आइतबारदेखि फ्रन्टलाइनरहरूलाई बुस्टर डोज- स्वास्थ्य - कान्तिपुर समाचार

आइतबारदेखि फ्रन्टलाइनरहरूलाई बुस्टर डोज

अतुल मिश्र

काठमाडौँ — सरकारले आइतबारदेखि कोभिड रोकथाम तथा नियन्त्रणमा खटिने र सार्वजनिक क्षेत्रमा काम गर्ने फ्रन्टलाइनरहरूलाई कोभिड विरुद्धको खोपको बुस्टर डोज दिने भएको छ ।

फाइल तस्बिर : रोयटर्स

उक्त खोप हाल सञ्चालित र थपिने खोप केन्द्रहरूबाट नै दिइने छ । कोभिड रोकथाम तथा नियन्त्रणमा खटिने र सार्वजनिक क्षेत्रमा काम गर्ने ९ लाख ४९ हजार ८ सय ८७ जनालाई आइतबारदेखि कोभिड विरुद्धको बुस्टर डोज दिइने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीले बताए ।

हाल फ्रन्टलाइनर अन्तर्गत बुस्टर मात्रा खोप पाउनेहरूमा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा सबै कर्मचारी रहेका छन् । यस्तै नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरी सहित सबै सुरक्षाकर्मी, सार्वजनिक फोहर संकलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरूले समेत थप मात्रा पाउने छन् ।

सार्वजनिक क्षेत्रमा काम गर्ने कर्मचारीलाई समेत थप मात्रा दिइने छ । यस अन्तर्गत सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने संघ संस्था, बैंकिङ सेवा संचारकर्मी, पत्रकार, सार्वजनिक यातायातका चालक तथा सहचालक लगायतका रहेको डा.अधिकारी बताउँछन् ।

सरकारले माघ १४ गतेदेखि ६० वर्षमाथिका जेष्ठ नागरिक र दिर्धरोगीहरूका लागि समेत बुस्टर डोज खोप लगाउने तयारी गरेको छ ।

प्रकाशित : माघ १, २०७८ २२:००
प्रतिक्रिया
पठाउनुहोस्

राजवंशी समुदाय ‘तिला सुकराती’ पर्व मनाउँदै

कान्तिपुर संवाददाता

मोरङ — विराट राजवंशी समुदायले शनिबार तिला सुकराती पर्व मनाएका छन् । पर्वको अवसरमा विराट राजवंशी उत्थान समितिले आयोजना गरेको कार्यक्रममा तिल खिचडी, भुजा, च्युरा, तिलको लड्डु सामूहिक भोजन गरेर शुभकामना आदान प्रदान गरेका हुन् ।

कार्यक्रममा राजवंशी समुदायका अगुवा तथा अवकाश प्राप्त शिक्षक बन्दीलाल राजवंशीले तिला सुकरात पर्वको सांस्कृतिक तथा धार्मिक महत्त्वका बारेमा जानकारी गराएका थिए । ‘माघ १ बाट एउटा तिल बराबर प्रत्येक दिन लामो हुने र जाडो घट्दै जाने भएकाले पर्वका रूपमा तिला सुकरात मनाउँदै आएका छौं,’ उनले भने, ‘यो पर्वको अवसरमा हिन्दु धर्मावलम्बीले बिहानै स्नान गरेर कुलदेवतालाई पूजा गरी दूधमा मुछेको तिल, सक्खर र चामलको प्रसाद ग्रहण गरेर भोजन गर्ने परम्परा छ ।’

पुसभरिको जाडोमा स्नान नगर्नेले पनि यस दिन स्नान गरेर भोजन गर्ने परम्पराले छालासम्बन्धी रोग निको हुने जनविश्वास रहेको उत्थान समितिका अध्यक्ष भुनेश्वर मण्डल राजवंशीले बताए । उनले अहिलेको सूचना प्रविधिको युगमा सांस्कृतिक महत्त्वका पर्वहरूको बारेमा नयाँ पुस्तामा सचेतना जगाएर पुस्तान्तर गर्नु आवश्यक भएको बताए । कार्यक्रममा उत्थान समितिका मोरङ अध्यक्ष प्रदीप विश्वास राजवंशीले विराट राजवंशी समुदायको सांस्कृतिक उत्थानको दायित्व युवाको काँधमा आएको बताए ।

विराट राजवंशी समुदायका युवा नेता दिवस राजवंशीले अल्पसंख्यक विराट राजवंशीको उत्थान फुटेर नभई सबैले जुटेर गर्नु आवश्यक भएको बताए । ‘मुलुकमा आएको संघीयताले सबै जात, धर्म, समुदायलाई आ–आफ्नो विकासका लागि अवसर प्रदान गरेको छ,’ उनले भने, ‘त्यसैले प्राप्त राजनीतिक अधिकारलाई उपयोग गरी विराट राजवंशी समुदायको उत्थानमा लाग्नुको विकल्प छैन ।’


प्रकाशित : माघ १, २०७८ २१:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×