कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३
चिकित्सा शिक्षा आयोगमा विद्यार्थीको प्रदर्शन

उपाध्यक्ष गिरी भन्छन्- 'विद्यार्थीले आक्रमण गर्न खोजेपछि भागेर लुकें'

काठमाडौँ — चीन लगायत मुलुकबाट एमबीबीएससहित चिकित्सा शिक्षाको अध्ययन गरेर इन्टर्नसिप पूरा गर्न बाँकी विद्यार्थीले आइतबार चिकित्सा शिक्षा आयोगको कार्यालय सानोठिमी भक्तपुरमा प्रदर्शन गरेका छन् ।

उपाध्यक्ष गिरी भन्छन्- 'विद्यार्थीले आक्रमण गर्न खोजेपछि भागेर लुकें'

यसअघि नेपालमा नै इन्टर्नसिप पूरा गर्न मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति दिएको थियो । तर हाल इन्टर्नसिप पूरा गर्न नपाउँदा विद्यार्थीहरू आन्दोलनरत छन् ।

यस क्रममा आन्दोलनरत विद्यार्थीहरूले आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले इन्टर्नसिप गर्ने प्रक्रिया अघि नबढाएको आरोप लगाएका छन् । प्रदर्शनमा विद्यार्थीले आयोगका उपाध्यक्ष गिरी विरुद्ध नाराबाजीसमेत गरेका थिए ।

भागेर परीक्षा शाखामा गएर बसें : गिरी

विद्यार्थीहरूको प्रदर्शनले उग्र रुप लिन थालेपछि उपाध्यक्ष गिरीले आफूमाथि दुर्व्यवहार हुनसक्ने भन्दै भागेर परीक्षा शाखामा गएर बसेको बताएका छन् । ‘विद्यार्थी आएर मेरो कार्यकक्ष घेराउ गरे, जथाभावी बोल्दै नाराजुलुस गरे, म भागेर परीक्षा शाखामा गएर बसें,’ गिरीले भने ।

कुनै पनि जानकारी नदिई आएका विद्यार्थीको समूहले ‘अभद्र’ व्यवहार प्रस्तुत गरेको उनको भनाइ छ । विद्यार्थीले भने शान्तिपूर्ण रुपमा नाराजुलुश गरेको बताउँदैआएका छन् । विद्यार्थीहरूले नारावाजीको क्रममा उपाध्यक्ष गिरीलाई लक्षित गरी ‘माफिया, भष्ट्रचारी, गुण्डा नाइके’ जस्ता आरोप लगाएका थिए ।

उनीहरूको आन्दोलन उग्र बन्दैगएपछि उपाध्यक्ष गिरीले सरकारबाट सुरक्षा नहुँदा काम गर्न नसकिने अवस्था आएको बताएका छन् । ‘सरकारले सुरक्षा पनि दिँदैन, विद्यार्थी आएर धाकधम्की दिएर आक्रमणमा उत्रन खोज्छन् । काम गर्न नै नसक्ने अवस्था आइसक्यो’ गिरीले कान्तिपुरसित भने ।

विद्यार्थीहरूको आन्दोलनको कारण के हो ?

मन्त्रिपरिषद् बैठकले गत पुसमा चिकित्सा शिक्षाको स्नातक तहमा चीन लगायतका मुलुकमा भर्ना भएका विद्यार्थीका हकमा बाँकी रहेको अध्ययन/प्रयोगात्मक अभ्यास/इन्टर्नसिप पूरा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको थियो । विश्वव्यापी कोरोना महामारीका कारण बीचमै स्वदेश फर्कदा अध्ययन पूरा गर्न नपाएका करिब ३ सयभन्दा बढी विद्यार्थी बिचल्लीमा परेको आकलन छ ।

यसअघि सन् २०१४ र २०१५ ब्याचका करिब साढे २ सय विद्यार्थीले चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलको समन्वयमा नेपालमा नै इन्टर्नसिप पूरा गर्ने अवसर पाएका छन् । यस्तै सन् २०१६ र २०१७ का विद्यार्थीले पनि इन्टर्नसिप पूरा गर्न पाएका छैनन् । २०१५ को ब्याचका पनि केही विद्यार्थी छुटेको बताइएको छ।

तर आयोग र काउसिन्लको विज्ञ सम्मिलित कार्यदलले अध्ययन पूरा गर्न नपाएका विद्यार्थीलाई कुटनीतिक पहल गरेर सम्बन्धित मुलुकमा नै फर्काउन पहलका लागि सरकारलाई सुझाव दिएको थियो । उक्त पहल सफल हुन नसकेपछि विज्ञहरुको सुझावकै आधारमा सैद्धान्तिक पढाइ पूरा गरेका तर प्रयोगात्मक अभ्यास बाँकी भएका विद्यार्थीलाई इन्टर्रनसिप पूरा गर्न दिनुपर्ने पर्ने प्रस्ताव शिक्षा मन्त्रालयले गरेको थियो । शिक्षा मन्त्रालयको प्रस्तावको आधारमा मन्त्रिपरिषद्ले इन्टर्नसिप पूरा गर्न दिने निर्णय लिएको हो । सन् २०१४ र २०१५ ब्याचका विद्यार्थीलाई विभिन्न अस्पतालमा इन्टर्नसिप गर्ने व्यवस्था मिलाइएको छ ।

सन् २०१६ र त्यसपछि भर्ना भएका विद्यार्थीहरुको हकमा अन्तर्राष्ट्रिय मान्यतामा समेत असर नपर्ने गरी बाँकी अध्ययन र प्रयोगात्मक अभ्यास र इन्टर्नसिप गराई समस्या समाधान गराउन गठित कार्यदलले सुझाव दिएको थियो । तीमध्ये कतिपय विद्यार्थीले सैद्धान्तिक पढाइ पनि अनलाइनबाटै लिएका छन् ।

यस्तै शिक्षा मन्त्रालयले आयोग र काउन्सिलले मापदण्ड बनाएर उनीहरुलाई इन्टर्नसिप पूरा गर्ने व्यवस्था मिलाउने जनाएको छ । आयोग र काउन्सिलले भने मापदण्ड बनाउने लगायतका काम जारी नै रहेको जनाएका छन् ।

प्रकाशित : माघ २, २०७८ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?