१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०
विश्व क्यान्सर दिवस

क्यान्सर न्यूनीकरणमा तथ्यांक नै चुनौती

हरेक वर्ष ४ लाख बालबालिकामा क्यान्सर देखिने गरेको छ । उनीहरुमा ल्युकेमिया, ब्रेन क्यान्सर, लिम्फोमा, सोलिड ट्युमर आदि देखिने गरेका छन् । 
बुनु थारु

काठमाडौँ — क्यान्सर विश्वमा मृत्युको दोस्रो प्रमुख कारण हो । मुटुसम्बन्धी रोगबाट सबैभन्दा धेरै मान्छेको ज्यान जाने गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार क्यान्सरबाट सन् २०२० मा करिब एक करोड व्यक्तिको मृत्यु भएको थियो । 

क्यान्सर न्यूनीकरणमा तथ्यांक नै चुनौती

डब्लूएचओका अनुसार विश्वमा सबैभन्दा बढी हृदयरोगबाट १ करोड ७९ लाख, क्यान्सरबाट ९३ लाख, श्वासप्रश्वाससम्बन्धी रोगबाट ४१ लाख र मधुमेहबाट १५ लाखको बर्सेनि मृत्यु हुने गरेको छ । क्यान्सरबाट हुने मृत्युमध्ये करिब एक तिहाइ सुर्तीजन्य पदार्थको प्रयोग, मोटोपन, मदिरा सेवन, फलफूल तथा तरकारीको कम सेवन र शारीरिक क्रियाकलापको कमीका कारण हुने गरेको छ ।

अध्ययनअनुसार विश्वमा ५ देखि १० प्रतिशत मात्र वंशाणुगत क्यान्सर हुने गरेको क्यान्सर रोग विशेषज्ञ डा. रमिला सिल्पकारको भनाइ छ । ‘अरु सबै हाम्रो जीवनशैलीमा भर पर्ने हुन् । स्वस्थ जीवनशैलीमा ध्यान दियौँ भने क्यान्सरबाट धेरै हदसम्म बच्न सकिन्छ,’ उनले भनिन् ।

ग्लोबल क्यान्सर अब्जरभेटरी (ग्लोबोक्यान) २०२० को तथ्यांक हेर्ने हो भने नेपालमा क्यान्सरका वार्षिक नयाँ केस २० हजार ५०८ जनामा देखिने गरेको छ । १३ हजार ६२९ जनाको मृत्यु हुने गरेको छ । तर, तथ्यांकभन्दा बढीसमेत प्रभावित भइरहेका विज्ञ बताउँछन् । किनकी नेपालमा अझै पनि जनसंख्या अनुसार यकिन तथ्यांक राखिएको छैन ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले सन् २०१८ बाट मात्र जनसंख्याअनुसार क्यान्सर रजिस्ट्री सुरु गरेको छ । काठमाडौं‌ ललितपुर, भक्तपुर, धनुषा, महोत्तरी, सिरहा, सप्तरी, रुकुम पूर्व र पश्चिममा परिषद्ले अध्ययन सुरु गरेको छ ।

‘देशभरको जनसंख्याअनुसार क्यान्सर रजिस्ट्री नभइकन क्यान्सर बिरामी कति भन्न गाह्रो हुन्छ । नेपालमा जति मृत्यु भइरहेको छ, त्यसमा नसर्ने रोगबाट ६६ प्रतिशत मृत्यु हुन्छ,’ डा. सिल्पकारले भनिन्, ‘क्यान्सर भयावह रुपमा देखिइरहेको छ । यसलाई छिटो कसरी पत्ता लगाउने, रोग लाग्नबाट कसरी बचाउने, कसरी निवारण गर्ने भन्नेमा सरकार बलियो रुपमा लाग्नुपर्ने अवस्था भइसकेको छ ।’ नेपाल जस्तो देशमा क्यान्सर ढिलो पत्ता लाग्ने भएकाले पहिलो र दोस्रो चरणमै पत्ता लगाउन सके एक तिहाइलाई बचाउन सकिने उनले बताइन् ।

मध्य तथा निम्न आयका देशहरुमा ३० प्रतिशत जति क्यान्सरको संक्रमण हृयुमन प्यापिलोमा (एचपीभी) भाइरस र हेपटाइटिसले हुने गरेको पाइएको छ । ‘संक्रमण पनि प्रमुख कारण हो । नेपालमा महिलामा पाठेघरको मुखको क्यान्सर धेरैमा देखिन्छ । यो रोक्न सकिने क्यान्सर हो,’ डा. सिल्पकारले भनिन् । उनका अनुसार एचपीभी खोपले पाठेघरको मुखको क्यान्सर, मलद्वारको क्यान्सरबाट बचाउन सक्छ । नेपालको सन्दर्भमा यो राष्ट्रिय खोप कार्यक्रममा समावेश छैन जबकी विदेशतिर खोप तालिकामै राखिएको छ । ‘निजी तवरमा पैसा तिरेर लगाउनुपरेको छ । सरकारले यसमा ध्यान दिनुपर्छ । हेपटाइटिस बीको खोपले कलेजोको क्यान्सरबाट बचाउन सकिन्छ,’ डा. सिल्पकारले भनिन् ।

