के बालबालिका र किशोरकिशोरीमा पनि 'डिप्रेसिभ डिसअर्डर' हुन्छ?

काठमाडौँ — बालबालिकामा यौवन अवस्थाभन्दा अगाडि धेरै कममा मात्रै उदासीनता वा भनौं 'डिप्रेसिभ डिसअर्डर' हुने गरेको विभिन्न अध्ययनहरूबाट देखिन्छ भने किशोरकिशोरीमा भने १०० जनामा ५ देखि ८ जनासम्मलाई यो समस्या देखिन सक्छ । डिप्रेसन भनेको सामान्य अवस्था मात्रै होइन । यदि उदासीनता निश्चित समयभन्दा बढीसम्म रहन्छ र बालबालिका तथा किशोरकिशोरीको कार्यशैली वा दिनचर्यामा बाधा उत्पन्न गराउँदछ भने त्यसलाई डिप्रेसिभ डिसअर्डर भनिन्छ । यही विषयलाई यो लेखमा ५ वटा प्रश्नबाट सरल रुपमा बुझाउने प्रयास गरिएको छ ।

के बालबालिका र किशोरकिशोरीमा पनि 'डिप्रेसिभ डिसअर्डर' हुन्छ?

के बालबालिका र किशोरकिशोरी पनि उदासीनता (डिप्रेसन)बाट ग्रसित हुन्छन् ?

हुन सक्छन् । डिप्रेसिभ डिसअर्डर बालबालिका तथा किशोरकिशोरीमा पनि देखिन्छ । तर, यौवन अवस्थाभन्दा अगाडि अलि कममा हुन्छ ।

अध्ययन-अनुसन्धानअनुसार यौवन अवस्थाभन्दा अगाडि १०० जनामध्ये १ देखि २ जनामा डिप्रेसिभ डिसअर्डर हुन्छ भने किशोरकिशोरीमा १०० जनामध्ये ५ जना देखि ८ जना सम्ममा डिप्रेसिभ डिसअर्डर हुन सक्दछ ।

तर, डिप्रेसन भनेको सामान्य अवस्था मात्र होइन । मानसिक स्वास्थ्य परिभाषा अनुसार क्लिनिकल डिप्रेसन भनेको सामान्य उदासीभन्दा बढी हो । यदि त्यो उदासीनता निश्चित समयभन्दा बढीसम्म रहन्छ र बालबालिका तथा किशोरकिशोरीहरुको कार्यशैली वा दिनचर्यामा बाधा उत्पन्न गराउँदछ भने त्यसलाई डिप्रेसिभ डिसअर्डर भनिन्छ।


बालबालिकामा र किशोरकिशोरीमा उदासीनता (डिप्रेसिभ डिसअर्डर) कसरी पहिचान गरिन्छ ?

बालबालिकामा र किशोरकिशोरीहरुको उमेरअनुसार डिप्रेसनको प्रस्तुति फरक हुनसक्छ । पूर्व बाल्यअवस्थाका (६-७ वर्ष मुनिका ) बालबालिकाहरूले आफ्नो भावनात्मक अवस्थालाई मौखिक रूपमा व्यक्त गर्न सक्षम नहुन सक्छन् र व्यवहारिक र शारीरिक लक्षण देखा पर्न सक्छन् । त्यसैले उनीहरुमा टाउको दुख्ने, पेट दुख्ने, विद्यालय नजाने, शैक्षिक चासो घट्ने, रोइरहने, बारम्बार रिस उठ्ने जस्ता लक्षण देखिन सक्छ ।

साथै, उनीहरूका भावना प्रतिक्रियात्मक (रियाक्टिभ) हुनसक्छ । अर्थात् उदासी वा चिडचिडापन निरन्तर नहुन सक्छ । उनीहरू कहिलेकाहीँ खुसी वा सामान्य देखिन सक्छन् । यही कारणले गर्दा धेरैजसो बालबालिकाहरुमा डिप्रेसिभ डिसअर्डरको पहिचान गर्न कठिन हुन्छ । यद्यपि ७ वर्षभन्दा माथिका बालबालिका र किशोरकिशोरीहरूले आफ्नो भावना र विचार व्यक्त गर्ने क्षमता राख्छन् ।

वयस्क अवस्थामा हुने डिप्रेसिभ डिसअर्डरको तुलनामा, बालबालिका र किशोरकिशोरीहरूको उदासीको सट्टा चिडचिडापन धेरै हुन सक्छ । यसका साथसाथै अध्ययनमा ह्रास, रमाइलो गतिविधिमा रुचि घट्ने, निद्रा र खानपिनमा समस्या हुन सक्दछ । यस्तै बालबालिका र किशोरकिशोरीहरूमा पनि आत्महत्याका विचारहरू आउन सक्दछन् वा आत्म-हानीको प्रयास गर्नसक्छन्।

डिप्रेसनको कारक तत्व के हुन् ?

