कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कोरोनालाई नियन्त्रणमा राख्न सक्यौं, क्यान्सरलाई कहिले?

काठमाडौँ — सन् २०१९ को डिसेम्बरमा सुरु भएको कोरोना महामारीविरुद्ध सन् २०२० को अन्तिमसम्म खोप विकास गर्न वैज्ञानिकहरुले अभूतपूर्व सफलता हासिल गरे । क्यान्सरसम्बन्धी पुरानो विवरण करिब ३००० ईसा पूर्व इजिप्टमा फेला परेको थियो।

कोरोनालाई नियन्त्रणमा राख्न सक्यौं, क्यान्सरलाई कहिले?

आज हामी २१ औं शताब्दीमा हुँदा पनि सबै क्यान्सर रोगको भरपर्दो उपचार गर्ने औषधि विकास हुन सकेको छैन। करिब ५० वर्ष पहिले अमेरिकाका रास्ट्रपति रिचार्ड निक्सनले क्यान्सरविरुद्ध युद्ध घोषणा गरेको बखत पनि क्यान्सर मृत्युको दोस्रो प्रमुख कारण थियो, र अहिले पनि अवस्था उही छ। विज्ञानको चमत्कारिक विकाससँगै हामीले मंगल ग्रहमा रकेट पुर्‍यायौं, धेरै पहिले चन्द्रमामा मानिसले पाइला पनि टेके । अनि संसारको गति नै रोकिदिएको कोरोना भाइरसविरुद्ध एक वर्षभन्दा कम समयमा भ्याक्सिन बनायौं । तर, हामी अझै पनि क्यान्सरविरुद्धको युद्ध जित्न सक्ने अवस्थामा पुगेका छैनौं।

पछिल्ला दिनहरुमा समाजिक सन्जालमा कोभिड-१९ संक्रमणको कारक कोरोना भाइरस मानव निर्मित हो भन्ने जस्ता भ्रामक सूचनाहरु सम्प्रेषण भएका थिए । त्यसको आधार नै क्यान्सरजस्तो रोगको उपचारमा करोडौं खर्च गर्दा पनि केही उपलब्धी हासिल नहुने तर कोरोनाविरुद्धको खोप भने यति चाँडै प्रयोगमा आउने भन्ने तर्क प्रबल थियो । यो भनेको हामीले खोप विकासको प्रक्रियाका साथै क्यान्सरमा भएका उपलब्धीहरुका बारे जनमानसलाई बुझाउन सकेका रहेनछौं भन्ने हो ।

कसरी सम्भव भयो कोरोना भाइरसविरुद्धको खोप ?

कोरोनाभाइरसको कारणले लाग्ने कोभिड-१९ एक संक्रामक रोग हो। संक्रमण भएको व्यक्तिको नजिकमा पर्दा हावाको माध्यमबाट यो रोग सर्दछ। यसकारण यो रोग फैलन नदिने उपाय भनेको सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, आदि हुन् । जब महामारी सुरु भयो, संसारको गति नै रोकिन पुग्यो, अत्यावश्यक बाहेक अन्य गतिविधिहरु बन्द भए, अर्थ व्यवस्था तहसनहस हुनपुग्यो। सारा विश्वले आँखाले नदेख्ने भाइरसलाई साझा दुश्मन ठानेर 'तेस्रो विश्वयुद्ध' जसरी नै लडे। सरकारहरू, वैज्ञानिकहरू, निजी क्षेत्रहरू, र आम मानिसहरु एकै ठाउँमा आएर युद्ध अवस्थामा जसरी काम गरे । सरकारहरुले पनि खोप तथा औषधि विकासमा आवस्यक खर्च गर्न इच्छाशक्ति देखाए । विश्वव्यापी प्रयासहरूले हामीलाई रेकर्ड मात्रामा खोप र औषधिहरू विकास गर्न सक्षम बनायो । र हामी लगभग भाइरस नियन्त्रणको कगारमा छौं।

