लापर्बाही नगरौँ, ओमिक्रोनले ज्यान लिन सक्छ : डा. रक्षा गौतम- स्वास्थ्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लापर्बाही नगरौँ, ओमिक्रोनले ज्यान लिन सक्छ : डा. रक्षा गौतम

कान्तिपुर संवाददाता

काठमाडौँ — मौसम परिवर्तनको समय सुरु भएसँगै धेरै मानिसहरूमा मौसमी रुघाखोकीको समस्या देखिन थालेको छ । यससँगै कोरोनाको पछिल्लो भेरिएन्ट ओमिक्रोनको संक्रमण पनि द्रूत गतिमा बढिरहेको छ ।

आम मानिसले आफूलाई भएको संक्रमण मौसमी रुघाखोकी हो कि कोभिड संक्रमण छुट्याउन सकिरहेका छैनन् । यसले अस्पतालमा दैनिक रुपमा रुघाखोकीका बिरामीको चाप बढिरहेको छ । कोरोना संक्रमणको त्रासका कारण सामान्य रुघा लाग्दा पनि अस्पताल जानेको संख्या बढेको छ । यसै विषयमा चिकित्सक डा रक्षा गौतमसँग न्यूज एजेन्सी नेपालले गरेको कुराकानीको सम्पादित अंश:

अहिले अस्पतालहरूमा मौसमी रुघाखोकीको बिमारीको चाप कस्तो छ ?
मौसमी परिवर्तनले हुने रुघाखोकीको लक्षण भएका बिरामीहरूको चाप धेरै बढेको छ । दुई हप्तादेखि हाम्रो ओपीडीमा बिरामीको चाप तीन-चार गुणाले बढेको छ । एक जना फिजिसियनलाई नै धौधौ हुनेगरी बिरामी आइरहनुभएको छ । मौसमी परिवर्तनले हुने रुघाखोकीमात्रै नभएर अहिलेको यो कोभिड-१९ को बिरामीहरूको चाप पनि त्यसमै मिसिएर हामीले हेरिरहेका छौँ- दिनदिनै बढेको देखिरहेका छौँ ।

अहिले मनिसहरू एकदमै अल्मलिएको जस्तो देखिन्छ, एउटा मौसमी फ्लू भयो । अर्को कोभिड-१९ डेल्टा भेरिएन्ट, अनि ओमिक्रोन भाइरस संक्रमण कसरी छुट्याउने, कसरी उपचार गर्ने ? सबैको उस्तैउस्तै खालका लक्षणहरू देखिन्छन् । लक्षणका आधारमा आम सर्वसाधारणले कसरी छुट्याउने र कस्तो अवस्था भयो भने पीसीआरका लागि जाने ?
मौसमी परिवर्तनले हुने संक्रमण कमन कोल्ड (चिसोले हुने रुघाखोकी) हो । कमन कोल्डको सामान्य लक्षण छुट्याउने एकदम सजिलो तरिका भनेको ज्वरो हो । मौसमी परिवर्तनले हुने लक्षणहरूमा बिरामीलाई ज्वरो आउँदैन । एक दुई दिनमा आफैं ठिक भएर जाने किसिमको सामान्य जिउ दुख्ने, रुघाखोकी लाख्ने हुन्छ । घरको एउटा सदस्यलाई भएमा प्रायः सबै सदस्यहरूलाई उस्तै लक्षण देखिन्छ । फ्लू भनेको चाहिँ ओमिक्रोन, डेल्टा, कोभिड अथवा इन्फ्लुएन्जाजस्ता हुन् । यी सबै फ्लूकै वर्गमा पर्दछन् ।

इन्फ्लुएन्जा हामीले सुनिरहेको फ्लू हो । यो सय वर्षअघिदेखिको फ्लू हो । इन्फ्लुएन्जा र कोभिड फ्लूमा चाहिं हामीले प्रायः ज्वरो पनि देख्छौँ । ज्वरो आयो भने पक्कै पनि मलाई फ्लू भयो भनेर बुझ्नुपर्‍यो । फ्लूमा पनि इन्फ्लुएन्जा, कोभिड-१९, कोभिड-१९ को डेल्टा भेरिएन्ट, ओमिक्रोनमध्ये कुन हो‚ त्यो छुट्याउन लक्षणकै आधारमा चाहिं अलिकति गाह्रो छ । अहिले ओमिक्रोनमा चाहिँ ज्वरो, रुघाखोकी, टाउको दुख्ने, आँखाको पछाडिको भाग दुख्ने, जिउ दुख्ने, झाडापखाला लाग्ने, प्रायः बास्ना र स्वाद जाने‚ घाँटी दुख्ने लक्षणहरू अलि बढीमा देखिएको छ । मानिसहरू एकदमै घाँटी दुख्यो भनेर आउनुहुन्छ । यदि घाँटी दुख्ने‚ ज्वरो आउने‚ रुघाखोकी लाग्ने, बास्ना र स्वाद हराउने भएमा पीसीआर गर्नैपर्छ ।