धनी देशहरुमा बालबालिकामा देखिने ८५ देखि ९० प्रतिशत क्यान्सर निको हुने गरेका छन् भने मध्य तथा निम्न आय भएका देशमा ३० प्रतिशत मात्र बालबालिका निको हुने गरेका छन् । हरेक वर्ष ४ लाख बालबालिकामा क्यान्सर देखिने गरेको छ । बालबालिकाहरुमा ल्युकेमिया, ब्रेन क्यान्सर, लिम्फोमा, सोलिड ट्युमर आदि देखिने गरेका छन् ।

कान्ति बाल अस्पतालका बाल क्यान्सर राेग विशेषज्ञ डा. विष्णुरथ गिरी बालबालिकामा हुने क्यान्सरलाई प्राथमिकतामा नराखिएको बताउँछन् । उनी भन्छन्, ‘यकिन तथ्यांक नभए पनि नेपालमा वार्षिक १ हजार ५०० जना बालबालिकामा क्यान्सर देखिने गरेको छ । विश्वमा कुल क्यान्सरको मृत्युमा बालबालिकाको क्यान्सर छैठौँ नम्बरमा पर्छ र बाल स्वास्थ्य समस्याको रुपमा नवौं नम्बरमा छ । त्यसैले प्राथमिकतामा पर्नुपर्छ ।’

उनका अनुसार बालबालिकामा देखिने क्यान्सर संख्याभन्दा यसले पार्ने प्रभावका बारेमा हेर्नुपर्छ । नेपालमा क्यान्सर लागेका ६० देखि ७० प्रतिशतलाई जोगाउन सकेको उनले बताए । ‘३० प्रतिशत मात्र स्वास्थ्यसंस्थामा आइपुग्छन् । अस्पताल आएका २० प्रतिशत निको हुने गरेका छन्,’ उनले भने ।

भक्तपुर, भरतपुर, कान्ति जस्ता सरकारी अस्पतालमा क्यान्सरको राम्रो उपचार हुँदै आएको छ । डा. गिरीका अनुसार उपचार खर्च त्यति महँगो छैन, मध्यम वर्गीय परिवारले बच्चाको क्यान्सरको उपचार गराउन सक्छन् । ‘प्राथमिक उपचारमा ध्यान दिनुपर्छ, जसले गर्दा समयमै बालबालिकाहरुमा क्यान्सर पत्ता लागोस्,’ उनले भने ।

शरीरको कोष वा कोषिकाको समूहको अस्वाभाविक वृद्धि नै क्यान्सर रोग हो । धूम्रपान, सूर्तीजन्य पदार्थ तथा मद्यपानको सेवन, अस्वस्थ्यकर आहार, वंशाणुगत कारण, विकिरणको प्रभाव, जीवाणु तथा विषाणुका कारण, वातावरणीय प्रदुषण आदि कारणले पनि क्यान्सर लाग्न सक्छ । नेपालमा फोक्सो, स्तन, पाठेघर, पेट, थाइराइड, कलेजोको क्यान्सर बढी देखिएका छन् ।

थकान महसुस हुने, तौल घट्नु, भोक नलाग्नु, निल्न गाह्रो हुनु, पेट दुख्ने वा वाकवाकी लाग्ने, शरीरमा कतै सुन्निने वा गाँठो हुनु, स्तन वा शरीरको अन्य भागमा गाढा हुनु वा गाँठो हुनु, छालामा परिवर्तनहरू जस्तै रगत बग्ने वा पहेंलो हुनु क्यान्सरका लक्षण हुनु । नयाँ कोठी वा कोठीमा परिवर्तन, निको नहुने घाउ, पिसाब जाँदा दुखाइ, पिसाबमा रगत आउनु वा धेरै वा कम पटक पिसाब जानुपर्ने जस्ता पिसाबथैलीमा परिवर्तन, ज्वरो वा राति पसिना आउने आदि लक्षण पनि क्यान्सरका हुन सक्छन् । यस्ता लक्षण लामो समयसम्म देखिए चिकित्सकको सल्लाह लिनुपर्छ ।

धूम्रपान, सूर्तीजन्य पदार्थ तथा मद्यपानको सेवन नगर्ने, तौल नियन्त्रणमा राख्ने, स्वस्थकर सन्तुलित आहार खाने, फलफूल तथा तरकारी, शारीरिक क्रियाकलाप व्यायाम गर्ने, रक्सी सेवन कम गर्ने, तोकिएका उमेर समूहले हृयुमन प्यापिलोमा भाइरस र हेपटाइटिस बी विरुद्ध खोप लगाउने गर्दा क्यान्सरबाट बच्न सकिन्छ ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले क्यान्सरको यकिन तथ्यांक नभएकाले चुनौती थपिएको बताउँछन् । उनका अनुसार सरकारले किशोरकिशोरी लक्षित एचपीभी खोप ल्याउने तयारीमा छ । ‘क्यान्सरको उपचार महँगो छ, सबैको पहुँचमा छैन । विपन्न नागरिक कोषले पनि समेट्न सक्दैन । त्यसैले अब बनाउने ऐन नियममा ध्यान दिनुपर्छ,’ उनले भने । सरकारले पाठेघर र स्तन क्यान्सरको स्क्रिनिङको काम गर्दै आइरहेको छ । रेडियोथेरापी सेवा भने धेरै अस्पतालमा उपलब्ध छैन ।

प्रकाशित : माघ २१, २०७८ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सेयर खरिद–बिक्री प्रकरणमा नियामक निकाय निष्क्रिय राखेर छुट्टै छानबिन समिति गठन गर्नुको कारण के हो?