अटिजम सचेतना दिवस

अटिजम भएका बालबालिकामा खाना खुवाउने समस्या

समिद कतिला श्रेष्ठ

हरेक वर्ष अप्रिल २ लाई विश्व अटिजम सचेतना दिवसको रुपमा मनाइन्छ । पश्चिमी मुलुकहरुमा अटिजमबारे धेरै अभियान हुने भएता पनि नेपालमा यसको पहिचान र सम्बोधन हुन सुरु भएको धेरै भएको छैन ।

अटिजम भएका बालबालिकामा खाना खुवाउने समस्या

नेपालमा पछिल्ला केही वर्षदेखि अटिजम सेन्टरहरुले सेवा प्रदान गरेको भएतापनि अधिकांश काठमाडौंमै सीमित छन् भने उपत्यकाबाहिर केही मात्र सेन्टरहरु खुलेका छन् । यी खुलेका सेन्टरहरुले पनि सीमित बालबालिकाहरुलाई मात्र सेवा दिन सक्छन् किनकी धेरैलाई सेवा दिन सक्ने पूर्वाधार अहिले विकास भइसकेको अवस्था छैन ।

विद्यालयहरुमा यसबारे ज्ञान नहुँदा अटिजम भएका बालबालिकाहरुलाई भर्ना गरिँदैन । कसैले भर्ना गरेपनि बालबालिकाको आवश्यक पर्ने अन्य थेरापीहरुको सुविधा उपलब्ध हुँदैन । विद्यालय पठाउनुको उद्देश्य पढ्नको लागि मात्र हैन अन्य सीपहरु सिक्नु पनि हो ।अटिजम भएका बालबालिकाहरुलाई विद्यालय पठाउँदा अरुसँग घुलमिल हुन, अरुले गरेको हेरेर सिक्न, सँगै खान, साथी बनाउन, सँगै खेल्न सहयोग हुन्छ । तर यसका बारेमा धेरैलाई जानकारी छैन । धेरैले विद्यालय पढ्न मात्र जाने हो भन्ने बुझेका छन् । अटिजमकाबारे चेतना फैलाउन सके सबै विद्यालयले यस्ता व्यवस्था मिलाउन सक्छन् ।

खाना जीवन बचाइको महत्त्वपूर्ण तत्त्व हो जुन हामी दैनिक खान्छौँ । अटिजम भएका बालबालिकाहरुमा खाना र खाने प्रक्रिया सम्बन्धी समस्याहरु हुन सक्दछन् ।अटिजम मात्र भएका बालबालिकाहरुमा शारीरिक समस्या हुँदैन । यस्तोमा खवाउने समस्या शारीरिक कारणले नभइ ज्ञानेन्द्रियले( सेन्सरी) महसुस गर्न नसक्ने कारणले हुन्छ ।

अटिजम भएका बालबालिकाहरुलाई खाना खाने समस्या अन्य बालबालिकाहरु भन्दा पाँच गुणा बढी हुने खोज तथा अनुसन्धानले बताउँछन् । यद्यपि बच्चाको खाने बानी सामान्य छ वा यी समस्याको कारणले हो वा होइन भन्ने बारे थाहा नहुँदा ठम्याउन गाह्रो हुन सक्छ । अटिजममा हुने खानाप्रतिको ‘सेन्सरी समस्या’ पहिचान हुन सके 'फिडिंग ट्रेनिङ' अर्थात खाना खुवाउने सम्बन्धी तालिमले धेरै मद्दत गर्न सक्छ ।

खानासम्बन्धीको सेन्सरी समस्या भन्नाले कुनै पनि खानेकुराको स्वाद मात्र नभइ त्यसको बनावट, आकार, रंग, बास्ना, छाला छुँदा महसुस हुने तरंग हो । केरा र करेला छुँदा फरक बनावट हुन्छ त्यसैगरी अंगुर र अनार पनि फरक छन् । गोलभेडा र प्याजको बास्ना फरक हुन्छ उस्तै देखिने सुन्तला र जुनारको पनि स्वाद फरक छ । तर, अटिजम भएका बालबालिकाहरुले यस्ता फरक नछुट्याउन सक्छन् ।

