कपाल झर्ने समस्याको उपचारका लागि गरिने पीआरपी विधि कस्तो हो ?- स्वास्थ्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कपाल झर्ने समस्याको उपचारका लागि गरिने पीआरपी विधि कस्तो हो ?

डा. प्रज्वल पुडासैनी

काठमाडौँ — पीआरपी (प्लेट्लेट्स रिच प्लाज्मा) इन्जेक्सन विधि मानिसको आफ्नै रगत निकाली त्यसलाई औषधिको रुपमा प्रयोग गरिने विधि हो ।  यसको विभिन्न प्रयोगहरू चिकित्साविज्ञानमा हुँदै आएको वर्षौं भइसकेको छ । साथै, कपाल उमार्नका लागि यसको प्रयोग पनि केही समययता निकै प्रचलित हुँदै आएको छ ।

एउटा ७० किलोको व्यक्तिमा करिब ५ लिटर जति रगत हुन्छ । त्यस रगतमा ४५ प्रतिशत रातो रगत, सेतो रगत र प्लेट्लेट्सका कोषिका हुन्छन् भने ५५ प्रतिशत प्लाज्मा हुन्छन् ।

प्लेट्लेट्स रिच प्लाज्मामा धेरैथरिका ग्रोथ फ्याक्टर हुन्छन् । जसरी रुखका जराहरूलाई बढ्नका निम्ति मलजल गर्नुपर्छ‚ त्यसरी नै हाम्रो शरीरका कोषिकाहरूलाई बढ्न र स्वस्थ रहनका लागि 'ग्रोथ फ्याक्टर' चाहिन्छ । पीआरपी विधिमा मानिसको आफ्नै रगत निकालेर सेन्ट्रिफ्युज गरी प्लेट्लेट्स (सेतो रगत) भएको प्लाज्मा, रातो रगतका कोषिकाबाट छुटाई मानिसको आफ्नै कपालमा, अनुहारमा खत भएको स्थानमा सुईबाट हाल्ने गरिन्छ ।

तालुमा पीआरपी लगाउँदा के हुन्छ ?
पीआरपीले कपालमा रहेका ग्रोथ फ्याक्टरको सञ्चालन बढाई कपाल बाक्लो देखाउन मद्दत गर्दछ र कपालका जराहरूलाई बलियो बनाउँछ ।

ग्रोथ फ्याक्टरहरू कपालका रौंका जराहरूमा गई तिनका रिसेप्टरमा टाँसिन्छन् र कपाल बढ्नका लागि चाहिने ग्रोथ फेजको समय बढाई कपाललाई बढ्न मद्दत गर्छन् । त्यस्तै यिनले कपालमा चाहिने रगत सञ्चालन गर्ने रगतका नलीहरू बन्न पनि मद्दत गर्छन् ।

यो सुई वंशाणुगत र हरमोनको कारणले हुने तालुपना अर्थात् एन्ड्रोजेनेटिक एलोपेसिया भएका व्यक्तिहरूको उपचारका लागि प्रयोग गरिन्छ । यो समस्या प्रायः गरेर केटा मान्छे र थोरै मात्र महिलामा हुने गर्छ । त्यस्ता व्यक्तिले पीआरपीको सुई लगाए उनीहरूको कपाल बाक्लो हुन र बढ्नलाई मद्दत पुग्छ । यस्तै यो सुई एलोपेसिया एरेएटा (जसलाई नेपालीमा ख्वैरोले खाएको कपाल पनि भनेर बुझ्ने गरिन्छ) र टाउकोमा खतको कारणले कपाल झरेको ठाउँमा पनि लगाउन सकिन्छ ।

किन पीआरपीको प्रभावकारिता हरेक मानिसमा फरक हुन्छ ?
हरेक मानिसमा प्लाज्मामा भएको प्लेट्लेट्स र त्यसमा भएको ग्रोथ फ्याक्टरको मात्रा फरक-फरक हुने गर्दछ । जुन मानिसमा ग्रोथ फ्याक्टरको मात्रा धेरै हुन्छ; त्यसमा पीआरपीको प्रभावकारिता अर्थात् कपाल उमार्ने, अनुहारको खत कम हुने सम्भावना बढी हुन्छ ।

त्यस्तै प्लेट्लेट्स रिच प्लाज्मा इन्जेक्सन (पीआरपी)लाई मिनोक्सिडिल नामक कपालमा रक्त सञ्चालन बढाई कपाल उमार्ने झोल औषधिसँगै प्रयोग गरेमा त्यसले कपालको मात्रा झनै बढाउने पाइएको छ ।

