कोभिडको तेस्रो लहर सामना गर्न उपत्यकाका अस्पतालमा के छ तयारी ?

दोस्रो लहरभन्दा तुलनात्मक रुपमा धेरै स्रोतसाधन भए पनि संक्रमणको गति रोक्न सकिएन भने त्यो चाप फेरि स्वास्थ्य संस्थामा नै पर्छ : डा. समीरकुमार अधिकारी, सहप्रवक्ता स्वास्थ्य मन्त्रालय
बुनु थारु

काठमाडौँ — कोरोना महामारीको दोस्रो लहरमा अक्सिजन, जनशक्ति र पूर्वाधारको अभाव बेहोरेका अस्पतालहरुलाई ओमिक्रोनको खतराको घन्टीले झस्काएको छ । गत जेठमा देखिएको दोस्रो लहरमा अक्सिजनको संकट बढी देखिएको थियो भने आईसीयू बेडको पनि अभाव थियो ।

कोभिडको तेस्रो लहर सामना गर्न उपत्यकाका अस्पतालमा के छ तयारी ?

पहिलो लहरमा स्वास्थ्य पूर्वाधार बनिसकेका थिएनन् । महामारी नियन्त्रणका लागि स्वास्थ्य संस्थाहरु तयारीमा नै जुटे । दोस्रो लहरमा अक्सिजन र बेडको अभाव देखियो । अमेरिका, बेलायतलगायत छिमेकी देश भारतमा कोरोना संक्रमणको केस यतिबेला ह्वात्तै बढेको छ । नेपालमा पनि ओमिक्रोन पुष्टि भइसकेकाले केही सातामै संक्रमण बढ्न सक्ने विज्ञले आकलन गरेका छन् ।

सात महिनाबीचको तयारी अवधिमा सम्भावित अर्को लहर रोक्न अस्पतालहरुले आफूलाई कति स्तरोन्नति गरे त ? यसअघि कोभिड उपचार गर्ने ठूला अस्पतालहरुले सम्भावित अर्को लहरका लागि ‘हाई अलर्ट’मा रहेको र सामना गर्न तयार रहेको दाबी गरेका छन् । देशभर कोभिड उपचारका लागि सरकारले ७८ वटा सरकारी स्वास्थ्य संस्था तोकेको छ । ठूला निजी अस्पतालले पनि कोभिडको उपचार गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ८ हजार २०२ आइसोलेसन बेड, ३ हजार ८४६ एचडीयू बेड, २ हजार ७९७ आईसीयू बेड, १ हजार ८ भेन्टिलेटर, १३ हजार ९३९ अक्सिजन सिलिन्डर, कन्सन्ट्रेटर ६९३ र अक्सिजन प्लान्ट ४७ वटा तयारी अवस्थामा छन् ।

काठमाडौं उपत्यकामा मात्रै २ हजार ४९४ आइसोलेसन बेड, ३२४ एचडीयू बेड, ४४५ आईसीयू बेड र २५४ वटा भेन्टिलेटर रहेको मन्त्रालयले जनाएको छ ।

शुक्रबारमात्रै थप २४ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भएपछि सरकारले सबै अस्पताललाई तयारी अवस्थामा रहन आग्रह गरिसकेको छ । मन्त्रालयले बिरामीको उपचारका लागि आवश्यक अक्सिजनलगायत सामग्रीहरुको पर्याप्त जोहो गर्न र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशनसमेत दिएको छ ।

वीर अस्पतालको कोभिड १९ युनिफाइड केन्द्रीय अस्पतालका उपनिर्देशक डा. प्रज्वल श्रेष्ठ दोस्रो लहरमा जस्तो अक्सिजन र बेडको अभाव हुन नदिन आफूहरु तयार रहेको बताए । नयाँ भवन बन्नुअघि वीरको पुरानो भवन र ट्रमा सेन्टरमा कम्तीमा २५० बेडमा मात्र कोभिडको उपचार हुँदै आएको थियो । वीर अस्पतालले नयाँ सर्जिकल भवनबाट २७१ कोभिड बेड सञ्चालन गरिरहेको छ । यसको क्षमता ५०० बेड हो । यहाँ एक सय आईसीयू बेड र त्यही हाराहारीमा भेन्टिलेटर छन् । ‘अस्पतालसँग एउटा लिक्विड अक्सिजन प्लान्ट र अर्को पीएसए अक्सिजन प्लान्ट पनि छ । बिरामीको चाप थेग्न सक्छौं भन्नेमा विश्वस्त छौँ,’ उनले भने । धेरैजसो अस्पतालले पूर्वाधारमा राम्रो तयारी गरे पनि जनशक्ति अभावका बारेमा बेलैमा सोच्नुपर्ने डा. श्रेष्ठ बताउँछन् ।