सबै सरोकारवालाहरु एकै ठाउँमा आउनु त आवस्यक थियो नै, महामारीअघि पृष्ठभूमिमा भइरहेको प्राविधिक विकासले रेकर्ड समयमा खोपको विकास गर्न सम्भव भएको हो । भलै कोभिड-१९ गराउने कोरोना भाइरस नयाँ भाइरस थियो । तर कोरोना भाइरसको अन्य प्रजातिको बारेमा हामीले अनुसन्धान गरिरहेकै थियौं । वैज्ञानिकहरूले कोरोना भाइरस परिवारमा पर्ने 'सार्स' र 'मर्स' भाइरस अध्ययन गरी खोपहरू विकास गर्ने प्रयास गरिरहेका थिए । ती प्रयासबाट भाइरसले मानिसको शरीरमा प्रवेश गर्न प्रयोग गर्ने स्पाईक प्रोटिनलाई लक्ष्य गरेर भ्याक्सिन विकास गर्दा सफलता पाउन सक्ने संकेत पाइएको थियो ।

यसबाहेक परम्परागत भ्याक्सिन प्रविधिमा उल्लेख्य सुधार त आएको थियो नै, विशेष गरी क्यान्सरविरुद्ध खोप विकास गर्न 'एमआरएनएु प्रविधिको विकास गरिएको थियो । यस्ता प्रविधिहरुलाई कोरोना भाइरसविरुद्ध केन्द्रित गरेर यति चाँडो खोप विकास गर्न सम्भव भएको हो। अझ सामान्य भाषामा भन्नु पर्दा वैज्ञानीकहरुले क्यान्सरविरुद्धको खोप विकासमा लागिपरेका थिए र जब कोरोना महमारी सुरु भयो, क्यान्सर विरुद्धाको खोपको लागी विकास गरिएको प्रविधी कोरोना भाइरसविरुद्धको खोपको लागी काम लाग्यो । जसले गर्दा यती कम समयमा कोरोनाको खोप विकास गर्न सम्भव भयो ।

क्यान्सर एक सुषुप्त महामारी

कोरोना महामारीले अहिलेसम्म करिब ६५ लाखको ज्यान लिएको छ। योभन्दा धेरै करिब १ करोड बिरामीहरुले बर्सेनि क्यान्सरले गर्दा ज्यान गुमाउने गर्छन्। भ्याक्सिन र औषधिको विकाससँगै कोभिड-१९ महामारी त लगभग नियन्त्रणमा आउने क्रममा छ । तर अब आउने वर्षमा क्यान्सरको कारण मर्नेको संख्या अझै बढ्ने प्रक्षेपण गरिएको छ । क्यान्सरले पनि संसारका सबै भूभागलाई उत्तिकै असर पार्छ । तर कोरोनाको तुलनामा क्यान्सरको कहर सुषुप्त छ । योसँगै संसारले बाच्न सिकिसकेको छ।

संक्रामक रोग नभएकोले गर्दा बिरामीको नजिकका मान्छेका साथै देशको स्वास्थ्य प्रणालीहरू ठुलो आघात पुराए पनि कोरोना भाइरसले झैं संसारको अर्थ व्यवस्था नै रोकेको छैन । यसले गर्दा क्यान्सरविरुद्धको लडाईंमा कोरोना भाइरसमा जस्तो गम्भिरता, अत्यावश्यकता, एकात्मकता नहोला । तर, पचासौं वर्ष लामो हाम्रो क्यान्सरविरुद्धको युद्धमा हाम्रो खर्बौं खर्च भएको छ । लाखौं वैज्ञानिकहरुले दिनरात काम गरिरहेका छन् । धेरै औषधि कम्पनी यसमा लागेका छन् । तैपनि क्यान्सरको पूर्ण उपचारबाट हामी अझै धेरै टाढा छौं।

क्यान्सर अहिलेसम्म नाजित्नुको कारण?

