२ दिने बिदाले ओपीडीमा थामिनसक्नु भीड 

शनिबार र आइतबार बिदाको प्रावधानले शल्यक्रिया धकेलिँदै, बिरामीको खर्चसमेत बढ्दै
‘२ दिन सार्वजनिक बिदा अहिले सरकारले परीक्षणका रूपमा सुरु गरेको हो । यसमा थप विश्लेषण हुन्छ। यसका फाइदा र बेफाइदा दुवै होला ।' सहप्रवक्ता अधिकारी, स्वास्थ्य मन्त्रालय
बुनु थारु

काठमाडौँ — सोमबार करिब ११ बजे वीर अस्पतालको टिकट काउन्टरमा थामिनसक्नु भीड छ । सोही भीडमा टिकटका लागि दुई घण्टापछि पालो पाएका थिए मैतिदेवीका खगेन्द्र पराजुली ।

२ दिने बिदाले ओपीडीमा थामिनसक्नु भीड 

उनी ९ वर्षीय छोराको कानको परीक्षणको फलोअपका लागि आएका थिए । ९ बजे अस्पताल आइपुगेका उनले बल्लबल्ल टिकट पाए । ‘१५ दिनअघि आउँदा यत्तिका बिरामी देखेको थिइन । आइतबार बिदा भएपछिको भीड होला । ओपीडीमा चिनेकाले आफ्ना मान्छे छिराउँछन् अनि टोकन सिस्टम पनि मलाई व्यवस्थित लागेन,’उनले भने ।

छोराको उपचारका लागि आएका मैतिदेवीका खगेन्द्र पराजुली ।

हातमा टोकन लिएर बसेकी रौटहटकी ४५ वर्षीया सीतादेवी परीक्षणका लागि शनिबार बिहान आइपुगेकी थिइन् । आइतबार जँचाएर भोलिपल्ट फर्किने उनको सोच थियो ।

रौतहटकी सीतादेवी ।

उनलाई २ महिनादेखि ढाड दुख्ने, पेट पोल्ने, छाती दुख्ने लगायतका समस्या देखिएका छन् । उनले वीरगञ्जमा पनि औषधि उपचार गराए पनि काम नगरेको बताइन् । उनी भन्छिन्–‘ जति दबाइ गर्दा नि ठीक भइनँ अनि काठमाडौँ आएको । आइतबार नि जँचाउन पाइएन । २२ सय भाडा लियो । जाँदा पनि त्यति नै खर्च लाग्छ । बस्दा खान झन् खर्च । यहाँ राम्रो उपचार हुन्छ भन्ने विश्वास छ ।’

धादिङका नारायणकाजी पौडेल आइतबारका दिन करिब ९ बजे वीर अस्पताल आइपुगे ।तर टिकट काउन्टर पुग्दा कोही थिएनन् । ६४ वर्षीय उनले आफूले आइतबारका दिन अस्पताल बन्द हुने कुरा थाहा नभएको बताए । घुँडा पोल्ने अनि ज्यान सुन्निने समस्या लिएर आएका उनी अस्पतालमा भीड देखेर छक्क परेको बताए । ‘हिजोको मान्छे पनि आए होलान् अस्पताल त निकै भीड रहेछ । शौचालयमा पनि भीड,’उनले भने ।

देशकै ठूलो अनि जेठो अस्पतालमा पर्छ वीर जहाँ दैनिक २ हजारसम्म बिरामी ओपीडी सेवा लिने गरेका छन् । टोकन व्यवस्था गर्ने एक कर्मचारीले दैनिक १६०० जति टोकन अरु दिनमा बाँडिने तर सोमबार भने साढे १२ बजेसम्म नै १७०० टोकन गइसकेको बताए । शनिबार र आइतबार दुवै दिन ओपीडी बन्द हुने कारणले सोमबार ओपीडीमा घुँइचो देखिन्थ्यो ।

धादिङका नारायणकाजी पौडेल ।

साताको पाँच दिन मात्र सार्वजनिक सेवा दिने सरकारी निर्णयले स्वास्थ्य क्षेत्रमा नकारात्मक असर पर्दै गरेको देखिन्छ । तोकिएका शल्यक्रिया पनि बिदाले पछि सर्ने भइरहेका छन् भने टाढाबाट रिफर भएर आउने बिरामी मर्कामा परिरहेका छन् । धेरैजसो सरकारी अस्पतालमा आइतबार अपरेसन राखिएको हुन्थ्यो तर अहिले आइतबार ओपीडीसमेत बन्द भएपछि बिरामीले समयमा उपचार सेवा लिनबाट वञ्चित भइरहेका छन् ।