डिप्रेसनको कारण एउटै हुँदैन । धेरै कारक तत्वहरुले गर्दा डिप्रेसन हुन सक्दछ ।

जैविक कारण- न्युरोट्रान्समिटरको असन्तुलन, वंशाणुगत (परिवारमा कसैलाई उदासिनता भएमा), आनुवंशिक कारणहरू

मनोवैज्ञानिक कारण- बच्चाको स्वभाव, तनावको सामना गर्ने संयन्त्र, आत्मसम्मान, आत्म-मूल्य, उच्च उपलब्धि अभिमुखीकरण

वातावरणीय र सामाजिक कारण- अभिवावकको बालबालिकासँग बढी अपेक्षा, अभिभावद्वारा अरुको बच्चासँग तुलना गर्ने प्रवृत्ति, दण्डनीय अभिभावक, अव्यवस्थित वा खराब अभिभावकत्त्व, घरको नकारात्मक वातावरण, विद्यालयमा साथीहरुले हेप्ने, होच्याउने, गिज्याउने, असफल सम्बन्ध, शैक्षिक तनाव, साथीहरू र परिवारका सदस्यहरूसँग द्वन्द्व, दुर्व्यवहार (शारीरिक, यौन, मौखिक र भावनात्मक)

बाल्यकाल र किशोरावस्थामा हुने डिप्रेसिभ डिसअर्डरको उपचार कसरी गरिन्छ ?

सबै मानसकि स्वास्थ्य समस्याहरूमा दुई प्रकारका उपचारात्मक विधिहरु हुन्छन्, औषधि र मनोपरामर्श विधि ।

बालबालिकाहरूमा हामी सधैं थेरापी वा मनोपरामर्शलाई प्राथमिक उपचारात्मक पद्दति मान्दछौं । यद्यपि लक्षणहरूको गम्भीरतामा निर्भर हुँदै गर्दा कोहीमा औषधिहरू आवश्यक पर्न सक्दछ । औषधि र थेरापी/मनोपरामर्शलाई सँगसँगै गर्दा परिणाम राम्रो आउन सक्दछ ।

अभिभावकलाई पनि मनोपरामर्श सत्रमा संलग्न गराउनु अति आवश्यक छ । उपचार टोलीले बालबालिका र परिवारलाई मद्दत गर्न विद्यालय र शिक्षकहरूसँग पनि सम्पर्क गर्नु अत्यावश्यक हुन्छ । यो अभिभावकको सहमति र बच्चाको स्वीकृत पछि मात्रै गरिन्छ ।

धेरैजसो उपचार बहिरंग (ओपीडी)मा गरिन्छ । तर, यदि आत्महत्याको उच्च जोखिमको साथै लक्षणहरू धेरै गम्भीर छन् भने अन्तरंग (आईपीडी) उपचार पनि आवश्यक हुनसक्छ ।

उपचार ६ महिनादेखि १ वर्षसम्म रहन सक्छ र कहिलेकाहीँ समय बढी पनि लाग्न सक्दछ ।

आमाबाबु वा अभिवावकले आफ्न बालबालिकालाई डिप्रेसनको लक्षण भएको अनुभव गरेमा के-के गर्न सक्दछन् ?

सबैभन्दा पहिले आमाबाबु वा अभिवावकले घरमा बालबालिका वा किशोरकिशोरीले समस्या वा भावनाहरु व्यक्त गर्न सक्ने वातावरण सिर्जना गर्नु धेरै महत्त्वपूर्ण हुन्छ । यो कठिन समयमा उनीहरूले उपदेश सुन्न चाहँदैनन् । उनीहरूको समस्यालाई स्वीकार्ने र बुझ्ने प्रयास नै पहिलो उपयुक्त कदम मानिन्छ ।

सँगसँगै उनीहरुसँग गुणस्तरीय समय व्यतित गर्नु अर्को महत्त्वपूर्ण कदम हुन सक्दछ । यद्यपि लक्षणहरु निरन्तर रहेमा अभिवावकहरुले बाल मनोचिकित्सक वा चिकित्सा मनोविदसँग परामर्श गर्न जरुरी हुन्छ ।

डा. कार्की कान्ती बाल अस्पतालमा बाल मनोचिकित्सकका रुपमा कार्यरत छन् ।

प्रकाशित : माघ २०, २०७८ १३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?