कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०
अन्तर्राष्ट्रिय छारेरोग  दिवस

छारेरोग निको पार्न सकिन्छ

डा. गोपाल सेडाई

अन्तर्राष्ट्रिय छारेरोगविरुद्धको सञ्जाल (आईएलएई) ले प्रत्येक वर्ष फेब्रुअरी महिनाको दोस्रो सोमबार अन्तर्राष्ट्रिय छारेरोग दिवस मनाउँदै आएको छ । यो वर्ष ‘भ्यालिन्टाइन डे’ कै दिन पर्न गएको दिवसको नारा 'म छारेरोग भएकालाई माया गर्दछु' भन्ने छ ।

छारेरोग निको पार्न सकिन्छ

आजसम्म पनि हाम्रो समाजमा छारेरोग भएकालाई हेयको दृष्टिले हेरिँदै आएकोमा यो नारा सापेक्षित देखिन्छ । यस लेखमा यस रोगसँग सम्बधित केही तथ्य र भ्रम चिर्ने कोसिस गरिएको छ ।

के हो छारेरोग ?

मानिसमा छारेरोग मस्तिष्कमा हुने तरंगहरु अनियन्त्रित हुँदा देखिने लक्षण हो । दिमागमा हुने कुनै पनि किसिमको समस्या (चोट, दाग, ट्युमर, जन्मजात समस्या) ले र्मिगी/छारेरोग हुनसक्छ । यसका अनेक किसिमका लक्षण हुन्छन् । कोहीमा टोलाइरहने देखि काम्ने, छटपटाउने, दाँत बाध्ने, फिँज काढ्ने, जीउ अँठ्याउने जस्ता समस्या दिखन्छन् । कोही–कोही बिरामीको होस हराउँछ भने कसैको होस नहराउन पनि सक्छ । प्रायजसो एक बिरामीलाई देखिने लक्षण रोग दोहोरिँदा उस्तै नै देखिन्छ ।

छारेरोग हाम्रो समाजमा धेरैलाई भएको हुन सक्छ । अनुमान अनुसार हरेक २६ जनामा एक जनालाई जीवनमा एकपटक छारे रोग हुन सक्छ । अमेरिकाको तथ्यांक अनुसार हरेक वर्ष १,५०,००० जना नयाँ रोगी थपिन्छन् । नेपालको जनसंख्यासँग तुलना गर्दा सरदर १५,००० नयाँ बिरामी हुनुपर्छ । त्यस्तै विश्वमा करिब ६ करोड छारेरोगका बिरामी रहेको अनुमान छ ।

प्रमुख कारणहरु :

यो सरुवा रोग होइन । ‘जीन’मा समस्याका कारण केही किसिमका छारेरोग देखिए पनि ती अनुवांशिक नभइ पछि देखिने गर्दछन् र ती नगन्य मात्रामा हुन्छन् । छरछिमेक, परिवारका अरु सदस्य, साथीभाइलाई सँगै बस्दैमा, खाँदैमा, सामान उपयोग गर्दैमा यो सर्दैन । कुनै पनि उमेरका मानिसलाई यो समस्या देखिनसक्छ । भर्खर जन्मिएको बच्चादेखि वृद्ध उमेरमा पनि यो पहिलोपटक देखा पर्न सक्छ ।

दिमागमा लाग्ने चोट, ट्युमर, संक्रमण, मस्तिष्कघात, नुनको कमि, जुकाका कारण छारेरोग हुने गर्दछ । बच्चाहरुमा जन्मजात दिमागको विकास राम्ररी नहुँदा पनि छारेरोगका लक्षण देख्न सकिन्छ । त्यसैगरी विशेषतः ५ वर्ष मुनिका बालबालिकामा उच्च ज्वरो आउँदा पनि लक्षण (फिब्राइल सिजर) देख्न सकिन्छ ।

उपचार विधि :

