कपाल प्रत्यारोपणबारे जान्नुपर्ने केही कुरा - स्वास्थ्य - कान्तिपुर समाचार

कपाल प्रत्यारोपणबारे जान्नुपर्ने केही कुरा 

डा. प्रज्वल पुडासैनी

काठमाडौँ — कपाल हाम्रो अनुहार, व्यक्तित्व र आवरणका लागि महत्त्वपूर्ण छ । तर विश्वभर नै पुरुषहरुमा हुने तालुपना एउटा ठूलो समस्याका रुपमा रहेको देखिन्छ । यसबाट महिलाहरु पनि प्रभावित छन् । यद्यपि उनीहरुको संख्या पुरुषको तुलनामा केही कम छ । अत्याधुनिक प्रविधिको विकास भएसँगै अब धेरै हदसम्म तालुपनाबाट छुट्कारा प्राप्त गर्न सकिन्छ । विशेष गरेर जो मानिस तालुपनाले गर्दा आफ्नो स्वरुपको बारे चिन्तित छन् र मानसिक तनाव झेलिरहेका छन् उनीहरुलाई कपाल प्रत्यारोपण विकल्प बनिरहेको छ ।

तालुपनाका लागि वर्षौँदेखि कपाल उमार्न लगाउने र खाने औषधि प्रचलनमा आएतापनि यसको निश्चित उपचार भने कपाल प्रत्यारोपण नै हो। वंशाणुगत र हर्मोनको कारणले हुने तालुपना करिब ५० प्रतिशत पुरुषहरुमा ५० वर्ष उमेर अघि नै देखिन्छ।

कपाल प्रत्यारोपण गर्नकालागि ६ महिना अगाडि र गरिसकेपछि पनि ६ महिना देखि १ वर्षसम्म ‘फिनेसटराइड’ नामक औषधि खाँदा र ‘मिनोक्सिडिल’ नामक औषधि लगाउँदा यसले कपालको मात्रा बढाउन मद्दत गर्दछ। यसरी प्रत्यारोपण पश्चात पनि औषधि प्रयोग गरिराखे यसले कपाल पातलिने गति कम गरी पुन: कपाल बाक्लो देखाउन र प्रत्यारोपण सफल गराउन मद्दत गर्छ।

कपाल प्रत्यारोपणको लागि अहिले विश्व र नेपालमा प्रचलित विधि भनेको ‘फोलीकुलर युनिट एक्सट्रयाकसन’ अर्थात् कपाल नझरेको टाउकोको पछाडीको भागबाट कपाल निकाली कपाल झरेको टाउकोको अगाडि र बीचमा रोप्ने विधि हो।

यसरी तालुको पछाडिबाट निकालिएको कपाल हर्माेनको असरबाट झर्न बन्चित हुन्छ र राम्रोसँग उम्रिन्छ। फोलीकुलर युनिट एक्सट्रयाकसन विधिमा समय धेरै लाग्ने भएपनि यसले कुनैपनि किसिमको खत नबस्ने र ठुलो घाउ पार्नु नपर्ने हुनाले यो प्रचलित हुँदै आएको छ।

घाउचोट र संक्रमणको खतका कारणले भएको तालुपनामा पनि यो विधिको माध्यमले कपाल रोप्न सकिन्छ ।

साथै यो विधिले घाउ छिटो ठिक हुने, दुखाई थोरै हुने, टाँका लगाउनु नपर्ने, खत नबस्ने, तालुको पछाडिबाट कपाल निकाल्न नसके जिउ र दारीबाट समेत रौंका जरा निकालेर हाल्न सकिन्छ ।

कपाल प्रत्यारोपणका लागि छाती र दारीका रौँ पनि प्रयोग गर्न सकिन्छ । तर यस्ता रौँ भने तालुको बीच भागमा रोप्नु पर्ने हुन्छ। त्यस्तै आँखीभाउ र दारीमा पनि कपाल रोप्न सकिन्छ। कपाल प्रत्यारोपणमा हजारौं रौँहरु निकालेर रोप्नुपर्ने हुनाले यसको एक सत्र करिब एक दिनमा गर्न सकिन्छ।

कस्ता मानिसमा कपाल प्रत्यारोपण गर्न सकिन्छ ?