मौसमी फ्लूलाई कसरी उपचार, हेरचाह र व्यवस्थापन गर्ने ? कस्तो अवस्थामा अस्पताल जाने ? घरमै बसेर उपचार गर्न सकिन्छ कि ?
मौसमी परिवर्तनले हुने कमन कोल्ड, जुनमा ज्वरो हुँदैन, त्यो सामान्य औषधि पसलहरूमा पाइने पारासिटामोलजस्ता औषधीहरू प्रयोग गरेर, पहिलेदेखि चलिआएका चलनहरू‚ जस्तैः मनतातो पानी पिउने, शरीरमा पानीको मात्रा बढाउने, आराम गर्ने, धपेडी नगर्ने, चिसोमा नहिँड्ने गर्नाले मौसमी कमन कोल्ड निको हुन्छ । खासै डाक्टरकोमा गइहाल्नुपर्दैन । फ्लू र मौसमी परिवर्तनले हुने कमन कोल्ड फरक कुरा हुन् । फ्लू भनेको भाइरसले गर्दा हुने हो । फ्लूमा चाहिं दुई, तीन दिन ज्वरो आउँछ । प्रायः प्याटर्न हेर्दा बिरामीलाई तीन दिनसम्म ज्वरो आएको र त्यसपछि ज्वरो आफैँ निको हुँदै गएको पाएका छौं ।

कसैकसैलाई हल्का रुघाखोकीको समस्या र सामान्य जिउ दुख्ने पनि हुन्छ । यसलाई सामान्य पारासिटामोलले नै पनि निको पार्न सक्छ । अहिले यस्ता कुरामा धेरै जनचेतना फैलिएको छ । शरीरको तापक्रम १०२, १०३ डिग्री फरेनहाइटभन्दा घटेको छैन, सिटामोलको प्रयोग गर्दा पनि ज्वरो घटेको छैन‚ जिउ दुखिराखेको छ‚ छाति भारी भइराखेको छ‚ खोकी बढिराखेको छ‚ पल्स अक्सिमिटरमा अक्सिजन चेक गर्दा अक्सिजनको मात्रा ९४ भन्दा झर्न थालेको छ‚ बिरामीले खाना पटक्कै खानुभएको छैन‚ एकदमै कमजोर हुनुभएको छ भने उहाँलाई तुरुन्तै ओपीडी ल्याएर डाक्टरसँग परामर्श लिन म आग्रह गर्छु ।

यस प्रकारको संक्रमणमा सामान्यतया सर्वसाधारणबाट हुने लापरबाही कस्तो हो ? त्यसलाई कसरी व्यवस्थापन गर्ने ?
सामान्यताया संक्रमण हुनेमा दुई किसिमका बिरामी हुनुहुन्छ । एकथरी रुघा लाग्नेबित्तिकै जचाउन आउनुहुन्छ । त्यसमा हामीले खासै गर्नुपर्ने केही हुँदैन; काउन्सिलिङ गर्छौं; रेस्ट गर्नू भन्छौं । आधाभन्दा बढी रेस्टले नै निको हुन्छ भनेर सल्लाह दिन्छौं । फ्लू होस् अथवा मौसम परिवर्तनले हुने कमन कोल्ड, इन्फ्लुएन्जा अथवा कोभिड नै भएपनि कतिपयलाई सामान्य रेस्टमात्रै गरे पनि निको भइरहेको छ । कतिपय चाहिं धेरै गाह्रो भइसक्दा पनि अस्पताल आउनुभएको छैन ।

श्वासप्रश्वासमा समस्या भयो, बिरामीले खाना पटक्कै खानुभएको छैन भने तुुरुन्तै अस्पताल पुर्‍याउनुपर्छ । दीर्घ रोग लागेका बिरामीहरू हुनुहुन्छ‚ घरमा अक्सिजन नाप्दा अक्सिजनको मात्रा तलमाथि भएको छ भने अक्सिजनको सिलिन्डर छ भनेर घरमा भनेर ढुक्क भएर बस्नु भएन । अस्पताल जानुपर्‍यो; डाक्टरले हेर्नुहुन्छ, छातिको एक्सरे गर्नुहुन्छ । निमोनिया भइसकेको छ/छैन हामीले छुट्याउनुपर्ने हुन्छ । निमोनिया भएका बिरामीहरूलाई अस्पतालमै भर्ना गरेर उपचार गर्न म आग्रह गर्छु ।

अन्त्यमा, विशेषज्ञको रुपमा सर्वसाधारणलाई स्वास्थ्यको सुरक्षाका लागि के–कस्तो सुझाव दिनुहुन्छ ?
सर्वप्रथम त डेल्टा होस् या ओमिक्रोन अथवा कुनै पनि भेरिएन्ट होस्‚हामीले पीसीआर गरेर छुट्याउन सक्दैनौं । हामीले पेसेन्टको लक्षण हेरेर तपाईंहरूलाई यहि नै हो भनेर भन्न सक्दैनौं । पीसीआर गरेर ओमिक्रोन हो कि होइन भनेर थाहा पाउन सकिँदैन । ओमिक्रोनका लागि छुट्टै जिन सिक्वेन्सिङ भनेर हाम्रो प्रयोगशालाबाट बाहिर पठाउनुपर्ने हुन्छ । ओमिक्रोन होस् अथवा डेल्टा होस् उपचार एउटै हो । रोगीहरूको प्याटर्न त्यही हो ।

