देशहरूको अनुभवको आधारमा बाँकी ४० देशहरूमा यो सम्झौतालाई कार्यान्वयनमा ल्याइने छ ।

फाइजरले यी देशहरूमा नयाँ औषधि र खोपहरू उपलब्ध गराउन लाग्ने लामो समयलाई कम गर्न द्रुत र प्रभावकारी नियामक मार्गहरू र खरिद प्रक्रियाहरू पहिचान गर्नका लागि सहकार्य गर्नेछ ।

सम्झौताअनुसार फाइजरले संक्रामक रोग, निश्चित क्यान्सरका साथै दुर्लभ र सुन्निने रोगहरूको उपचार गर्ने २३ औषधि र खोपहरू उपलब्ध गराउन प्रतिबद्ध छ। यस्ता औषधि र खोपहरू सजिलैसँग उपलब्ध हुँदा प्रत्येक वर्ष सर्ने तथा नसर्ने रोगहरूका कारण मृत्युवरण गर्न बाध्य लगभग १० लाख मानिसहरूको ज्यान जोगिनसक्छ भने कम्तीमा पाँच लाखभन्दा बढीको जीवनको गुणस्तरलाई असर गर्ने दीर्घकालीन रोगहरूको उपचार गर्ने क्षमतामा वृद्धि हुने छ । फाइजरले नयाँ औषधि र खोपहरू सार्वजनिक गर्दा, ती उत्पादनहरूलाई पनि नाफारहित आधारमा सम्झौताको छाता भित्र समावेश गरिने बताइएको छ।

सम्झौताले ४५ देशहरूमा फाइजरको पाइपलाइनमा रहेका भावी औषधि र खोप, विशेष गरी विश्वव्यापी स्वास्थ्यलाई असमान रूपमा असर गर्ने रोगहरूको उपचार गर्न गैर–नाफाको आधारमा छिटो पहुँच स्थापित गर्ने लक्ष्य राखेको छ।

यस प्रतिबद्धतालाई अगाडि बढाउन, फाइजरले बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको आर्थिक सहयोगमा समूह बी स्ट्रेप्टोकोकस (जीबीएस) को रोकथामका लागि खोप विकासको काम अगाडि बढाइरहेको छ, जुन मृत नवजात पैदा हुनुको एक प्रमुख कारण हो। उनीहरुले ‘रेस्पिरेटरी सिन्सिटियल भाइरस’ (आरएसभी) खोप विकास, अर्को मातृ खोपमा पनि सहयोगका लागि छलफल गरिरहेका छन्।


प्रकाशित : जेष्ठ १२, २०७९ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?