वीर अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेत भने बिरामीलाई मर्का नपार्ने किसिमले सेवा दिइरहेको बताए ।उनले भने–‘सरकारको निर्णय लागू गर्न परिहाल्यो । तर हामीले बिरामीलाई सेवा दिइरहेका छौँ ।ओपिडीको समय बढाएका छौँ । ओपीडी साढे ५ बजेसम्म चल्छ। सरकारको जे निर्देशन आउँछ त्यही पालना गर्ने हो । जति बिरामी आए पनि हेर्न सक्छौँ केही समस्या छैन । ’

...

दैनिक ८००–१००० जनासम्म बिरामी आउने निजामती कर्मचारी अस्पतालले भने आइतबारका दिन ओपीडी चलाइरहेको छ । अस्पतालका निर्देशक डा‍. विधाननिधि पौडेलका अनुसार अस्पतालले बिदा लागू गरेको छैन । पौडेल भन्छन्–‘ अस्पताल विकास समितिबाट बिदाबारेमा केही निर्णय भएको छैन । सम्पूर्ण सेवा पहिलेजस्तै नै दिइरहेका छौँ । बिदा लागू भए पनि विस्तारित हेल्थ सेवा मार्फत पेइङ क्लिनिक चलाउनेछौँ ।’

कान्ति बाल अस्पतालको अस्पताल विकास समितिमा २५०–३०० कर्मचारी कार्यरत छन् । अस्पतालले आफ्नै आम्दानीको स्रोतबाट तलब दिनुपर्ने हुन्छ । त्यसमाथि अवकाश प्राप्त हुने कर्मचारीलाई पनि पेन्सनको व्यवस्था गर्नुपर्छ । अस्पतालका निर्देशक डा. अजित रायमाझी भन्छन्–‘ आइतबार बिदा लागू गर्ने भनेको छ तर आफ्नै आम्दानीबाट चलेका अस्पतालहरुले तर बिदा दिन अन्कनाइरहेका छन्। कर्मचारीलाई सेवा सुविधा दिन गाह्रो हुने हुन्छ ।’

‘यस विषयमा मन्त्रालयले हेर्दिने हो वा वैकल्पिक व्यवस्थाबाट स्रोत जुटाउने हो सोच्नुपर्छ। बिदाको दिनमा काम गर्ने कर्मचारीलाई भत्ताको व्यवस्था हुने भयो भने सजिलो हो । साथै विस्तारित स्वास्थ्य सेवा सञ्चालन गर्दा पनि अपरशेनका लागि तोकिएका बिरामीहरु मर्कामा नपर्लान् ,’उनले भने ।

त्रिवि शिक्षण अस्पतालले शल्यक्रिया गर्ने बिरामीहरु धेरै पर्खाइमा रहेका र अस्पतालमा बिरामीको चाप बढी हुने भएकाले आइतबार बिदा लागू नगरिएको बताउँछन् अस्पतालका निर्देशक डा. दिनेश काफ्ले । उनी भन्छन् - 'धेरैजसो अपरेशन आइतबारका दिन नै हुन्छन् । एमआरआई ,सीटी-स्क्यान । प्राविधिक कठिनाइ पनि छन् । त्यसमाथि त्रिवि शिक्षण संस्थान स्वायत्त संस्था हो माथिबाट निर्णय नभएसम्म लागू नगरिएको हो ।'

सरकारले जेठ १ गतेदेखि लागू हुने गरी सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णयले स्वास्थ्य क्षेत्रमा प्रभाव परेको देखिन्छ ।केही अस्पतालले आइतबार पनि ओपीडी चलाएका छन् भने केहीले चलाएका छैनन् । यसले झन् बिरामी समस्यामा परेको देखिन्छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारी भन्छन् –‘२ दिन सार्वजनिक बिदा अहिले सरकारले परीक्षणका रूपमा सुरु गरेको हो । यसमा थप विश्लेषण हुन्छ। यसका फाइदा र बेफाइदा दुवै होला ।यसका सबल पक्षलाई थप सबल र दुर्बल पक्षलाई हटाउने हो । कसरी सेवाग्राहीलाई सहज हुन्छ त्यही अनुसारका उपायहरू अपनाउछौँ ।’

प्रकाशित : जेष्ठ ९, २०७९ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?