  • २५ वर्ष माथिकालाई धेरै जस्तो कपाल प्रत्यारोपणका लागि योग्य ठानिन्छ। २५ वर्ष मुनिका व्यक्तिहरुको कपाल कति झर्छ भन्ने अनुमान गर्न सकिन्न र कपाल रोपिसकेपछि पनि झर्‍यो भने फेरि कपाल असामान्य देखिन सक्छ।
  • डोनर हेयर अर्थात् कपाल प्रत्यारोपणका लागि निकालिने तालुको पछाडि पट्टिको भाग कति घना छ र कपालको प्रत्येक रौँ कतिको बाक्लो छ त्यसले पनि प्रत्यारोपणको सफलता जनाउँछ। एक स्क्वार सेन्टिमिटरमा करिब ८० वटा रौँ भएमा त्यसलाई पर्याप्त मान्न सकिन्छ। बाक्लो कपालले स्वत: कपालको घनत्व बाक्लो देखाउँछ।
  • निधार माथिको तालुपना अर्थात् टाउकोको अगाडि पट्टिको भागको तालुपना भएका व्यक्तिमा कपाल प्रत्यारोपणले अनुहारको स्वरुपमा महत्त्वपूर्ण परिवर्तन ल्याउने हुँदा त्यस्ता व्यक्तिलाई प्रत्यारोपण गर्न अझ उपयुक्त हुन्छ ।

कपाल प्रत्यारोपणका जटिलता के-के हुन् ?

तालुमा रक्त सञ्चालन धेरै हुनाले छिटो घाउ निको हुन्छ र संक्रमण पनि कम हुन्छ। कपाल प्रत्यारोपणका जटिलता सामान्यतया देखिँदैन। तर कसै–कसैमा लठ्याउने सुईको विषाक्तताका लक्षण, तालु सुनिन्ने, रगत बग्ने, रौँको जरामा संक्रमण हुने, क्षणिक रुपमा टाउको दुख्ने, चिलाउने र सुन्नता हुने हुन्छ। कसै कसैमा दिर्घकालसम्म कपाल निकालेको र हालेको ठाउँमा सुन्नता हुने र खत बस्ने हुनसक्छ।

मुटु र फोक्सोको दीर्घ रोग, छारे रोगका बिरामी, रगत पातलो गर्ने औषधि (एस्पिरिन, हेपारिन, वार्फारिन ) सेवन गरेका बिरामीले सतर्कता अपनाउनुपर्ने हुन्छ।

कसरी गरिन्छ कपाल प्रत्यारोपण ?

कपाल प्रत्यारोपणका लागि निकालिने डोनर एरियाको कपाललाई करिब १ मिलीमिटरको लम्बाई जति हुने गरि ट्रिम गर्नु पर्छ।

कपाल प्रत्यारोपणको दिन कपाल प्रत्यारोपण गरिने तालुको भागमा पेन्सिलले रेखा मापन गरिन्छ जसलाई हेयर लाइन डिजाइन भनिन्छ। कपाल प्रत्यारोपणको सफलता यही हेयर लाइन डिजाइनको रेखाको पूर्णता र उत्कृष्टतासँग सम्बन्धित रहन्छ।

डोनर एरिया (अर्थात् कपाल निकालिने टाउकोको भाग) र रोपिने भागलाई सुई मार्फत लठ्याइन्छ । कसै–कसैलाई निन्द्रा लगाउने र बेहोस पार्ने औषधि पनि दिनुपर्ने हुनसक्छ। यसरी लठ्याएपछि सानो आकारको सुई, १ मिमीको पन्च (रौँ निकाल्न प्रयोग गरिने औजार) र विशेष फोर्सेप प्रयोग गरी रौँ एक–एक गरी निकालिन्छ ।