केहि पहिले राष्ट्रपति जो बाईडेन आगामी २५ वर्षभित्र क्यान्सरबाट हुने मृत्युलाई ५० प्रतिशत घटाउने लक्ष्य राखेर क्यान्सरविरुद्धको मुनशट कार्यक्रम घोषणा गरे । यसरी एकवर्ष भित्र महामारी नियन्त्रण गर्न सक्षम हुने हामी किन क्यान्सरको हकमा भने मृत्युदर ५० प्रतिशतले मात्र घटाउने लक्ष्य राखेका छौं? कोरोनाको युद्ध लगभग जितेका हामीले पचासौं वर्षमा पनि क्यान्सर उपचारमा पूर्ण सफलता हात नपर्नुको मुख्य कारण दुई रोगबिचको जैविक अन्तर हो।

सामान्यतया कुनै पनि रोग विरुद्धको औषधि वा खोपले हाम्रो शरीर र रोग गराउने कारक बिचको फरकलाई लक्ष्य गर्छ। कोभिड संक्रमण एक बाह्य भाइरस शरीरमा प्रवेश गरे पछि हुन्छ भने क्यान्सर हाम्रै शरीरको कुनै कोषमा आनुवंशिक उत्परिवर्तनको कारण कोषिकाको विभाजन र वृद्धिमा संलग्न प्रोटिनहरुको कार्यमा परिवर्तन आई उक्त कोषको वृद्धि र विभाजनमा नियन्त्रण गुम्दा हुने गर्छ। हाम्रा शरीरको प्रोटिनहरुभन्दा संरचनात्मक र कार्यात्मक रूपमा धेरै फरक हुने हुँदा भाईरल प्रोटिनविरुद्ध उपचार विकास गर्दा सहज हुन्छ। क्यान्सरको खण्डमा लक्षित प्रोटिनहरु भने पुरै फरक नभई उत्परिवर्तित प्रोटिन हुन्छन, जसलाई लक्ष्य गर्दा सामान्य कोषिकालाई नि असर पर्न सक्छ, जसले गर्दा विषाक्त साइड इफेक्टहरू देखा पर्दछन्।

एउटै अंगमा क्यान्सर लागेता पनि फरक मान्छेमा भिन्न-भिन्न जिनमा अनि एउटै जिनमा भएता पनि भिन्न अनुक्रममा उत्परिवर्तन भएको हुनसक्छ। वास्तवमा क्यान्सर लगभग २०० फरक रोगहरूको लागि एक छाता नाम हो । साथै, क्यान्सर विरुद्ध औषधि बनाउनु भनेको गुडिरहेको रेललाई लक्ष्य गर्नु जस्तो हो किनकि क्यान्सर कोषिकाहरु द्रुत गतिमा परिवर्तन भइरहन्छन् । जब क्यान्सर फैलिन थाल्छ, क्यान्सर कोषिकाहरुले नयाँ-नयाँ उत्परिवर्तनहरु जम्मा गर्न थाल्छन् । जसले गर्दा एउटै व्यक्तिमा पनि प्राथमिक ट्यूमर र माध्यमिक ट्यूमरबीच फरक हुन्छ ।

यसबाहेक, एउटै ट्यूमरमा पनि विभिन्न कोषिकाहरूमा फरक फरक उत्परिवर्तन जम्मा भएका हुन्छन्। यस्तो विविधताले गर्दा उपचार ९९ प्रतिशत कोषिकाविरुद्ध प्रभावकारी हुँदा पनि बचेका १ प्रतिशत कोषिकाहरुले द्रुत गतिमा ट्यूमरको पुनरावृत्ति गराई बिरामीको ज्यान लिन्छ। साथै पहिले काम गरेको औषधि पनि बिस्तारै काम नलाग्ने हुन्छ।

कोरोना भाइरस पनि द्रुत गतिमा परिवर्तन भईरहेको हुन्छ जसले गर्दा बनेका खोपहरु कम प्रभावकारी भएको पाइन्छ। यद्यपि, अत्यन्त धेरै संख्यामा उत्परिवर्तनहरू भएको खण्डमा भाइरस आफैंमा निस्प्रभाबी हुने हुँदा फैलिने भाइरसमा सिमित उत्परिवर्तन हुने गरेको पाइन्छ । जस्तै स्पाइक प्रोटीन बनाउने अनुक्रममा धेरै परिवर्तन भएमा भाइरस शरीरमा प्रवेश गर्न असमर्थ हुने गर्छ। करिब एक लाख गुणा बढी अर्थात ३ अर्ब लामो अनुक्रम हुने क्यान्सर कोषिकामा भाइरसको तुलनामा धेरै उत्परिवर्तनहरु जम्मा हुन सक्छन् । ती उत्परिवर्तनसँगै क्यान्सर कोषिकाहरु परिवर्तन हुँदा चिकित्सीय हस्तक्षेप गर्न गाह्रो हुन्छ।

