'नेपाल : औषधि नीति बनाउन अब्बल तर व्यवहारमा लागू नगर्ने'- स्वास्थ्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'नेपाल : औषधि नीति बनाउन अब्बल तर व्यवहारमा लागू नगर्ने'

अतुल मिश्र

काठमाडौँ — विज्ञहरूले नेपाल औषधिसँग सम्बन्धित नीति बनाउन अब्बल भए पनि व्यवहारमा कुनै पनि नीति लागू नहुने गुनासो गरेका छन् । उनीहरूले औषधिसँग सम्बन्धित अनुसन्धान र विकासमा स्रोत साधनको कमी र विद्यमान स्रोत साधनको प्रभावकारी परिचालन नभएको बताएका छन् ।


नेपाल फार्मा एक्स्पोको दोस्रो दिन शनिबार औषधि उत्पादक संघद्वारा आयोजित, नेपालमा औषधि उत्पादनको सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा विज्ञहरूले उक्त गुनासो गरेका हुन् |

'स्वदेशी औषधि उद्योग, उत्पादनबारे सरकारको नीति रणनीतिमा लेखिएका कुरा कार्यान्वयन हुँदैन,' औषधि उत्पादक संघका पूर्व अध्यक्ष दीपकप्रसाद दाहालले भने - 'औषधिको अनुसन्धान र विकासमा साधन स्रोतको कमी छ एवं विद्यमान साधनको प्रभावकारी परिचालन भएको छैन । विज्ञहरुले कम्तीमा एउटा औषधि अनुसन्धानशाला मुलुक मा खोल्नै पर्ने बताए । औषधि ऐनअनुसार देशमा औषधि अनुसन्धानशालाको स्थापना हुनुपर्ने भए पनि हालसम्म भएको छैन । भारतमा औषधिसम्बन्धी अनुसन्धान गर्ने डेढ दर्जनभन्दा बढी केन्द्र छन् ।

सरकारले औषधि उद्योगलाई सहुलियत पूर्ण ऋण सुविधा, निर्यात तथा औषधिको अनुसन्धान तथा विकासका लागि आवश्यक मेसिनमा अनुदान, कच्चा पदार्थ आयातमा कर छुटलगायतका सहुलियत प्रदान गरे मात्र मुलुक आत्मनिर्भरतातर्फ बढने विज्ञहरुले बताए ।

औषधिसम्बन्धी नीति, कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन राजनैतिक प्रतिबद्धताको अभाव रहेको औल्याउँदै औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले भने -'यो भन्दा अघिको सरकारको नीति कार्यक्रममा औषधि व्यवस्था विभागलाई एफडीए ( फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन) बनाउने कुरा भए पनि लागु भएन ।'

योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले कमजोर राष्ट्रमा नीति बनाइने तर लागू नहुने गरेको बताए । नीति बनाइने तर लागू नहुने चरित्र कमजोर राष्ट्रको हुने गरेको समेत उनले औंल्याए ।

नेपालमा हाल ७२ वटा औषधि उद्योग सञ्चालन मा छ भने ३२ नयाँ औषधि उद्योग आउने क्रममा छ । मुलुकमा कुल आवश्यक औषधिको ४५ प्रतिशत स्वदेशमै निर्माण हुन्छ ।

प्रकाशित : वैशाख १०, २०७९ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्

भारतमा संक्रमण, नेपालमा झस्को

कोभिडविरूद्धको खोप अभियान सुस्त
पहिलो मात्रा खोपसमेत नपाउनेको संख्या ७२ लाख
संक्रमण बढ्न सक्ने र १२ वर्षमुनिका बालबालिका जोखिममा पर्ने विज्ञहरुको चेतावनी
अतुल मिश्र

काठमाडौँ — भारतका विभिन्न राज्यमा कोभिड संक्रमण दर उच्च गतिमा बढेसँगै नेपालमा फेरि झस्को पसेको छ । सम्भावित लहर र जोखिमबाट बच्न कोभिडविरुद्धको खोप लगाउनुपर्ने हुन्छ । तर, खोपप्रतिको सुस्तताका कारण जोखिम पुनः भित्रिन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् । अझैसम्म नेपालमा एक चौथाइले कोभिडविरुद्घ कुनै पनि खोप लिएका छैनन् । पूर्ण खोप लिएको धेरै समय भएका व्यक्तिले पनि प्रतिरोधक क्षमता कायम राख्न अतिरिक्त खोप लिन विज्ञहरूको सुझाव छ ।

दिनहुँ लगाइने खोपको संख्यामा समेत पछिल्ला दिन कमी देखिएको छ । वैशाख १ यताका पाँच दिनमा दिनहुँ सरदर २५ हजार गरी १ लाख २६ हजार ३ सय ४४ जनाले खोप लिएका छन् । सोमबारसम्म जनसंख्याको ७५.९ प्रतिशत अर्थात् २ करोड २१ लाख ५६ हजार १ सय ३१ जनाले एक मात्रा र ६६.४ प्रतिशत अर्थात् १ करोड ३८ लाख २ हजार १ सय ७६ जनाले पूर्ण खोप लगाएका छन् । अतिरिक्त खोप लगाउनेहरू जनसंख्याको ८.२६ प्रतिशत अर्थात् २४ लाख १३ हजार ५ सय ३२ जना मात्र छन् ।