रौँ निकालिएको ठाउँको घाउ ७ देखि १० दिनमा आफैं ठिक हुन्छ। यसरी निकालिएको रौँलाई विशेष रुपमा तयार पारिएको चिसो सलाईन पानीमा राखिन्छ र तुरुन्त तालुपना भएको ठाउँमा प्रत्यारोपण गर्न सकिन्छ। एक सत्रमा करिब १०० देखि २५०० वटा रौँ यसरी प्रत्यारोपण गर्न सकिन्छ भने पुरै तालुपना भएका व्यक्तिमा २ सत्रमा प्रत्यारोपण गर्नुपर्ने हुन्छ।

त्यस्तै कपाल रोपिने ठाउँमा विभिन्न आकारका सुई प्रयोग गरी खाल्डो पारिन्छ र विशेष किसिमको फोरसेप (कपाल रोप्ने औजार) प्रयोग गरी रोपिन्छ। रोपिसकेको ठाउँमा कपाल उक्किने डर हुने हुनाले रोपिसकेपछि ५ देखि १५ सेकेन्ड सलाईन पानी युक्त कपासले थिच्नुपर्ने हुन्छ।

यसरी सबै ठाउँमा समय लिएर कपाल रोपिसकेपछि घाउको ड्रेसिङ्ग गरेर नटाँसिने खालको पट्टि लगाईन्छ, जुन भोलिपल्ट निकाली सफा गरिन्छ र पर्याप्त मात्रामा रोपिएको कपालमा सलाइन पानी हालेर राखिन्छ ।

कपाल रोपेको कति समयमा कपाल उम्रिन थाल्छ ?

प्रत्यारोपण गरेको कपाल करिब ३ देखि ६ महिनामा उम्रिन थाल्छ र ९ देखि १४ महिनामा पूर्णरुपमा बढी सक्छ। तर कपाल रोपेको पहिलो २–३ महिना भने कपाल झर्ने कुरा सामान्य प्रक्रिया रहेको सबै बिरामीलाई सुचित गराउनुपर्छ।

कपाल प्रत्यारोपणपछि अपनाउनुपर्ने सावधानी के–के हुन् ?

  • प्रत्यारोपण गरेको पहिलो दिन चिकित्सकको सल्लाह बमोजिम दुखाई कम गर्ने औषधि, एन्टीबायोटिक र स्टेरोइड औषधि सेवन गर्ने ।
  • कपाल रोपेको ठाउँमा असर नपर्ने गरी टाउको उठाएर सुत्ने, गहरुंगो व्यायाम नगर्ने ।
  • -प्रत्यारोपणको पहिलो हप्ता कपाल सफा पानीले धुने, रोपिएको ठाउँमा पानि प्रशस्त पार्ने, रोपिएको कपालमा भएको पाप्रालाई नकोट्याउने, हल्का खालको व्यायाम गर्ने, काइँयोले हल्कासँग कपाल कोर्ने तर तालुमा भएका पाप्रा नउप्काउने ।

डा. पुडासैनी निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) तथा भक्तपुर स्किन एन्ड कस्मेटिक सेन्टर (बीएससीसी)मा छालारोग विशेषज्ञका रुपमा कार्यरत छन् ।

प्रकाशित : जेष्ठ ५, २०७९ १५:३६
प्रतिक्रिया
पठाउनुहोस्

कपाल झर्ने समस्याको उपचारका लागि गरिने पीआरपी विधि कस्तो हो ?

डा. प्रज्वल पुडासैनी

काठमाडौँ — पीआरपी (प्लेट्लेट्स रिच प्लाज्मा) इन्जेक्सन विधि मानिसको आफ्नै रगत निकाली त्यसलाई औषधिको रुपमा प्रयोग गरिने विधि हो ।  यसको विभिन्न प्रयोगहरू चिकित्साविज्ञानमा हुँदै आएको वर्षौं भइसकेको छ । साथै, कपाल उमार्नका लागि यसको प्रयोग पनि केही समययता निकै प्रचलित हुँदै आएको छ ।