क्यान्सर उपचारमा हालको विकास

जब क्यान्सर वंशाणुगत रोग हो र जीनमा हुने उत्परिवनको कारणले गर्दा हुन्छ भनेर पत्ता लग्यो, क्यान्सरको उपचार धेरै टाढा छैन भन्ने विश्वास गरिएको थियो। त्यही अनुसार वैज्ञानिकहरु सबै क्यान्सर सन्चो पर्ने मूल औषधिको खोजीमा लागे। करिब ५० वर्षको अनुसन्धान पछि हामीले क्यान्सरको एउटै उपचार हुँदैन तर, विभिन्न प्रकारका क्यान्सरका लागि फरक-फरक उपचारहरू हुने कुरालाई बढ्दो रूपमा बुझेका छौं। त्यही अनुसार नयाँ-नयाँ उपचार विधिहरु विकास हुन थालेका छन्। केही उपचारहरू कुनै-कुनै प्रकारका क्यान्सरहरूमा धेरै प्रभावकारी भएको पाइन्छ, र केही प्रतिशत बिरामीमा पूर्ण रूपमा काम पनि गर्छन्।

प्यापिलोमा भाइरसबाट हुने पाठेघरको मुखको क्यान्सर भाइरसविरुद्ध खोप विकास गरी रोकथाम गर्न सकेका छौं। मेलानोमा र गैर-ठोस क्यान्सरहरू इम्युनोथेरापीमा भएका नयाँ प्रगतिले बिरामीहरु लाभान्वित भएका छन् । अन्य क्यान्सरमा पनि निदान तथा उपचारका नयाँ नयाँ विधि आएका छन् र विभिन्न उपचारको संयोजन गरी ठोस उपलब्धी हासिल गरिएको छ।

वैज्ञानिकहरुले कुनै एक औषधिविरुद्ध कसरी प्रतिरोध सिर्जना गर्छ भनेर बुझेर त्यो प्रतिरोध गर्ने प्रक्रियालाई पनि लक्ष्य गरी नयाँ औषधि विकाश गरेका छन् र दुबैको एकैचोटी संयोजन गरेर ट्यूमरको पुनरावृत्ति हुने सम्भावना घटाएका छन्। यस्ता विकाससँगै हामी क्यान्सर उपचारमा नजिक नजिक पुग्दै छौं । तर प्यान्क्रियाटिक क्यान्सर, ग्लियोब्लास्टोमा जस्ता क्यान्सरमा वर्षौंदेखि उल्लेख्य सुधार भएको छैन । २५ वर्ष लामो मुनसट कार्यक्रमले मृत्युलाई मात्र ५० प्रतिशतले घटाउने उद्देश्य राख्नुले क्यान्सर कति ठुलो समस्याको पहाड हो भनेर दर्साउँछ।

क्यान्सर सायद मानव सभ्यताले सामना गरेको सबभन्दा ठूलो समस्या होला । तर सबै एकजुट भएर कोरोनाविरुद्ध झैं लडेको खण्डमा ढिलो चाँडो जीत हासिल हुनेछ।

क्यान्सर उपचारमा 'एमआरएनए' भ्याक्सिन

कोरोना भाइरसविरुद्ध प्रयोग भएको 'एमआरएनए' भ्याक्सिन प्रविधि क्यान्सर उपचारमा विकास गरिँदै थियो । तर उल्लेख्य उपलब्धि हासिल गरिएको थिएन। उक्त प्रविधिको प्रयोग गरी युद्धस्तरमा कोरोना भाइरसविरुद्ध खोप बनाइएको हो। महामारीले यो प्रविधिको व्यापक विकास तथा परिष्कृत गर्न मद्दत गरेको छ । साथै 'एमआरएनए' भ्याक्सिन मानिसमा सुरक्षित रूपमा काम गर्छ भनेर पनि प्रमाणित गरेको छ।