पीआरपी कसरी तयार पारिन्छ र दिइन्छ ?
पीआरपी तयार पार्नका लागि करिब १०-१५ एमएल जति रगत बिरामीको शरीरबाट झिकिन्छ र त्यसलाई सेन्ट्रिफ्युज मेसिनमा करिब ५ मिनेट जति राखिन्छ । यसरी करिब ५-१० एमएल जति प्लेट्लेट्स रिच प्लाज्मा तयार हुन्छ । यो प्लेट्लेट्स रिच प्लाज्मालाई ०.१ एमएलको दरले १ सेन्टिमिटरको दूरीमा कपालमा ५० देखि १०० पटक सुईमार्फत लगाइन्छ ।

पीआरपी उपचार कतिपटक गर्नु पर्दछ ?
प्लेट्लेट्स रिच प्लाज्मा सुई (पीआरपी) हरेक १ महिनामा गरिने गरिन्छ । यदि २ पटक पीआरपी लगाउँदा अर्थात् २ महिनामा कपालमा बाक्लोपना देखिएमा, अझ १२ पटक जति गर्न सकिन्छ । तर, यससँगै मिनोक्सिडिल नामक कपालमा लगाउने झोल औषधि प्रयोग गर्नुपर्ने हुन्छ ।

धेरै मानिसमा पीआरपी गरेको दुई महिनाभित्र राम्रो सुधार देख्न सकिन्छ । सुधार देखिएपछि करिब ६ सेसनपछि यो ३ महिनाको अन्तरालमा पनि गर्न सकिन्छ । यसरी पीआरपी र मिनोक्सिडिलसँगै लगाएका ४ व्यक्तिमा ३ जनाको कपाल बाक्लो हुने सम्भावना रहन्छ ।

यसरी पीआरपी गर्नाले करिब १ वर्ग सेन्टिमिटरमा लगभग ३५ वटा कपालहरू थपिने देखिएको छ । यदि २ देखि ४ पटक गर्दा पनि कपालमा बक्लोपना नदेखिएमा यो गरिरहनु आवश्यक छैन ।

पीआरपी सुईका अरु प्रयोगहरू के-के हुन् ?
पीआरपी र माइक्रोनिड्लिङ (सुईको माध्यमबाट छालामा स-सानो प्वाल बनाउने विधि) द्वारा अनुहारको छाला पुनर्जीवित गर्न, स्वस्थ राख्न र अनुहारका खत कम गर्न पनि मद्दत गर्दछ ।

यस्तै हाडजोर्नीमा हुने दुखाइ कम गर्न र मांसपेशीका चोटहरू छिटो निको गर्न पनि यसले मद्दत गर्दछ ।

कस्ता मानिसमा पीआरपीको प्रभावकारिता कम हुन्छ ?
सानो उमेरमै तालुपना भएका व्यक्तिहरू, पीआरपीको सुई लगाउनुअघि नै कपाल धेरै नै पातलो भएका व्यक्तिहरूमा यसको प्रभावकारिता कम हुने गर्दछ ।

पीआरपीका प्रतिकूल प्रभावहरु के-के हुन्छन् ?
सबैभन्दा बढी देखिने नकारात्मक प्रभावहरू भनेको सुई लगाउँदा दुख्ने, रगत बग्ने आदि हुन् । धेरै मानिसलाई केही समयमै दुखाइ कम हुँदै जान्छ भने कतिपयलाई १-२ दिनसम्म पनि टाउको दुख्ने समस्या रहिरहन सक्छ ।

थोरै मानिसमा सुई लगाएको स्थानमा किटाणुको संक्रमण हुने र केही महिलाहरूमा थप कपाल झर्ने समस्या पनि दुर्लभ रुपमा देखिएको छ ।

पीआरपीको सुई लगाएपछिको दुखाइ कम गर्न सुई लगाउनुअघि ५-१० मिनेट जति आइस प्याक राख्ने, भाइब्रेटर प्रयोग गर्ने र सुई दिने स्थानमा नदुख्ने औषधि वा सुई नै पनि लगाउन सकिन्छ ।

डा. पुडासैनी निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) तथा भक्तपुर स्किन एन्ड कस्मेटिक सेन्टर (बीएससीसी)मा छालारोग विशेषज्ञका रुपमा कार्यरत छन् ।

प्रकाशित : चैत्र २७, २०७८ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्

होली खेल्दा छालालाई जोगाउने केही उपाय

डा. प्रज्वल पुडासैनी

काठमाडौँ — जाडोलाई बिट मार्दै वसन्त ऋतुको आगमनसँगै हामी सबैमा नयाँ उमङ्ग छाएको छ। वसन्त ऋतुमै पर्ने होली पर्वसँग हामी सबैको धार्मिक र सांस्कृतिक महत्त्व जोडिएको छ। रंगहरुको पर्व होलीमा प्रयोग गरिने विषाक्त रंगले भने मानिसको शरीरमा अल्पकालीन तथा दिर्घकालिन असर पार्न सक्छ ।

एकछिनको रमाइलोका लागि लापरवाही पूर्वक प्रयोग गरिने रंगले हाम्रो शरीरमा पर्ने प्रभाव बारे सबैले जान्न जरुरी छ । सांस्कृतिक पर्वलाई स्वस्थ रुपमा मनाउन सकियो भने मात्रै त्यो स्मरणयोग्य र उल्लासमय हुन सघाउँछ ।

कसरी चिन्ने मिसावटयुक्त भएका रंग ?