एउटा ७० किलोको व्यक्तिमा करिब ५ लिटर जति रगत हुन्छ । त्यस रगतमा ४५ प्रतिशत रातो रगत, सेतो रगत र प्लेट्लेट्सका कोषिका हुन्छन् भने ५५ प्रतिशत प्लाज्मा हुन्छन् ।

प्लेट्लेट्स रिच प्लाज्मामा धेरैथरिका ग्रोथ फ्याक्टर हुन्छन् । जसरी रुखका जराहरूलाई बढ्नका निम्ति मलजल गर्नुपर्छ‚ त्यसरी नै हाम्रो शरीरका कोषिकाहरूलाई बढ्न र स्वस्थ रहनका लागि 'ग्रोथ फ्याक्टर' चाहिन्छ । पीआरपी विधिमा मानिसको आफ्नै रगत निकालेर सेन्ट्रिफ्युज गरी प्लेट्लेट्स (सेतो रगत) भएको प्लाज्मा, रातो रगतका कोषिकाबाट छुटाई मानिसको आफ्नै कपालमा, अनुहारमा खत भएको स्थानमा सुईबाट हाल्ने गरिन्छ ।

तालुमा पीआरपी लगाउँदा के हुन्छ ?
पीआरपीले कपालमा रहेका ग्रोथ फ्याक्टरको सञ्चालन बढाई कपाल बाक्लो देखाउन मद्दत गर्दछ र कपालका जराहरूलाई बलियो बनाउँछ ।

ग्रोथ फ्याक्टरहरू कपालका रौंका जराहरूमा गई तिनका रिसेप्टरमा टाँसिन्छन् र कपाल बढ्नका लागि चाहिने ग्रोथ फेजको समय बढाई कपाललाई बढ्न मद्दत गर्छन् । त्यस्तै यिनले कपालमा चाहिने रगत सञ्चालन गर्ने रगतका नलीहरू बन्न पनि मद्दत गर्छन् ।

यो सुई वंशाणुगत र हरमोनको कारणले हुने तालुपना अर्थात् एन्ड्रोजेनेटिक एलोपेसिया भएका व्यक्तिहरूको उपचारका लागि प्रयोग गरिन्छ । यो समस्या प्रायः गरेर केटा मान्छे र थोरै मात्र महिलामा हुने गर्छ । त्यस्ता व्यक्तिले पीआरपीको सुई लगाए उनीहरूको कपाल बाक्लो हुन र बढ्नलाई मद्दत पुग्छ । यस्तै यो सुई एलोपेसिया एरेएटा (जसलाई नेपालीमा ख्वैरोले खाएको कपाल पनि भनेर बुझ्ने गरिन्छ) र टाउकोमा खतको कारणले कपाल झरेको ठाउँमा पनि लगाउन सकिन्छ ।

किन पीआरपीको प्रभावकारिता हरेक मानिसमा फरक हुन्छ ?
हरेक मानिसमा प्लाज्मामा भएको प्लेट्लेट्स र त्यसमा भएको ग्रोथ फ्याक्टरको मात्रा फरक-फरक हुने गर्दछ । जुन मानिसमा ग्रोथ फ्याक्टरको मात्रा धेरै हुन्छ; त्यसमा पीआरपीको प्रभावकारिता अर्थात् कपाल उमार्ने, अनुहारको खत कम हुने सम्भावना बढी हुन्छ ।

त्यस्तै प्लेट्लेट्स रिच प्लाज्मा इन्जेक्सन (पीआरपी)लाई मिनोक्सिडिल नामक कपालमा रक्त सञ्चालन बढाई कपाल उमार्ने झोल औषधिसँगै प्रयोग गरेमा त्यसले कपालको मात्रा झनै बढाउने पाइएको छ ।

