३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सन् २०२१ मा स्वास्थ्य क्षेत्र-चुनौतीबीच सकारात्मक पाटो

सन् २०२१ स्वास्थ्य क्षेत्रका लागि समग्रमा निकै चुनौतीपूर्ण रहे पनि यो वर्ष भएका विकासले भविष्यलाई लिएर केही उत्साह भने जगाइदिएको छ ।

काठमाडौँ — सन् २०२१ स्वास्थ्य क्षेत्रका लागि समग्रमा निकै चुनौतीपूर्ण रहे पनि यो वर्ष भएका विकासले भविष्यलाई लिएर केही उत्साह भने जगाइदिएको छ । विगतको वर्षझैं यो वर्ष पनि स्वास्थ्य क्षेत्रलाई कोरोनाभाइरसको महामारीले गाँजेरै राख्यो । वर्षको मध्यतिर विश्वभर कोरोनाभाइरसविरुद्धको खोप अभियानले तीव्रता पाएसँगै महामारी नियन्त्रणमा आउने आशा सबैमा पलाएको थियो ।

सन् २०२१ मा स्वास्थ्य क्षेत्र-चुनौतीबीच सकारात्मक पाटो

तर, वर्षको अन्त्यतिर एक्कासि नयाँ भेरिएन्टको उत्पतिसँगै आगामी वर्ष पनि यसले विश्वको पिछा गर्न नछोड्ने संकेत गरेको छ। यद्यपि हामी यहाँ २०२१ मा स्वास्थ्य क्षेत्रमा भए गरेका केही सकारात्मक विकासका बारे चर्चा गरेका छौं ।

एमआरएनको खोपहरूको उदय

स्वास्थ्य क्षेत्रमा २०२१ ले जगाएको आशाका बारेमा कुरा गर्दा एमआरएनए खोपको चर्चा नगरी अगाडि बढ्न सकिँदैन । हाल कोरोनाभाइरसविरुद्धको लडाइँमा मानव जगतसँग भएको एउटा कारगर हतियार भनेको एमआरएनए खोप हो । जसमा फाइजर र मोडर्ना सबैभन्दा अगाडि आउँछ । अनुवांशिक गुणलाई सम्पादन गर्ने प्रक्रियाका कारण परिवर्तित हुने एमआरएनएले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई जगाउन सफल हुने प्रमाणित गरेको छ ।

कोभिड-१९ महामारीको रुपरेखा परिवर्तन गर्नका लागि एमआरएनए खोपको ठूलो योगदान रहेको छ । यो अहिलेको कोरोनाविरुद्धको लडाइँमा मात्रै नभइ भविष्यमा देखा पर्नसक्ने विभिन्न प्रकारका भाइरसहरुका लागि उपयुक्त हतियार सावित हुने देखिएको छ ।

एमआरएनए प्रविधिकै प्रयोग गरेर एचआईभी र इन्फ्लूएन्जाको खोप विकास अन्तिम चरणमा पुगेको छ । अहिले उक्त प्रविधिबाट विकास गरिएका खोपहरुको प्रभावकारिता परीक्षण गर्न अनुसन्धान भइरहेको छ ।

जिन सम्पादनमा नयाँ विकास

सन् २०२० मा इम्यान्युल कार्पेन्टियर र जेनिफर ए दौडनाले जिन (वंशाणु) सम्पादन गर्ने प्रविधि क्रिस्पर/क्यास ९ को विकासका लागि रसायनशास्त्रतर्फको नोबल पुरस्कार प्राप्त गरेका थिए । सामान्य रूपमा बुझ्नुपर्दा त्यो जेनेटिक कैंची हो जसले कुनै पनि जीव विकासको आधार डीएनएलाई सम्पादन गर्ने क्षमता राख्दछ । यो वर्ष यही प्रविधिलाई वैज्ञानिकहरुले नयाँ उचाइ दिएका छन् । यो प्रविधिको उपयोग गरेर केही औषधिहरुको विकास गरिएको छ जसले कुनै पनि रोगको उपचारका लागि सकारात्मक बाटोको विकास गरेको छ ।

