१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

खोप लगाउन अझै अलमल, किन बढेन सर्वसाधारणको पहुँच?

सरकारले देशभर १६ हजार खोप केन्द्र विस्तार गर्ने, गाउँगाउँमा स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य कार्यकर्तालाई परिचालन गर्ने भने पनि खोपको पहुँच बढ्न सकेन
बुनु थारु

काठमाडौँ — रामेछापका ५६ वर्षीय भुवन मगर सिभिल अस्पताल परिसरभित्रको एक निर्माणाधीन भवनमा काम गर्छन् । पाँच महिनादेखि अस्पताल हातामै रहे पनि उनले कोभिडविरुद्धको खोप लगाएका छैनन् । ‘लगाउनुपर्छ भनेको त सुनेको हो । यहीँ नै लगाउँछन् भन्ने पनि थाहा भएन,’ अनकनाउँदै उनले भने, ‘अब लगाउनुपर्ला ।’ 

खोप लगाउन अझै अलमल, किन बढेन सर्वसाधारणको पहुँच?

अझै पनि धेरै नेपाली खोपको पहुँचमा छैनन् भन्ने उनकै भनाइले देखाउँछ । कतिपयलाई खोप कहाँ दिइन्छ भन्ने सामान्य सूचनासमेत छैन भने कोही खोप लगाउनुपर्छ भन्ने थाहा पाउँदापाउँदै लगाउन चाहँदैनन् । खोपबारे जानकारी पाएका तनहुँका ६२ वर्षीय कृष्णप्रसाद ओझाले अहिलेसम्म खोप लगाएका छैनन् । उनी पूर्वशिक्षकसमेत हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुस मसान्तसम्म दैनिक ५ लाख डोज खोप लगाउने लक्ष्य राखेको थियो । पुसभित्र ६६ प्रतिशत नागरिकलाई खोप लगाइसक्ने घोषणा गरे पनि तथ्यांकले यो लक्ष्य पूरा नहुने देखिन्छ ।

शुक्रबार २ लाख ६३ हजार ३ सय ७१ जनाले खोप लगाए भने अघिल्लो दिन १ लाख २० हजार ६ सय ५३ जनाले लगाए । २१ गते २ लाख ४६ हजार ३ सय ८५, २० गते ३ लाख १६ हजार ७ सय ७४, १९ गते ३ लाख ४४ हजार ४४ जनाले खोप लगाए । तथ्यांकअनुसार दैनिक १ लाखदेखि ३ लाखसम्मले मात्र खोप लगाएका छन् ।

प्रदेश २ मा कम

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परिवार कल्याण महशाखाका अनुसार बिहीबारसम्म १८ वर्षमाथिका लक्षित जनसंख्यामा सबैभन्दा बढी गण्डकी प्रदेशमा खोप लगाइएको छ । ८३ प्रतिशतले एक डोज लगाएका छन् भने ७६ प्रतिशतले पूर्ण खोप (दोस्रो डोज) लगाए । वाग्मतीमा ७७ प्रतिशतले पहिलो र ७४ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् । प्रदेश १ मा ६७ प्रतिशतले पहिलो र ४८ प्रतिशतले पूर्ण खोप पाए भने प्रदेश २ मा पहिलो डोज ५० प्रतिशत र ३९ प्रतिशतले पूर्ण डोज लगाएका छन् ।

लुम्बिनीमा पहिलो डोज लगाउने ७२ प्रतिशत र पूर्ण खोप लगाउनेको संख्या ५१ प्रतिशत छ । कर्णालीमा ५५ प्रतिशतले पहिलो, ४४ प्रतिशतले दोस्रो डोज लगाएका छन् । सुदूरपश्चिममा ६२ प्रतिशतले पहिलो र ५४ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् । तथ्यांकअनुसार लक्षित जनसंख्याको ४८.५ प्रतिशतले पहिलो र ३५.९ प्रतिशतले दोस्रो डोज लगाइसकेका छन् । १८ वर्षमाथिका ६७ प्रतिशतले पहिलो डोज र ५५ प्रतिशतले दोस्रो डोज लिएको तथ्यांकले देखाउँछ । १२ देखि १७ वर्षसम्मका ४३ प्रतिशतले पहिलो डोज र ०.१ प्रतिशतले मात्र दोस्रो खोप पाएका छन् ।

हालसम्म ३ करोड ९२ लाख ३ हजार ९ सय २७ डोज खोप भित्रिइसकेको छ । यसमध्ये २ करोड ५६ लाख ४२ हजार २ सय ९२ खोप लगाइसकिएको छ । प्रदेश २ का स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झा खोप कम लगाउने दर बढाउने प्रयास भइरहेको बताउँछन् । ‘अझै पनि मानिस खोप लगाउन उत्सुक देखिँदैनन् । विभिन्न माध्यमबाट प्रचारप्रसार गरिरहेकै छौं,’ उनले भने । प्रदेश २ मा खोपको पहुँच बढाउन स्वास्थ्य कार्यालयका प्रमुखहरूसँग छलफल भइरहेको उनको भनाइ छ ।