राष्ट्रिय खोप समन्वय समितिका सदस्य डा. जीडी ठाकुर हाल करिब ७२ लाख नेपालीले एक मात्रा खोपसमेत नपाएको बताउँछन् । ‘खोप नलगाएकाहरूमा कोभिड संक्रमण गम्भीर हुने र मृत्युको सम्भावनासमेत रहने देखिसकिएकाले तुरुन्त सबै जनालाई खोप सुनिश्चित गर्नुपर्छ,’ उनले भने । मुलुकमा १२ वर्षमाथिकालाई खोप उपलब्ध छ । १२ देखि १७ वर्षसम्मका बालबालिकाको संख्या ३४ लाख २५ हजार ४ सय ८ रहेकामा ९० प्रतिशतले एक मात्रा र ७६ प्रतिशतले पूर्ण खोप लिएका छन् । यस्तै, १८ वर्ष र त्यसभन्दा माथिका उमेरको जनसंख्या १ करोड ९९ लाख २२ हजार १ सय ६४ रहेकामा ९४ प्रतिशतले एक मात्रा र ८३.२ प्रतिशतले पूर्ण खोप लिएको सरकारी तथ्यांक छ । ११ वर्ष र त्योभन्दा मुनिका बालबालिकाले भने अझैसम्म खोप पाएका छैनन् । सरकारले ५ देखि ११ वर्षका करिब ३५ लाखका लागि खोप ल्याउने निर्णय गरिसके पनि आउने टुंगो छैन ।

जसका कारण चौथो लहर सुरु भएको खण्डमा १२ वर्षमुनिका बालबालिका संक्रमणको बढी जोखिममा पर्ने खतरा रहेको विज्ञको भनाइ छ ।

भारतमा बढ्दो संक्रमण दरबाट आफूहरू चिन्तित भइरहेको स्वास्थ्य सचिव डा. रोशन पोखरेल बताए । ‘अब सीमामा पहिले जस्तै स्वास्थ्य परीक्षणमा कडाइ गर्नेछौं,’ उनले भने, ‘भारतमा देखिएका नयाँ संक्रमितमा स्वास्थ्य गम्भीरता छैन कि भन्ने देखिन्छ ।’ सोमबार ३ हजार ६ सय नमुनाको पीसीआर परीक्षण गर्दा ०.२५ प्रतिशत अर्थात् ९ जनामा संक्रमण देखियो भने १ हजार ९१ नमुनाको एन्टिजेन परीक्षण गर्दा १ जना अर्थात् ०.०९ प्रतिशतमा संक्रमण देखिएको छ । हाल नेफालमा सक्रिय संत्रमितको संख्या ३ सय ५० रहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास भन्छन्, ‘हालसम्म संक्रमणको अवस्था समान्य छ । सीमा र विमानस्थलमा सोमबारको परीक्षणमा समेत शून्य संक्रमण देखिन्छ ।’

हालसम्म नेपालमा कोभिडको ‘एक्स ई’ लगायतका नयाँ भेरिएन्ट पुष्टि नभएको मन्त्रालयले जनाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीका अनुसार ‘एक्स ई’ भेरिएन्ट सुरुमा महाराष्ट्रमा र पछि दिल्लीमा देखिएको थियो । ‘भारतमा देखिएको ‘एक्स ई’ नेपाल पनि आइसकेको होला, हामीले पहिचान मात्र नगरेको हो,’ उनले भने । हाल कोभिड सुषुप्त अवस्थामा देखिए पनि जुनमा चौथो लहर वा पुनः संक्रमण वृद्घि हुन सक्ने सम्भावनालाई दृष्टिगत गरी विशेष रणनीति बनाउन आवश्यक रहेको वीर अस्पतालस्थित कोभिड–१९ युनिफाइड सेन्ट्रल हस्पिटलका उपनिर्देशक एवं छाती रोग विशेषज्ञ डा. प्रज्ज्वल श्रेष्ठले बताए ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड भाइरसको विकास जारी छ । नयाँ ‘एक्स ई’ भेरिएन्ट सबैभन्दा पहिले बेलायतमा १९ जनवरीमा पाइएको थियो । यसलाई दुई ओमिक्रोनको ‘सब भेरिएन्ट’, ‘बीए. १’, र ‘बीए. २’ को हाइब्रिड स्ट्रेन भनिएको छ । ‘बीए. २’ को दाँजोमा ‘एक्स ई’ भेरिएन्टको प्रसारदर १० प्रतिशत बढी रहेको छ ।

प्रकाशित : वैशाख ६, २०७९ ०६:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×