स्वास्थ्य विभाग भन्छ- ‘खोपका लागि सिरिन्ज अभाव छैन’

देशभर ७१ लाख ३० हजार १२९ डोज खोप भण्डारमा, शनिबारसम्म ७० लाखभन्दा बढी सिरिन्ज जम्मा हुने 
बुनु थारु

काठमाडौँ — केही दिनयता कोभिडविरुद्ध खोप लगाउनेको चाप बढे पनि सिरिन्जको अभाव नभएको स्वास्थ्य सेवा विभागले प्रस्ट पारेको छ । विभागका अनुसार देशभर ७१ लाख ३० हजार १२९ डोज खोप भण्डारणमा छ ।

स्वास्थ्य विभाग भन्छ- ‘खोपका लागि सिरिन्ज अभाव छैन’

जसमा भेरोसेल ८ लाख ४४ हजार १५७, जान्सेन ८ लाख ७२ हजार १५०, कोभिसिल्ड ३९ लाख ७६ हजार ६८०, फाइजर ३ लाख ५४ हजार ४०२ र मोडर्ना १० लाख ८२ हजार ७४० खोप भण्डारमा रहेको विभागको तथ्यांकले देखाउँछ । सिरिन्ज भने हाल २६ लाख २३ हजार ४ सय भण्डार छ ।

थप सिरिन्ज आउने क्रममा रहेकाले शनिबारसम्म ७० लाखभन्दा बढी सिरिन्ज भण्डारमा जम्मा हुने विभागअन्तर्गत व्यवस्थापन महाशाखा निर्देशक डा. रुद्र मरासिनीले बताए । ‘युनिसेफमार्फत आजै १२ लाख ९६ हजार सिरिन्ज प्राप्त गर्‍यौं, साथै खरिद गरेको १० लाख पनि हामीसँग छ,’ उनले भने, ‘चीन सरकारबाट आएको सहयोगको २० लाख भन्सार प्रक्रियाका लागि रसुवा नाकामा छ, त्यो भोलिसम्म आइपुग्नेछ । सबै गर्दा हामीँसग ७० लाख सिरिन्ज हुनेछन्, त्यसैले अभाव हुँदैन ।’

डा. मरासिनीका अनुसार सरकारले खरिद गरेको २ करोड सिरिन्जमध्येको १० लाख आइसकेको छ । पहिलो चरणमा ५० लाखवटा सिरिन्ज पनि एक सातामा आइपुग्ने उनले बताए । ‘खरिदको बाँकी १ करोड ५० लाख सिरिन्ज त पाइपलाइनमै भएकाले खोपका लागि सिरिन्जको समस्या हुँदैन,’ उनले भने ।

कुन प्रदेशमा खोप र सिरिन्ज कहाँ कति ?


स्रोतः स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा

अहिले दैनिक अधिकतम ३ लाखसम्मले खोप लगाइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अनुदान र खरिद गरी ४ करोड ३ लाख ८८ हजार ८४० मात्रा खोप प्राप्त भएको छ । जसमा २ करोड ८७ लाख ३३ हजार ८३ मात्रा लगाइसकिएको छ । शुक्रबारसम्म कुल जनसंख्याको ५३.३ प्रतिशतले एक मात्रा र ४२ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

त्यसैगरी लक्षित जनसंख्याको ८१.३ प्रतिशतले एक मात्रा र ६४ प्रतिशतले पूर्ण खोप लगाएका छन् । अतिरिक्त मात्रा भने ५० हजार २०७ जनाले लगाइसकेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : माघ ७, २०७८ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?