पीआरपी कसरी तयार पारिन्छ र दिइन्छ ?
पीआरपी तयार पार्नका लागि करिब १०-१५ एमएल जति रगत बिरामीको शरीरबाट झिकिन्छ र त्यसलाई सेन्ट्रिफ्युज मेसिनमा करिब ५ मिनेट जति राखिन्छ । यसरी करिब ५-१० एमएल जति प्लेट्लेट्स रिच प्लाज्मा तयार हुन्छ । यो प्लेट्लेट्स रिच प्लाज्मालाई ०.१ एमएलको दरले १ सेन्टिमिटरको दूरीमा कपालमा ५० देखि १०० पटक सुईमार्फत लगाइन्छ ।

पीआरपी उपचार कतिपटक गर्नु पर्दछ ?
प्लेट्लेट्स रिच प्लाज्मा सुई (पीआरपी) हरेक १ महिनामा गरिने गरिन्छ । यदि २ पटक पीआरपी लगाउँदा अर्थात् २ महिनामा कपालमा बाक्लोपना देखिएमा, अझ १२ पटक जति गर्न सकिन्छ । तर, यससँगै मिनोक्सिडिल नामक कपालमा लगाउने झोल औषधि प्रयोग गर्नुपर्ने हुन्छ ।

धेरै मानिसमा पीआरपी गरेको दुई महिनाभित्र राम्रो सुधार देख्न सकिन्छ । सुधार देखिएपछि करिब ६ सेसनपछि यो ३ महिनाको अन्तरालमा पनि गर्न सकिन्छ । यसरी पीआरपी र मिनोक्सिडिलसँगै लगाएका ४ व्यक्तिमा ३ जनाको कपाल बाक्लो हुने सम्भावना रहन्छ ।

यसरी पीआरपी गर्नाले करिब १ वर्ग सेन्टिमिटरमा लगभग ३५ वटा कपालहरू थपिने देखिएको छ । यदि २ देखि ४ पटक गर्दा पनि कपालमा बक्लोपना नदेखिएमा यो गरिरहनु आवश्यक छैन ।

पीआरपी सुईका अरु प्रयोगहरू के-के हुन् ?
पीआरपी र माइक्रोनिड्लिङ (सुईको माध्यमबाट छालामा स-सानो प्वाल बनाउने विधि) द्वारा अनुहारको छाला पुनर्जीवित गर्न, स्वस्थ राख्न र अनुहारका खत कम गर्न पनि मद्दत गर्दछ ।

यस्तै हाडजोर्नीमा हुने दुखाइ कम गर्न र मांसपेशीका चोटहरू छिटो निको गर्न पनि यसले मद्दत गर्दछ ।

कस्ता मानिसमा पीआरपीको प्रभावकारिता कम हुन्छ ?
सानो उमेरमै तालुपना भएका व्यक्तिहरू, पीआरपीको सुई लगाउनुअघि नै कपाल धेरै नै पातलो भएका व्यक्तिहरूमा यसको प्रभावकारिता कम हुने गर्दछ ।

पीआरपीका प्रतिकूल प्रभावहरु के-के हुन्छन् ?
सबैभन्दा बढी देखिने नकारात्मक प्रभावहरू भनेको सुई लगाउँदा दुख्ने, रगत बग्ने आदि हुन् । धेरै मानिसलाई केही समयमै दुखाइ कम हुँदै जान्छ भने कतिपयलाई १-२ दिनसम्म पनि टाउको दुख्ने समस्या रहिरहन सक्छ ।

थोरै मानिसमा सुई लगाएको स्थानमा किटाणुको संक्रमण हुने र केही महिलाहरूमा थप कपाल झर्ने समस्या पनि दुर्लभ रुपमा देखिएको छ ।

पीआरपीको सुई लगाएपछिको दुखाइ कम गर्न सुई लगाउनुअघि ५-१० मिनेट जति आइस प्याक राख्ने, भाइब्रेटर प्रयोग गर्ने र सुई दिने स्थानमा नदुख्ने औषधि वा सुई नै पनि लगाउन सकिन्छ ।

डा. पुडासैनी निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) तथा भक्तपुर स्किन एन्ड कस्मेटिक सेन्टर (बीएससीसी)मा छालारोग विशेषज्ञका रुपमा कार्यरत छन् ।

प्रकाशित : चैत्र २७, २०७८ १४:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×