१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा दुई दिनमा दुई जनाको कलेजो प्रत्यारोपण

अतुल मिश्र

काठमाडौँ — भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा दुई दिनमा दुई जनाको कलेजो प्रत्यारोपण गरिएको छ । गत आइतबार र सोमबार गरिएको प्रत्यारोपणमा नेपाली र भारतीय चिकित्सकको टोली संलग्न थियो । नेपाली टोलीको नेतृत्व केन्द्रका प्रमुख डा. पुकारचन्द्र श्रेष्ठ र भारतीय टोलीको नेतृत्व दिल्लीस्थित म्याक्स हस्पिटलका डा. शलिन अग्रवालले गरेका थिए । 

धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा दुई दिनमा दुई जनाको कलेजो प्रत्यारोपण

प्रत्यारोपण केन्द्रमा भएको पहिलो कलेजो प्रत्यारोपणमा दक्षिण कोरियाली विशेषज्ञहरूको सहयोग लिइएको थियो । दुवै प्रत्यारोपणमा डा. प्रदेज सापकोटा, डा. क्षेतेन योञ्जन तामाङ, डा. अनिशा तिवारी, डा. ललितकुमार दास, कलेजो फिजिसियन डा. कर्ण राजवंशी, एनेस्थेसिया तथा क्रिटिकल केयरमा डा. आरती राई, डा. निभा श्रेष्ठ, डा. रेखा श्रेष्ठ, डा. रश्मित श्रेष्ठ, डा. शिवसुन्दर राजचल, डा. सुमनलगायत संलग्न थिए । त्यस्तै, रेडियोलोजी विभागको नेतृत्व डा. कृष्ण बुढाथोकीले गरेका थिए भने कोपिला दाहालको नेतृत्वको बबिता लवजु, अनिता कार्कीलगायतको नर्सिङ टोलीले प्रत्यारोपणमा सघाएको थियो ।

दुवै जना कलेजो प्रत्यारोपित तथा अंगदाताको स्वास्थ्य अवस्था सामान्य रहेको डा. श्रेष्ठले बताए । अस्पतालले दुई जना जीवित दाताबाट कलेजोको टुक्रा दानमा लिएर प्रत्यारोपण गरेको हो । कीर्तिपुरका ४६ वर्षीय इच्छाकुमार महर्जनलाई उनकी श्रीमती ४३ वर्षीय ज्ञानीशोभाले र झापाका ५१ वर्षीय रामचन्द्र वलीलाई १९ वर्षीय छोरी सुमित्राले कलेजो दान गरेकी थिइन् ।

आगामी महिनादेखि मासिक दुई जनाको नियमित रूपमा कलेजो प्रत्यारोपणको तयारीसमेत थालेको केन्द्रले जनाएको छ । मुलुकमै पहिलो पटक कलेजो प्रत्यारोपण सुरु गरेको केन्द्रमा हालसम्म ८ जनामा प्रत्यारोपण भइसकेको छ । ७ जनामा जीवित दाताबाट र एक जनामा मस्तिष्क मृत्युबाट प्राप्त कलेजो प्रत्यारोपण गरिएको हो । मिर्गौला जस्तै कलेजोको पनि नियमित रूपमा प्रत्यारोपण भएको खण्डमा बर्सेनि करोडौं रुपैयाँ बाहिरिनबाट जोगिनुका साथै सामान्य व्यक्तिको समेत उपचार सुनिश्चित हुने डा. श्रेष्ठले दाबी गरे । हाल छिमेकी मुलुक भारतमा कलेजो प्रत्यारोपण गराउँदा एकदेखि डेढ करोड रुपैयाँ खर्च हुने गरे पनि केन्द्रमा २० लाख रुपैयाँमै प्रत्यारोपण भइरहेको छ । प्रत्यारोपणको शुल्क अझ कम गर्ने प्रयासमा रहेको डा. श्रेष्ठले बताए ।

शरीरको अत्यन्त महत्त्वपूर्ण अंग कलेजोले पाचन क्रिया, ‘मेटाबोलिज्म’ सही राख्नुका साथै विषाक्त पदार्थ शरीरबाट बाहिर निकाल्छ । कलेजोले करिब पाँच सयभन्दा बढी काम गर्न सघाउँछ । क्षतिग्रस्त कोषिकालाई सजिलै परिवर्तन गर्न सक्ने शरीरको एक्लो अंग कलेजो अंग र ग्रन्थी दुवैका रूपका चिनिन्छ । सरकारी अध्ययनअनुसार नेपालमा करिब ८ लाख व्यक्तिमा कलेजोसँग सम्बन्धित कुनै न कुनै रोग देखिने गरेको छ । नेपालमा बर्सेनि एक हजार जनाको कलेजो फेल हुने गरेको अनुमान छ । डा. श्रेष्ठका अनुसार हेपाटाइएटिस ‘बी’ र ‘सी’ संक्रमण, अत्यधिक मदिरा सेवन कलेजो फेल हुने मुख्य कारणका रूपमा देखिएका छन् ।

प्रकाशित : चैत्र २२, २०७८ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?