अटिजम भएका बालबालिकाहरुमा खानाप्रतिको यो समस्याहरुका कारणले गर्दा सबै प्रकारका खानेकुरा नखाने, एउटै र सधैं खाइरहेको खानाहरु मात्र खाने, नयाँ खानेकुराहरू खान प्रयास गर्न गाह्रो हुने, लामो समय नखाँदा पनि भोक नलाग्ने, खानामा रुचि नहुने जस्ता लक्षणहरु हुन्छन् । साथै स्टार्च र स्न्याकहरु मात्र खाने र तरकारीहरू पूर्णरुपमा अस्वीकार गर्ने हुन सक्छन् । बालबालिकाहरू खाने समयमा रुने, मुखमा खाना हाल्न नमान्ने र टेबल छोड्ने जस्ता व्यवहारहरू पनि देखिन्छ ।

बालबालिकाहरुमा हुने यस किसिमका समस्याहरुले उनीहरुको बढ्ने उमेरमा पोषण सम्बन्धी समस्याहरु ल्याउन सक्छ । कतिपय अवस्थामा बालबालिकाहरुले पूर्णरुपमा एउटा समूहको खाना जस्तै प्रोटिन वा तरकारी नखाइदिँदा यसले स्वास्थ र विकासमा जटिलता ल्याउने खोज तथा अनुसन्धानले देखाएको छ ।

सबै प्रकारका खानेकुराहरु नखाए हड्डीहरु कमजोर हुने, कब्जियत हुने, भिटामिन र खनिजको कमी हुन सक्छ । अटिजम भएका बालबालिकाको आहारमा क्याल्सियम र प्रोटिनको मात्रा कम हुने गरेको अनुसन्धानले देखाएको छ । यसलाई समयमै सम्बोधन गरे आहार–सम्बन्धित रोगहरू लाग्नबाट जोगिन्छ ।

अभिभावकहरूले बच्चाको खाना खाने समस्याहरू मिलाउन उनीहरुको दैनिक दिनचर्या र खाना खाने तालिका परिवर्तन गर्ने, खाना खाने परिवेश र स्थान व्यवस्थित गर्ने गर्न सक्छन् ।साथै अटिजम भएका बालबालिकाहरु कुनै पनि कुरामा धेरै बेर ध्यान दिन नसक्ने र उनीहरु अगाडि जे देख्यो त्यो लिएर चलिराख्ने हुनाले पनि खाना खाने स्थानमा ध्यान भत्किने सक्ने वस्तुहरु राख्नुहुन्न ।

सादा रंगको कोठा अनि टेबल र कुर्सी मात्र भए खाना खाने तालिम दिन केही सहज हुन सक्छ यद्यपि यो तालिम सुरु भएपछि पनि परिवर्तन देखिन धेरै समय लाग्न सक्छ । सुरुमा बच्चाहरु कुर्सीमा बस्न नमान्न सक्छन् । उनीहरु घुमिराख्ने, चलिराख्ने, खाना नछुने, खेल्ने,फोहर गर्ने, फाल्ने गर्न सक्छन् । तर, यो सबै भएता पनि निरन्तर र बारम्बार उनीहरुलाई बसाएर आफैं खाने प्रयास गराइराख्नु पर्छ । धेरै जनाले बच्चाले फोहोर गर्छ वा खेल्छ मात्र भनेर आफैं खान दिँदैनन् । तर, अभिभावकले यी कुरामा ध्यान दिन आवश्यक छ नभए सधैं अरुले नै खुवाइदिनुपर्छ ।

बालबालिकाहरुलाई सुरुमा उनीहरुले मन पराउने खानेकुराबाट सुरु गरेता पनि बिस्तारै नयाँ र सबै प्रकारका खानेकुराहरु पनि दिँदै जानुपर्छ । यो सजिलो भने पक्कै छैन तर यसले पक्कै पनि परिवर्तन ल्याउँछ । अटिजममा अरुले गरेको देखेर सिक्ने (ईमिटेसन) धेरैले गर्न नसक्ने हुनाले पनि खाना खुवाउने तालिम जरुरी हुन्छ । कुनै पनि कुरा सिकाउन उनीहरुलाई बारम्बार दिनहु त्यही कार्य गराई राख्नुपर्छ । लगातार यो गराए बालबालिकाहरुमा परिवर्तन देखिएको उदाहरण प्रशस्तै छन् ।अटिजमका लक्षणहरु फरक–फरक छन् तसर्थ यसका थेरापीहरु र प्रक्रियाहरु सम्बन्धित विज्ञहरुसँग सल्लाह गरेर घरमै पनि गर्न सकिन्छ ।

(श्रेष्ठ पिडियाट्रिक फिजियोथेरापिस्ट हुन् ।)

प्रकाशित : चैत्र १९, २०७८ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?