महामारीको समयमा हासिल यस प्रविधिको विकासलाई अब क्यान्सरविरुद्धको लडाइँमा पुन: निर्देशित गर्न सकिन्छ। वास्तवमा, प्रतिरक्षा प्रणालीको प्रभावकारिता बढाउने अन्य इम्युनोथेराप्युटिक औषधिहरूसँग संयोजन गरी क्यान्सर भएका मानिसहरूमा 'एमआरएनए' खोपहरूको प्रभावकारिता मूल्यांकन गर्न दर्जनौं क्लिनिकल परीक्षणहरू जारी छन्। क्यान्सर कोषिकाहरूद्वारा उत्पादित असामान्य प्रोटीन वा 'निओएन्टिजेन' बनाउने अनुक्रम भएको एमआरएनए भ्याक्सिन दिएर बिरामीको प्रतिरक्षा प्रतिक्रियालाई उत्प्रेरित गर्दछ र प्रतिरक्षा प्रणालीलाई क्यान्सरविरुद्ध लड्न मद्दत गर्छ। महामारीले एमआरएनए भ्याक्सिन छिटो विकास गर्न तथा बिरामीलाई उपलब्ध गर्न सकिने देखाएको छ।

क्यान्सरको हकमा पनि ट्युमर बायोप्सी लिएपछि बिरामीमा भएको उत्परिवर्तन पहिचान गरिने र तुरुन्त त्यसको आधारमा प्रतिरक्षा प्रतिक्रिया जनाउने 'एमआरएनए' तयार पारी चाँडो भन्दा चाँडो बिरामीलाई दिनुपर्ने हुँदा यो प्रबिधि उपयुक्त हुने देखिन्छ। प्रत्यक बिरामी अनुसार निजीकृत एमआरएनए भ्याक्सिन विकास गर्न पनि खासै गाह्रो हुँदैन। के कोरोनको कहर बाट हामीलाई बचाउन मद्दत गर्ने प्रविधिले हाम्रो क्यान्सरविरुद्धको लडाइँमा सहयोग पुराउला त ? सम्भावना छ, तर ठोकुवा गर्न भने केही समय कुर्नुपर्ने देखिन्छ।

सरकारले क्यान्सर उपचारको लागी बिदेशीको आश गरेर बस्नु हुँदैन

नेपाल सरकारले धनी मुलुकहरुले क्यान्सरको ओखति बनाउलान र प्रयोग गरौ‌ला भनेर बस्नु हुँदैन ।हाम्रा नीति-निर्माताहरुले जती छिटो कोभिडको खोप नेपालमा भित्रियो, त्यती नै छिटो र सजिलै क्यान्सरको ओखति पनि नेपालमा भित्रिएला र नेपालीको पहुँचमा रहला भनेर भ्रम पाल्नु मूर्खता हुनेछ । हामीले कोरोना भाइरसको ओखति सजिलै पायौं, किनभने सबैजना सुरक्षित नभएसम्म कोरोना भाइरसबाट कोही पनि सुरक्षित रहन सक्दैन भन्ने धनी राष्ट्रहरुले बुझेका थिए ।

कोरोना भाइरस एउटा सरुवा रोग हो भने क्यान्सर एक मानिसबाट अर्को मान्छेमा सर्दैन । यसको साथसाथै खोप बनाउने कम्पनीहरुलाई पनि यो महामारीको बेलामा मुनाफा र व्यापारलाई नसोची सार्वजनिक हितमा काम गर्न विश्वव्यापी नैतिक दबाब थियो। त्यसैले धनी देशहरु, संयुक्त राष्ट्रसंघ र बिभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाहरुको संलग्नतामा कोभिडको खोप पत्ता लाग्नु अघि नै गाभी एलायन्स जस्ता विभिन्न गठबन्धन गरी कोभिड-खोपलाई गरीब रास्ट्राहरुसम्म पुर्‍याउन विश्वव्यापी पहल थालीसकिएको थियो । यो कुरा क्यान्सरको ओखतिको हकमा लागु नहुनसक्छ ।

