स्पेनमा महिलालाई महिनावारी बिदा दिने कानुन प्रस्ताव

काठमाडौँ — मंगलबार स्पेनको मन्त्रिपरिषद्ले प्रत्येक महिना महिलाले महिनावारी बिदा लिनसक्ने नयाँ कानुन प्रस्ताव गरेको छ । कानूनले महिलाहरूलाई महिनावारीको अत्यधिक दुखाइको अनुभव गर्दा उनीहरूलाई आवश्यकता भएअनुसार छुट्टी लिन अनुमति दिनेछ ।

स्पेनमा महिलालाई महिनावारी बिदा दिने कानुन प्रस्ताव

यो कानुन स्वीकृत भएमा महिनावारी हुने महिलालाई यस्तो कानुनी व्यवस्था गर्ने स्पेन पहिलो युरोपेली देश बन्नेछ।

स्पेन सरकारले प्रजनन स्वास्थ्य सुधार मस्यौदा प्रस्तावमा देशको गर्भपतनसम्बन्धी कानूनमा पनि परितर्वन ल्याउने भएको छ । मस्यौदाले विद्यालयहरूमा गर्भनिरोधक तथा महिनावारी हुँदा प्रयोग हुने उत्पादनहरू नि:शुल्क वितरण गर्न र यौन शिक्षालाई बलियो बनाउन पनि आह्वान गरेको छ।

यसले १६–१७ वर्षका नाबालिगहरूलाई गर्भपतन गर्नुअघि अभिभावकको सहमति लिनु पर्ने छैन र सार्वजनिक अस्पतालहरूमा गर्भपतनमा पहुँच बढाउने उपायहरू अवलम्बन गरिनेछन् । यस कानुनले सुपरमार्केटहरूमा प्याड र ट्याम्पन जस्ता मासिक धर्ममा प्रयोग हुने उत्पादनहरूमा बिक्री कर हटाउने छ।

स्पेनले हाल गर्भावस्थाको १४ औं हप्तासम्म अनुरोधका आधरमा गर्भपतनलाई अनुमति दिन्छ। त्यसबाहेक, भ्रुणमा असामान्य अवस्था देखापरेमा २२ हप्तासम्म गर्भपतनको अनुमति दिने गरेको छ।

स्पेनकी समानता मन्त्री इरेन मोन्टेरो भन्छिन्–‘महिनावारी अब वर्जित हुनेछैन । महिनावारी बिदा पूर्णरुपमा राज्य कोषबाट नै हुनेछ । अब दुखाइको साथ काम गर्न जानु पर्दैन । काममा पुग्नु अघि चक्कीहरू लिनु पर्दैन र हामी पीडामा छौं भन्ने तथ्यलाई लुकाउनु पर्दैन, जसले हामीलाई काम गर्न असमर्थ बनाउँछ।’

‘हामीले महिलाहरूलाई राम्रोसँग बाँच्न सक्ने सुनिश्चित गर्ने कानुन बनाइरहेका छौँ,’ उनले भनिन् ।

महिनावारी बिदा भनेको के हो?

अमेरिकन कलेज अफ ओब्स्टेट्रिसियन्स एण्ड गाइनोकोलोजीका अनुसार महिनावारी हुने आधाभन्दा बढी महिलाहरूलाई प्रत्येक महिना एकदेखि दुई दिनसम्म पीडा हुन्छ र कसैलाई त्योभन्दा धेरै दिनपनि हुनसक्छ । केही व्यक्तिहरूको लागि दुखाइ यति पीडादायी हुन्छ यसले कम्तिमा केही दिन प्रति महिना सामान्य गतिविधि गर्नबाट रोक्न सक्छ ।

कार्यस्थलमा महिलाका लागि महिनावारी बिदा लागू गर्ने की नगर्ने भन्ने विषयमा लामो समयदेखि विश्वभर बहस हुँदै आइरहेको छ । महिनावारी बिदा भनेको महिलाहरुले महिनावरी हुँदा लिने बिदा हो त्यो तलबी वा बेतलवी दुवै हुनसक्छन् । महिनावारी हुँदा असहजपन, पीडा, भावनात्मक समस्या र अन्य स्वास्थ्य समस्याहरूबाट महिलाहरु गुज्रन्छन् । यस्तो बिदाले महिलाहरूलाई अफिसको सट्टा घरमा आराम गर्न अनुमति दिन्छ।

अतिकम विकसित र अल्पविकसित धेरै देशहरूमा महिनावारीको विषयका छलफल वर्जित जस्तै छ । त्यसरी नै महिनावारीको बिदाको विषय प्राय: महिलाको कार्यदक्षता र कार्यस्थलको लैंगिक विभेदसँग जोडिएको छ। हालसम्म तलबी महिनावारी बिदा इन्डोनिसिया, जापान, दक्षिण कोरिया, ताइवान, जाम्बिया जस्ता देशमा लागू गरिएको छ ।

प्रकाशित : जेष्ठ ५, २०७९ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?