  • मिसावट भएका रंगहरु पत्ता लगाउन रंगलाई केही समय पानीमा डुबाएर हेर्न सकिन्छ । यही रंग सजिलै पानीमा घोलियो भने त्यसमा विषाक्त वस्तुहरु जस्तै मर्करी, लिड छैनन् भन्ने बुज्न सकिन्छ।
  • रंगमा पेट्रोल, मट्टीतेल आदीको गन्ध आएमा त्यस्ता रंगको प्रयोग गर्नुहुन्न ।
  • धेरै चम्किला रंगहरुको प्रयोग गर्नुहुन्न ।
  • केमिकलयुक्त रंगहरुभन्दा बासना आउने फूल र बोटबिरुवाहरुबाट बनेका रंगको प्रयोग गर्न सकिन्छ । यस्ता रंगहरु सजिलै पानीमा घुल्ने हुन्छन् ।

रंगका कारण देखिन सक्ने स्वास्थ्य समस्या

छालामा : मिसावटयुक्त मेटल र केमिकल भएका रंगहरुले छालामा एलेर्जी गराउँछ । जसका कारण छाला चिलाउने, पोल्ने, दुख्ने, बिमिरा आउने, पानी बग्ने, घाउ हुने, छाला मा किटाणुको संक्रमण हुने, सेतो दुबी बढाउने, कपाल झर्ने आदी समस्या देखिनसक्छ । मिसावटका लागि प्रयोग गरिने मेटलले दिर्घरुपमा छालाको क्यान्सरसम्म गराउन सक्छ। होलीमा प्रायोग हुने कालो, हरियो, निलो, चाँदी रंगमा विभिन्न प्रकारका हानिकारक तत्त्वहरु (लिड, मरकरी, कप्पर) हुन्छन्। यस्ता हानिकारक तत्त्व भएका रंगहरु छालामा पर्दा छालामा विभिन्न समस्या आउँछन् र रंग पखालिन पनि गाह्रो हुन्छ । यस्तै रंगहरुमा पनि रंगको धूलोभन्दा तरल रंग बढी हानिकारक हुन्छन् । त्यसैले त्यस्ता रंगहरुको प्रयोग गरिनु हुन्न ।

आँखामा : रंगमा हुने केमिकल र मेटलहरुका कारण आँखा रातो हुने, आँखाको कोर्नियामा घाउ नै हुने, र हरियो रंगका कारण अस्थायी अन्धोपन आउने हुनसक्छ। आँखामा कन्ट्याक्ट लेन्स लगाउने व्यक्तीहरुमा रंगहरु जम्मा भएर आँखामा संक्रमण पनि हुनसक्छ। त्यसैले होली खेल्दा कन्ट्याक्ट लेन्स लगाउनु हुँदैन र आखालाई बचाउनका लागि चस्मा लगाइरहनुपर्ने हुन्छ । आँखा चिलाएमा माड्नु हुँदैन र सफा चिसो पानीले पखाल्नुपर्छ ।

यस्तै मिर्गौलाको समस्या भएका, मानसिक अशक्तता भएका, स्मरण शक्ति कम भएका, स्वासप्रस्वासमा समस्या भएका, दम रोग भएका र क्यान्सर रोगीले होलीको रंगबाट टाढा रहनु नै राम्रो हुन्छ । कृत्रिम रंगहरु मिसिएको र केमिकलको प्रयोग गरिएका मिठाई तथा खानेकुरा खानाले पेट दुख्ने, दिशा लाग्ने, वाकवाकी लाग्ने, शरीरमा पानीको मात्रा कम हुने लगायतका समस्या पनि देखिनसक्छ ।