भारतमा संक्रमण बढ्दा नेपाल उच्च जोखिममा

कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको फैलावट भारतमा तीव्र बनेको छ । बिहीबार ९० हजार ९ सय २८ जना नयाँ संक्रमित पुष्टि भएका छन् । हालसम्म भारतमा ओमिक्रोनका २ हजार ६ सय ३० संक्रमित फेला परिसकेका छन् । भारतमा संक्रमण बढेसँगै नेपाल पनि उच्च जोखिममा रहेको छ । शुक्रबार मात्रै नेपालमा थप २४ जनामा ओमिक्रोन पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारीले ओमिक्रोन भेरिएन्ट फैलिएसँगै खोप लगाउनमै बढी जोड दिनुपर्ने बताए । ‘ओमिक्रोन फैलिइरहेको छ । चाँडोभन्दा चाँडो खोप र अतिरिक्त वा बुस्टर डोज दिइसक्नुपर्ने हो । केही सातामा नेपालमा पनि संक्रमण बढ्न सक्छ,’ उनले भने । खोप भित्र्याउन कठिन नभए पनि वितरणमा समस्या देखिइरहेको उनको भनाइ छ । ‘लक्ष्यअनुसार ७० देखि ८० प्रतिशतले खोप लगाउनुपर्छ । बालबालिका र वृद्धवृद्धा पनि छुट्नुभएन,’ उनले भने ।

सरकारले सबैतिर पहुँच बढाउन देशभर १६ हजार खोप केन्द्र विस्तार गर्ने बताएको थियो । गाउँगाउँमा स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य कार्यकर्तालाई परिचालन गर्ने भनिए पनि खोपको पहुँच विस्तार भएको छैन । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक लालले लक्ष्यअनुसार खोप नपुगेको स्वीकार गरे । ‘पहिला खोप केन्द्र थिए, मान्छे लगाउन आफैं आउँथे । अब समुदायमै घरदैलो गरेर खोप लगाएको नलगाएकोबारे हेर्नुपर्ने भएको छ,’ उनले भने, ‘यसमा स्थानीय तहले सक्रियता बढाउनुपर्छ ।’ सूचनाको पहुँचबाहिरका सर्वसाधारणसम्म पहुँच पुर्‍याउन चुनौती देखिएको उनी बताउँछन् । केहीले सामाजिक सञ्जालका आधारमा खोपबारे भ्रम पालेको समेत उनको भनाइ छ ।

निर्देशक लालका अनुसार स्थानीय तहबाट झन्डै १० देखि ११ प्रतिशतको तथ्यांक आउन बाँकी छ । ‘कुन पालिकामा कति खोप लगाइएको छ भनेर हेर्छौं । सबै प्रदेशका स्वास्थ्य अधिकारीसँग छलफल पनि गरिरहेका छौं,’ उनले भने, ‘गर्न सकिने र गर्नुपर्ने धेरै काम बाँकी छन्, तर स्थानीय तहबाटै राम्ररी रिपोर्टिङ हुन सकेन ।’

खोप अभियान स्थगनको असर

सरकारले लक्षित उमेर समूह तथा दीर्घरोगीलाई मंगलबारदेखि अतिरिक्त मात्राको खोप दिने सूचना जारी गर्‍यो । तर भोलिपल्टै उक्त अभियान स्थगन गरियो । माघबाट अभियान सुरु गर्ने भन्दै मन्त्रालयले पुनः अर्को सूचना जारी गरेको छ ।

८ जिल्लामा पुस १३ देखि २२ गतेसम्म १२ देखि १७ वर्षका बालबालिकालाई फाइजर खोप लगाउने तयारी गरिए पनि सिरिन्ज अभावमा उक्त अभियान पनि स्थगन भएको छ । फाइजरका लागि आवश्यक पर्ने घोलक र सिरिन्ज आइपुगेकाले अभियान चाँडै सञ्चालन गरिने विभागले जनाएको छ ।

संक्रामक रोग विशेषज्ञ डा. अधिकारी अभियान स्थगनको असर सबैतिर पर्ने बताउँछन् । ‘कहिले खोप आउने, सिरिन्ज नआउने त कहिले अभियानै स्थगन हुँदा समस्या देखिएको छ,’ उनले भने, ‘व्यवस्थापन गर्न नसक्ने भए सरकारले निजी क्षेत्रलाई जिम्मेवारी दिए पनि हुन्छ ।’

मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले कुल जनसंख्याको ४० प्रतिशतले पूर्ण खोप लगाएपछि बुस्टर वा अतिरिक्त डोज दिने योजना बनेको बताइन् । जिल्लामा खोप अभाव हुन नदिए पनि लक्ष्यअनुसार खोप पुग्न नसकेको उनको भनाइ छ । ‘स्थानीय तहले घरदैलोमै पुगेर लगाउनुपर्ने भयो । मान्छे नआएर हो कि, चिसोले हो, यसबारे अपडेट लिइरहेका छौं ।’ संक्रमण रोकथाममा मन्त्रालयको मात्र नभई सबैको सामूहिक जिम्मेवारी रहेकाले आआफ्नो ठाउँबाट पहल गर्नुपर्ने उनको भनाइ छ ।

‘संक्रमण बढेसँगै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड र सचेतना गराइरहेका छौं । परीक्षण पनि बढेको छ,’ उनले भनिन्, ‘नियमित जिन सिक्वेन्सिङ भइरहेको छ । नाकामा निगरानी बढेको छ । अस्पताललाई पनि तयारी अवस्थामा बस्न भनिरहेका छौं ।’

प्रकाशित : पुस २३, २०७८ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?