त्रिवि शिक्षण अस्पतालमा ३ वटा अक्सिजन प्लान्ट कोभिड आउनुअघि नै थियो । दुई वटा दोस्रो लहरपछि जडान भएका हुन् । अस्पतालले कोरोना उत्कर्षमा पुगेको बेला दैनिक चार सय संक्रमितको उपचार गरेको थियो । दोस्रो लहरमा सबैभन्दा बढी अक्सिजनको अभाव खड्किएकाले हाल अस्पतालमा ५ वटा अक्सिजन प्लान्ट तयारी अवस्थामा राखिएको कोभिड इन्चार्ज डा. सन्तकुमार दासले बताए । ‘४२५ सम्म बिरामी लिने हाम्रो क्षमता थियो, ’ उनले भने, ‘अब त्योभन्दा बढी हामी धान्न सक्छौं । हामीसँग लगभग ५०० क्षमता छ, वीरको नयाँ भवनमा पनि त्यति नै क्षमता छ । यसले बिरामी थेग्न मद्दत गर्छ होला ।’ उनी भन्छन्–‘हालको अध्ययनले ओमिक्रोनले फोक्सोमा धेरै असर नपर्ने देखाएको छ त्यसैले अक्सिजनको त्यति आवश्यकता नहोला । आईसीयू बेड पनि त्यति नहोला तर अस्पतालको बेड त चाहिन्छ ।’

दोस्रो लहरपछि बेड, मोनिटर र भेन्टिलेटर पनि थप गरेको उनले जानकारी दिए । दोस्रो लहरअघि ८८ वटासम्म आईसीयू सञ्चालन भएकामा अहिले लगभग १५० वटा तयार छ । त्यसैगरी भेन्टिलेटरको संख्या ८० पुर्‍याइएको छ । यसअघि अस्पतालमा ५८ वटा भेन्टिलेटर थिए ।

दोस्रो लहरमा अस्पताल परिसरमै राखेर बिरामीलाई सेवा दिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालसँग सय बेड क्षमता छ । अस्पतालका सूचना अधिकारी नवराज गौतमले दोस्रो लहरसम्म ७० बेड सञ्चालन गर्दै आएकामा त्यसपछि बढाउँदै लगेको बताए । ‘हामीसँग पहिले लिक्विड अक्सिजन प्लान्ट मात्र थियो, दोस्रो लहरपश्चात दैनिक १०० सिलिन्डर उत्पादन गर्न सक्ने अक्सिजन प्लान्ट पनि जोडिसकेका छौं, उनले भने, ‘भेन्टिलेटर र जनशक्ति पनि थपेका छौं । ५ वटा क्याबिन रहेकामा दोस्रो लहरपछि १० वटा बनाइयो । ३० वटा बेडबाट ४० बनाइयो र इमरजेन्सी पनि १० बेडबाट २५ बेडसम्म बढाइएको छ ।’

उनका अनुसार कोभिडका लागि २४ वटा आईसीयू र भेन्टिलेटर छन् । एचडीयू बेड ४० वटा छन् । २४ वटा आईसीयूलाई २८ वटासम्म बढाउन सकिने क्षमता रहेको गौतमले बताए ।

कोभिड बिरामीको उपचारमा खटिएको अर्को ठूलो अस्पताल हो पाटन । अस्पतालका निर्देशक डा. रवि शाक्यले स्वास्थ्य पूर्वाधारमा आफूहरु तयारी अवस्थामा रहेको बताए । अस्पतालले कोभिड उत्कर्षमा पुगेका बेला कोभिडका लागि ३ सय बेडसम्म सञ्चालन गरेको थियो । ‘अहिले नन-कोभिडका धेरै बिरामी छन् । कोभिडका लागि ११० बेड सञ्चालनमा छन्, संक्रमण बढ्यो भने हामी क्षमता बढाउँछौं, ’ उनले भने ।

पाटन अस्पतालसँग कूल ६५० बेड क्षमता छ । अस्पतालले कोभिडका लागि २१ वटा आईसीयू र १० वटा पेडियाट्रिक आईसीयू छुट्याएको छ । अस्पतालले ३ महिनाअघि मात्र अक्सिजन प्लान्ट जोडेको छ, जसले २७० वटा सिलिन्डर दैनिक उत्पादन गर्न सक्ने डा. शाक्यले बताए । पूर्वाधारसँगै जनशक्ति पनि तयार गर्दै लगेको उनको भनाइ छ ।

त्यसैगरी, सिभिल अस्पतालका कोभिड युनिट फोकल पर्सन डा. विदेश विष्टका अनुसार नयाँ भवनमा ५० बेड तयारी अवस्थामा छ । पहिलाको ५० बेड गरी अस्पतालले कूल १०० बेड कोभिडका लागि छुट्याएको छ । ‘कोभिडको दोस्रो लहरपछि नै अक्सिजन प्लान्ट जोडिएको छ । प्लान्टले ३५० वटा सम्म अक्सिजन सिलिन्डर उत्पादन गर्न सक्छ,’ डा. विष्ट भन्छन्, ‘बेड पनि थपेका छौं । हामीसँग कोभिडका लागि ७ वटा भेन्टिलेटर र १४ वटा आईसीयू बेडहरु तयारी अवस्थामा छन् ।’