छालामा रंग लामो समय बस्न नदिने उपाय

  • सकेसम्म केमिकल भएका कृत्रिम रंगको प्रयोग गर्दै नगर्ने, घरमा सजिलै पाइने गोलभेडा (रातो), सयपत्री फुल वा बेसार (पहेलो ), सलेगम (गाडा रातो), सेतो पिठो लाई रंगको रुपमा प्रयोग गर्ने।
  • छाला र कपाललाई बचाउन होली खेल्नु अघि कपालमा तेल, छालामा भ्यास्लिन अथवा कुनैपनि तेलयुक्त मोइस्चेराइजर र नंगमा पलिस लगाउने ।
  • आँखामा रंग पर्नै नदिने । त्यसका लागि होली खेल्ने दिन मोटो र बाक्लो खालको चस्मा लगाउने, कनट्याक्ट लेन्स नलगाउने ।
  • होलि खेल्नु अघि काटेको वा खुल्लाखालको घाउहरु भएमा त्यस्लाई पानीले नभिज्ने टेप लगाएर बन्द गर्ने अथवा ड्रेसिंग गरेर बन्द गर्ने । येदी खुल्ला घाउमा विसाक्त रंगहरु परेमा तिनले शरीरमा संक्रमण फैलाउने, स्वासप्रस्वासमा समस्या ल्याउने, एलेर्जी हुने सम्भावना हुन्छ ।
  • पर्याप्त मात्रामा सनस्क्रिन लगाउने ।
  • लामो समय एकनाशले रंग नखेल्ने र समय समयमा मुख पखाल्ने ।

होलीपछि छालामा लागेका रंगहरु कसरी सफा गर्ने ?

  • प्राय गरेर होलीमा प्रयोग गरिने धेरै रंगहरु केहीपछि आफैं कम हुँदै जान्छन् ।
  • छालामा लागेको रंग हटाउन हल्कासँग धेरै नमाडिकन ५ देखि १० मिनेट साबुन र मनतातो पानी प्रयोग गर्ने । हतार गरेर धेरै जोडबल नगर्ने ।
  • पानीले सफा गर्दा कागतीको झोल, दही, बेसार, सेतो पिठो मिसाएर सफा गर्ने ।
  • आँखा सफा पानीले छ्याप-छ्याप गरेर धुने, आँखा नमाड्ने ।

तर मिसावटयुक्त चाँदी जस्तो रंगमा हुने सिल्बर नाइट्रेटले छालामा दीर्घरुपमा निलो-खैरो रंग प्रदान गर्नसक्छ। यस्ता दीर्घरुपमा छालाको रंग परिवर्तन गर्न वसन्त ऋतुको चर्को घामले धेरै मद्दत गरेको हुन्छ। यसरी दीर्घरूपमा छालाको रंग परिवर्तन भएमा केहीको उपचारपछि पनि छालाको पूर्व अवस्थामा आउन सक्दैन ।

कस्ता समस्या आएमा चिकित्सको सल्लाह लिई हाल्नुपर्छ?

  • छाला चिलाउने, पोल्ने, दुख्ने, बिमिरा आउने, पानी बग्ने, घाउ हुने, छालामा किटाणुको संक्रमण भएमा, ज्वरो आएमा, अचेत भएमा
  • ओठ, आँखा, अनुहार सुन्नेमा, सास फेर्न गाह्रो भएमा, ओठ तथा औंलाहरु निलो भएमा
  • एक्कासी धेरै कपालहरु झरेमा

होलीमा छालाको हेरविचार कसरी गर्ने ?

  • भ्यास्लिन अथवा कुनैपनि तेल भएको मोइस्चेराइजर लगाइराख्ने तर अल्कोहोल र पानी भएका मोइस्चेराइजर नलगाउने । भिटामिन ई र सी भएको मोइस्चेरआइजेर लगाउने ।
  • रंग लागेको ठाउमा एलर्जी भएमा मनतातो पानीले समय लगाएर पखाल्ने ।
  • आफ्नो शरीरको छालालाई सकेसम्म रंग, विषाक्त पानी, धुलोबाट बचाउने। त्यसका लागि पुरा शरीर ढाक्ने गरी लुगा लगाउने ।
  • पानी प्रशस्त पिउने र खानामा ओमेगा-३ फ्याट्टी एसिड पनि संलग्न गर्ने ।
  • पर्याप्त मात्रामा सनस्क्रिन लगाइराख्ने । १० बजे देखि ४ बजे सम्मको घामले छालामा नकारात्मक असर पर्ने हुँदा पर्याप्त मात्रामा सनस्क्रिन लगाई राख्ने ।
  • सनस्क्रिनको प्रयोग गर्दा अनुहार र घाँटीमा एक चिया चम्चा अर्थात् ३ देखि ५ ग्राम सनस्क्रिन लगाउने र, घाममा जानु १५ मिनेटदेखि अधि घन्टा अगाडी सनस्क्रिन प्रयोग गर्ने। सकेसम्म १० बजे देखि ४ बजेसम्मको चर्को घाममा बाहिर नजाने।
  • आँखालाई बचाउने र त्यसका लागि होली खेल्दा दिनभर मोटो र बाक्लो खालको चस्मा लगाउने, कनट्याक्ट लेन्स नलगाउने ।

लेखक निजामती कर्मचारी अस्पतालमा छाला, यौन तथा कुष्टरोग विशेषज्ञका रुपमा कार्यरत छन् ।

प्रकाशित : चैत्र २, २०७८ १५:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×