लक्षण देखिएका बिरामीहरुलाई सीटी स्क्यान, एमआरआई, ईईजी जस्ता जाँचहरु गर्नु पर्दछ । नियमितरुपमा सही मात्रामा औषधी सेवन गरेमा अधिकांश बिरामी निको हुन्छन् । लक्षण अनुसार औषधिको मात्रा थपघट गर्नुपर्ने वा अन्य औषधि थप्नु पर्ने हुन सक्छ । औषधिको बाबजुद पनि छारे भइरहेमा त्यसलाई औषधिले काम नगर्ने छारेरोग (ड्रग रेसिस्टेन्ट) भनिन्छ । त्यस्ता बिरामीहरु साथै ट्युमरका कारण हुने रोग, दिमागका दागहरु र बच्चाहरुमा देखिने विशेष छारेरोगहरु शल्यक्रिया गरेर पनि निर्मूल पार्न सकिन्छ । नयाँ प्रविधि र उपचार विधिहरु देशभित्रै उपलब्ध भएकाले नेपालमा पनि इपिलेप्सी शल्यक्रिया सुरु भइसकेको छ । फिब्राइल सिजर हुनबाट रोक्न साना नानीहरुलाई ज्वरो आउन साथ प्यारासिटामोल दिनुका साथै पानि पट्टि गर्नु पर्दछ ।

छारेरोग भएका बेला के गर्ने/के नगर्ने ?

  • बिरामीलाई खुल्ला ठाउँमा राखेर कोल्टो बनाइदिने (यसो गर्दा, बान्ता भएमा सर्किन पाउँदैन र स्वास फेर्न सजिलो हुन्छ)
  • हात खुट्टा च्याप्प समाएर नराख्ने
  • मुखमा औंला/चम्चा नहाल्ने
  • मोजा नसुघाउने
  • लुगा खुकुलो बनाइदिने
  • बिरामीको साथमा रहने
  • ५ मिनेटभन्दा बढी भए, पटकपटक भए, स्वास फेर्न गाह्रो भए तुरुन्त अस्पताल पुर्‍याउने

बिरामीका आफन्तले ध्यान दिनुपर्ने

छारेरोग पनि निको पार्न सकिने रोग हो । यो कुनै दैवी/राक्षसी, पुनर्जन्मको प्रतिफल, देवता लाग्ने, लागो लाग्ने रोग होइन भनेर विज्ञानले प्रमाणित गरिसकेको छ । छारे रोगी पनि तपाईं हामी जस्तै साधारण मानिस हुन् । उनीहरुलाई पनि माया गरेर नियमित उपचार गरेर भेदभाव नगरिकन समाजमा साधारण मानिस सरह जीवनयापन गर्न प्रोत्साहन गर्नुपर्छ । उपचारको क्रममा औषधि नटुटाइ खाने र आफू खुसी बन्द नगर्न सहयोग पुर्‍याउनु पर्छ । प्रजनन् उमेरका महिलाले औषधि सेवन गर्दा विशेष ध्यान पुर्‍याउन जरुरी छ । औषधिले गर्भावास्थामा असर गरेर नवजात शिशुमा समस्या गर्न सक्छ । तसर्थ गर्भधानको इच्छा भएमा चिकित्सकसँग उचित परामर्श गर्न जरुरी छ ।

छारे रोग भएका बिरामीहरुले खानपिनमा विशेष ध्यान दिनु जरुरी छ । यस्ता बिरामीले चुरोट, रक्सी खानु हुँदैन भने समयमा सुत्ने, रोग नियन्त्रण नभइन्जेल सवारी साधन नचलाउने, पौडी नखेल्नु उचित हुन्छ । मासु खाएर टाउकोमा जुका पर्ने र मिर्गी हुने भ्रम गलत हो । हरियो सागसब्जी, फल, सलाद राम्ररी नपखालि खाँदा भने यो समस्या हुन सक्छ ।

चिकित्सक र सरकारको भूमिका

समाजमा अझैपनि यस रोगप्रति विद्यमान नकारात्मक भावना हटाउन चेतनामूलक कार्यक्रमहरु समयसमयमा गरिनु जरुरी देखिन्छ । नियमित औषधि लामो समयसम्म खानुपर्ने भएकाले सरकारले बिमा कार्यक्रम अन्तर्गत धेरै प्रकारका औषधि समावेश गर्नु पर्दछ (केही औषधि सूचिकृत छन्) । त्यसैगरी समयसमयमा विभिन्न कारणवश औषधि व्यवस्था विभागका नितिका कारण औषधि उपलब्ध नहुँदा बिरामीले यसैका कारण ज्यानसम्म गुमाउनुपर्ने अवस्था सिर्जना हुने गरेको छ ।

डा. सेडाई त्रिवि शिक्षण अस्पतालमा न्यूरोसर्जनका रुपमा कार्यरत छन् । उनी नेपाल छारेरोग समाजका कोषाध्यक्ष पनि हुन्

प्रकाशित : फाल्गुन २, २०७८ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?