यो प्रविधिको प्रयोग गरेर मुटुरोग, कलेजो रोगका साथै क्यान्सररोगको उपचारसम्म सम्भव हुने देखिएको छ । यसका साथै विभिन्न प्रकारका वंशाणुगतरोगको उपचारका लागि यो प्रविधि भविष्यमा निकै सहज र सरल उपाय सावित हुने देखिएको अनुसन्धानमा संलग्न वैज्ञानिकहरुले दाबी गरेका छन् ।

मलेरियाविरुद्धको खोपको विकास

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अक्टोबर, २०२१ मा औपचारिक रुपमा मलेरियाविरुद्धको खोप बालबालिकालाई दिने घोषणा गर्‍यो । अफ्रिकी महादेशका मलेरिया प्रभावित क्षेत्रमा बसोबास गर्ने बालबालिकालाई डब्लूएचओले यो खोप लगाउन थालिसकेको छ । मलेरियाविरुद्ध बालबालिकालाई दिइने खोप विज्ञान, बालबालिकाको स्वास्थ्य तथा मलेरिया नियन्त्रणमा एउटा नयाँ अध्याय भएको डब्लूएचओका महानिर्देशक डा. ट्रेडोस एड्हानोम गेहब्रेयससले बताएका छन् । 'अहिले भएका विभिन्न प्रविधिसँगै यो खोपको प्रयोगले वार्षिक रुपमा लाखौं बालबालिकाको अकालमा ज्यान जानबाट जोगिने छ,' उनले भने ।

मलेरियाका कारण वर्षभरमा गरेर ५ लाख मानिसको मृत्यु हुने गरेको छ । ती मध्ये आधाजसो पाँच वर्ष मुनिका बालबालिका हुने गरेका छन् । ग्लासोस्मिथक्लाइनले विकास गरेको मलेरियाविरुद्धको खोपले विश्वभर नै धेरैको ज्यान जोगाउने बताइएको छ ।

स्वास्थ्योपचार सहज बनाउन प्रविधिको प्रयोग

कोभिडका कारण नियमित अस्पताल जानुपर्ने लाखौं मानिस अस्पताल जान नसक्ने अवस्थामा पुगे । यसले गर्दा पहिला नै विकास भए पनि वेवास्तामा परेको टेलिमेडिसिनले प्राथमिकता पायो । टेलिमेडिसिनलाई सहज, सरल र उपयोगी बनाउनका लागि यो क्षेत्रमा यस वर्ष निकै धेरै विकासहरु गरिए । ठूलो संख्यामा टेलिमेडिसिन उपचार प्रयोग गर्नका लागि विकसित देशहरुले नै चासो देखाएपछि त्यसको सकारात्मक प्रभाव गरिब राष्ट्रहरुसम्म पनि आइपुग्यो ।

यस्तै स्वास्थ्य परीक्षणका लागि आर्टिफिसियल इन्टिलिजेन्सको प्रयोग गर्ने बारेको बहस यो वर्ष उत्कर्षमा नै पुग्यो । जसका कारण केही यस्ता प्रविधिको विकास पनि भएका छन् जुन आगामि दिनमा स्वास्थ्योपचारको अभिन्न अंग बन्न सक्छन् ।

औषधि विकासमा नयाँ तरिका

कोभिडको नियन्त्रण तथा रोकथामका लागि विश्वलाई खोप र औषधिको निकै ठूलो आवश्यकता पर्‍यो । खोप र औषधि विकासमा पुरानो शैली नै अपनाउँदा एक दशकभन्दा बढी समय लाग्ने भएपछि विश्वभरका वैज्ञानिकहरुले नयाँ तरिकाको विकास गरे जसमा खोप वा औषधिको परीक्षणलगायतका विषयलाई डिजिटल बनाइयो र वैज्ञानिक सीप आदान-प्रदान भर्चुअल भयो । यस्तै विश्वभरका विभिन्न औषधि कम्पनीहरुले आफूसँग भएका प्रविधि अन्य कम्पनी र राष्ट्रहरुसँग साझा गरे । यसले खोप र औ‍षधि विकासमा एउटा नयाँ आयाम सुरु गर्‍यो ।

प्रकाशित : पुस १६, २०७८ १९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?