कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कोरोनाविरुद्ध सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण

काठमाडौँ — सर्वसाधारणको लापरबाहीले स्वास्थ्यकर्मीहरूमा कोभिड संक्रमण बढ्ने भन्दै सबैलाई सावधानी अपनाएर काम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ध्यानाकर्षण गराएको छ ।

कोरोनाविरुद्ध सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण

स्वास्थ्यकर्मीहरूमा कोभिड संक्रमणको दर बढ्न गई स्वास्थ्य सेवा प्रवाहमा प्रत्यक्ष असर गर्ने भन्दै आम नागरिकहरूलाई स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न आग्रह गरिएको हो ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले ओमिक्रोन भाइरस स्वास्थ्यका हिसावले कम जोखिमपूर्ण रहे पनि संक्रमण दर बढिरहेकाले सतर्क रहनुपर्ने बताए ।

आम नागरिकले स्वास्थ्य सम्बन्धी सरकारले बनाएका मापदण्ड पूर्ण पालना गर्ने र कोरोनाबिरुद्धको खोप अनिवार्य लगाएमा बढ्दो कोरोना संक्रमणलाई कम गर्न सकिने उनको सुझाव थियो । सह प्रवक्ता अधिकारीले ओमिक्रोन भेरिएन्ट तीव्र संक्रामक रहेकोले घर परिवारमा पनि कोभिडबाट आफू बच्न र अरुलाई पनि बचाउन स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने र आफूलाई संक्रमण भए ७ दिनअघिसम्म भेटघाट गरेका मानिसलाई सचेत गराउन अनुरोध गरे ।

सरकारले स्वास्थ्यका पूर्वाधार बढाए पनि स्वास्थ्यकर्मीहरू गुणात्मक रुपमा बढाउन असहज भएको उनले बताका थिए । सह प्रवक्ता अधिकारीले असावधानीका कारण कोरोनाबाट हुने जनधनको क्षति हुन नदिन सबैले आ आफ्नो क्षेत्रबाट सहयोग र सचेत रहनुपर्ने बताए ।

‘पछिल्लो ओमिक्रोनको संक्रमणलाई हेर्दा यो धेरै संक्रामक रहेको छ । यसले कुनै वर्ग, खोप लगाएको, नलगाएको, केही छुट्टिने अवस्था छैन । सबै वर्ग संक्रमित भइरहेको देखिन्छ । तीव्र संक्रामक भएको हुनाले एकजनामा संक्रमण पुष्टि भयो भने हामी बसेको ठाउँ परिवारमा अरु व्यक्ति पनि संक्रमित भएको देखिरहेका छौं । एक ठाउँमा संक्रमण हुँदा त्यहाँ वरिपरि रहेकाहरूमा संक्रमण फैलिरहेको छ । तर जोखिमको हिसावले पहिलेका भेरियन्टभन्दा कम जोखिमपूर्ण छ । स्वास्थ्यका हिसावले कम जोखिमपूर्ण छ । तर भ्याक्सिन नलगाएका मानिसमा बढी जोखिम भइरहेको र अस्पतालमा भर्ना दर हेर्दा तलैसम्म जोखिम पुर्‍याएको हामीले देखेका छौं । संक्रमणको गति तीव्र छ । हामीले लिने सामान्य सावधानीले त्यसलाई कम गर्न सकिन्छ,' सह प्रवक्ता डा अधिकारीले भने ।

यस्तै डा अधिकारीले आम नागरिकलाई कोभिड १९ संक्रमण पुष्टि भएको ७ दिनसम्म अनिवार्य रुपमा आइसोलेसनमा बस्नुपर्ने र त्यसपछि पनि लक्षण देखिए थप आइसोलेसनमा बस्न सुझाव दिएका छन् । साथै ७ दिनसम्म आइसोलेसनमा बसेकाहरूले सातौं दिनपछि कुनै लक्षण नदेखिएको अवस्थामा कोरोना परीक्षण गराउनु नपर्ने उनको सुझाव थियो। विभिन्न अध्ययन र विश्व स्वास्थ्य संगठनले भनेअनुसार कोरोना विरुद्धको खोप लगाए मात्रै त्यसले सकारात्मक प्रतिक्रिया दिने डा अधिकारीको भनाइ छ ।

प्रकाशित : माघ ७, २०७८ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?