अमेरिकाको राष्ट्रपती बाइडेनले धेरै अन्तर्राष्ट्रिय र मनावअधिकारवादी संघसंस्थाहरुको दबाब पछि मात्र कोरोना भाइरसको खोप बनाउने अमेरिकी कम्पनीहरुको पेटेन्ट (बौद्धिक सम्पति) महामारिको अवधिका लागि रद्द गर्न आदेश दिएका थिए । अमेरिकी कानुन अनुसार नयाँ खोज तथा आविष्कारलाई बढावा दिन नयाँ औषधि पत्ता लगाउने व्यक्ति तथा संस्थालाई त्यस औषधि बनाउन र बेच्न झन्डै २० वर्षको एकाधिकार दिने गरिन्छ । तर, क्यान्सरको ओखतिको सन्दर्भमा ती विदेशी कम्पनीहरुले सजिलै ओखति बनाउने एकाधिकार छोड्ने छैनन् र पश्चिमा सरकारहरुले कोभिडको बेलामा जसरी ती प्रतिलिपी अधिकार भएको कम्पनीहरुको ओखति बनाउने एकाधिकार तोड्न हस्तछेप गर्ने पनि छैनन् । परिणाम स्वरूप ती औषधीहरु आम नेपालीको पहुँच बहिर रहनेछन् ।

नेपालले बिर्सिन हुँदैन कि १९९० को दशकमा संसार भरी एड्स-महामारीको कारण झन्डै दुई करोड मानिस र अधिकांक अफ्रिकी मुलुकहरुका मानिसहरुले, ज्यान गुमाउँदा त्यसको रोकथामको लागि प्रयोगमा आएको एन्टिरेट्रोभाइरल औषधि कम आय भएका देशहरूमा पुग्न अरु १० वर्ष बढी समय कुर्नुपर्‍यो । त्यसो हुनुको कारण थियो ती एन्टिरेट्रोभाइरल औषधिको पेटेन्ट अमेरिकी कम्पनीहरुसँग थियो । अमेरिकी कम्पनीहरुले बनाएको झन्डै १५ हजार डलर पर्ने एन्टिरेट्रोभाइरल औषधि सरदर २६०० डलर वार्षिक आय भएका अफ्रिकी देशहरुले किन्न सकेनन् ।

नेपाल सरकारले विगतका यस्ता तिता-घटनाबाट पाठ सिकेर देश भित्रै क्यान्सर रिसर्च लाई बढावा दिनु पर्छ। बाहिर बनेका महंगा औषधि आपूर्ति गर्न समस्या त हुने छ नै, पश्चिमामा काम गरेको औषधिले हामीलाई कम प्रभावकारी हुन नि सक्छन् । तसर्थ, देशभित्र र देशबाहिर रहेका आफ्ना दक्ष्य नागरिकहरुलाई क्यान्सर रिसर्चका लागि नेपालमै काम गर्न वातावरण सिर्जना गर्नुपर्छ । त्यस्ता रिसर्च गर्न विभिन्न दातृ निकायहरुले पनि नेपाल जस्तो गरीब देशलाई सहायता गर्छन् । नेपाल सरकारले ती दातृ संस्थाहरुसँग समन्वय गरेर काम गर्न सक्नुपर्छ । अनुमोदित एन्टी-क्यान्सर औषधिमध्ये लगभग २५ प्रतिशत प्राकृतिक उत्पादनहरूमा आधारित रहेको सन्दर्भमा यदि हामीले नेपालको धनि जैविक विविधतालाई सदुपयोग गर्‍यौं भने माटो सुहाउँदो क्यान्सर औषधि बनाउन अवस्य नै सक्ने छौं।

लेखक मोलिक्युलर वैज्ञानिक हुन् ।


प्रकाशित : वैशाख १३, २०७९ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?