मुस्ताङ र मुगुबाहेक देशका सबै जिल्लामा कोरोना संक्रमण- स्वास्थ्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुस्ताङ र मुगुबाहेक देशका सबै जिल्लामा कोरोना संक्रमण

मुगु र मुस्ताङमा मात्र शून्य संक्रमण  
बुनु थारु

काठमाडौँ — नेपालमा कोरोना संक्रमण ७५ जिल्लामा देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे तथ्यांकले काेराेना संक्रमण विस्तार हुन दुई जिल्लामात्र बाँकी रहेकाे देखाउँछ ।

तथ्यांक हेर्दा मुस्ताङ र मुगुमा मात्र कोरोना संक्रमणको शून्य संक्रमण रहेको छ । एक हप्ताअघि अर्थात् पुस १९ गते भने सोलुखुम्बु, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला, मुगु र बाजुरामा कोरोना संक्रमणको संख्या शून्य थियो ।

पछिल्लो २४ घण्टामा ११ हजार ४२९ कुल परीक्षण गरिएकोमा १४४६ जनामा संक्रमण पुष्टि भएको छ । ८ हजार ९६५ पीसीआर परीक्षणमा १३५७ जनामा संक्रमण पुष्टि भएको छ भने २ हजार ४६४ एन्टिजेन परीक्षणमा ८९ जनामा संक्रमण देखिएको छ ।

नेपालमा कोरोनाकाे सक्रिय संक्रमितको संख्या र संक्रमणदर पनि बढ्दै गएको छ ।

पुस १९ गते संक्रमणदर २.६ प्रतिशत रहेकोमा पुस २६ गते १२.७ प्रतिशत पुगेको छ । पुस १९ गते १२ हजार ४९८ नमूना परीक्षणमा ३२६ जनामा संक्रमण पुष्टि भएको थियो । आइतबार १२ हजार ६३२ कुल परीक्षणमा १ हजार २६७ जनामा संक्रमण पुष्टि भएको थियो ।

काठमाडौं उपत्यकामा ४ हजार नाघे सक्रिय संक्रमित
नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ८ हजार हाराहारी पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको तथ्यांकले सोमबार सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ पुगेको जनाएको छ ।

पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर रहेका छन् । काठमाडौं जिल्लामा २ हजार ६५५ जना सक्रिय संक्रमित रहेकोमा भक्तपुरमा ६३३ र ललितपुरमा ९ सय सक्रिय संक्रमित रहेको तथ्यांकले देखाएको छ । यी जिल्लामा कुल सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार १८८ रहेको छ ।

त्यसैगरी २ सयभन्दा बढी सक्रिय संक्रमित संख्या भएका जिल्लाहरू सुनसरी, कास्की, बाँके र कैलाली रहेका छन् ।

मृत्यु हुनेको संख्या २ जना रहेकोमा २५५ जना निको भएर डिस्चार्ज भएका छन् । २४ घण्टामा २ लाख १० हजार ५९४ जनाले कोभिडविरुद्धको खोप लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । हालसम्म कुल २ करोड ६१ लाख ९४ हजार ६ सय १६ मात्रा खोप लगाइएको छ ।

अहिलेसम्म कुल जनसंख्याको ४९.६ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाइसकेका छन् भने ३६.७ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । लक्षित जनसंख्याको ७५.६ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाएका छन् भने ५५.९ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिटका संयोजक डा शेरबहादुर पुनले संक्रमण बढ्दै गएकोमा ओमिक्रोन नै हो भनेर ठ्याक्कै भन्न नसकिने बताए । ‘ओमिक्रोनले नै संक्रमण फैलाइरहेको हो कि होइन भन्ने कुरा अझै यकीन भइसकेको छैन किनभने बिचमा डेल्टा भेरिएन्ट पनि सँगसँगै थियो‚’ डा पुन भन्छन्‚ ‘भारतमा पनि संक्रमण बढेको छ तर धेरै संख्यामा ओमिक्रोन देखिएको छैन । अझै स्पष्ट भइसकेको छैन । डेल्टा र ओमिक्रोन सँगसँगै कुदिरहेको पो हो कि !’

डा पुनका अनुसार दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भेरिएन्टमा सामान्य जीउ दुख्ने, खोकी लाग्ने, टाउको दुख्ने लक्षण थियो ।बेलायतमा पनि उस्तै उस्तै लक्षण‚ जस्तैः थकित हुने, नाकबाट पानी बग्ने, जीउ दुख्ने लक्षण देखिएका छन् । ‘ओमिक्रोनका लक्षण रुघाखोकीसँग धेरै मिल्दोजुल्दो छ । संक्रमण संख्या बढेको देखिए पनि अस्पतालमा बिरामी भर्नाको विश्लेषण गर्न जरुरी छ । बढिरहेको संख्या ओमिक्रोन नै हो भनेर अहिले नै भन्न गाह्रो छ,’ उनले भने ।

संक्रमणदर बढेसँगै तेस्रो लहरको संकेत देखिइसकेको उनी बताउँछन् । डा पुन भन्छन्‚ ‘अहिलेसम्म गरिएका अध्ययनले ओमिक्रोन छिटो फैलिए पनि डेल्टाभन्दा कम घातक भन्ने देखाएको छ । संक्रमितमात्र बढ्ने लहर हो कि अस्पताल भर्ना हुने अवस्था हो कि त्यो हेर्न जरुरी छ । आँत्तिनु, त्रसित हुनुभन्दा पनि सतर्क रहनुपर्छ ।’

प्रकाशित : पुस २६, २०७८ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्

स्थानीय तह प्रतिनिधिविहीन बनाएर कर्मचारीलाई जिम्मा लगाउने षड्यन्त्र भइरहेको छ : ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिविहीन बनाएर स्थानीय तह कर्मचारीलाई जिम्मा लगाउने षड्यन्त्र भइरहेको बताएका छन् । संखुवासभामा आठौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै ओलीले कानुनअनुसार फागुनमा चुनाव हुनुपर्नेमा सरकारले कुनै तयारी नगरेको बताएका हुन् ।

'चरणबद्ध स्थानीय तहको चुनाव हुँदा पनि पहिलो चरणको चुनावलाई समय मानेर त्यसभन्दा दुई महिना अघि चुनाव हुनुपर्ने हो । फागुनमा स्थानीय तहको चुनाव गरिसक्नु पर्ने थियो तर फागुनमा चुनाव गर्ने कुनै सम्भावना छैन । किनभने यो सरकार लुटामारमा लागेको छ । चुनावतिर होइन,' उनले भने, 'स्थानीय तहलाई जनप्रतिनिधिविहीन नबाउने र कर्मचारीमार्फत चलाउने त्यो षड्यन्त्र गर्दैछ जुन २०५९ सालमा पनि गरेको थियो । २०५९ सालमा चुनाव गराइएन जन प्रतिनिधिको म्याद थपिएन र कर्मचारीलाई जिम्मा लगाइयो । जसले गर्दा स्थानीय तहहरु जनप्रतिनिधिविहीन र पंगु भए ।'

उनले एमालेमा सरकार नहुँदा स्थानीय तहको चुनाव गर्नका लागि २ दशक लागेको बताए ।

२०७४ साल वैशाख मसान्तका दिन स्थानीय तहको चुनाव भएको थियो । त्यसबेला तीन चरणमा स्थानीय तहको चुनाव भएको थियो ।

प्रकाशित : पुस २६, २०७८ १८:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×