कोभिडको उपचार गर्दै आएको मेडिसिटी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राज राणाले दोस्रो लहरपछि अस्पतालको सबै क्रिटिकल क्षेत्र आइसोलेटेड बनाएको बताए । उनले भने–‘पहिला कोभिड वार्ड तथा आईसीयूहरुमा ‘नेगेटिभ प्रेसर रुम’ बनेको थियो भने अहिले हामीले अरु वार्डमा पनि संक्रमण फैलिन नपाओस् भनेर निर्माण गर्‍यौं । ’ अस्पतालसँग अस्पतालको स्थापना अघि नै एउटा अक्सिजन प्लान्ट रहेको थियो भने अहिले दोस्रो लहरपछि थप एउटा प्लान्ट जोडिएको छ । ‘हामीले १५० बेडसम्म कोभिडका लागि सञ्चालनमा ल्याएका थियौँ, थप १२० बेड थप्दैछौ,’ डा राणाले भने ।

त्यसैगरी सानेपास्थित स्टार अस्पतालले पनि दोस्रो लहरपछि दैनिक सय अक्सिजन सिलिन्डर उत्पादन गर्ने प्लान्ट जोडिसकेको छ । अस्पतालका निर्देशक डा. शैल रुपाखेतीले दोस्रो लहरमा बिरामीको चाप बढ्दा २० वटामात्र बेड कोभिडका लागि छुट्याएको मा ६० देखि ७० सम्म उपचार गरेको बताए । डा. रुपाखेती भन्छन्–‘बिरामी बढ्यो भने क्षमता पनि बढ्छ । अहिले ननकोभिडका बिरामी पनि छन् । २० बेड भने छुट्याइएको नै छ ।’

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी दोस्रो लहरभन्दा तुलनात्मक रुपमा धेरै स्रोतसाधन भए पनि संक्रमणको गति रोक्न सकिएन भने त्यो चाप फेरि स्वास्थ्य संस्थामा नै पर्ने बताउँछन् । अहिले राज्यले धेरै स्रोत साधन व्यवस्थापन गरेकाले सबै तयारी राम्रोसँग गरिएको प्रवक्ता अधिकारीले बताए । जनस्वास्थ्यका मापदण्ड पालना नगरेसम्म रोकथाम असम्भव हुने उनको भनाइ छ । उनका अनुसार क्वारेन्टिन बस्ने र खोप पहुँच बढाउनेतिर मन्त्रालय लागेको छ ।खोपको कभरेज, निगरानी तथा जनस्वास्थ्यका मापदण्ड पालना गराउनमै मन्त्रालयले हाल केन्द्रित रहेको उनले बताए । ‘अक्सिजन प्लान्ट, ट्यांकहरु थपिएका छन् तर संक्रमणको सामाधान अस्पतालमा होइन समुदायमा खोज्नुपर्छ । स्वास्थ्यका पूर्वाधार जति थपे पनि संक्रमण रोक्न सकिएन भने भएको स्रोतसाधनले कहिले पनि पुग्दैन,’ उनले भने, ‘समुदायमा पहिला संक्रमण कम हुनुपर्छ । त्यसको उपाय जनस्वास्थ्यका मापदण्डको पालना र खोप नै हो ।’

शनिबारसम्म कूल जनसंख्याको ४९.५ प्रतिशतले पहिलो मात्राको खोप लगाएका छन् भने पूर्ण मात्राको खोप ३६.६ प्रतिशतले लगाइसकेका छन् । सरकारले दैनिक ५ लाखलाई खोप लगाउने लक्ष्य राखे पनि यो पूरा हुन सकेको छैन ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनले संक्रमण बढे पनि अस्पताल भर्ना हुने सम्भावना कम हुन सक्ने बताउँछन् । ‘ओमिक्रोन बिजुली गतिमा दौडिने भए पनि यसले जटिल लक्षण नदेखाउने भएकाले अघिल्लो भेरिएन्टको तुलनामा अलि कमजोर जस्तै देखिन्छ, ’ उनले भने, ‘जसले अहिलेसम्म खोप लगाएका छैनन्, उनीहरुलाई जोखिम नै छ । उनीहरुलाई जतिसक्दो चाँडो खोपको दायरामा ल्याउनुपर्छ ।’

संक्रमितको संख्याभन्दा पनि अस्पताल भर्ना हुने ट्रेन्डका आधारमा आधारमा थप योजना बनाउन सकिने उनको भनाइ छ ।

प्रकाशित : पुस २४, २०७८ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?