अहिले ९० प्रतिशत बिरामीहरूको लक्षण सामान्य छ । पहिलाको वेभजस्तो आईसीयू, शय्या, अक्सिजनको अभाव छैन । त्यसो भन्दैमा बेपर्वाह हुनुभएन । ओमिक्रोन हो केही हुँदैन भन्ने धारणा पनि बनेको पाइएको छ । ओमिक्रोनका बिरामीहरू पनि जटिल रुपमा निमोनिया भएर आउनुभएको छ । त्यसैले यसबाट बच्नका लागि सबैले हात धुने‚ स्यानिटाइजरको प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, अनावश्यक कामका लागि बाहिर नहिंड्ने गर्नुपर्छ ।

प्रकाशित : माघ ५, २०७८ १३:२७
प्रतिक्रिया
पठाउनुहोस्

दलीय भागबन्डा नमिल्दा कर्णाली मन्त्रिपरिषद्ले अझै पाएन पूर्णता 

मुख्यमन्त्री शाहीले गत कात्तिक १६ गते पद सम्हालेका थिए । त्यसयता दुई पटक गरेर दुई जना मन्त्री मात्रै नियुक्त गरेका छन् ।
चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णाली दलीय भागबन्डा नमिलेकाले नयाँ सरकार गठन भएको तीन महिनासम्म पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । मुख्यमन्त्री नियुक्त भएको करिब ३ महिना पुग्दा पनि जीवनबहादुर शाही सरकारलाई पूर्णता दिन असफल भएका छन् । 

कर्णाली प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र) ले चार वटा मन्त्रालयको दाबी कायमै राखेकाले सत्ता गठबन्धनबीच सहमति हुन नसकेको हो । मंगलबार वीरेन्द्रनगरमा बसेको प्रदेश संसदीय दलको बैठकले पूर्वसहमतिअनुसार चार वटा मन्त्रालय आफूले पाउनुपर्ने दाबी नछोड्ने निर्णय गरेको हो ।

गठबन्धनमा आफूहरु नै सबैभन्दा ठूलो दल रहेकोले सम्मानजनक उपस्थिति हुनुपर्ने माओवादीको अडान छ । प्रमुख सचेतक ठम्मर विष्टले आफ्नो दलले गरेको दाबी स्वभाविक भएको बताए । उनले अरु दल पनि यसै सहमतिमा आउनेमा पनि विश्वास व्यक्त गरे ।

यसैबीच, संसदीय दलका नेता महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले अबको एक हप्तामा सरकारलाई पूर्णता दिने गरी छलफल चलाउने भएको छ । गठबन्धनका दलहरुबीच नै असमझदारी बढ्दै गएको समयमा माओवादीले सरकार विस्तारका लागि पहल गर्ने निर्णय गरेको हो ।

‘पछिल्लो समय सरकारले पूर्णता नपाउँदा सत्ता गठबन्धनभित्रै केही असमझदारी जस्तो देखिएको छ वास्तविक त्यस्तो होइन,’ प्रमुख सचेतक विष्टले भने, ‘राष्ट्रिय सभाको चुनाव पनि नजिकिएको छ योजना कार्यान्वयनका विषय पनि धेरै छन् । त्यसैले गठबन्धन नै ती योजनामा कसरी लाग्ने भन्नेमा हाम्रो दल जिम्मेवार छ ।’

मुख्यमन्त्री शाहीले गत कात्तिक १६ गते पद सम्हालेका थिए । त्यसयता दुई पटक गरेर दुई जना मन्त्री मात्रै नियुक्त गरेका छन् । नेकपा (एकीकृत समाजवादी) का तर्फबाट चन्द्रबहादुर शाही र नेकपा (माओवादी केन्द्र)कातर्फबाट बिन्दमान विष्ट मन्त्री छन् । आठ सदस्यीय मन्त्रिमण्डलका पाँच मन्त्रालय भने रिक्त छन् । ती मन्त्रालयको जिम्मेवारी पनि मुख्यमन्त्री शाहीले नै सम्हालेका छन् ।

गठबन्धनका दलहरुबीच कसले कतिवटा मन्त्रालय लिने भन्ने विषयमा भागबन्डा हुन सकेको छैन । माओवादीले चार मन्त्रालयको दाबी गरिरहँदा समाजवादीले तीन मन्त्रालयको दाबी छोडेको छैन । कांग्रेसले पनि मुख्यमन्त्रीबाहेक थप दुई मन्त्रालय पाउनुपर्ने अडान लिएको छ ।

प्रकाशित : माघ ५, २०७८ १३:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×